सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं आनन्दित हुने कारण छ

तपाईं आनन्दित हुने कारण छ

तपाईं आनन्दित हुने कारण छ

सृष्टिमा भएको सूक्ष्म जीवित कोषदेखि लिएर अति विशाल तारापुञ्ज सबै व्यवस्थित छन्‌। यसो हुनु कुनै छक्कलाग्दो कुरा होइन किनकि सृष्टिकर्ता ‘गोलमालका परमेश्‍वर हुनुहुन्‍न।’ (१ कोरि. १४:३३) परमेश्‍वरले उहाँको उपासना गर्न मिलाउनुभएको प्रबन्ध पनि आश्‍चर्यजनक छ। यहोवाले के गर्नुभएको छ, विचार गर्नुहोस्‌। उहाँले एउटा यस्तो विश्‍वव्यापी सङ्‌गठन स्थापना गर्नुभएको छ, जहाँ दृश्‍य तथा अदृश्‍य लाखौं बौद्धिक जीवजीवात स्वतन्त्र इच्छासहित शुद्ध उपासनामा एकताबद्ध भएका छन्‌। कस्तो अद्‌भुत कुरा!

प्राचीन इस्राएलमा परमेश्‍वरको सङ्‌गठनको पार्थिव भागलाई यरूशलेमले चित्रण गर्थ्यो। यहीं नै यहोवाको मन्दिर थियो र उहाँले अभिषेक गर्नुभएको राजा यहीं बस्थे। बेबिलोनमा कैदमा लगिएका एक इस्राएलीले यस पवित्र सहरप्रति आफ्नो भावना यसरी पोखे: “मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो सारा आनन्दभन्दा श्रेष्ठ मानिनँ भने, मेरो जिब्रो मेरो तालुमा टाँसिजाओस्‌।”—भज. १३७:६.

आज परमेश्‍वरको सङ्‌गठनप्रति के तपाईं पनि यस्तै महसुस गर्नुहुन्छ? के यसले तपाईंलाई अरू कुनै पनि कुराले भन्दा धेरै आनन्द दिन्छ? के तपाईंका छोराछोरीलाई परमेश्‍वरको सङ्‌गठनको पार्थिव भागको इतिहास र यस सङ्‌गठनले गर्ने कामहरूबारे थाह छ? आफू पनि यहोवाका साक्षीहरूको विश्‍वव्यापी भाइचाराको भाग हो भनेर के तिनीहरूले बुझेका छन्‌ अनि के तिनीहरू त्यसको मोल गर्छन्‌? (१ पत्रु. २:१७) यहोवाको सङ्‌गठनबारे तपाईंको परिवारको ज्ञान र त्यसप्रति कृतज्ञता बढाउन साँझको पारिवारिक उपासनामा तल दिइएका सुझावहरू लागू गरे कसो होला?

“प्राचीन काल”-बारे वर्णन गर्नुहोस्‌

निस्तार चाड मनाउन इस्राएली परिवारहरू हरेक वर्ष भेला हुन्थे। यस चाडको सुरुवात गरिंदा मोशाले मानिसहरूलाई यस्तो निर्देशन दिए: “जब भविष्यमा तिमीहरूका छोराले तिमीहरूलाई यो के हो भनी सोध्नेछ तिमीहरूले त्यसलाई भन्‍नू, ‘परमप्रभुले हामीलाई दासत्वको घर, मिश्रबाट आफ्नो बाहुलीको शक्‍तिले निकालेर ल्याउनुभयो।’ ” (प्रस्थ. १३:१४) इस्राएलीहरूसित यहोवाले गर्नुभएको व्यवहार अतीतको कथा मात्र हुनु हुँदैनथियो। निश्‍चय नै थुप्रै इस्राएली बुबाहरूले मोशाको आज्ञा माने। पुस्तौंपछि एक इस्राएलीले यसरी प्रार्थना गरे: “हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौं, हाम्रा पुर्खाहरूले हामीलाई भनेका छन्‌, तपाईंले उनीहरूका समयमा, र प्राचीन कालमा कस्ता-कस्ता काम गर्नुभयो।”—भज. ४४:१.

आजका जवानहरूलाई लगभग १०० वर्षअघिको यहोवाका साक्षीहरूको इतिहास “प्राचीन काल” जस्तो लाग्न सक्छ। तपाईं यी घटनाहरू आफ्ना छोराछोरीका लागि कसरी जीवन्त बनाउन सक्नुहुन्छ? यसको लागि केही आमाबाबुले यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी), वार्षिक पुस्तक (अङ्‌ग्रेजी), हाम्रा पत्रिकाहरूमा प्रकाशित जीवनीहरू अनि आधुनिक समयका परमेश्‍वरका जनहरूबारे बताउने नयाँ डी भी डी-लगायत ईश्‍वरतान्त्रिक इतिहासका अन्य रिपोर्टहरू प्रयोग गर्छन्‌। भूतपूर्व सोभियत सङ्‌घ र नाजी जर्मनीमा हाम्रा भाइहरूले भोगेका सतावटसम्बन्धी भिडियोले परिवारलाई परीक्षाको बेला यहोवामा भर पर्न सिकाउँछ। यी सामाग्रीहरू साँझको पारिवारिक उपासनामा समावेश गर्नुहोस्‌। तपाईंका छोराछोरीले सत्यनिष्ठासम्बन्धी चुनौती सामना गर्नुपरेमा यसले तिनीहरूको विश्‍वास बलियो बनाउन मदत दिनेछ।

इतिहासबारे भाषण सुन्दा केटाकेटीलाई चाँडै झिजो लाग्न सक्छ। त्यसैले आफ्ना छोराछोरीलाई समावेश गर्नुहोस्‌। उदाहरणको लागि, तपाईं आफ्नो छोरा वा छोरीलाई उसलाई चासो लागेको देश रोज्न, त्यस देशको ईश्‍वरतान्त्रिक इतिहासबारे अनुसन्धान गर्न र आफूले सिकेको केही कुरा परिवारसित बाँड्‌न लगाउन सक्नुहुन्छ। तपाईंको मण्डलीमा लामो समयदेखि वफादार भएर सेवा गरिरहेका ख्रीष्टियनहरू हुन सक्छन्‌। तपाईं तिनीहरूलाई कुनै एक साँझ आफ्नो पारिवारिक उपासनामा बस्न निम्तो दिन सक्नुहुन्छ। तपाईंका छोरा वा छोरीले उनीहरूलाई प्रश्‍न सोधेर उनीहरूको अनुभव बताउन लगाउन सक्छन्‌। अथवा तपाईं आफ्नो छोरा वा छोरीलाई शाखा कार्यालयको निर्माण, अन्तरराष्ट्रिय अधिवेशन वा घर-घरको प्रचारकार्यमा फोनोग्राफको प्रयोगजस्ता उल्लेखनीय ईश्‍वरतान्त्रिक गतिविधिको चित्र कोर्न लगाउन सक्नुहुन्छ।

कसरी ‘हरेकले आ-आफ्नो भूमिका पूरा गर्छन्‌,’ सिक्नुहोस्‌

प्रेषित पावलले ख्रीष्टियन मण्डलीलाई सिङ्‌गो शरीरसित तुलना गरे, जसको ‘हरेक अङ्‌ग आपसमा राम्ररी गाँसिएकोले र हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गरेकोले प्रेममा एकसाथ बढ्‌दै जान्छ।’ (एफि. ४:१६) मानव शरीरले कसरी काम गर्छ भन्‍नेबारे सिक्दा सृष्टिकर्ताप्रतिको हाम्रो कृतज्ञता र आदर बढ्‌छ। त्यसैगरि, विश्‍वव्यापी मण्डलीले कसरी काम गर्छ भनी जाँच्दा “परमेश्‍वरको बुद्धिको विविध पक्ष” देखेर हामी दङ्‌ग पर्छौं।—एफि. ३:१०.

आफ्नो सङ्‌गठनको स्वर्गीय भागलगायत सम्पूर्ण भागले कसरी काम गर्छ भनी यहोवा वर्णन गर्नुहुन्छ। उदाहरणको लागि, उहाँले सबैभन्दा पहिले येशू ख्रीष्टलाई प्रकाश गर्नुभयो, त्यसपछि येशूले “आफ्नो स्वर्गदूत पठाएर परमेश्‍वरको दास यूहन्‍नालाई चिन्हहरूद्वारा ती प्रकट गर्नुभयो” भनी बताइएको छ। (प्रका. १:१, २) आफ्नो सङ्‌गठनको अदृश्‍य भागले कसरी काम गर्छ, त्यसबारे त परमेश्‍वर प्रकट गर्नुहुन्छ भने पृथ्वीमा ‘हरेकले आ-आफ्नो भूमिका’ कसरी पूरा गर्छन्‌ भनी हामीले बुझेको के उहाँ चाहनुहुन्‍न होला र?

उदाहरणको लागि, यदि क्षेत्रीय निरीक्षकले चाँडै तपाईंको मण्डलीमा भ्रमण गर्दैछन्‌ भने परिभ्रमण निरीक्षकहरूको काम र तिनीहरूले पाउने आशिष्‌बारे आफ्नो परिवारसित छलफल गरे कसो होला? तिनीहरूले हामी प्रत्येकलाई कसरी मदत गर्छन्‌? छलफल गर्न सक्ने अन्य प्रश्‍न यस्ता छन्‌: क्षेत्र सेवाको रिपोर्ट बुझाउनु किन महत्त्वपूर्ण छ? परमेश्‍वरको सङ्‌गठनको खर्च कसरी बेहोरिन्छ? परिचालक निकायको संरचना कस्तो छ र यसले कसरी परमेश्‍वरले दिनुहुने भोजन प्रदान गर्छ?

यहोवाका जनहरूलाई कसरी व्यवस्थित बनाइएको छ भनी बुझ्दा हामी कम्तीमा तीन तरिकामा लाभ उठाउँछौं: हाम्रो खातिर कडा परिश्रम गर्नेहरूप्रतिको हाम्रो कृतज्ञता बढ्‌छ। (१ थिस्स. ५:१२, १३) ईश्‍वरतान्त्रिक प्रबन्धहरूलाई समर्थन गर्न हामी उत्प्रेरित हुन्छौं। (प्रेषि. १६:४, ५) अनि अन्तमा, हाम्रो अगुवाइ लिनेहरूले गर्ने निर्णय र प्रबन्ध धर्मशास्त्रमा आधारित छन्‌ भनी बुझेपछि तिनीहरूमाथिको हाम्रो भरोसा अझ बढ्‌छ।—हिब्रू १३:७.

“त्यहाँका महलहरूमा ध्यान लगाएर हेर”

“सियोनको चारैतिर डुल, र त्यसलाई परिक्रमा गर। त्यहाँका धरहराहरू गन। त्यसका पर्खालहरूमाथि राम्ररी दृष्टि लगाओ, त्यहाँका महलहरूमा ध्यान लगाएर हेर जसबाट तिमीहरूले पछि हुने पुस्तालाई बताउनसक।” (भज. ४८:१२, १३) यी भजनरचयिताले इस्राएलीहरूलाई नजिकबाट यरूशलेम हेर्न आग्रह गरे। वार्षिक चाडपर्व मनाउन त्यस पवित्र सहर गएका अनि त्यसको भव्य मन्दिर देखेका इस्राएली परिवारहरूले कस्तो मीठो सम्झना सँगालेका थिए होलान्‌, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? तिनीहरू “पछि हुने पुस्तालाई बताउन” उत्प्रेरित भएका हुनुपर्छ।

शबाकी रानीलाई विचार गर्नुहोस्‌। तिनले सुरुमा सुलेमानको उत्कृष्ट शासन र महान्‌ बुद्धिको रिपोर्टलाई त्यति पत्याएकी थिइनन्‌। आफूले सुनेको कुरा साँचो हो भनेर तिनलाई केले विश्‍वस्त बनायो? तिनी भन्छिन्‌: “म आफै आएर नहेरुञ्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएको थिइनँ।” (२ इति. ९:६) हो, ‘आफैले हेरेको’ कुराले हामीमा गहिरो छाप पार्न सक्छ।

तपाईं आफ्ना छोराछोरीलाई यहोवाको सङ्‌गठनका चाखलाग्दा कुराहरू कसरी ‘आफै हेर्न’ मदत दिन सक्नुहुन्छ? यदि तपाईंको घरनजिकै यहोवाका साक्षीहरूको शाखा कार्यालय छ भने त्यहाँ घुम्न जाने प्रयास गर्नुहोस्‌। उदाहरणको लागि, मान्डी र बेथानी तिनीहरूको देशस्थित बेथेल घरबाट लगभग १,५०० किलोमिटर पर बस्थे। तैपनि खास गरी तिनीहरू हुर्कंदै गर्दा आमाबुबाले बेलाबेलामा बेथेल घुम्न जाने प्रबन्ध मिलाउँथे। तिनीहरू भन्छन्‌: “बेथेल घुम्न जानुअघि हामीलाई त्यहाँ एकदमै गम्भीर स्वभावका अनि बूढाबूढीहरू मात्र हुन्छन्‌ जस्तो लाग्थ्यो। तर यहोवाको लागि कडा मेहनत गरिरहेका अनि रमाइरहेका जवानहरू हामीले भेट्यौं! यहोवाको सङ्‌गठन भनेको हामी बस्ने सानो इलाकामा मात्र सीमित छैन भनेर हामीले देख्यौं अनि प्रत्येक चोटि बेथेल जाँदा यहोवासित अझ नजिक हुने उत्प्रेरणा पायौं।” यहोवाको सङ्‌गठनलाई नजिकबाट हेर्दा मान्डी र बेथानीले अग्रगामी सेवा सुरु गर्ने प्रेरणा पाए अनि तिनीहरूले अस्थायी स्वयम्‌सेवकको रूपमा बेथेलमा सेवा गर्ने निम्तोसमेत पाए।

हामीले यहोवाको सङ्‌गठनलाई ‘हेर्ने’ अर्को एउटा तरिका पनि छ, जुन प्राचीन इस्राएलमा उपलब्ध थिएन। हालैका वर्षहरूमा, परमेश्‍वरका जनका लागि उहाँको सङ्‌गठनका विभिन्‍न पक्ष देखाउने अङ्‌ग्रेजी भाषामा उपलब्ध भिडियो अनि डी भी डी छन्‌। जस्तै: यहोवाका साक्षीहरू— सुसमाचार सुनाउन व्यवस्थित, हाम्रो विश्‍वव्यापी भाइचारा, पृथ्वीको अन्तसम्मईश्‍वरीय शिक्षाद्वारा एकताबद्ध। तपाईं र तपाईंको परिवारले बेथेल सेवक, उद्धारकर्मी, मिसनरी अनि अधिवेशनहरूको तयारी अनि आयोजना गर्ने भाइहरूको कडा परिश्रम देखेपछि तपाईंहरूमा विश्‍वव्यापी भाइचाराप्रतिको कृतज्ञता पक्कै बढ्‌नेछ।

सुसमाचार प्रचार गर्न अनि आफ्नो इलाकाका ख्रीष्टियनहरूलाई सहयोग गर्न परमेश्‍वरका जनको प्रत्येक मण्डलीले महत्त्वपूर्ण भूमिका खेल्छ। तथापि, ‘संसारभरिका सबै भाइहरूलाई’ सम्झन पूरै परिवार मिलेर समय निकाल्नुहोस्‌। यसो गर्नुभयो भने, आनन्दित हुने कारण छ भनी सम्झँदै तपाईं र तपाईंका छोराछोरी “विश्‍वासमा दह्रो” हुन सक्नुहुनेछ।—१ पत्रु. ५:९.

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

परमेश्‍वरको सङ्‌गठन अध्ययनको लागि उपयुक्‍त विषय

यहोवाको सङ्‌गठनको इतिहास र यसको कामबारे सबैलाई अझ धेरै कुरा सिक्न मदत दिन हामीसित प्रशस्त साधनहरू उपलब्ध छन्‌। निम्न प्रश्‍नहरू मदतकारी हुन सक्छन्‌:

वर्तमान समयका परिभ्रमण निरीक्षकहरूको कामको सुरुवात कसरी भयो?नोभेम्बर १५, १९९६ को प्रहरीधरहरा, पृष्ठ १०-१५.

सन्‌ १९४१ को ईश्‍वरतान्त्रिक सम्मेलनमा “बाल दिवस”-को उल्लेखनीय पक्ष के थियो?जुलाई १५, २००१ को प्रहरीधरहरा, पृष्ठ ८.

परिचालक निकायले कसरी निर्णय गर्छ?परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिने (अङ्‌ग्रेजी) पुस्तकको पृष्ठ १०८-११४.