सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं आफूले पाएका आशिष्‌हरूको साँच्चै कदर गर्नुहुन्छ?

के तपाईं आफूले पाएका आशिष्‌हरूको साँच्चै कदर गर्नुहुन्छ?

के तपाईं आफूले पाएका आशिष्‌हरूको साँच्चै कदर गर्नुहुन्छ?

मिश्रको दासत्वबाट चमत्कारपूर्ण ढङ्‌गमा छुटकारा पाएपछि यहोवाको उपासना गर्न स्वतन्त्र भएकोमा इस्राएलीहरू सुरुमा त हर्षित भएका थिए। (प्रस्थ. १४:२९—१५:१, २०, २१) तर धेरै समय बित्न नपाउँदै तिनीहरूको दृष्टिकोण परिवर्तन भयो। तिनीहरूले आफ्नो अवस्थाबारे गुनासो गर्न थाले। किन? किनभने यहोवाले तिनीहरूका लागि गर्नुभएका कामहरू सम्झनुको सट्टा तिनीहरूले उजाड-स्थानमा भोग्नुपरेका असुविधाहरूमा ध्यान दिन थाले। तिनीहरूले मोशालाई भने: “यस उजाड-स्थानमा मर्न हामीलाई तपाईंहरूले के कारण मिश्र देशबाट ल्याउनुभयो? किनकि यहाँ रोटी छैन, पानी पनि छैन, र यस तुच्छ खानेकुरादेखि [मन्‍नदेखि] हामीलाई वाक्कै लागिसक्यो।”—गन्ती २१:५.

शताब्दीयौंपछि प्राचीन इस्राएलका राजा दाऊदले यसरी गाए: “मैले ता तपाईंको करुणामा भरोसा गरेको छु, तपाईंले गर्नुहुने उद्धारमा मेरो हृदय रमाउनेछ। उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु।” (भज. १३:५, ६) यहोवाले देखाउनुभएको करुणा दाऊदले बिर्सेनन्‌, बरु उहाँले देखाउनुभएको करुणाबारे तिनले नियमित तवरमा सम्झिरहे। (भज. १०३:२) यहोवाले हामीलाई पनि प्रशस्तसँग दिनुभएको छ। त्यसैले उहाँले हाम्रो लागि जे गर्नुभएको छ, त्यसलाई हल्कासित नलिनु बुद्धिमानी हो। त्यसोभए आउनुहोस्‌, आज हामीले परमेश्‍वरबाट पाएका केही आशिष्‌लाई विचार गरौं।

“परमप्रभुको घनिष्ठता”

भजनरचयिताले गाए: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।” (भज. २५:१४) यहोवाको स्तरबाट चुकेका मानिसहरूले व्यक्‍तिगत रूपमा उहाँसित घनिष्ठ सम्बन्ध राख्न पाउनु कत्ति ठूलो सम्मान! तर दैनिक कामकाजमा अत्यन्तै व्यस्त भएर प्रार्थना गर्न त्यति समय नै पाएनौं भने नि? त्यसो भएमा यहोवासितको हाम्रो असल सम्बन्ध के हुन्छ विचार गर्नुहोस्‌। यहोवा हाम्रो साथी भएकोले उहाँलाई भरोसा गरेको अनि आफ्नो चिन्ता, चाहना र डर उहाँलाई पोखेको चाहनुहुन्छ। (हितो. ३:५, ६; फिलि. ४:६, ७) त्यसोभए के हामीले आफ्नो प्रार्थनाको गुणस्तरलाई ध्यान दिनु पर्दैन र?

पल नाम गरेका एक जवान साक्षीले आफ्नो प्रार्थनाबारे विचार गरेपछि प्रार्थनाको गुणस्तरमा केही उन्‍नति गर्नुपर्ने आवश्‍यकता महसुस गरे। a तिनले भने, “यहोवालाई प्रार्थना गर्दा बारम्बार एउटै कुरा दोहोऱ्‍याउने बानी परिसकेको थियो।” वाच टावर प्रकाशन अनुक्रमणिका (अङ्‌ग्रेजी) प्रयोग गरेर प्रार्थनाबारे अनुसन्धान गर्दा पलले बाइबलमा करिब १८० वटा प्रार्थना रेकर्ड गरिएका छन्‌ भनी थाह पाए। यी प्रार्थनामा यहोवाका विगतका सेवकहरूले आफ्नो भित्री भावना पोखेका छन्‌। पलले भने: “यस्ता धर्मशास्त्रीय उदाहरणहरू मनन गर्दा मैले तोकेरै प्रार्थना गर्न सिकें। यसो गर्दा मन खोलेर सबै कुरा यहोवालाई बताउन सकेको छु। अहिले प्रार्थनामार्फत उहाँसित घनिष्ठ हुन पाउँदा अत्यन्तै आनन्द लाग्छ।”

“ठीक समयमा भोजन”

यहोवाबाट हामीले पाएको अर्को आशिष्‌ धर्मशास्त्रबाट सिकेका थुप्रै सत्य कुरा हुन्‌। यहोवाले प्रशस्त गरी प्रबन्ध गर्नुभएको भोजनमा रमाहट गर्दा हामी “हृदयमा आनन्द भएकाले गाउने” कारण पाउनेछौं। (यशै. ६५:१३, १४) तर सत्यप्रतिको जोस सेलाउन लगाउने अस्वस्थकर प्रभावहरूदेखि हामी होसियार हुनै पर्छ। उदाहरणको लागि, धर्मत्यागीहरूले फैलाएको अफवाहलाई ध्यान दियौं भने हाम्रो सोचाइ भ्रष्ट हुन सक्छ र यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा “ठीक समयमा” उपलब्ध गराउनुभएको भोजनप्रतिको हाम्रो कृतज्ञता हराउन सक्छ।—मत्ती २४:४५-४७.

वर्षौंदेखि यहोवाको सेवा गरेका आन्द्रेले धर्मत्यागी सोचाइद्वारा बहकिंदा कस्तो हुन्छ भन्‍ने तीतो अनुभव गरेका छन्‌। तिनले धर्मत्यागी वेब साइटलाई झुलुक्क हेर्दा के नै खतरा होला भन्ठानेका थिए। तिनी सम्झन्छन्‌: “सुरुमा म धर्मत्यागीहरूले फैलाएको कथित सत्यप्रति आकर्षित भएँ। तिनीहरूले भनेको कुरालाई केलाउँदै जाँदा यहोवाको सङ्‌गठन छोड्‌नु जायज छ भन्‍ने सोचाइ राख्न पुगें। तर पछि जब मैले धर्मत्यागीहरूले यहोवाका साक्षीहरूबारे गरेको तर्कबारे अनुसन्धान गरें, तब ती झूटा शिक्षकहरू कत्ति धूर्त रहेछन्‌ भनी थाह पाएँ। हाम्रो कुराको अर्कै अर्थ लगाएर तिनीहरू त्यसलाई हामीविरुद्ध ‘बलियो प्रमाणको’ रूपमा पेस गर्थे। त्यसैले मैले फेरि हाम्रा प्रकाशनहरू पढ्‌न सुरु गर्ने र सभाहरूमा उपस्थित हुने निर्णय गरें। मैले कत्ति धेरै कुरा गुमाएछु भनेर बल्ल पो थाह पाएँ।” खुसीको कुरा, आन्द्रे मण्डलीमा फर्के।

“सबै भाइहरू”

हाम्रा भाइहरूको मायालु र एकताबद्ध भ्रातृत्व पनि यहोवाले दिनुभएको आशिष्‌ हो। (भज. १३३:१) राम्रै कारणले प्रेषित पत्रुसले यस्तो लेखे: “सबै भाइहरूलाई प्रेम गर।” (१ पत्रु. २:१७) ख्रीष्टियन भ्रातृत्वको भाग भएकोले सँगी ख्रीष्टियनहरू जो हाम्रा बुबा, आमा, दाजुभाइ र दिदीबहिनीजस्तै छन्‌, तिनीहरूको न्यानो साथ पाएका छौं।—मर्कू. १०:२९, ३०.

तैपनि विभिन्‍न अवस्थाले गर्दा कहिलेकाहीं हाम्रा भाइबहिनीबीचको सम्बन्ध चिसिन सक्छ। उदाहरणको लागि, कसैको कमीकमजोरीको कारण चिढिने र ऊप्रति आलोचनात्मक मनोवृत्ति राख्ने हुन सक्छौं। त्यसो भएमा कमीकमजोरीको बाबजुद यहोवाले आफ्ना सेवकहरूलाई प्रेम गर्नुहुन्छ भनी सम्झनु मदतकारी हुनेछैन र? “यदि हामी ‘हामीमा पाप छैन’ भन्छौं भने आफैलाई झुक्क्याइरहेका हुन्छौं र हामीमा सत्य हुँदैन।” (१ यूह. १:८) के हामीले ‘एक-अर्कालाई सहिरहन अनि खुला मनले क्षमा गरिरहन’ प्रयास गर्नुपर्दैन र?—कल. ३:१३.

आन नाम गरेकी युवतीले ठूलो मोल चुकाएपछि मात्र ख्रीष्टियन सङ्‌गतिको महत्त्व बुझिन्‌। येशूको दृष्टान्तको उडन्ते छोराझैं तिनी ख्रीष्टियन मण्डलीबाट तर्केर गइन्‌। पछि तिनको होस फर्क्यो र सच्चाइमा फर्किन्‌। (लूका १५:११-२४) यस्तो अनुभवबाट आनले के सिकिन्‌? तिनी भन्छिन्‌: “अहिले म यहोवाको सङ्‌गठनमा फर्केको छु र भाइबहिनीहरूको कमीकमजोरीको बाबजुद उनीहरू सबैको कदर गर्छु। विगतमा म अरूको आलोचना गर्न हतारिन्थें। तर अहिले सँगी ख्रीष्टियनहरूको माझमा पाइरहेको आशिष्‌लाई कुनै हालतमा नगुमाउन कटिबद्ध छु। यहोवाका साक्षीहरूबीच पाइने शान्तिमय अवस्था त्यागेर अरू कुनै पनि कुरा हासिल गर्न खोज्नु बेकार हो।”

आफूले पाएका आशिष्‌हरूप्रति सधैं कृतज्ञ हुनुहोस्‌

परमेश्‍वरको राज्यले सबै मानिसजातिको समस्या समाधान गर्नेछ भन्‍ने हाम्रो आशा अनमोल छ। पहिलो पटक यस आशाबारे थाह पाउँदा हामी खुसीले कत्ति गदगद भयौं! हामीले येशूको दृष्टान्तको व्यापारीले जस्तै महसुस गऱ्‍यौं, जसले “उच्चकोटिको एउटा मोती” किन्‍न “आफूसित भएको सबै थोक . . . बेच्यो।” (मत्ती १३:४५, ४६) समय बित्दै जाँदा उक्‍त व्यापारीले त्यस मोतीको मोल गर्न छोड्यो भनेर येशूले बताउनुभएन। त्यसैगरि हामी पनि आफूले पाएको अद्‌भुत आशाप्रति कृतज्ञ हुन कहिल्यै नछोडौं।—१ थिस्स. ५:८; हिब्रू ६:१९.

विगत ६० वर्षभन्दा लामो समयदेखि यहोवाको सेवा गरिरहेकी जीनको उदाहरण विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌: “परमेश्‍वरको राज्यबारे अरूलाई बताउँदा म त्यस राज्यलाई सम्झिरहने मदत पाउँछु। परमेश्‍वरको राज्यबारे बुझेपछि उनीहरूको आँखामा आएको चमक देख्दा ममा सकारात्मक प्रभाव पर्छ। त्यस राज्यसम्बन्धी सत्यले बाइबल विद्यार्थीको जीवनमा परिवर्तन ल्याएको देख्दा म यसरी सोच्न बाध्य हुन्छु, ‘अरूलाई बाँड्‌न मसित कत्ति अनमोल सत्य छ!’ ”

परमेश्‍वरले दिनुभएका थुप्रै आशिष्‌को लागि कृतज्ञ हुनुपर्ने ठोस कारणहरू हामीसित छन्‌। विरोध, रोगबिमार, वृद्धावस्था, निराशा, प्रिय जनको मृत्यु र आर्थिक कठिनाइजस्ता परीक्षा भोग्नुपरे तापनि यी क्षणिक हुन्‌ भनेर हामीलाई थाह छ। परमेश्‍वरको राज्यमा, अहिले पाइरहेको आशिष्‌को अलावा अरू थुप्रै आशिष्‌ पाउनेछौं। त्यस नयाँ युगमा अहिले हामीले भोगिरहेको कुनै पनि दुःखकष्ट हुनेछैन।—प्रका. २१:४.

त्यतिन्जेल, परमेश्‍वरले अहिले हामीलाई दिइरहनुभएको आशिष्‌प्रति कृतज्ञ होऔं र भजनरचयिताले जस्तै यस्तो कृतज्ञता देखाऔं: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।”—भज. ४०:५.

[फुटनोट]

a नाम परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १८-मा भएको चित्र]

परीक्षाको दौडान परमेश्‍वरले हामीलाई साथ दिइरहनुहुन्छ