भजनसंग्रहको पहिलो खण्डका विशेषताहरू
यहोवाको वचन जीवित छ
भजनसंग्रहको पहिलो खण्डका विशेषताहरू
हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वरको धेरै प्रशंसा गर्ने बाइबल पुस्तकलाई के नाम दिए बेस होला? ट्वाक्क मिल्ने नाम त, भजन अथवा प्रशंसा नै हो। बाइबलको सबैभन्दा लामो यस पुस्तकमा अति सुन्दर लयमा रचिएका गीतहरू छन्। यी गीतमा परमेश्वरको उदेकलाग्दा गुण, शक्तिशाली काम र थुप्रै भविष्यवाणीबारे चर्चा गरिएको भेटिन्छ। कष्ट भोग्दा लेखकहरूले महसुस गरेको भावना थुप्रै गीतमा पोखिएको छ। उनीहरूको भोगाइका वृतान्तहरूमा लगभग एक हजार वर्ष अर्थात् अगमवक्ता मोशाको समयदेखि निर्वासनपछिको समयभित्र घटेका घटना समेटिएका छन्। मोशा, राजा दाऊद र अरूले भजनसंग्रहको पुस्तक लेखेका हुन्। यस पुस्तकलाई पूर्ण रूप दिने व्यक्ति हुन्—पूजाहारी एज्रा।
भजनसंग्रहको पुस्तकलाई धेरै पहिलादेखि पाँचवटा गीति सङ्गालो अथवा खण्डमा विभाजन गरिएको छ: (१) भजन अध्याय १ देखि ४१; (२) भजन अध्याय ४२ देखि ७२; (३) भजन अध्याय ७३ देखि ८९; (४) भजन अध्याय ९० देखि १०६ र (५) भजन अध्याय १०७ देखि १५०। यो लेख पहिलो गीति सङ्गालोमा आधारित छ। यस खण्डका तीनवटा भजनबाहेक अरू सबै भजन प्राचीन इस्राएलका राजा दाऊदले लेखेका हुन्। भजन अध्याय १, १० र ३३ का रचनाकार अज्ञात छन्।
“परमप्रभु मेरो चटान”
भजन पहिलो अध्यायमा यहोवाको व्यवस्थामा प्रसन्न रहनेहरू आनन्दित हुन्छन् भन्ने बित्तिकै दोस्रो अध्यायमा चाहिं परमेश्वरको राज्यबारे चर्चा गरिएको पाइन्छ। a भजनसंग्रहको पहिलो खण्डमा परमेश्वरलाई बिन्ती बिसाएका विवरणहरू छन्। उदाहरणको लागि, भजन अध्याय ३ देखि ५, ७, १२, १३ र १७ मा शत्रुबाट छुटकारा पाउन गरिएको बिन्ती छ। भजन अध्याय ८ ले जाबो मानिसको तुलनामा यहोवा कत्ति महान् हुनुहुन्छ भन्ने कुरा प्रकाश पार्छ।
यहोवा, आफ्ना जनहरूको रक्षा गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्दै दाऊद यस्तो गीत गाउँछन्: “मेरा परमेश्वर, मेरो बलियो चटान, उहाँमै म भरोमा राख्नेछु।” (भजन १८:२) भजन अध्याय १९ मा सृष्टिकर्ता र व्यवस्था दिनुहुने परमेश्वरको रूपमा यहोवाको प्रशंसा गरिएको छ भने, अध्याय २० मा उद्धार गर्नुहुने परमेश्वरको रूपमा। भजन अध्याय २१ मा चाहिं आफूले अभिषेक गरेको राजालाई उद्धार गर्नुहुने परमेश्वर भनेर उहाँको प्रशंसा गरिएको छ। भजन अध्याय २३ मा उहाँलाई महान् गोठालोको रूपमा चित्रण गरिएको छ र अध्याय २४ मा चाहिं महिमित राजा भनिएको छ।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
२:१, २—राष्ट्रहरूले कस्ता “व्यर्थका कुरा” गर्छन्? मानव सरकारहरूले हरहालतमा आफ्नो शक्तिलाई बलियो बनाइराख्ने ध्याउन्नमा लागेर “व्यर्थका कुरा” गर्छन्। तर यस्तो कोसिस बेकार छ, तिनीहरू आफ्नो उद्देश्यमा पूरा हुन सक्दै सक्दैनन्। के राष्ट्रहरू “परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा” साँच्चै सफल हुन सक्लान्?
२:७—यहोवाको “उर्दी” के हो? यो उर्दी यहोवाले आफ्नो प्यारो पुत्र येशू ख्रीष्टसित बाँध्नुभएको राज्यको करार हो।—लूका २२:२८, २९.
२:१२—विभिन्न राष्ट्रका शासकहरूले कसरी “पुत्रलाई चुम्बन” गर्न सक्छन्? बाइबल लेखिएको समयमा चुम्बन गर्नुले मित्रता र वफादारितालाई सङ्केत गर्थ्यो। पाहुनाहरूलाई स्वागत गर्न पनि चुम्बन गरिन्थ्यो। पुत्रलाई चुम्बन गर्न अर्थात् परमेश्वरको पुत्रलाई मसीही राजाको रूपमा स्वीकार्न पृथ्वीका राजाहरूलाई आदेश दिइएको छ।
३:उपशीर्षक—भजनसंग्रहका कुनै-कुनै अध्यायको मुख्य शीर्षकमुनि सानो अक्षरमा लेखिएको उपशीर्षक छ। त्यसको उद्देश्य के हो? कहिलेकहीं त्यस्तो उपशीर्षकले लेखकको परिचय दिन्छ र/अथवा कस्तो परिस्थितिमा त्यो भजन लेखिएको थियो, त्यसको जानकारी दिन्छ। यसको एउटा उदाहरण भजन अध्याय ३ मा पाउन सक्छौं। यस्तो उपशीर्षकले कुनै-कुनै खास गीतको (भजन अध्याय ४ र ५) उद्देश्य वा प्रयोग बताउनुका साथै संगीतसम्बन्धी निर्देशन (भजन अध्याय ६) दिन सक्छ।
३:२—“सेला” भनेको के हो? यस शब्दले गीत गाउँदा मात्र होस् वा गीत गाउने र संगीत बजाउने क्रममा, चुपचाप मनन गर्नको लागि एकछिन रोकिनुलाई सङ्केत गर्छ भन्ने धेरैको सोचाइ छ। कुनै विचार अथवा भावलाई अझ जोड दिन त्यसरी एकैछिन रोकिने गरिन्थ्यो। भजनसंग्रहको पुस्तक पढ्दा यो शब्द पढिरहनु आवश्यक छैन।
११:३—कुन जगहरू नष्ट हुन्छन्? ती जगहरू मानव समाजले बनाएका नियम, कानुन र न्याय-व्यवस्था हुन् जसमा उनीहरू पूरै भर परिरहेका छन्। ती भताभुंग हुँदा समाजमा गोलमाल मच्चिन्छ र न्याय हुँदैन। त्यस्तो बेला ‘धर्मात्माहरूले’ परमेश्वरमा पूर्ण भरोसा राख्नुपर्छ।—भजन ११:४-७.
२१:३—“चोखो सुनको शिरपेच[को]” विशेषता के हो? त्यो शिरपेच साँच्चिकै थियो वा त्यसले थुप्रै युद्ध जितेपछि दाऊदको महिमा बढेको कुरालाई लाक्षणिक रूपमा सङ्केत गर्थ्यो, केही बताइएको छैन। तर यस पदमा भविष्यसूचक अर्थ लुकेको छ अर्थात् यहाँ बताइएको कुराले सन् १९१४ मा येशूले यहोवाबाट प्राप्त गर्नुभएको राजकीय शिरपेचलाई सङ्केत गर्छ। शिरपेच सुनको हुनुले उहाँको शासनपद्धति उच्च कोटिको छ भन्ने बुझाउँछ।
२२:१, २—यहोवाले मलाई त्याग्नुभयो भनेर दाऊदले महसुस गर्नुको कारण के हुन सक्छ? शत्रुहरूले दाऊदलाई साह्रै पेलेको कारण तिनको ‘मुटु मैनजस्तै भयो र तिनको आन्द्रा-भुँडीको बीचमा त्यो पग्ल्यो।’ (भजन २२:१४) त्यस्तो अवस्थामा पर्दा तिनलाई यहोवाले त्याग्नुभयो जस्तो लागेको हुनुपर्छ। कीला ठोकेर झुन्ड्याइँदा येशूलाई पनि त्यस्तै लागेको थियो। (मत्ती २७:४६) दाऊदले जे भने, त्यो निराशाले छोप्दा तिनलाई महसुस भएको कुरा थियो। तर भजन २२:१६-२१ मा लिपिबद्ध प्रार्थना विचार गऱ्यौं भने, परमेश्वरमाथि दाऊदको विश्वास कमजोर भएको थिएन भनेर स्पष्ट हुन्छ।
हाम्रो लागि पाठ
१:१. यहोवालाई प्रेम नगर्ने व्यक्तिहरूसित संगत गर्नु हुँदैन।—१ कोरिन्थी १५:३३.
१:२. परमेश्वरको उपासनासित सम्बन्धित कुरा विचार नगरी दिन बित्न नदिने सङ्कल्प गर्नुपर्छ।—मत्ती ४:४.
४:४. रीस उठेको वा क्रोधित भएको बेला चुप लागेर बस्नु बेस किनभने यस्तो बेला बोल्दा पछि पछुताउनुपर्ने कुरा मुखबाट फुत्किन सक्छ।—एफिसी ४:२६.
४:५. सही मनसायले र यहोवाको स्तरअनुरूप जीवन बिताएका छौं भने मात्र हामीले चढाउने आध्यात्मिक बलिदान “धार्मिकताको बलिदान” हुन्छ।
६:५. यहोवाको प्रशंसा गर्न बाँच्न चाहनुभन्दा उत्तम कारण अरू के हुन सक्ला?—भजन ११५:१७.
९:१२. रक्तदोषीलाई सजाय दिन रक्तपात गर्ने व्यक्तिलाई यहोवा चिनिराख्नुहुन्छ तर “गरीबहरूको पुकारा” उहाँ सम्झनुहुन्छ।
१५:२, ३; २४:३-५. साँचो उपासकहरूले सत्य बोल्नै पर्छ अनि झूटो किरिया नखान र अरूको निन्दा नगर्न होसियार हुनुपर्छ।
१५:४. हामीले गरेको प्रतिज्ञा बाइबल शिक्षाविपरीत रहेनछ भने, जस्तोसुकै मूल्य चुकाएर भए पनि आफूले दिएको वचन पूरा गर्न यथासक्दो गर्नुपर्छ।
१५:५. यहोवाका उपासकहरू पैसाको दुरुपयोग नगर्न होसियार हुनुपर्छ।
१७:१४, १५. “यस संसारका मानिसहरू” सम्पन्न जीवन बिताउन, घरबार बसाल्न र बालबच्चाको लागि सम्पत्ति छोडिराख्न मरिमेट्छन्। तर दाऊदलाई भने ‘परमेश्वरको मुख हेर्न’ अथवा यहोवाको अनुमोदन पाउन उहाँको नजरमा कसरी असल नाउँ राख्ने भन्ने कुराकै मात्र चिन्ता थियो। यहोवाको प्रतिज्ञा र आश्वासन पाएर “बिउँझदा” दाऊद ‘उहाँको रूपको दर्शन देखेर सन्तुष्ट’ हुने थिए। अर्को शब्दमा भन्नुपर्दा, यहोवाको साथ पाएकोमा दाऊद रमाउने थिए। दाऊदले जस्तै के हामीले पनि आफ्नो मन आध्यात्मिक सम्पत्तितिर लगाउनु पर्दैन र?
१९:१-६. बोल्न र तर्क गर्न नसक्ने सृष्टिले त यहोवालाई महिमा दिन्छ भने, सोच्न, बोल्न र उपासना गर्न सक्ने क्षमता भएका हामीले त झन् उहाँलाई कत्ति बढ्ता महिमा दिनुपर्ने हो!—प्रकाश ४:११.
१९:७-११. यहोवाले दिनुभएका सम्झौटाहरू हाम्रो लागि कत्ति लाभदायी छन्!
१९:१२, १३. भूल गर्नु र अहङ्कारी काम गर्नु भनेको पाप गर्नु हो। त्यसो नगर्न होसियार हुनुपर्छ।
१९:१४. कस्तो काम गर्छौं त्यसबारे मात्र होइन तर हामीले भन्ने र सोच्ने कुराको पनि हेक्का राख्नुपर्छ।
“मेरो सत्यनिष्ठामा तपाईंले मलाई सम्भाल्नुहुन्छ”
यस समूहको दुईवटा भजनमा दाऊदले निष्ठावान् रहिरहने आफ्नो हार्दिक इच्छा तथा अठोट व्यक्त गरेका छन्! तिनी यसो भन्दै गीत गाउँछन्, “मचाहिं त आफ्नो इमानदारीमा [“निष्ठामा,” NW] चल्नेछु।” (भजन २६:११, NW) पापको क्षमा माग्दै प्रार्थनामा दाऊद यो कुरा मानिलिन्छन्: “जब म चूप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्कलाशब्दले गर्दा मक्किए।” (भजन ३२:३) यहोवाका वफादार जनहरूलाई दाऊद यस्तो आश्वासन दिन्छन्: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्, र उहाँका कान तिनीहरूका पुकारा सुन्न खुला हुन्छन्।”—भजन ३४:१५.
भजन अध्याय ३७ मा दिइएको सल्लाह इस्राएलीहरूका लागि निकै मूल्यवान् साबित भयो। हामी यस रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेकोले त्यो सल्लाह हाम्रो लागि पनि त्यत्तिकै मूल्यवान् छ! (२ तिमोथी ३:१-५) भजन ४०:७, ८ मा येशू ख्रीष्टबारे यस्तो भविष्यसूचक कुरा लेखिएको छ: “हेर्नुहोस्, म आएको छु। पत्रको मुट्ठामा मेरो विषयमा यस्तै लेखिएको छ। हे मेरा परमेश्वर, तपाईको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईको व्यवस्था मेरो हृदयमा छ।” पहिलो खण्डको अन्तिम भजनमा बेतशेबासित पाप गरेपछि पीडाले छटपटिएको बेला मदतको लागि दाऊदले यहोवालाई गरेको पुकारा छ। तिनी यसो भन्दै गाउँछन्: “मेरो सत्यनिष्ठामा तपाईंले मलाई सम्भाल्नुहुन्छ।”—भजन ४१:१२, NRV.
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
२६:६—हामी कसरी लाक्षणिक अर्थमा दाऊदजस्तै यहोवाको वेदीको रिङ्गै घुम्छौं? मानिसजातिलाई पापबाट मुक्त गर्न येशू ख्रीष्टले चढाउनुभएको छुटकाराको बलिदान स्वीकार्ने यहोवाको इच्छालाई यस वेदीले चित्रण गर्छ। (हिब्रू ८:५; १०:५-१०) त्यसकारण, त्यस बलिदानमा विश्वास गरेर हामी यहोवाको वेदीको रिङ्गै घुम्छौं।
२९:३-९—गड्याङगुडुङ गर्दा सबैलाई त्रसित पार्ने चट्याङसित यहोवाको स्वरलाई तुलना गर्नुको अर्थ के हो? यहोवाको भयङ्कर शक्तिलाई चित्रण गर्न!
३३:६—यस पदमा यहोवाको “मुखको सास” भन्नुको अर्थ के हो? परमेश्वरले आफ्नो सक्रिय शक्ति अर्थात् पवित्र आत्मा परिचालन गर्नुलाई यसले बुझाउँछ। यही पवित्र आत्मा चलाएर परमेश्वरले आकाश सृष्टि गर्नुभयो। (उत्पत्ति १:१, २) यहोवाको आत्मालाई उहाँको मुखको सास भन्न सुहाउँछ किनभने जोडले फुकेझैं टाढाको काम पूरा गर्न यहोवाले पवित्र आत्मा पठाउन सक्नुहुन्छ।
३५:१९—दाऊदले ‘मसँग दुश्मनी गर्नेहरूले आँखा झिम्काउन नपाऊन्’ भन्नुको मतलब के हो? आँखा झिम्काउनुले दाऊदविरुद्ध रचिएका द्वेषपूर्ण योजनाहरू सफल हुँदा शत्रुहरू रमाउनुलाई सङ्केत गर्थ्यो। दाऊदले त्यस्तो नहोस् भनेर बिन्ती गरे।
हाम्रो लागि पाठ:
२६:४. इन्टरनेट च्याट रूममा आफ्नो सक्कली परिचय लुकाउने, स्कूल अथवा काम गर्ने ठाउँमा फाइदा उठाउन साथी बनेको नाटक गर्ने, इमानदार भएको ढोंग गर्ने धर्मत्यागी र दोहोरो जीवन बिताउने व्यक्तिसित संगत गर्दै नगर्नु बुद्धिमानी हुन्छ।
२६:७, १२; ३५:१८; ४०:९. मसीही सभाहरूमा हामीले सबैसामु यहोवाको प्रशंसा गर्नै पर्छ।
२६:८; २७:४. मसीही सभाहरूमा जान पाउँदा के हामी रमाउँछौं?
२६:११, दाऊदले इमानदारीमा चल्ने अर्थात् निष्ठावान् रहिरहने संकल्प व्यक्त गरे तापनि तिनले ‘मलाई मोल तिरेर मुक्त गराउनुहोस्’ भनेर बिन्ती पनि गरे। हो, हामी असिद्ध छौं तरैपनि निष्ठावान् रहन सक्छौं।
२९:१०. “जलप्रलयमा” यहोवा विराजमान हुनुहुन्छ भन्नाले उहाँ आफ्नो शक्तिलाई पूर्णतया नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने कुरा बुझाउँछ।
३०:५. यहोवाको प्रमुख गुण प्रेम हो—रिस होइन।
३२:९. हामी बेत अथवा कोर्रा नलगाई भनेको नमान्ने खच्चर वा गधाजस्तो भएको यहोवा चाहनुहुन्न। बरु हामीले उहाँको इच्छा राम्रोसँग बुझेर आज्ञापालन गरेको चाहनुहुन्छ।
३३:१७-१९. मानिसले बनाएको शासनप्रणाली जतिसुकै बलियो होस् त्यसले हाम्रो जीवन बचाउन सक्दैन। हामीले यहोवा र उहाँको राज्यसम्बन्धी प्रबन्धमाथि नै भरोसा गर्नुपर्छ।
३४:१०. जीवनमा राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिने व्यक्तिहरूको लागि कस्तो आश्वासनदायी कुरा!
३९:१, २. हाम्रा सँगी भाइबहिनीको हानि गर्न दुष्टले विभिन्न जानकारी खोज्दै हिंडेको बेला ‘महला लाएर आफ्नो मुख बन्द गरी’ चुपचाप बस्नु बेस हुन्छ।
४०:१, २. यहोवाको बाटो हेर्दा “सत्यनाशको खाडल र दलदले हिलोबाट” बाहिर निस्केझैं हामी निराशालाई आशामा बदल्न सक्छौं।
४०:५, १२. आफूले पाएका ‘गन्ती गर्नै नसकिने’ आशिष्हरूमा ध्यान दियौं भने, जतिसुकै विपत्ति आइपरोस् अथवा हाम्रा कमीकमजोरी जति नै भए पनि हिम्मत हार्नेछैनौं।
“परमप्रभु . . . धन्यको हुनुहुन्छ”
पहिलो खण्डका ४१ वटा भजन कत्ति सान्त्वनादायी र प्रोत्साहनजनक छन्! चाहे हामी विभिन्न परीक्षामा परेर कष्ट हिब्रू ४:१२) यी भजनमा जीवनलाई सही बाटोमा डोऱ्याउने जानकारीहरू पाइन्छन्। हामी जस्तोसुकै आपत्विपदमा परे तापनि यहोवाले त्याग्नुहुनेछैन भनेर हामीलाई बारम्बार आश्वासन दिइएको छ।
झेलिरहेका होऔं वा दोषी अन्तस्करणले पिरोलिएका, परमेश्वरको शक्तिशाली वचनको यस खण्डबाट हामी बल तथा प्रोत्साहन पाउन सक्छौं। (भजनसंग्रहको पहिलो खण्ड यसरी टुङ्गिन्छ: “इस्राएलका परमेश्वर परमप्रभु, आदिदेखि अनादिसम्म धन्यको हुनुहुन्छ। आमेन, आमेन।” (भजन ४१:१३) भजनसंग्रहको पहिलो खण्ड केलाएर हेरिसकेपछि के हामी यहोवालाई धन्यको भन्न अथवा उहाँको प्रशंसा गर्न जुरमुरिंदैनौं र? (w06 5/15)
[फुटनोट]
a भजन अध्याय २ को प्रथम पूर्ति दाऊदको समयमा भयो।
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
Stars, pages 4 and 5: Courtesy United States Naval Observatory
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Stars: Courtesy United States Naval Observatory