परमेश्वर हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुहुन्छ
परमेश्वर हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुहुन्छ
“असीम अनुग्रहले पनि राजाले झैं राज [ गर्नेछ] र हामीलाई असल ठहराउनुका साथै अनन्त जीवन पनि [ दिनेछ]।”—रोमी ५:२१.
१, २. थुप्रै मानिस कुन उपहारलाई मूल्यवान् ठान्छन् र त्योभन्दा पनि अझ ठूलो वरदानचाहिं कुन हो?
अ स्ट्रेलियाको युनिभर्सिटी अफ मेल्बर्नका एक प्राध्यापकले भनेअनुसार रोमी साम्राज्यको नियम-कानुन रोमी सभ्यताको लागि एउटा अनमोल उपहार थियो। तर परमेश्वरले हामीलाई त्योभन्दा पनि कता हो कता अनमोल र मायालु उपहार अर्थात् वरदान दिनुभएको छ भनी बाइबल बताउँछ। यो वरदान परमेश्वरको अनुमोदन पाउने र उहाँसामु असल ठहरिने ईश्वरीय माध्यमका साथै उद्धार र अनन्त जीवन पाउने प्रत्याशा पनि हो।
२ एक अर्थमा भन्नुपर्दा, परमेश्वरले यो वरदानको प्रबन्ध मिलाउनुमा कानुनी पक्षहरू समावेश थिए। रोमी अध्याय पाँचमा प्रेषित पावलले यी पक्षलाई केवल खोक्रो कानुनी वृत्तान्तको रूपमा प्रस्तुत गरेनन्। बरु तिनले सुरुमा यस्तो आनन्ददायी आश्वासन दिए: “विश्वासले गर्दा हामी असल ठहरिसकेको हुँदा, आओ, हामी हाम्रा प्रभु येशू ख्रीष्टमार्फत परमेश्वरसित शान्तिमय सम्बन्ध कायम राखौं।” परमेश्वरको वरदान पाउनेहरू उहाँलाई प्रेम गर्न उत्प्रेरित हुन्छन्। तीमध्ये पावल एक थिए। तिनले लेखे: “पवित्र शक्तिद्वारा परमेश्वरको प्रेम हाम्रो मनमा भरिएको छ।”—रोमी ५:१, ५.
३. कस्ता प्रश्नहरू उठ्नु स्वाभाविक हो?
३ तर यो मायालु वरदानको आवश्यकता किन पऱ्यो? परमेश्वरले यस वरदानलाई न्यायोचित र सबै मानिसले लाभ उठाउन सक्ने तरिकामा कसरी दिनुहुने थियो? यस वरदानको लागि योग्य हुन प्रत्येकले के गर्नुपर्छ? आउनुहोस्, यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ भेट्टाऔं र ती जवाफले परमेश्वरको प्रेमलाई कसरी जोड दिन्छ, हेरौं।
परमेश्वरको प्रेमको विरुद्धमा पाप
४, ५. (क) यहोवाले कुन महान् तरिकामा आफ्नो प्रेम व्यक्त गर्नुभयो? (ख) कुन कुरा थाह पाउँदा हामीलाई रोमी ५:१२ बुझ्न मदत मिल्छ?
४ यहोवाले मानिसहरूलाई मदत गर्न आफ्नो प्रेमको महान् अभिव्यक्तिस्वरूप आफ्नो एक मात्र छोरा पठाउनुभयो। यसबारे पावलले भने: “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:८) त्यहाँ उल्लेख गरिएको “हामी पापी छँदै” भन्ने यथार्थलाई विचार गर्नुहोस्। हामी कसरी पापी भयौं भनेर सबैले बुझ्नुपर्छ।
५ पावलले यो कुरा स्पष्ट पार्दै यसो भने: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्।” (रोमी ५:१२) मानव जीवनको सुरुवात कसरी भयो भन्नेबारे परमेश्वरले रेकर्ड राख्न लगाउनुभएकोले हामी यो कुरा बुझ्न सक्ने अवस्थामा छौं। परमेश्वरले दुई जना मानिस सृष्टि गर्नुभयो: आदम र हव्वा। सृष्टिकर्ता त्रुटिरहित हुनुहुन्छ र हाम्रा पुर्खा अर्थात् पहिलो मानवहरू पनि त्यस्तै थिए। तर परमेश्वरले तिनीहरूलाई एउटा खास निर्देशन दिनुभयो र त्यसलाई तोडेमा मृत्यु भोग्नुपर्नेछ भनेर जानकारी दिनुभयो। (उत्प. २:१७) तथापि, परमेश्वरले दिनुभएको जायज निर्देशनलाई उल्लङ्घन गर्दै तिनीहरूले आफ्नै पतन हुने बाटो रोजे। यसप्रकार तिनीहरूले उहाँलाई नियमदाता र सार्वभौमको रूपमा अस्वीकार गरे।—व्यव. ३२:४, ५.
६. (क) परमेश्वरले मोशाको व्यवस्था दिनुअघि र दिएपछि पनि आदमका सन्तानहरू किन मरे? (ख) वंशानुगत रूपमा आएको पापको असरलाई कुन उदाहरणद्वारा बुझाउन सकिन्छ?
६ आदमले पाप गरिसकेपछि मात्र तिनका छोराछोरी जन्मिए। त्यसैले पाप र त्यसको असर ती छोराछोरीमा पनि सऱ्यो। हो, तिनीहरूले आदमले जस्तो परमेश्वरले दिनुभएको त्यस नियम उल्लङ्घन गरेका थिएनन् न त त्यतिबेला व्यवस्था नै दिइएको थियो। त्यसैले तिनीहरूलाई एउटै पापको दोषी ठहराइएन। (उत्प. २:१७) तैपनि आदमका सन्तानहरू वंशानुगत रूपमै पापी भए। त्यसकारण परमेश्वरले इस्राएलीहरूलाई व्यवस्था दिएको समयसम्मै पाप र मृत्युले राज गऱ्यो। तिनीहरू पापी थिए भनेर व्यवस्थाले स्पष्टसँग देखायो। ( रोमी ५:१३, १४ पढ्नुहोस्) वंशानुगत रूपमा आएको पापको असरलाई आमाबाबुबाट सर्न सक्ने रोगहरूसित तुलना गर्न सकिन्छ। कुनै-कुनै छोराछोरीमा आमाबाबुको रोग सर्ने भए तापनि त्यस परिवारको सबै छोराछोरीमा त्यो रोग सर्छ भन्ने छैन। तर पापको सन्दर्भमा भने त्यस्तो होइन। हामी सबैलाई आदमबाट पाप सरेको छ, त्यसैले हामी सबै मर्छौं। के यस्तो दुःखद अवस्थाविरुद्ध कहिल्यै जित हासिल गर्न सकिन्छ?
येशू ख्रीष्टद्वारा परमेश्वरले मिलाउनुभएको प्रबन्ध
७, ८. दुई जना त्रुटिरहित व्यक्तिले पछ्याएको मार्गले कसरी एकदम भिन्नै खालको नतिजा निकाल्यो?
७ वंशानुगत रूपमा आएको पापविरुद्ध मानिसहरूले जित हासिल गरून् भनी यहोवाले मायालु भई एउटा प्रबन्ध मिलाउनुभयो। यो कुरा पछिल्लो त्रुटिरहित व्यक्ति अर्थात् दोस्रो आदमद्वारा सम्भव भयो भनी पावलले बताए। (१ कोरि. १५:४५) तर यी दुई त्रुटिरहित व्यक्तिमध्ये प्रत्येकले पछ्याएको मार्गले एकदम भिन्नै खालको नतिजा निकाल्यो। कसरी यस्तो भयो?—रोमी ५:१५, १६ पढ्नुहोस्।
८ “वरदानको नतिजा र अपराधको नतिजा उस्तै हुँदैन” भनी पावलले लेखे। आदम अपराधको दोषी थिए, त्यसैले तिनले प्रतिकूल सजाय पाउनु अर्थात् तिनी मर्नु न्यायोचित थियो। तर मर्ने तिनी मात्र थिएनन्। हामी यस्तो लेखिएको पाउँछौं: “[त्यही] एक जना मानिसको अपराधले गर्दा धेरै जना मरे।” आदमले पाएको यस न्यायोचित सजाय हामीलगायत तिनका सम्पूर्ण त्रुटिपूर्ण सन्तानले पनि पाउनुपर्ने थियो। तर त्रुटिरहित व्यक्ति येशूले भने उल्टो नतिजा निकाल्न सक्नुहुन्थ्यो भनी थाह पाउँदा हामी सान्त्वना पाउन सक्छौं। उल्टो नतिजा के थियो? पावलले यस्तो जवाफ दिए: “हर किसिमका मानिस परमेश्वरको नजरमा असल ठहरिएर जीवन पाउन लायकका भए।”—रोमी ५:१८.
९. रोमी ५:१६, १८ मा उल्लेख गरिएअनुसार आफ्नो नजरमा मानिसहरूलाई असल ठहराउँदा परमेश्वरले के गर्दै हुनुहुन्थ्यो?
९ “परमेश्वरको नजरमा असल ठहरिए” भनी अनुवाद गरिएको ग्रीक अभिव्यक्तिको आशय के हो? एक जना बाइबल अनुवादकले यस्तो लेखे: “यो कानुनी आशय बुझाउने प्रतीकात्मक अभिव्यक्ति हो। यसले मानिसको भित्री मनुष्यत्वमा भएको परिवर्तन होइन, परमेश्वरसितको सम्बन्धमा भएको परिवर्तनलाई बुझाउँछ। . . . यस अभिव्यक्तिले परमेश्वरलाई आरोपित व्यक्तिको पक्षमा निर्णय लिने न्यायाधीशको रूपमा चित्रण गर्छ। मानौं त्यस व्यक्तिलाई परमेश्वरको नजरमा खराब काम गरेको आरोपमा उहाँको अदालतसामु हाजिर गराइएको छ। तर परमेश्वर उक्त आरोपित व्यक्तिलाई दोषमुक्त गर्नुहुन्छ।”
१०. मानिसहरू परमेश्वरको नजरमा असल ठहरिन सम्भव बनाउन येशूले के गर्नुभयो?
१० परमेश्वरको नजरमा खराब काम गर्ने व्यक्तिलाई “सारा पृथ्वीका न्यायकर्त्ताले” कुन आधारमा दोषमुक्त गर्न सक्नुहुन्थ्यो? (उत्प. १८:२५) यसको आधार तयार पार्न परमेश्वरले मायालुपूर्वक आफ्नो एक मात्र छोरालाई पृथ्वीमा पठाउनुभयो। प्रलोभन, अचाक्ली गिल्ला र दुर्व्यवहारको बाबजुद येशूले पूर्ण रूपमा आफ्नो बुबाको इच्छाबमोजिम गर्नुभयो। यातनाको खम्बामा मर्नुपर्ने हदसम्म पनि उहाँले आफ्नो सत्यनिष्ठा कायमै राख्नुभयो। (हिब्रू २:१०) आफ्नो त्रुटिरहित मानव जीवन बलिदान दिएर येशूले फिरौती तिर्नुभयो जसले आदमका सन्तानलाई पाप र मृत्युबाट छुटकारा अर्थात् मुक्ति दिन सक्थ्यो।—मत्ती २०:२८; रोमी ५:६-८.
११. फिरौतीको बलिदान बराबर के थियो?
११ अन्य ठाउँमा पावलले यसलाई “फिरौती” भनी उल्लेख गरे। (१ तिमो. २:६) मौलिक ग्रीकअनुसार यो फिरौती जे गुमेको थियो, त्यसको ठ्याक्कै बराबर थियो। यो फिरौती कुन कुराको बराबर थियो? आदमले आफ्ना सारा सन्ततिमा त्रुटिपूर्ण जीवन र मृत्यु ल्याए। येशू त्रुटिरहित व्यक्ति हुनुहुन्थ्यो। त्यसैले उहाँबाट त्रुटिरहित अरबौं सन्तान जन्मिन सम्भव थियो। a यसर्थ येशू र उहाँबाट आउन सक्ने सम्पूर्ण त्रुटिरहित सन्तानको जीवन मुछिएको बलिदान बराबर आदम र तिनका त्रुटिपूर्ण सन्तानको जीवन थियो भनेर हामीले बुझेका थियौं। तर येशूबाट आउन सक्ने भावी सन्तान त्यस फिरौतीको भाग भए भनी बाइबल बताउँदैन। रोमी ५:१५-१९ ले “एकै जना मानिस”-को मृत्युले छुटकारा सम्भव भयो भनी बताउँछ। हो, येशूको त्रुटिरहित जीवन बराबर आदमको जीवन थियो। यो येशू ख्रीष्टमै केन्द्रित विषय हो र हुनुपर्ने पनि त्यस्तै हो। येशूको “निरपराध साबित गराउने एउटा कामले गर्दा” अर्थात् उहाँ मृत्युसम्मै आज्ञाकारी र सत्यनिष्ठ भएकोले गर्दा परमेश्वरले सित्तैंमा दिनुभएको वरदान र जीवन हर किसिमका मानिसले पाउन सम्भव भयो। (२ कोरि. ५:१४, १५; १ पत्रु. ३:१८) यस्तो नतिजा कसरी सम्भव भयो?
फिरौतीको आधारमा दोषमुक्त
१२, १३. परमेश्वरको नजरमा असल ठहरिएकाहरूलाई किन उहाँको कृपा र प्रेम चाहिन्छ?
१२ आफ्नो छोराले चढाएको फिरौतीको बलिदानलाई यहोवा परमेश्वरले ग्रहण गर्नुभयो। (हिब्रू ९:२४; १०:१०, १२) तैपनि येशूका विश्वासी प्रेषितहरूलगायत उहाँका चेलाहरू त्रुटिपूर्ण थिए। गल्ती नगर्न प्रयास गरे तापनि तिनीहरू सधैं सफल भने भएनन्। किन? किनभने तिनीहरूमा वंशानुगत पाप थियो। (रोमी ७:१८-२०) तर परमेश्वरले केही गर्न सक्नुहुन्थ्यो र गर्नु पनि भयो। ‘फिरौतीस्वरूप अर्पण गरिएको’ बलिदानलाई उहाँले स्वीकार्नुभयो र त्यसलाई आफ्ना मानव सेवकहरूका खातिर लागू गर्न उहाँ इच्छुक हुनुहुन्थ्यो।
१३ प्रेषितहरू तथा अरूले केही असल काम गरेकोले तिनीहरूको खातिर फिरौतीको बलिदान लागू गर्न परमेश्वर बाध्य हुनुभएको होइन। बरु कृपा र महान् प्रेमले गर्दा परमेश्वरले तिनीहरूको खातिर फिरौतीको बलिदान लागू गर्नुभयो। उहाँले प्रेषित तथा अन्य मानिसहरूलाई तिनीहरूले पाउने सजायबाट मुक्त गरेर तिनीहरू वंशानुगत पापबाट मुक्त भएसरह ठान्ने छनौट गर्नुभयो। यसलाई पावलले यसरी स्पष्ट पारे: “हो, यही असीम अनुग्रहले गर्दा विश्वासद्वारा तिमीहरूको उद्धार भएको छ; अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन, यो त परमेश्वरको वरदान हो।”—एफि. २:८.
१४, १५. परमेश्वरले असल ठहराउनुभएकाहरूसामु कस्तो इनाम थियो तर तिनीहरूले अझै के गर्नुपर्थ्यो?
१४ वंशानुगत पाप र आफ्ना गल्तीबाट क्षमा पाउनु सर्वशक्तिमान्बाट हामीले पाउने कत्ति ठूलो वरदान हो, सोच्नुहोस् त! ख्रीष्टियन हुनुअघि कुनै मानिसले गरेको पापको तपाईं गणना गर्नै सक्नुहुन्न। तैपनि फिरौतीको बलिदानको आधारमा परमेश्वर ती पापहरूको क्षमा दिन सक्नुहुन्छ। पावलले लेखे: “धेरै अपराधको नतिजाले गर्दा आएको वरदानले भने धेरै जना परमेश्वरको नजरमा असल ठहरिए।” (रोमी ५:१६) यो मायालु वरदान (परमेश्वरको नजरमा असल ठहरिनु) पाउने प्रेषित तथा अरू मानिसहरूले साँचो परमेश्वरमा विश्वास राख्दै उहाँको उपासना गरिरहनुपर्ने थियो। तिनीहरूले भविष्यमा कस्तो इनाम पाउने थिए? “जसले परमेश्वरको असीम अनुग्रह पाउँछन् अनि उहाँले सित्तैंमा दिनुभएको वरदानले गर्दा असल ठहरिन्छन्, तिनीहरूले एकै जना मानिस, येशू ख्रीष्टद्वारा जीवन पाउनुका साथै राजाको रूपमा शासन गर्नेछन्।” हो, परमेश्वरको नजरमा असल ठहरिने वरदानको नतिजा आदमको अपराधको असरभन्दा ठीक विपरीत हुन्छ। यो वरदानको नतिजा जीवन हो।—रोमी ५:१७; लूका २२:२८-३० पढ्नुहोस्।
१५ यस वरदान पाउने अर्थात् परमेश्वरको नजरमा असल ठहरिनेहरू परमेश्वरको पवित्र शक्तिद्वारा अभिषिक्त छोराहरू बन्छन्। तिनीहरू ख्रीष्टका सँगी उत्तराधिकारी हुन्। त्यसैले तिनीहरू येशू ख्रीष्टसित “राजाको रूपमा शासन” गर्न परमेश्वरको धर्मपुत्रको रूपमा पुनर्जीवित भई स्वर्गमा जीवन पाउने आशा राख्छन्।—रोमी ८:१५-१७, २३ पढ्नुहोस्।
अरूलाई परमेश्वरको प्रेम प्रकट गरिन्छ
१६. पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूले कसरी वरदान पाउन सक्छन्?
१६ परमेश्वरमा विश्वास राख्ने र उहाँप्रति वफादार ख्रीष्टियन भएर सेवा गर्ने सबैले “राजाको रूपमा शासन” गर्ने आशा राख्दैनन्। थुप्रैले परमेश्वरका ख्रीष्टियनपूर्व सेवकहरूले जस्तै बाइबलआधारित आशा राखेका छन्। तिनीहरू पार्थिव प्रमोदवनमा सधैंभरि बस्ने आशा राख्छन्। के तिनीहरू अहिल्यै पनि परमेश्वरबाट मायालु वरदान पाउन र पृथ्वीमा जीवन बिताउने आशा राख्दै उहाँको नजरमा असल ठहरिन सक्छन्? सक्छन् भनेर पावलले रोमीहरूलाई लेखेको कुराको आधारमा निर्धक्क भई भन्न सक्छौं।
१७, १८. (क) अब्राहामको विश्वासले गर्दा परमेश्वरले तिनलाई के ठहराउनुभयो? (ख) यहोवाले अब्राहामलाई उहाँको स्तरबमोजिम असल काम गर्ने व्यक्तिको रूपमा कसरी हेर्न सक्नुभयो?
१७ यहोवाले इस्राएललाई व्यवस्था दिनुभन्दा पहिलेका र ख्रीष्टले स्वर्गीय जीवनको लागि बाटो खोल्नुभन्दा धेरै अघिका एक उत्कृष्ट उदाहरण अब्राहामबारे पावलले बताए जसको विश्वास उल्लेखनीय थियो। (हिब्रू १०:१९, २०) हामी यस्तो लेखिएको पाउँछौं: “अब्राहाम वा तिनको वंशले व्यवस्था पालन गरेकोले संसारको उत्तराधिकारी हुने प्रतिज्ञा पाएको होइन तर विश्वासद्वारा असल ठहरिएकाले पाएको हो।” (रोमी ४:१३; याकू. २:२३, २४) त्यसैले विश्वासी अब्राहामलाई परमेश्वरले आफ्नो नजरमा असल ठहराउनुभयो।—रोमी ४:२०-२२ पढ्नुहोस्।
१८ यसको मतलब, दशकौंसम्म यहोवाको सेवा गर्दा अब्राहाम पापरहित थिए भन्ने होइन। तिनी त्यस अर्थमा परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिस भएका होइनन्। (रोमी ३:१०, २३) तथापि, आफूसित असीमित बुद्धि भएकोले यहोवाले अब्राहामको असाधारण विश्वास र त्यसअनुसारको कामलाई याद गर्नुभयो। खासगरि, अब्राहामले प्रतिज्ञा गरिएको “सन्तान”-मा विश्वास गरे जो तिनकै वंशावलीबाट आउने थिए। ती सन्तान मसीह अर्थात् ख्रीष्ट साबित हुनुभयो। (उत्प. १५:६; २२:१५-१८) त्यसैगरि, “ख्रीष्ट येशूले तिर्नुभएको फिरौती”-को आधारमा ईश्वरीय न्यायाधीशले विगतमा भएका पापहरूको क्षमा दिन सक्नुहुन्छ। यसले गर्दा अब्राहामले र ख्रीष्टअघिका अन्य विश्वासी मानिसहरूले पछि पुनर्जीवन पाउनेछन्।—रोमी ३:२४, २५ पढ्नुहोस्; भज. ३२:१, २.
अहिले परमेश्वरको नजरमा असल ठहरिनुहोस्
१९. परमेश्वरले अब्राहामलाई जसरी हेर्नुभयो, त्यो आज थुप्रै मानिसका लागि किन प्रोत्साहनदायी कुरा हो?
१९ मायालु परमेश्वरले अब्राहामलाई आफ्नो नजरमा असल ठहराउनु आजका साँचो ख्रीष्टियनहरूका लागि प्रोत्साहनदायी कुरा हो। यहोवाले आफ्नो पवित्र शक्तिद्वारा अभिषिक्त “ख्रीष्टका सँगी उत्तराधिकारी”-लाई जुन अर्थमा असल ठहराउनुभयो, तिनलाई त्यस अर्थमा असल ठहराउनु भएन। त्यस सीमित सङ्ख्यालाई “पवित्र जन बन्न बोलाइएको छ” र तिनीहरूलाई “परमेश्वरका छोराहरू”-को रूपमा स्वीकारिएको छ। (रोमी १:७; ८:१४, १७, ३३) त्यसको विपरीत, फिरौतीको बलिदान चढाइनुअघि नै अब्राहाम “यहोवाको मित्र” कहलाइए। (याकू. २:२३; यशै. ४१:८) त्यसोभए पुनःस्थापित पार्थिव प्रमोदवनमा बस्ने आशा भएका साँचो ख्रीष्टियनहरूबारे के भन्न सकिन्छ?
२०. परमेश्वरले अब्राहामलाई जुन अर्थमा असल ठहराउनुभयो, आज पनि आफूले त्यही अर्थमा असल ठहराएकाहरूबाट परमेश्वर कस्तो आशा गर्नुहुन्छ?
२० तिनीहरूले “ख्रीष्ट येशूले तिर्नुभएको फिरौती”-को आधारमा स्वर्गमा जीवन बिताउनको लागि “उहाँले सित्तैंमा दिनुभएको वरदान” पाएका होइनन्। (रोमी ३:२४; ५:१५, १७) तैपनि तिनीहरू परमेश्वर र उहाँका प्रबन्धहरूमा गहिरो विश्वास गर्छन् अनि असल कार्यद्वारा आफ्नो विश्वास देखाउँछन्। यस्तो काममध्ये एउटा ‘परमेश्वरको राज्यको विषयमा प्रचार गर्ने र प्रभु येशू ख्रीष्टको विषयमा सिकाउने’ हो। (प्रेषि. २८:३१) त्यसैले यहोवाले यी मानिसहरूलाई पनि अब्राहामलाई जुन अर्थमा असल ठहराउनुभयो, त्यही अर्थमा असल ठहराउन सक्नुहुन्छ। यिनीहरूले पाउने वरदान परमेश्वरसितको मित्रता हो तर यो वरदान अभिषिक्त ख्रीष्टियनहरूले ‘सित्तैंमा पाउने वरदान’-भन्दा फरक छ। तैपनि, तिनीहरू यस वरदानलाई साँच्चै गहिरो कृतज्ञतासाथ स्वीकार्छन्।
२१. यहोवाको प्रेम र न्यायले गर्दा कस्ता आशिष्हरू उपलब्ध भएका छन्?
२१ यदि तपाईं पृथ्वीमा अनन्त जीवन पाउन चाहनुहुन्छ भने यो मौका कुनै मानव शासकले आवेगमा आएर गरेको कामले गर्दा पाउनुभएको होइन भनेर स्वीकार्नुपर्छ। बरु, यसले ब्रह्माण्डको सार्वभौम व्यक्तिको बुद्धिमानी उद्देश्यलाई देखाउँछ। आफ्ना उद्देश्यहरू पूरा गर्न यहोवाले एकपछि अर्को कदम चाल्नुभएको छ। यी कदमहरू साँचो न्यायअनुरूप छन्। त्योभन्दा पनि ठूलो, यी कदमले परमेश्वरको महान् प्रेमलाई झल्काएको छ। त्यसैले पावलले यसो भन्न सके: “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।”—रोमी ५:८.
[फुटनोट]
a उदाहरणको लागि, सन्तान वा सन्ततिबारे उक्त धारणा धर्मशास्त्रमा अन्तरदृष्टि, खण्ड २ (अङ्ग्रेजी), पृष्ठ ७३६, अनुच्छेद ४ र ५ मा बताइएको थियो।
के तपाईंलाई याद छ?
• आदमका सन्ततिले वंशानुगत रूपमा के पाए र नतिजा कस्तो भयो?
• येशूले तिर्नुभएको फिरौती कसरी आदमको जीवन बराबर थियो?
• परमेश्वरको नजरमा असल ठहरिने वरदानले तपाईंसामु कस्तो प्रत्याशा खुला भएको छ?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १३-मा भएको चित्र]
त्रुटिरहित व्यक्ति आदमले पाप गरे। त्रुटिरहित व्यक्ति येशूले “फिरौतीस्वरूप” आफूलाई अर्पण गर्नुभयो
[पृष्ठ १५-मा भएको चित्र]
येशूद्वारा हामी परमेश्वरको नजरमा असल ठहरिन सक्नु साँच्चै सुसमाचार हो!