सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ?

बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ?

बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ?

“मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र?”—प्रेरित ८:३६.

१, २. इथियोपियाली अख्तियारवालासित फिलिपले कसरी कुरा थाले अनि साँचो उपासनाप्रति ती मानिसको साँच्चै चासो थियो भनेर कुन कुराले देखाउँछ?

 येशूको मृत्यु भएको त्यस्तै एक/दुई वर्षपछिको कुरा हो। एक सरकारी अख्तियारवाला दक्षिणतिर यरूशलेमदेखि गाजातर्फ रथमा यात्रा गरिरहेका थिए। अझै १,५०० किलोमिटर जति लामो कठिन यात्रा बाँकी नै थियो। ती भक्‍त मानिस यहोवाको उपासना गर्न इथियोपियादेखि यरूशलेम आएका थिए। तिनी यति धेरै विश्‍वास भएका मानिस थिए कि फर्कनुपर्ने लामो बाटोमा समयको सदुपयोग गर्दै तिनले परमेश्‍वरको वचन पढिरहेका थिए। ती निष्कपट मानिसलाई यहोवाले याद गर्नुभयो अनि एउटा स्वर्गदूतद्वारा चेला फिलिपलाई तिनीकहाँ जाने निर्देशन दिनुभयो।—प्रेरित ८:२६-२८.

ती इथियोपियाली अख्तियारवालासित कुरा थाल्न फिलिपलाई सजिलो भयो। किनभने त्यतिबेलाको चलनअनुसार ती अख्तियारवालाले ठूलो स्वरमा परमेश्‍वरको वचन पढिरहेका थिए। तिनले यशैयाको पुस्तक पढिरहेको फिलिपले सुने। फिलिपले सोधेका यस सरल प्रश्‍नले ती मानिसको चासो जाग्यो: “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?” यसपछि उनीहरूले यशैया ५३:७, ८ छलफल गरे। यशैयाका पदहरू छलफल गरिसकेपछि फिलिपले तिनलाई “येशूको सुसमाचार बताइदिए।”—प्रेरित ८:२९-३५.

३, ४. (क) फिलिपले किन ढिलासुस्ती नगरी इथियोपियालीलाई बप्तिस्मा दिए? (ख) अब हामी कुन-कुन प्रश्‍न छलफल गर्नेछौं?

परमेश्‍वरको उद्देश्‍य पूरा गर्न येशूले खेल्नुहुने भूमिका अनि बप्तिस्मा लिएर ख्रीष्टको चेला बन्‍नुपर्ने खाँचो ती इथियोपियालीले तुरुन्तै बुझिहाले। बप्तिस्मा लिन मिल्ने पानी भएको ठाउँ देख्नेबित्तिकै तिनले फिलिपलाई सोधे: “मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र?” हुन त, त्यो एउटा असामान्य परिस्थिति थियो। परमेश्‍वरमा अगाध आस्था राख्ने र धर्म परिवर्तन गरेर यहूदी धर्म अँगालेका ती इथियोपियालीले परमेश्‍वरको उपासना गर्न थालिसकेका थिए। तुरुन्तै बप्तिस्मा नलिने हो भने बप्तिस्मा लिने अर्को मौकाको लागि तिनले निकै पर्खनुपर्ने हुन सक्थ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, परमेश्‍वर तिनीबाट के चाहनुहुन्छ भनेर तिनले राम्ररी बुझेका थिए र पूरा तनमनले उहाँको सेवा गर्न चाहन्थे। बप्तिस्मा लिने तिनको निर्णय सुनेपछि फिलिपले खुसीसाथ तिनलाई बप्तिस्मा दिए अनि बप्तिस्मा लिएपछि ती इथियोपियाली “रमाई रमाईकन आफ्नो बाटो लागे।” आफ्नो ठाउँमा फर्केपछि तिनले निकै उत्साहका साथ सुसमाचार प्रचार गरेको हुनुपर्छ।—प्रेरित ८:३६-३९.

समर्पण र बप्तिस्मा हल्कासित लिने वा हतारमा गर्ने कुरा होइन। तर ती इथियोपियाली अख्तियारवालाले जस्तै अरू थुप्रैले परमेश्‍वरको वचनको सत्य सुनेको धेरै समय नबित्दै बप्तिस्मा लिएका छन्‌। a त्यसकारण यस्ता प्रश्‍नहरू विचार गर्नु उचित हुन्छ: बप्तिस्मा लिनुअघि कस्तो तयारी गर्नुपर्छ? के बप्तिस्मा लिने उमेर तोकिएको छ? बप्तिस्मा लिनुअघि कस्तो आध्यात्मिक प्रगति गरिसकेको हुनुपर्छ? सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न त, यहोवा किन आफ्ना सेवकहरूले बप्तिस्मा लिएको चाहनुहुन्छ?

गम्भीर वाचा

५, ६. (क) यहोवाले प्रेम देखाउनुहुँदा विगतमा परमेश्‍वरका जनले कस्तो प्रतिक्रिया देखाए? (ख) बप्तिस्मा लिएपछि परमेश्‍वरसित हामी कस्तो घनिष्ठ सम्बन्ध गाँस्न सक्छौं?

मिश्रबाट इस्राएलीहरूलाई मुक्‍त गरेपछि यहोवा तिनीहरूलाई आफ्नो “निज धन[को]” रूपमा स्वीकार्न, तिनीहरूलाई माया गर्न तथा सुरक्षा दिन अनि “एक पवित्र जाति” बनाउन इच्छुक हुनुभयो। तर परमेश्‍वरले देखाउनुभएको प्रेमको लागि कृतज्ञ भएको ठोस प्रमाण दिएपछि मात्र इस्राएलीहरूले ती सबै आशिष्‌ पाउन सक्थे। ‘परमप्रभुले भन्‍नुभएका सबै कुरा पालन गर्न’ राजी भएर अनि उहाँसित करार बाँधेर तिनीहरूले त्यस्तो कृतज्ञता देखाए। (प्रस्थान १९:४-९) प्रथम शताब्दीमा येशूले आफ्ना अनुयायीहरूलाई सब जातिका मानिसहरूलाई चेला बनाउने आज्ञा दिनुभयो अनि उहाँको शिक्षा स्वीकार्ने जतिले बप्तिस्मा लिए। येशू ख्रीष्टमाथि विश्‍वास गरेर परमेश्‍वरसित राम्रो सम्बन्ध गाँसेपछि बप्तिस्मा लिन सकिन्थ्यो।—मत्ती २८:१९, २०; प्रेरित २:३८, ४१.

यहोवाको सेवा गर्न उहाँसित गम्भीर वाचा बाँध्ने अनि त्यसैअनुरूप चल्ने व्यक्‍तिहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ भनेर बाइबलका यी विवरणहरूले देखाउँछ। यहोवाको आशिष्‌ पाउन मसीहीहरूले समर्पण गर्नु र बप्तिस्मा लिनु अत्यावश्‍यक छ। उहाँको तौरतरिकाअनुसार चल्न र उहाँको डोऱ्‍याइ खोज्न हामी कटिबद्ध छौं। (भजन ४८:१४) यसो गर्दा प्रतीकात्मक अर्थमा यहोवाले हाम्रो हात च्याप्प समाउनुहुन्छ र हामी हिंड्‌नुपर्ने बाटोमा डोऱ्‍याउनुहुन्छ।—भजन ७३:२३; यशैया ३०:२१; ४१:१०, १३.

७. आफैले निर्णय गरेर समर्पण गर्नुपर्छ र बप्तिस्मा लिनुपर्छ, किन?

यहोवाप्रतिको प्रेम र उहाँको सेवा गर्ने इच्छाले समर्पण गर्न र बप्तिस्मा लिन हामीलाई उत्प्रेरित गरेको हुनुपर्छ। परमेश्‍वरको वचन अध्ययन गरेको धेरै भइसक्यो अथवा साथीहरू सबैले बप्तिस्मा लिइसके भनेर कसैले भनेको भरमा बप्तिस्मा लिई हाल्नु हुँदैन। आमाबाबु वा अरू परिपक्व मसीहीहरूले समर्पण र बप्तिस्माबारे विचार गर्न प्रोत्साहन दिनु स्वाभाविकै हो। पेन्तिकोसको दिनमा आफ्नो भाषण सुन्‍नेहरूलाई प्रेरित पत्रुसले “बप्तिस्मा” लिन आग्रह गरे। (प्रेरित २:३८) तैपनि, यहोवालाई हामीले गर्ने समर्पण व्यक्‍तिगत कुरा हो। अरू कसैले हाम्रो लागि समर्पण गरिदिन सक्दैन। यहोवाको इच्छा गर्ने निर्णय हामी आफैले गर्नुपर्छ।—भजन ४०:८.

बप्तिस्माको लागि पर्याप्त तयारी

८, ९. (क) शिशुलाई बप्तिस्मा दिनु किन बाइबल शिक्षा विपरीत हो? (ख) बप्तिस्मा लिनुअघि केटाकेटीहरूले कस्तो आध्यात्मिक प्रगति गरिसकेको हुनुपर्छ?

के साना केटाकेटीले राम्ररी बुझेर सही निर्णय गर्न सक्छन्‌? बाइबलले बप्तिस्मा लिने उमेर तोकेको छैन। तर एउटा कुरा भने पक्का छ, शिशुहरूले विश्‍वासको आधारमा निर्णय गर्न वा आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्न सक्दैनन्‌। (प्रेरित ८:१२) मसीही धर्म र चर्चको सामान्य इतिहास (जेनरल हिस्ट्री अफ द क्रिश्‍चियन रिलिजन एण्ड चर्च) भन्‍ने पुस्तकमा प्रथम शताब्दीका मसीहीहरूबारे इतिहासकार अगस्तस नान्डर यसो भन्छन्‌: “सुरु-सुरुमा वयस्कहरूलाई मात्र बप्तिस्मा दिइन्थ्यो किनभने विश्‍वास र बप्तिस्माबीच नजिकको सम्बन्ध छ भनेर तिनीहरूले बुझ्न सक्थे।”

केही केटाकेटीले सानै उमेरमा परमेश्‍वरको वचनका आधारभूत कुरा बुझ्छन्‌ र त्यसैअनुसार चल्ने निर्णय गर्छन्‌। तर अरू कतिपयलाई भने अलि धेरै समय लाग्छ। जेहोस्‌, वयस्कहरूले जस्तै तिनीहरूले पनि बप्तिस्मा लिनुअघि नै यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँसिसकेको, बाइबलका आधारभूत कुरा राम्ररी बुझिसकेको र समर्पणको अर्थ के हो भनेर राम्ररी थाह पाइसकेको हुनुपर्छ।

१०. समर्पण र बप्तिस्माअघि के-के गर्नै पर्छ?

१० मैले आज्ञा गरेको सबै कुरा नयाँ व्यक्‍तिहरूलाई सिकाओ भनेर येशूले आफ्ना चेलाहरूलाई निर्देशन दिनुभयो। (मत्ती २८:२०) सबैभन्दा पहिला, नयाँ व्यक्‍तिहरूले सत्यको सही ज्ञान लिनु जरुरी छ। यस्तो ज्ञान पाएपछि तिनीहरूले यहोवा र उहाँको वचनमा विश्‍वास बढाउँदै लैजान सक्नेछन्‌। (रोमी १०:१७; १ तिमोथी २:४; हिब्रू ११:६) बाइबलको सत्यले मानिसको मन छोएपछि तिनी पश्‍चात्ताप गर्न अनि आफ्नो पुरानो जीवनशैली चटक्कै त्याग्न उत्प्रेरित हुन्छन्‌। (प्रेरित ३:१९) अनि मात्र, यहोवालाई समर्पण गर्न र येशूले आज्ञा गर्नुभएबमोजिम बप्तिस्मा लिन तिनको इच्छा जाग्नेछ।

११. बप्तिस्मा लिनुअघि प्रचारकार्यमा नियमित तवरमा भाग लिनु किन महत्त्वपूर्ण छ?

११ बप्तिस्मा लिनुअघि गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु हो। यस अन्तिम दिनमा यहोवाले आफ्ना जनहरूलाई अह्राउनुभएको मुख्य काम नै यही हो। (मत्ती २४:१४) यसरी, बप्तिस्मा लिई नसकेका प्रकाशकहरूले आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा पाइने आनन्द अनुभव गर्न सक्छन्‌। यसो गर्दा बप्तिस्मा लिएपछि पनि तिनीहरू क्षेत्र सेवकाईमा नियमित तथा जोसिलो भई लागिरहन सक्नेछन्‌।—रोमी १०:९, १०, १४, १५.

बप्तिस्मा लिन तपाईंलाई कुनै कुराले रोकिरहेको छ कि?

१२. बप्तिस्मा लिनदेखि कोही-कोही पछि हट्‌नुको कारण के-के हुन सक्छन्‌?

१२ बप्तिस्मा लिएपछि पूरा गर्नुपर्ने जिम्मेवारीले गर्दा कोही-कोही बप्तिस्मा लिनदेखि पछि हट्‌छन्‌। यहोवाको स्तरअनुसार जीवन बिताउन ठूलठूला परिवर्तनहरू गर्नुपर्छ भनेर तिनीहरूलाई थाह छ। कोही-कोही चाहिं बप्तिस्मा लिएपछि परमेश्‍वरले चाहनुहुने कुरा पूरा गर्न गाह्रो होला भनेर हच्किन सक्छन्‌। अझ कसै-कसैले त यस्तो तर्क पनि गर्लान्‌, “सायद कुनै दिन मबाट नराम्रो काम होला अनि मण्डलीबाट मलाई बहिष्कार गरिनेछ।”

१३. येशूको समयमा कोही-कोही मानिस उहाँको चेला बन्‍नदेखि किन पन्छिए?

१३ येशूको समयमा आफ्नो व्यक्‍तिगत इच्छा र पारिवारिक सम्बन्धलाई बढी नै महत्त्व दिनेहरू उहाँको चेला बन्‍न सकेनन्‌। उदाहरणको लागि, एक शास्त्रीले भनेका थिए, ‘येशू जहाँ-जहाँ जानुहुन्छ म उहाँको पछि-पछि लाग्नेछु।’ तर आफ्नो लागि रात बिताउने ठाउँसमेत छैन भनेर येशूले धेरै चोटि भन्‍नुभयो। येशूले अर्को एक व्यक्‍तिलाई चेला बन्‍न बोलाउनुहुँदा तिनले भने, ‘पहिला मेरो बुबालाई गाड्‌न दिनुहोस्‌।’ तुरुन्तै येशूको पछि लाग्नुभन्दा बरु तिनी आफ्नो बुबाको मृत्यु नहोउञ्जेल घरमै बस्न चाहन्थे। बुबा बित्नुभयो भने त्यतिबेला आफ्नो जिम्मेवारी पूरा गरिहाल्छु नि भन्‍न तिनी तयार थिएनन्‌। अन्तमा, तेस्रो व्यक्‍तिले चाहिं येशूको पछि लाग्नुअघि आफ्नो परिवारसित ‘बिदा लिन दिनुहोस्‌’ भने। त्यसरी विभिन्‍न काम देखाएर पन्छिन खोज्नुलाई येशूले ‘पछिल्तिर हेर्नुसित’ तुलना गर्नुभयो। यसकारण, अनेक कारण देखाएर पन्छिन खोज्ने व्यक्‍तिले मसीही जिम्मेवारी नस्वीकार्न सधैं कुनै न कुनै बहाना पाइहाल्छ जस्तो देखिन्छ।—लूका ९:५७-६२.

१४. (क) मानिसहरूको जलाहारी बन्‍न येशूले बोलाउनुहुँदा पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नाले के गरे? (ख) येशूको जुवा बोक्न हामी किन हिचकिचाउनु हुँदैन?

१४ अर्कोतर्फ, पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नाको उदाहरण एकदमै फरक छ। येशूले तिनीहरूलाई मानिसको जलाहारी बन्‍न बोलाउनुहुँदा के भयो? बाइबल यसो भन्छ: “उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” (मत्ती ४:१९-२२) तुरुन्तै यस्तो निर्णय गर्दा येशूले पछि भन्‍नुभएको यो कुरा तिनीहरूले अनुभव गरे: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२९, ३०) हुन त हो, बप्तिस्मा लिएपछि पूरा गर्नुपर्ने जुवारूपी जिम्मेवारीहरू हुन्छन्‌। तर यो जुवा हलुका छ अनि यसले विश्राम दिन्छ अर्थात्‌ यो एकदमै स्फूर्तिदायी छ भनी येशू हामीलाई आश्‍वासन दिनुहुन्छ।

१५. परमेश्‍वरको साथ पाउने कुरामा हामी ढुक्क हुन सक्छौं भनेर मोशा र यर्मियाको उदाहरणले कसरी देखाउँछ?

१५ ‘म त योग्य छैनँ’ भन्‍ने सोचाइ आउनु स्वाभाविक हो। मोशा र यर्मियाले पनि यहोवाले दिनुभएको काम गर्न सुरुमा आफू योग्य छैन भन्ठानेका थिए। (प्रस्थान ३:११; यर्मिया १:६) तर परमेश्‍वरले तिनीहरूलाई कस्तो आश्‍वासन दिनुभयो? उहाँले मोशालाई यसो भन्‍नुभयो: “निश्‍चय म तँसित हुनेछु।” अनि यर्मियालाई यस्तो प्रतिज्ञा गर्नुभयो: “तँलाई बचाउनलाई म तेरो साथमा छु।” (प्रस्थान ३:१२; यर्मिया १:८) परमेश्‍वरको साथ पाउने कुरामा हामी पनि ढुक्क हुन सक्छौं। समर्पणअनुसार जीवन बिताउन सक्छु कि सक्दिनँ होला भनेर मनमा शंका-उपशंका आइरहन सक्छ। परमेश्‍वरप्रतिको प्रेम र उहाँमाथिको भरोसाले हामीलाई यस्तो शंका-उपशंका हटाउन मदत गर्न सक्छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “प्रेममा डर हुँदैन, तर पूर्ण प्रेमले ता डरलाई हटाउँछ, किनभने डरमा सजाय रहन्छ, र जो डराउँछ प्रेममा पूर्ण भएको हुँदैन।” (१ यूहन्‍ना ४:१८) एक्लै हिंड्‌नुपऱ्‍यो भने सानो केटो डराउन सक्छ। तर आफ्नो बुबाको हात च्याप्प समाएर हिंड्‌दा उसलाई अलिकति पनि डर लाग्दैन। त्यसै गरी, पूरा मनतनले यहोवामाथि भरोसा राख्यौं भने, उहाँ ‘हाम्रा बाटोहरू सुगम तुल्याइदिने’ प्रतिज्ञा गर्नुहुन्छ।—हितोपदेश ३:५, ६.

मर्यादित हुनुपर्ने क्षण

१६. बप्तिस्मा लिंदा किन पानीमा चुर्लुम्मै डुब्नुपर्छ?

१६ बप्तिस्मा लिनुअघि बाइबल आधारित भाषण दिइन्छ। यस भाषणले बप्तिस्माको महत्त्व बुझाउँछ। बप्तिस्मा लिन तयार भएर बसेकाहरूलाई भाषणको अन्तमा दुइटा प्रश्‍न सोधिन्छ। यी दुई प्रश्‍नको जवाफ दिएर तिनीहरूले आफ्नो विश्‍वासबारे सबैलाई थाह दिन्छन्‌। (रोमी १०:१०; पृष्ठ २२ को पेटी हेर्नुहोस्‌।) त्यसपछि, येशूले बसाल्नुभएको नमुनाअनुसारै तिनीहरूलाई पानीमा चुर्लुम्मै डुबाएर बप्तिस्मा दिइन्छ। बप्तिस्मा लिएपछि येशू “पानीबाट माथि निस्कनुभयो” अथवा ‘पानीबाट उक्ली आउनुभयो’ भनी बाइबल बताउँछ। (मत्ती ३:१६; मर्कूस १:१०) बप्तिस्मा दिने यूहन्‍नाले येशूलाई पानीमा चुर्लुम्मै डुबाएका थिए भन्‍ने कुरा स्पष्ट छ। b पानीमा चुर्लुम्मै डुब्नुले जीवनमा हामीले गरेको आमूल परिवर्तनलाई सही चित्रण गर्छ। लाक्षणिक अर्थमा हामी आफ्नो पुरानो जीवनशैलीमा मर्छौं अनि परमेश्‍वरको सेवा गर्न नयाँ जीवन सुरु गर्छौं।

१७. बप्तिस्मा लिने व्यक्‍ति र अरूले कसरी बप्तिस्माको क्षणलाई मर्यादित बनाउन सक्छन्‌?

१७ बप्तिस्मा एउटा गम्भीर तथा सुखद क्षण हो। यूहन्‍नाले येशूलाई यर्दन नदीमा डुबाउँदा उहाँ प्रार्थना गरिरहनुभएको थियो भनी बाइबल बताउँछ। (लूका ३:२१, २२) येशूले बसाल्नुभएको त्यस नमुनाअनुसारै बप्तिस्माको लागि योग्य भएकाहरूले पनि उचित मर्यादा झल्काउनुपर्छ। बाइबलले हामीलाई दिनहुँ भद्र पहिरन लगाउन आग्रह गर्छ। अब तपाईं आफै भन्‍नुहोस्‌, बप्तिस्मा लिने बेला झन्‌ हाम्रो पहिरन कत्ति भद्र हुनुपर्छ होला! (१ तिमोथी २:९) बप्तिस्मा लिने व्यक्‍तिहरूबाहेक अरूले पनि बप्तिस्माको भाषण ध्यान दिई सुनेर अनि बप्तिस्मा दिएको शिष्टपूर्वक हेरेर यस क्षणप्रति उचित आदर देखाउन सक्छन्‌।—१ कोरिन्थी १४:४०.

बप्तिस्मा लिने व्यक्‍तिहरूले पाउने आशिष्‌हरू

१८, १९. बप्तिस्मा लिएपछि कस्तो सुअवसर र आशिष्‌ पाउँछौं?

१८ परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिइसकेपछि हामी एउटा विशेष परिवारको सदस्य बन्छौं। सबैभन्दा पहिला, यहोवा हाम्रो बुबा र साथी बन्‍नुहुन्छ। बप्तिस्मा लिनुअघि हामी परमेश्‍वरबाट टाढिएका थियौं। तर बप्तिस्मा लिएपछि भने उहाँसित मिलाप गर्न सक्यौं। (२ कोरिन्थी ५:१९; कलस्सी १:२०) येशू ख्रीष्टको बलिदानद्वारा हामी परमेश्‍वरसित नजिक भएका छौं र उहाँ पनि हाम्रो नजिक आउनुभएको छ। (याकूब ४:८) यहोवाको नाउँ प्रयोग गर्ने र वहन गर्नेहरूलाई उहाँ ध्यान दिनुहुन्छ र उनीहरूको कुरा सुन्‍नुहुन्छ। उहाँले यस्ता व्यक्‍तिहरूको नाउँ आफ्नो सम्झनाको पुस्तकमा पनि लेख्नुहुन्छ भनेर अगमवक्‍ता मलाकी बताउँछन्‌। परमेश्‍वर भन्‍नुहुन्छ, “तिनीहरू मेरा हुनेछन्‌ . . . कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।”—मलाकी ३:१६-१८, NRV.

१९ बप्तिस्मा लिएपछि हामी संसारभरि फैलिएको एउटा भाइचाराको सदस्य बन्छौं। त्यागहरू गर्दा ख्रीष्टका चेलाहरूले कस्ता आशिष्‌हरू पाउँछन्‌ भनी प्रेरित पत्रुसले सोद्धा जवाफमा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “जस जसले मेरो नाउँको निम्ति घर दाज्यू-भाइ, कि दिदी-बहिनी, अथवा बाबु, कि आमा, कि छोरा-छोरीहरू, कि जग्गा-जमीनहरू छोड्‌छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार गर्नेछ।” (मत्ती १९:२९) येशूले यस्तो जवाफ दिनुभएको वर्षौंपछि पत्रुसले “संसारमा” फैलिएको सारा ‘भाइ-बन्धुहरूबारे’ लेखे। यस्तो मायालु भाइचाराको सहयोग र आशिष्‌ पत्रुस आफैले पनि अनुभव गरिसकेका थिए। हामी पनि त्यस्तै आशिष्‌ अनुभव गर्न सक्छौं।—१ पत्रुस २:१७; ५:९.

२०. बप्तिस्मा लिएपछि कस्तो उज्ज्वल आशा राख्न सक्छौं?

२० यसबाहेक, उहाँको पछि लाग्नेले “अनन्त जीवनको अधिकार गर्नेछ” भनी येशूले बताउनुभयो। हो, समर्पण र बप्तिस्मापछि ‘साँच्चैको जीवन’ अर्थात्‌ परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन पाउने आशा राख्न सकिन्छ। (१ तिमोथी ६:१९) आफू र आफ्नो परिवारको भविष्यको लागि योभन्दा राम्रो जग अरू के हुन सक्ला? यस्तो उज्ज्वल आशाले हामीलाई “सदा सर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा” हिंड्‌न मदत गर्नेछ।—मीका ४:५. (w06 4/1)

[फुटनोटहरू]

a पेन्तिकोसको दिनमा पत्रुसको भाषण सुन्‍ने यहूदी र धर्म परिवर्तन गरेर यहूदी धर्म अँगालेका तीन हजार व्यक्‍तिले पनि ढिलासुस्ती नगरी बप्तिस्मा लिए। हो, इथियोपियाली खजान्चीलाई जस्तै तिनीहरूलाई पनि परमेश्‍वरको वचनका आधारभूत शिक्षा तथा सिद्धान्तहरू पहिल्यै थाह थियो।—प्रेरित २:३७-४१.

b युनानी शब्द बप्तिस्मा भनेको “चुर्लुम्मै डुब्ने, पानीमुनि जाने अनि पानीबाट निस्कने प्रक्रिया हो” भनी भाइन्स्‌ एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वड्‌र्स बताउँछ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यहोवाले हामीलाई प्रेम देखाउनुहुँदा के गर्नुपर्छ र किन?

• बप्तिस्मा लिनुअघि कस्तो आध्यात्मिक प्रगति गरिसकेको हुनुपर्छ?

• कतै चुकौंला भन्‍ने डर वा बप्तिस्मा लिएपछि पूरा गर्नुपर्ने जिम्मेवारीले गर्दा बप्तिस्मा लिनदेखि हामी किन पछि हट्‌नुहुँदैन?

• बप्तिस्मा लिएर येशू ख्रीष्टका चेला भएकाहरूले कस्तो अनमोल आशिष्‌ पाउन सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

“मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र?”

[पृष्ठ २९-मा भएका चित्रहरू]

बप्तिस्मा एउटा गम्भीर तथा सुखद क्षण हो