के केटाकेटीहरूले बप्तिस्मा गर्नुपर्छ?
के केटाकेटीहरूले बप्तिस्मा गर्नुपर्छ?
फिलिपिन्समा बस्ने एक जना ख्रीष्टियन बुबा कार्लोसले a यसो भने: “मेरी छोरी अहिले यहोवाको सेवक भएकीमा म धेरै खुसी छु अनि मलाई थाह छ, उनी पनि खुसी छिन्।” ग्रीसका एक जना बुबाले यसो लेखे: “हाम्रा तीन जना छोराछोरीले किशोरावस्थामै यहोवाका साक्षीको रूपमा बप्तिस्मा गरेकोमा मेरी पत्नी र म आनन्दित छौं। तिनीहरू सच्चाइमा अघि बढिरहेका छन् र यहोवाको सेवा गर्न पाएकोमा खुसी छन्।”
छोराछोरीले बप्तिस्मा गर्दा ख्रीष्टियन आमाबाबुसँग खुसी हुने कारण हुन्छ तर कहिलेकाहीं खुसीसँगसँगै चिन्ता पनि आउँछ। एउटी आमाले यसो भनिन्: “म धेरै खुसी थिएँ तर खुसीसँगसँगै चिन्तित पनि थिएँ।” किन यस्तो मिश्रित प्रतिक्रिया? “किनभने अबदेखि मेरो छोरा यहोवाप्रति पूर्णतया जबाफदेही हुनेथियो।”
बप्तिस्माप्राप्त साक्षीको रूपमा यहोवाको सेवा गर्नु सबै केटाकेटीले राख्नुपर्ने लक्ष्य हो। तैपनि केही ख्रीष्टियन आमाबाबुलाई लाग्ला, ‘मेरो छोरा वा छोरीले राम्रो प्रगति गरेको छ भनेर त मलाई थाह छ तर अनैतिक दबाबहरू आउँदा के ऊसँग त्यसको प्रतिरोध गर्ने र यहोवासामु शुद्ध रहिरहने क्षमता छ?’ अरू आमाबाबुले आफैलाई यसरी सोध्लान्, ‘भौतिकवादी प्रलोभनको सामना गर्नुपर्दा के मेरो छोरा वा छोरीले आनन्द र जोसका साथ यहोवाको सेवा गरिरहनेछ?’ आफ्ना छोराछोरीहरू बप्तिस्माको लागि तयार भए कि भएनन् भनी पक्का गर्न आमाबाबुलाई बाइबलका कस्ता सल्लाहहरूले मदत गर्न सक्छ?
चेला बन्नु—मुख्य आवश्यकता
बप्तिस्माको लागि कुनै खास उमेर तोक्नुको सट्टा परमेश्वरको वचनले त्यो कदम चाल्ने व्यक्तिमा हुनुपर्ने योग्यताबारे बताउँछ। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो निर्देशन दिनुभयो: ‘सबै जातिका मानिसहरूलाई चेला बनाओ र बप्तिस्मा गराओ।’ (मत्ती २८:१९) तसर्थ बप्तिस्मा ख्रीष्टको चेला भइसकेकाहरूका लागि हो।
चेला भनेको के हो? धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्ग्रेजी) पुस्तक यसो भन्छ: “यस अभिव्यक्तिले ख्रीष्टका शिक्षाहरूमा विश्वास गर्नेहरूलाई मात्र होइन तर मुख्यतया ती शिक्षा राम्ररी पछ्याउनेहरूलाई बुझाउँछ।” के केटाकेटीहरू सानै भए तापनि ख्रीष्टका साँचो चेला बन्न सक्षम हुन सक्छन्? ल्याटिन अमेरिकामा ४० वर्षभन्दा धेरै समयसम्म मिसनरीको रूपमा सेवा गरेकी एक बहिनी आफू र आफ्ना दुई बहिनीबारे यस्तो लेख्छिन्: “हामी यहोवाको सेवा गर्न र प्रमोदवनमा बस्न चाहन्छौं भनी बुझ्न सक्ने
उमेरका भइसकेका थियौं। हामीलाई युवावस्थाका प्रलोभनहरू आउँदा बलियो हुन आफ्नो समर्पणले मदत गऱ्यो। कलिलै उमेरमा आफ्नो जीवन परमेश्वरमा समर्पण गरेकोमा हामीलाई कुनै पछुतो छैन।”आफ्नो छोरा वा छोरी येशूको चेला भइसक्यो भनेर तपाईं कसरी थाह पाउनुहुन्छ? बाइबल भन्छ: “एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्छ।” (हितो. २०:११, NRV) चेलाको रूपमा तपाईंको छोरा वा छोरीले ‘आफ्नो प्रगति प्रकट’ गरिरहेको छ भनेर देखिने केही गतिविधि विचार गर्नुहोस्।—१ तिमो. ४:१५.
चेला हुनुको प्रमाण
के तपाईंको छोरा वा छोरी तपाईंप्रति आज्ञाकारी छ? (कल. ३:२०) के उसले आफूलाई अह्राइएको घरायसी काम पूरा गर्छ? लगभग १२ वर्षका येशूबारे बाइबल यसो भन्छ: “उहाँ . . . निरन्तर [आफ्नो आमाबाबुको] अधीनमा बस्नुभयो।” (लूका २:५१) हुनत आजकलका छोराछोरीले आफ्नो आमाबाबुको आज्ञा पूर्णतया मान्दैनन्। तर साँचो ख्रीष्टियनहरूले ‘राम्ररी [येशूको] पदचिन्ह पछ्याउनुपर्छ।’ त्यसैले बप्तिस्मा गर्न इच्छुक छोराछोरी आमाबाबुप्रति आज्ञाकारी व्यक्तिको रूपमा चिनिएको हुनुपर्छ।—१ पत्रु. २:२१.
यी प्रश्नहरूलाई विचार गर्नुहोस्: के तपाईंको छोरा वा छोरीले प्रचारमा ‘उहाँको राज्यलाई पहिलो स्थान दिइरहेको’ छ? (मत्ती ६:३३) के ऊ राज्यको सुसमाचार अरूलाई बाँड्न इच्छुक छ? अथवा क्षेत्र सेवामा जान र घर-घरमा बोल्न तपाईंले निकै प्रोत्साहन दिइरहनुपर्छ कि? के ऊ बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा आफ्नो जिम्मेवारीप्रति सचेत छ? के ऊ इलाकामा भेटिएका चासो दिने व्यक्तिहरूलाई पुनःभेट गर्न इच्छुक छ? के उसले स्कूलका साथी र शिक्षकहरूलाई आफू एक जना यहोवाको साक्षी हुँ भनेर चिनाएको छ?
के उसलाई मण्डलीका सभाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण लाग्छ? (भज. १२२:१) के उसलाई प्रहरीधरहरा अध्ययन र मण्डली बाइबल अध्ययनमा टिप्पणी दिन रमाइलो लाग्छ? के ऊ उत्सुकतापूर्वक ईश्वरतान्त्रिक सेवा स्कूलमा भाग लिंदैछ?—हिब्रू १०:२४, २५.
के तपाईंको छोरा वा छोरी स्कूल तथा अन्य ठाउँका हानिकारक सङ्गतिबाट अलग रहेर नैतिक तवरमा स्वच्छ रहने प्रयास गर्छ? (हितो. १३:२०) उसलाई कस्तो खालको सङ्गीत, चलचित्र, टेलिभिजन कार्यक्रम र भिडियो गेम मन पर्छ? अनि इन्टरनेटको प्रयोगको सन्दर्भमा नि? बाइबलको स्तरअनुरूप चल्न चाहेको कुरा के उसको वचन र कामले प्रमाणित गर्छ?
तपाईंको छोरा वा छोरीलाई बाइबलबारे कत्तिको राम्ररी थाह छ? साँझको पारिवारिक उपासनामा सिकेका कुरा के उसले आफ्नै शब्दमा बताउन सक्छ? के उसले बाइबलका आधारभूत सत्यहरू बुझाउन सक्छ? (हितो. २:६-९) के उसलाई बाइबल पढ्न अनि विश्वासी र बुद्धिमान् दास वर्गका प्रकाशनहरू अध्ययन गर्न मन पर्छ? (मत्ती २४:४५) के उसले बाइबल शिक्षा र बाइबल पदहरूबारे प्रश्न सोध्छ?
यी प्रश्नहरूले तपाईंको छोरा वा छोरीले परमेश्वरसितको सम्बन्धमा कत्तिको उन्नति गरेको छ भनी जाँच्न मदत
गर्न सक्छ। यस्ता कुराहरू विचार गरिसकेपछि, बप्तिस्मा गर्नुअघि उसले केही क्षेत्रमा उन्नति गर्नुपर्छ जस्तो तपाईंलाई लाग्ला। तर यदि उसको जीवनशैलीले चेला हुनुको प्रमाण दिन्छ र उसले आफ्नो जीवन परमेश्वरलाई समर्पण गरिसकेको छ भने उसलाई बप्तिस्मा गर्न दिए हुन्छ जस्तो तपाईंलाई लाग्न सक्छ।केटाकेटीले यहोवाको प्रशंसा गर्न सक्छन्
परमेश्वरका थुप्रै सेवकले किशोरावस्थामा वा त्यसभन्दा पहिल्यै आफू विश्वासी र वफादार भएको देखाए। यूसुफ, शमूएल, योशियाह र येशूलाई विचार गर्नुहोस्। (उत्प. ३७:२; ३९:१-३; १ शमू. १:२४-२८; २:१८-२०; २ इति. ३४:१-३; लूका २:४२-४९) फिलिपका भविष्यवाणी गर्ने चार जना छोरीले पनि कलिलै उमेरदेखि राम्रो प्रशिक्षण पाएको हुनुपर्छ।—प्रेषि. २१:८, ९.
ग्रीसका एक जना साक्षीले यसो भने: “बप्तिस्मा गर्दा म १२ वर्षको थिएँ। त्यो निर्णय गरेकोमा म कहिल्यै पछुताएको छैन। त्यसबेलादेखि अहिलेसम्म २४ वर्ष बितिसक्यो जसमध्ये २३ वर्ष पूर्ण-समय सेवामा बिताएँ। युवावस्थाका कठिनाइको सामना गर्न यहोवाप्रतिको प्रेमले मलाई सधैं मदत गऱ्यो। म १२ वर्षको हुँदा मसित अहिले जतिको धर्मशास्त्रीय ज्ञान थिएन। तर म यहोवालाई प्रेम गर्थें र उहाँको सेवा सधैं गर्न चाहन्थें भनी मलाई थाह थियो। यहोवाले उहाँको सेवा गरिरहन मदत दिनुभएकोमा म खुसी छु।”
चाहे केटाकेटी हुन् वा वृद्ध, साँचो चेला भएको प्रमाण दिने व्यक्तिले बप्तिस्मा गर्नुपर्छ। प्रेषित पावलले लेखे: “मनदेखि विश्वास गरेर मानिस परमेश्वरको नजरमा असल ठहरिन्छ तर त्यो विश्वास मुखले जनसमक्ष घोषणा गरेर चाहिं उसले उद्धार पाउँछ।” (रोमी १०:१०) कलिलो उमेरमा ख्रीष्टको चेला भएको बालकले बप्तिस्माको महत्त्वपूर्ण कदम चाल्नु भनेको ऊ र उसका आमाबाबुका लागि कोसेढुङ्गा हो। आफूसामु भएको आनन्द प्राप्त गर्नदेखि तपाईं वा तपाईंका छोराछोरीलाई कुनै कुराले नरोकोस्।
[फुटनोट]
a केही नाम परिवर्तन गरिएका छन्।
[पृष्ठ ५-मा भएको पेटी]
बप्तिस्माप्रति सही दृष्टिकोण
केही आमाबाबु आफ्ना छोराछोरीको बप्तिस्मालाई सवारी चालक अनुमतिपत्र प्राप्त गर्नुजस्तै लाभदायी तर जोखिमपूर्ण कदमको रूपमा लिन्छन्। तर के बप्तिस्मा र पवित्र सेवाले कुनै व्यक्तिको भविष्यको सफलतालाई कहिल्यै खतरामा पार्छ? पार्दैन भनी बाइबल बताउँछ। हितोपदेश १०:२२ यसो भन्छ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।” अनि पावलले जवान तिमोथीलाई यसो लेखे: “हो, धेरै लाभ पाउन सकिन्छ तर त्यसको लागि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्वरको भक्ति गर्नुपर्छ।”—१ तिमो. ६:६.
हो, यहोवाको सेवा गर्नु सजिलो छैन। परमेश्वरको भविष्यवक्ताको रूपमा सेवा गर्दा यर्मियाले थुप्रै कठिनाइ सामना गरे। तैपनि तिनले साँचो परमेश्वरको उपासनाको सन्दर्भमा यसो लेखे: “तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु, तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मि. १५:१६) परमेश्वरको सेवा गर्नु नै आनन्दको स्रोत हो भनेर यर्मियालाई थाह थियो। तर सैतानको संसार भने कठिनाइको स्रोत हो। त्यसैले आमाबाबुले आफ्ना छोराछोरीलाई यो भिन्नता बुझ्न मदत दिनुपर्छ।—यर्मि. १:१९.
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
मेरो छोरा वा छोरीको बप्तिस्मालाई पछि सार्नुपर्छ कि?
छोराछोरी बप्तिस्मा गर्न योग्य भए तापनि कहिलेकाहीं आमाबाबुले तिनीहरूको बप्तिस्मालाई पछि सार्ने निर्णय गर्लान्। आमाबाबुले यस्तो निर्णय गर्नुको कारण के हुन सक्छ?
मेरो छोरा वा छोरीले अहिले त बप्तिस्मा गर्ला तर पछि गएर ऊ गम्भीर पापमा फस्ला र बहिष्कार होला भन्ने डर मलाई लाग्छ। बप्तिस्मालाई पछि सार्ने केटाकेटीले आफ्नो आचरणको लेखा परमेश्वरलाई दिनु पर्दैन भनी सोच्नु के उचित हो? सुलेमानले केटाकेटीहरूलाई नै तोकेर यसरी लेखे: “यो कुरो याद राख्, [आफ्नो कार्यको] परमेश्वरले लेखा लिनुहुन्छ।” (उप. ११:९) पावलले सबै उमेरका व्यक्तिलाई यस्तो सम्झौटा दिए: “हामी सबैले परमेश्वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।”—रोमी १४:१२
बप्तिस्माप्राप्त र बप्तिस्माअप्राप्त उपासकहरू दुवैले परमेश्वरलाई लेखा दिनुपर्छ। नबिर्सनुहोस्, यहोवाले आफ्ना सेवकहरूलाई ‘तिनीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा पर्न नदिएर’ जोगाउनुहुन्छ। (१ कोरि. १०:१३) ‘सचेत रहुन्जेल’ र प्रलोभनको सामना गरुन्जेल यस्ता सेवकहरू परमेश्वरको साथ पाउने कुरामा ढुक्क हुन सक्छन्। (१ पत्रु. ५:६-९) एउटी ख्रीष्टियन आमा लेख्छिन्: “बप्तिस्मा गरिसकेका छोराछोरीसित यस संसारका खराब कुराहरूबाट अलग रहने अझ धेरै कारण हुन्छन्। मेरो छोराले बप्तिस्मा गर्दा ऊ १५ वर्षको थियो। उसलाई बप्तिस्मा गर्नु आफ्नै सुरक्षाको लागि हो भनेर थाह छ। उसले यसो भन्यो: ‘यहोवाको नियम विपरीत गर्ने त विचारसमेत आउँदैन।’ बप्तिस्माले परमेश्वरको स्तरबमोजिम असल काम गर्ने बलियो उत्प्रेरणा दिन्छ।”
आफ्नो बोली र उदाहरणद्वारा छोराछोरीलाई यहोवाको आज्ञापालन गर्न प्रशिक्षण दिनुभएको छ भने बप्तिस्मापछि पनि तिनीहरूले त्यसै गरिरहनेछन् भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ। हितोपदेश २०:७ भन्छ: “यदि कुनै मानिसले असल र सोझो जीवन बिताउँछ भने त्यसपछि आउने छोराहरू सुखी हुन्छन्।”
मेरो छोरा वा छोरीले पहिला केही खास लक्ष्य हासिल गरेको म चाहन्छु। केटाकेटीले काम गर्न सिके भने पछि तिनीहरू आत्मनिर्भर बन्न सक्छन्। तर साँचो उपासनामा नभई शिक्षा र आर्थिक सुरक्षामा केन्द्रित जीवन बिताउन प्रोत्साहन दिनु खतरनाक हुन्छ। फल नफलाउने “बीउ” अर्थात् राज्यको वचनबारे येशूले यसो भन्नुभयो: “काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा वचन निसासिन्छ र उसले फल फलाउँदैन।” (मत्ती १३:२२) सांसारिक लक्ष्यलाई प्राथमिकता दिने योजनाले परमेश्वरको सेवा गर्ने केटाकेटीको इच्छालाई निसासिदिन सक्छ।
केटाकेटी बप्तिस्मा गर्न योग्य भएको तर आमाबाबु भने सहमत नभएको अवस्थाबारे एक जना अनुभवी एल्डरले यसो भने: “केटाकेटीलाई बप्तिस्मा गर्नबाट रोक्दा उसले सच्चाइमा गरिरहेको उन्नतिमा बाधा पुग्न सक्छ र ऊ निराश हुन सक्छ।” एक जना परिभ्रमण निरीक्षकले यसो लेखे: “केटाकेटीले सच्चाइमा आफूले त्यति प्रगति गर्न नसकेको वा तुच्छ महसुस गर्न सक्छ। उसमा सांसारिक सफलता प्राप्त गर्ने भावना जाग्न सक्छ।”
[पृष्ठ ६-मा भएको चित्र]
के विश्वविद्यालयको पढाइलाई पहिलो स्थान दिनुपर्छ?
[पृष्ठ ३-मा भएको चित्र]
केटाकेटीले चेला हुनुको प्रमाण दिन सक्छन्
[पृष्ठ ३-मा भएको चित्र]
सभाको तयारी र सभामा सहभागिता
[पृष्ठ ४-मा भएको चित्र]
आमाबाबुप्रतिको आज्ञाकारिता
[पृष्ठ ४-मा भएको चित्र]
प्रचारकार्यमा सहभागिता
[पृष्ठ ४-मा भएको चित्र]
व्यक्तिगत प्रार्थना