सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैलाई चाहिने सुसमाचार

सबैलाई चाहिने सुसमाचार

सबैलाई चाहिने सुसमाचार

“सुसमाचार . . . वास्तवमा . . . उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम हो।”—रोमी १:१६.

१, २. तपाईं किन “राज्यको सुसमाचार” प्रचार गर्नुहुन्छ र यसको कस्ता पक्षहरूलाई जोड दिनुहुन्छ?

 ‘प्रत्येक दिन सुसमाचार सुनाउन पाउँदा म खुसी छु।’ सायद यस्तो भावना तपाईंको दिमागमा आएको वा मुखबाट निस्केको होला। यहोवाको एक जना भक्‍त साक्षीको रूपमा “राज्यको यो सुसमाचार” प्रचार गर्नु कत्ति महत्त्वपूर्ण छ भनी तपाईंलाई थाहै छ। यसबारे येशूको भविष्यवाणी तपाईं मुखस्त भन्‍न सक्नुहुन्छ होला।—मत्ती २४:१४.

“राज्यको सुसमाचार” प्रचार गरेर तपाईं येशूले सुरु गर्नुभएको कामलाई निरन्तरता दिंदै हुनुहुन्छ। ( लूका ४:४३ पढ्‌नुहोस्‌) तपाईंले जोड दिने एउटा कुरा यो होला: चाँडै परमेश्‍वरले मानव मामिलाहरूमा हस्तक्षेप गर्नुहुनेछ। “महासङ्‌कष्ट”-मा उहाँले झूटो धर्मको अन्त्य गर्नुहुनेछ र पृथ्वीबाट दुष्टता नामेट पार्नुहुनेछ। (मत्ती २४:२१) परमेश्‍वरको राज्यले प्रमोदवन पुनःस्थापना गर्नेछ अनि पृथ्वीमा शान्ति र खुसी छाउनेछ भनेर पनि तपाईं जोड दिनुहुन्छ होला। वास्तवमा, “राज्यको सुसमाचार” ‘अब्राहामलाई पहिल्यै सुनाइएको यो सुसमाचारको’ एउटा भाग हो: “तिमीद्वारा सबै जातिका मानिसहरूले आशिष्‌ पाउनेछन्‌।”—गला. ३:८.

३. प्रेषित पावलले रोमीको पुस्तकमा सुसमाचारलाई जोड दिए भनी हामी किन भन्‍न सक्छौं?

तर हामीले मानिसहरूलाई चाहिने सुसमाचारको महत्त्वपूर्ण पक्षलाई त्यति ध्यान नदिइरहेका छौं कि? रोमीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले “राज्य” भन्‍ने शब्द एक चोटि मात्र उल्लेख गरे तर तिनले “सुसमाचार” भन्‍ने अभिव्यक्‍ति भने १२ चोटि प्रयोग गरे। ( रोमी १४:१७ पढ्‌नुहोस्‌) पावलले त्यस पुस्तकमा सुसमाचारको कुनचाहिं पक्षलाई बारम्बार उल्लेख गरे? त्यो सुसमाचार किन महत्त्वपूर्ण छ? अनि हाम्रो इलाकाका मानिसहरूलाई “परमेश्‍वरको सुसमाचार” प्रचार गर्दा यसको महत्त्वलाई किन सम्झनुपर्छ?—मर्कू. १:१४; रोमी १५:१६; १ थिस्स. २:२.

रोममा भएकाहरूलाई चाहिएको कुरा

४. रोममा पहिलो पटक थुनामा पर्दा पावलले कुन-कुन विषयमा प्रचार गरे?

रोममा पहिलो पटक थुनामा पर्दा पावलले सम्बोधन गरेको विषयलाई ध्यान दिनु उपयोगी छ। विवरणअनुसार, थुप्रै यहूदी तिनीकहाँ आउँदा तिनले उनीहरूलाई (१) ‘परमेश्‍वरको राज्यको विषयमा राम्ररी साक्षी दिए अनि (२) येशूको विषयमा चित्तबुझ्दो तर्क दिएर उनीहरूलाई मनाए।’ नतिजा कस्तो भयो? “तिनले भनेका कुराहरूमा कतिपयले विश्‍वास गर्न थाले तर अरूले भने गरेनन्‌।” त्यसपछि पावल ‘आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे अनि उनीहरूलाई (१) परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे र (२) प्रभु येशू ख्रीष्टको विषयमा सिकाउँथे।’ (प्रेषि. २८:१७, २३-३१) स्पष्ट छ, पावलले परमेश्‍वरको राज्यबारे ध्यान खिचे। तर तिनले केलाई पनि जोड दिए? त्यस राज्यको अत्यावश्‍यक पक्षलाई अर्थात्‌ परमेश्‍वरको उद्देश्‍यमा येशूको भूमिकालाई।

५. रोमीको पुस्तकमा पावलले कुन महत्त्वपूर्ण आवश्‍यकताबारे बताए?

सबै मानिसले येशूबारे थाह पाउनुपर्छ र उहाँमा विश्‍वास राख्नुपर्छ। रोमीको पुस्तकमा पावलले यस आवश्‍यकताबारे बताए। यस पुस्तकको सुरुतिर तिनले “परमेश्‍वर हुनुहुन्छ, जसको छोराको विषयमा सुसमाचार सुनाएर म उहाँलाई तनमनले पवित्र सेवा चढाउँछु” भनी लेखे। तिनले यसो पनि भने: “सुसमाचार सुनाउन म सर्माउदिनँ, किनकि वास्तवमा यो विश्‍वास गर्नेहरू जति सबैलाई . . . उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम हो।” पछि तिनले “परमेश्‍वरले ख्रीष्ट येशूमार्फत मानिसहरूका गोप्य कुराहरूको न्याय” गर्ने समयबारे बताए जुन तिनले “प्रचार गरेको सुसमाचारबमोजिम” थियो। अनि तिनले यसो भने: “मैले यरूशलेमदेखि लिएर इल्लिरिकुमसम्म चारैतिर ख्रीष्टको सुसमाचार पूर्णतया प्रचार गरेको छु।” a (रोमी १:९, १६; २:१६; १५:१९) तपाईंको विचारमा पावलले रोमीहरूलाई येशू ख्रीष्टको विषयमा किन जोड दिए?

६, ७. रोमी मण्डलीको सुरुवातबारे के भन्‍न सक्छौं अनि यस मण्डलीमा कस्ता प्रकारका मानिसहरू थिए?

रोमी मण्डलीको सुरुवात कसरी भयो हामीलाई थाह छैन। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा उपस्थित यहूदी वा धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू पो ख्रीष्टियन बनेर रोम फर्के कि? (प्रेषि. २:१०) कतै ख्रीष्टियन व्यापारी र यात्रीहरूले पो रोममा सत्य फैलाए कि? कुरा जेसुकै भए पनि इस्वी संवत्‌ ५६ तिर पावलले यो पुस्तक लेखेको समयसम्म यो मण्डली स्थापना भएको धेरै समय भइसकेको थियो। (रोमी १:८) यस मण्डलीमा कस्ता प्रकारका मानिसहरू थिए?

कोही यहूदी पृष्ठभूमिका थिए। पावलले एन्ड्रोनिकस र युनियसलाई “मेरा नातेदार” भनी अभिवादन गरे। यसले सम्भवतः ती नातेदारहरूलाई बुझाउँछ जो यहूदी थिए। रोममा पाल बनाउने अक्वीला र तिनकी पत्नी प्रिस्का पनि यहूदी थिए। (रोमी ४:१; ९:३, ४; १६:३, ७; प्रेषि. १८:२) तर पावलले अभिवादन पठाएका थुप्रै भाइबहिनी सायद अन्यजातिहरू थिए। कोही-कोही “सम्राट्‌को घरानाकाहरू” अर्थात्‌ सम्राटका दासहरू र तल्लो तहका अधिकारीहरू हुन सक्छन्‌।—फिलि. ४:२२; रोमी १:६; ११:१३.

८. रोममा भएकाहरूले कस्तो दुःखद अवस्था सामना गरे?

रोमका प्रत्येक ख्रीष्टियनले एउटा दुःखद अवस्था सामना गर्नुपरेको थियो। हामी प्रत्येकले पनि यस्तै अवस्था सामना गर्नुपर्छ। यसबारे पावलले यसरी बताए: “सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” (रोमी ३:२३) स्पष्ट छ, पावलले उक्‍त कुरा जसलाई लेखेका थिए, ती सबैले आफू पापी हुँ भनी स्वीकार्नुपर्थ्यो र उक्‍त आवश्‍यकता पूरा गर्न परमेश्‍वरको माध्यममा विश्‍वास गर्नुपर्थ्यो।

पापी हुँ भनेर स्वीकार्ने

९. सुसमाचारले ल्याउन सक्ने कस्तो नतिजाबारे पावलले ध्यान खिचे?

आफूले उल्लेख गर्दै आएको सुसमाचारले ल्याउने अद्‌भुत नतिजाबारे रोमीहरूलाई लेखेको पत्रको सुरुतिर पावलले यसरी बताए: “सुसमाचार सुनाउन म सर्माउदिनँ, किनकि वास्तवमा यो विश्‍वास गर्नेहरू जति सबैलाई, पहिला यहूदीहरूलाई अनि त्यसपछि ग्रीकहरूलाई पनि उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम हो।” हो, उद्धार सम्भव थियो। तथापि, हबकूक २:४ बाट उद्धरण गरिएको यस गहन सत्यअनुरूप विश्‍वास अत्यावश्‍यक थियो: “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिस विश्‍वासद्वारा नै जिउनेछ।” (रोमी १:१६, १७; गला. ३:११; हिब्रू १०:३८) तर उद्धारतर्फ डोऱ्‍याउन सक्ने त्यस सुसमाचार र “सबैले पाप गरेका छन्‌” भन्‍ने यथार्थबीच कस्तो सम्बन्ध छ?

१०, ११. रोमी ३:२३ मा उल्लेख गरिएको धारणा कसै-कसैको लागि किन अनौठो होइन तर कसैको लागि भने हो?

१० जीवन बचाउने विश्‍वास खेती गर्नुभन्दा पहिला आफू पापी हुँ भनी स्वीकार्नै पर्छ। परमेश्‍वरमाथि विश्‍वास गर्ने परिवारमा हुर्केका र बाइबलबारे केही हदसम्म भए पनि थाह भएका मानिसहरूलाई आफू पापी हुँ भनी स्वीकार्न अनौठो लाग्नेछैन। ( उपदेशक ७:२० पढ्‌नुहोस्‌) चाहे तिनीहरू सहमत होऊन्‌ वा शङ्‌का गरून्‌, कम से कम तिनीहरूलाई पावलले यसो भन्दा के भन्‍न खोजेका थिए भनेर थाह छ: “सबैले पाप गरेका छन्‌।” (रोमी ३:२३) तर प्रचारकार्यमा भाग लिंदा उक्‍त भनाइको अर्थ नबुझ्ने थुप्रै मानिस हामी भेट्‌न सक्छौं।

११ कतिपय मुलुकमा साधारणतया मानिसलाई आफू जन्मजात पापी हो अर्थात्‌ आफूसित वंशानुगत पाप छ भनेर सिकाइएको हुँदैन। हुनत उसले आफूबाट गल्ती हुन्छ, आफूसित अवगुणहरू छन्‌ र आफूले केही खराब कुरा पनि गरेको हुन सक्छ भनी स्वीकार्ला। अनि उसले अरू पनि यस्तै अवस्थामा भएको याद गर्छ। तैपनि आफ्नो पृष्ठभूमिले गर्दा, उसले आफू र अरू किन त्यस्तो अवस्थामा छन्‌ भनी वास्तवमा बुझ्दैन। साँच्चै भन्‍ने हो भने, तपाईंले कसैलाई पापी भन्‍नुभयो भने कुनै-कुनै भाषामा अरूले त्यस मानिसलाई अपराधी वा नभए कुनै नियम तोड्‌ने व्यक्‍ति भन्ठान्‍न सक्छन्‌। यस्तो वातावरणमा हुर्केको व्यक्‍तिले आफू पावलले भन्‍न खोजेको अर्थमा पापी हुँ भनेर सोच्दैन होला।

१२. सबै जना पापी हुन्‌ भनेर थुप्रै मानिस किन विश्‍वास गर्दैनन्‌?

१२ ख्रीष्टियन धर्म मान्‍ने देशहरूमा समेत थुप्रैले पापी छौं भन्‍ने धारणामा विश्‍वास गर्दैनन्‌। किन? कहिलेकाहीं चर्च गए तापनि तिनीहरू आदम र हव्वाबारे बाइबल विवरणलाई लोककथा वा दन्त्यकथाको रूपमा मात्र हेर्छन्‌। अरू कतिपयचाहिं परमेश्‍वरमा विश्‍वास नगर्ने वातावरणमा हुर्कन्छन्‌। तिनीहरू परमेश्‍वरको अस्तित्व छ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। त्यसैले उहाँले मानिसजातिका लागि नैतिक स्तरहरू तोक्नुभएको छ र ती पालन नगर्दा पाप गरेको हुन्छ भनी बुझ्दैनन्‌। एक अर्थमा भन्‍नुपर्दा तिनीहरू प्रथम शताब्दीका ती मानिसहरूजस्तै छन्‌ जसलाई पावलले ‘कुनै आशा नभएका’ र ‘संसारमा परमेश्‍वरलाई नचिनेका’ भनी वर्णन गरे।—एफि. २:१२.

१३, १४. (क) परमेश्‍वरमा र पापमा विश्‍वास नगर्नेहरूले बहाना बनाउन नसक्ने एउटा कारण के हो? (ख) विश्‍वास नगरेकोले थुप्रै मानिस के गर्न पुगेका छन्‌?

१३ त्यस्तो पृष्ठभूमि त्यतिबेला बहाना बनाउने कारण थिएन भनी बुझाउन रोमीहरूलाई लेखेको पत्रमा पावलले दुई वटा कारण प्रस्तुत गरे र यो कुरा अहिले हामीलाई पनि लागू हुन्छ। पहिलो कारण हो, सृष्टि आफैले परमेश्‍वरको अस्तित्वबारे साक्षी दिन्छ। ( रोमी १:१९, २० पढ्‌नुहोस्‌) यो कुरा पावलले रोमबाट हिब्रूहरूलाई लेखेको कुरासित मेल खान्छ: “हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ।” (हिब्रू ३:४) त्यस तर्कअनुरूप सारा ब्रह्‍माण्ड निर्माण गर्ने अर्थात्‌ अस्तित्वमा ल्याउने सृष्टिकर्ता हुनुपर्छ।

१४ त्यसैले निर्जीव मूर्तिहरूलाई पुज्ने प्राचीन समयका इस्राएलीहरूलगायत अरू जो कोहीले “बहाना बनाउन सक्दैनन्‌” भनी रोमीहरूलाई लेख्न पावलसित ठोस कारण थियो। पुरुष तथा स्त्रीको शरीरको प्राकृतिक प्रयोग नगरी अनैतिक यौन प्रचलनमा लाग्नेहरूको सन्दर्भमा पनि त्यसै भन्‍न सकिन्छ। (रोमी १:२२-२७) यस्ता तर्कहरूलाई उल्लेख गर्दै “यहूदी र ग्रीक सबै नै पापको अधीनमा छन्‌” भनी पावल सही निष्कर्षमा पुगे।—रोमी ३:९.

‘साक्षी दिने’ कुरा

१५. सबैसित के छ र यसले कस्तो असर गर्छ?

१५ मानिसहरूले आफू पापी हुँ भनी स्वीकार्नुपर्ने र त्यस दुःखद अवस्थाबाट छुटकारा पाउनुपर्ने अर्को कारण पनि रोमीको पुस्तकले बताउँछ। प्राचीन समयका इस्राएलीहरूलाई परमेश्‍वरले दिनुभएको व्यवस्थाबारे पावलले लेखे: “व्यवस्था जानेर पाप गर्नेहरू सबैको चाहिं व्यवस्थाबमोजिमै न्याय हुनेछ।” (रोमी २:१२) आफ्नो तर्कलाई अघि बढाउँदै तिनी परमेश्‍वरले दिनुभएको त्यस व्यवस्थाबारे थाह नपाएका गैर-यहूदीहरू वा विभिन्‍न जातिका मानिसहरूले अक्सर “स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्छन्‌” भनी बताउँछन्‌। यी मानिसहरूले साधारणतया हाडनाताकरणी, हत्या र चोरीलाई किन निषेध गर्छन्‌? पावलले त्यसको कारण यसरी बताए: तिनीहरूसित अन्तस्करण छ।रोमी २:१४, १५ पढ्‌नुहोस्‌।

१६. अन्तस्करण हुँदैमा पापबाट जोगिन्छ भन्‍ने छैन, किन?

१६ तर तपाईंले याद गर्नुभएकै होला, भित्रबाट साक्षी दिने अन्तस्करण हुँदाहुँदै पनि मानिसले यसको डोऱ्‍याइअनुसारै गर्छ भन्‍ने छैन। प्राचीन समयका इस्राएलीहरूको उदाहरणले यो कुरा स्पष्ट पार्छ। ती इस्राएलीहरूसित परमेश्‍वरले दिनुभएको अन्तस्करणका साथै चोरी नगर्न अनि पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्न दिइएको खास व्यवस्था पनि थियो। तैपनि तिनीहरूले अक्सर आफ्नो अन्तस्करण र यहोवाको व्यवस्थाविरुद्ध काम गरे। (रोमी २:२१-२३) तिनीहरू दुई गुणा दोषी थिए, त्यसैले तिनीहरू निश्‍चय नै परमेश्‍वरको स्तर र इच्छाबाट चुकेका पापी थिए। यसले सृष्टिकर्तासितको तिनीहरूको सम्बन्धलाई नराम्ररी बिगाऱ्‍यो।—लेवी १९:११; २०:१०; रोमी ३:२०.

१७. रोमीको पुस्तकमा हामी कस्तो प्रोत्साहन पाउँछौं?

१७ रोमीको पुस्तकबाट विचार गरेको कुराले सर्वशक्‍तिमान्‌सामु हामीलगायत सम्पूर्ण मानिसको दयनीय अवस्था झल्काउन खोजेजस्तो देखिन सक्छ। तर पावलले कुरा त्यतिमै टुङ्‌ग्याएनन्‌। भजन ३२:१, २ मा पाइने दाऊदका शब्दहरू उद्धरण गर्दै यी प्रेषितले यस्तो लेखे: “आनन्दित हुन्‌ तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन्‌ र जसका पापहरू ढाकिएका छन्‌। आनन्दित हो त्यो मानिस, जसको पापको लेखा यहोवाले कुनै हालतमा राख्नुहुनेछैन।” (रोमी ४:७, ८) हो, परमेश्‍वरले आफ्नो सही स्तर नतोडिकनै पापहरूको क्षमा गर्न सम्भव तुल्याउनुभएको छ।

येशूमा केन्द्रित सुसमाचार

१८, १९. (क) पावलले रोमीको पुस्तकमा सुसमाचारको कुन पक्षलाई जोड दिए? (ख) राज्य आशिष्‌हरू पाउन हामीले के मानिलिनै पर्छ?

१८ तपाईं यस्तो प्रतिक्रिया जनाउनुहोला, “यो त साँच्चै सुसमाचार हो!” हो, यो सुसमाचारै हो। रोमीको पुस्तकमा पावलले जोड दिएकै सुसमाचारको पक्षमा यसले हाम्रो ध्यान खिच्छ। पावलले यस्तो लेखे: “सुसमाचार सुनाउन म सर्माउदिनँ, किनकि वास्तवमा यो . . . उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम हो।”—रोमी १:१५, १६.

१९ त्यो सुसमाचार परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने येशूको भूमिकामा केन्द्रित छ। पावलअनुसार तिनी आफूले “प्रचार गरेको सुसमाचारबमोजिम परमेश्‍वरले ख्रीष्ट येशूमार्फत मानिसहरूका गोप्य कुराहरूको न्याय” गर्नुहुने दिनको प्रतीक्षा गर्न सक्थे। (रोमी २:१६) यसो भनेर तिनले “ख्रीष्ट अनि परमेश्‍वरको राज्य”-लाई वा परमेश्‍वरले यस राज्यद्वारा गर्नुहुने कुरालाई हलका बनाइरहेका थिएनन्‌। (एफि. ५:५) तर तिनले बताएअनुसार परमेश्‍वरको राज्यमा बस्न र त्यसबाट पाइने आशिष्‌ प्राप्त गर्न (१) परमेश्‍वरको नजरमा हामी पापी छौं र (२) आफ्नो पापको क्षमाको लागि येशू ख्रीष्टमाथि विश्‍वास देखाउनु आवश्‍यक छ भनेर हामीले मानिलिनै पर्छ। जब कुनै मानिसले परमेश्‍वरको उद्देश्‍यका यी पक्षहरू बुझ्न र स्वीकार्न थाल्छ अनि यसले गर्दा आफूसामु खुला भएको भविष्यबारे थाह पाउँछ तब उसले यस्तो उद्‌गार व्यक्‍त गर्न सुहाउँछ, “हो, यो त साँच्चै सुसमाचार हो!”

२०, २१. प्रचारकार्यमा हामीले रोमीको पुस्तकमा जोड दिइएको सुसमाचारलाई किन मनमा राख्नुपर्छ र यसको नतिजा कस्तो हुन सक्छ?

२० ख्रीष्टियन प्रचारकार्य अघि बढाउँदा हामीले सुसमाचारको यस पक्षलाई मनमा राख्नै पर्छ। येशूलाई सङ्‌केत गर्दै पावलले यशैयाका यी शब्दहरू उद्धरण गरे: “उहाँमाथि विश्‍वास राख्ने कोही पनि निराश हुनेछैन।” (रोमी १०:११; यशै. २८:१६) पापबारे बाइबलले के भन्छ भनी थाह भएकाहरूलाई येशूसित सम्बन्धित महत्त्वपूर्ण सन्देश सायद अनौठो कुरा नहोला। तर अरूको लागि भने यो सन्देश असाध्यै नौलो र आफ्नो संस्कृतिमा अहिलेसम्म थाह नभएको वा साधारणतया विश्‍वास नगरिएको कुरा हुन सक्छ। यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न र बाइबलमा भरोसा गर्न थाल्दा हामीले तिनीहरूलाई येशूको भूमिकाबारे बताउनुपर्नेछ। रोमी अध्याय ५ ले सुसमाचारको यस पक्षलाई कसरी व्याख्या गर्छ, यसपछिको लेखमा छलफल गरिनेछ। उक्‍त अध्ययन प्रचारकार्यको लागि पनि तपाईंलाई उपयोगी लाग्ला।

२१ रोमीको पुस्तकमा बारम्बार उल्लेख गरिएको सुसमाचार अर्थात्‌ “वास्तवमा यो विश्‍वास गर्नेहरू जति सबैलाई . . . उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम” हो भनेर सोझो मन भएका मानिसहरूलाई बुझ्न मदत दिनु अत्यन्तै इनामदायी हुन्छ। (रोमी १:१६) यस्तो इनाम पाउनुको अलावा रोमी १०:१५ मा पावलले उद्धरण गरेका यी भावनासित अरू पनि सहमत भएको देख्न पाउनेछौं: “असल कुराहरूको सुसमाचार घोषणा गर्नेहरूका खुट्टा कत्ति सुन्दर!”—यशै. ५२:७.

[फुटनोट]

a अन्य प्रेरित पुस्तकहरूमा पनि यस्तै खालका अभिव्यक्‍तिहरू पाइन्छन्‌।—मर्कू. १:१; प्रेषि. ५:४२; १ कोरि. ९:१२; फिलि. १:२७.

के तपाईंलाई याद छ?

• रोमीको पुस्तकले सुसमाचारको कुन पक्षलाई जोड दिन्छ?

• हामीले अरूलाई कस्तो यथार्थ बुझ्न मदत गर्नुपर्छ?

• “ख्रीष्टको सुसमाचार” हाम्रो र अरूको लागि कसरी आशिष्‌ हुन सक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

रोमीको पुस्तकमा जोड दिइएको सुसमाचारमा परमेश्‍वरको उद्देश्‍यमा येशूको महत्त्वपूर्ण भूमिका समावेश थियो

[पृष्ठ ९-मा भएको चित्र]

हामी सबै जना घातक त्रुटि लिएर अर्थात्‌ पापी भएर जन्मियौं!