आउनुहोस्, हामी सँगै रमाऔं!
आउनुहोस्, हामी सँगै रमाऔं!
अहिलेको समयमा खुसी अनि आनन्द पाउन झन्-झनै मुस्किल हुँदै गइरहेको छ। थुप्रैका लागि आपसमा सकारात्मक भावनाहरू साटासाट गर्नु आकाशको फलजत्तिकै भएको छ। त्यसमाथि पनि आधुनिक रहनसहनले मानिसहरूलाई आ-आफ्नै धुनमा मस्त हुन सिकाएको छ र एकलकाँटे बनाएको छ। अझ विशेषगरि ठूलठूला सहरका मानिसहरूलाई त यसले झनै असर गरेको छ।
प्राध्यापक अर्बर्टो ओलिभारियो यसो भन्छन्: “एकाकीपन जताततै छाएको छ। अझ विशेषगरि सम्पन्न सहरका मानिसहरू सजिलै एकलकाँटे हुन पुग्छन् भन्नेमा त कुनै शङ्का छैन। एकलकाँटे भएपछि प्रायजसो हामी आफ्ना सहकर्मी, छिमेकी अनि किनमेल गर्ने पसलका मानिसहरूको जीवनशैलीलाई त्यति वास्ता गर्दैनौं।” यसरी एकलकाँटे हुँदा पछि गएर डिप्रेसन हुने सम्भावना धेरै हुन्छ।
तर हाम्रा सँगी ख्रीष्टियनहरूको अवस्था अनि मनोवृत्ति भने फरक छ। प्रेषित पावलले यस्तो लेखे: “सधैं रमाइरहो।” (१ थिस्स. ५:१६) हामी खुसी हुनुपर्ने अनि रमाउनुपर्ने थुप्रै कारणहरू छन्: सबैभन्दा महान् परमेश्वरको उपासना गर्ने, बाइबलका सत्य कुराहरू बुझ्ने अनि मुक्ति र अनन्त जीवनको आशा प्राप्त गर्ने सुअवसर हामीले पाएका छौं। साथै यी आशिष्हरू अरूले पाउन सकून् भनेर तिनीहरूलाई मदत गर्ने मौका पनि हामीले पाएका छौं।—भज. १०६:४, ५; यर्मि. १५:१६; रोमी १२:१२.
रमाइलो गर्नु अनि आपसमा खुसी साटासाट गर्नु साँचो ख्रीष्टियनहरूको चिनारी हो। त्यसैले पावलले फिलिप्पीका ख्रीष्टियनहरूलाई यसो भन्नु कुनै अचम्मको कुरा होइन: “म खुसी छु र तिमीहरू सबैसित रमाउनेछु। अब त्यसरी नै तिमीहरू पनि खुसी होओ र मसित रमाओ।” (फिलि. २:१७, १८) यति छोटो अभिव्यक्तिमा पनि पावलले आपसमा खुसी हुने अनि रमाउने कुरा दुई पटक उल्लेख गरेका छन्।
आफ्नै दुनियाँमा रमाउने झुकावबाट ख्रीष्टियनहरू निश्चय नै टाढा बस्नुपर्छ। आफूलाई अरूदेखि अलग्याउने व्यक्तिले सँगी विश्वासीहरूसितको रमाइलोपन कहिल्यै अनुभव गर्न सक्दैन। त्यसो भए आफ्ना भाइबहिनीहरूसित मिलेर “प्रभुमा आनन्द गरिरहो” भनेर पावलले दिएको सल्लाह हामी कसरी पालना गर्न सक्छौं?—फिलि. ३:१.
सँगी विश्वासीहरूसँगसँगै रमाऔं
फिलिप्पीका ख्रीष्टियनहरूलाई पत्र लेख्दा पावलले रोमको झ्यालखानामा कैदी जीवन बिताइरहेको हुनुपर्छ। प्रचारकार्यमा भाग लिएको कारण तिनलाई झ्यालखानामा हालिएको थियो। (फिलि. १:७; ४:२२) तैपनि प्रचारकार्यप्रति तिनको जोस सेलाएको थिएन। यहोवाको सेवा सक्दो गर्न पाएकोमा अनि आफ्नो जीवन “दाखमद्य-भेटीको रूपमा” यहोवालाई अर्पण गर्न पाएकोमा तिनी झनै आनन्दित थिए। (फिलि. २:१७) पावलको मनोवृत्तिलाई विचार गर्ने हो भने हाम्रो आनन्द आफ्नो परिस्थितिमा भर पर्दैन भनेर बुझ्न सक्छौं। झ्यालखानामा भए तापनि तिनले यसो भने: “म रमाइरहने पनि छु।”—फिलि. १:१८.
फिलिप्पीको मण्डली पावल आफैले खडा गरेको कारण तिनी त्यहाँका भाइबहिनीहरूलाई साह्रै माया गर्थे। आफूले यहोवाको सेवा गर्दा पाएको आनन्दबारे तिनीहरूलाई बताउँदा तिनीहरू पक्कै पनि प्रोत्साहित हुनेछन् भनेर पावललाई थाह थियो। तसर्थ तिनले यस्तो लेखे: “भाइहरू हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, ममाथि जे-जस्ता कुराहरू आइपरेका छन्, त्यसले सुसमाचार फैलाउन बाधा होइन, बरु सहयोग नै पुऱ्याएको छ। ख्रीष्टको खातिर म बन्धनमा परेको हुँ भन्ने कुरा सम्राट्को गारत र अरू सबैलाई थाह भएको छ।” (फिलि. १:१२, १३) पावलले यो प्रोत्साहनदायी अनुभव फिलिप्पीका ख्रीष्टियनहरूलाई बताएर आफू तिनीहरूसँगै खुसी भएको अनि रमाएको कुरा देखाए। फलतः फिलिप्पीका ख्रीष्टियनहरू पनि पावलसँगसँगै रमाएको हुनुपर्छ। तर यसरी रमाउनको लागि फिलिप्पीका ख्रीष्टियनहरू पावल झ्यालखानामा परेकोमा हतोत्साहित हुनुहुँदैन थियो। बरु, तिनीहरूले पावलको उदाहरण अनुकरण गर्नु आवश्यक थियो। (फिलि. १:१४; ३:१७) साथै तिनीहरूले पावलको लागि प्रार्थना गरिरहन र तिनलाई आवश्यक पर्ने जस्तोसुकै मदत उपलब्ध गराइरहन पनि सक्थे।—फिलि. १:१९; ४:१४-१६.
के हामी पनि पावलको जस्तै आनन्दित मनोभाव देखाउँछौं? के हामी आफ्नो जीवनमा अनि ख्रीष्टियन सेवामा घटेका घटनाहरूको सकारात्मक पक्षलाई ध्यान दिने कोसिस गर्छौं? सँगी भाइबहिनीहरूसित सङ्गत गर्दा हामीले प्रचारकार्यको विषयमा एकअर्काको अनुभव साटासाट गरेर रमाइलो गर्नु राम्रो हुन्छ। अति नै राम्रो अनुभव बटुलेपछि मात्र यसो गर्नुपर्छ भन्ने छैन। हामीले प्रचारकार्यमा राम्रो परिचय प्रयोग गरेकोले वा राम्रो तर्क गरेकोले घरधनीले हाम्रो कुराप्रति चासो देखाएको हुन सक्छ। अथवा कुनै बाइबल पदको विषयमा हामीले घरधनीसित रमाइलो कुराकानी गरेका हुन सक्छौं। अनि प्रचारमा जाँदा त्यस इलाकाका मानिसहरूले हामीलाई यहोवाको साक्षी भनेर चिनेका अनि त्यसले गर्दा तिनीहरूले राम्रो साक्षी पाएका पनि हुन सक्छन्। यस्ता अनुभवहरू साटासाट गरेर हामी आपसमा रमाइलो गर्न सक्छौं।
यहोवाका जनहरूमध्ये थुप्रैले प्रचारकार्यको लागि त्यागहरू गरेका छन् र गरिरहेका पनि छन्। अग्रगामी, परिभ्रमण निरीक्षक, बेथेल सेवक, मिसनरी अनि अन्तरराष्ट्रिय सेवकहरूले पूर्ण-समय सेवामा लाग्न कडा परिश्रम गरिरहेका छन् र यसो गरेकोमा तिनीहरू खुसी पनि छन्। के हामी पनि तिनीहरूसँगसँगै खुसी हुन्छौं र रमाउँछौं? यदि हुन्छौं भने आउनुहोस् ‘परमेश्वरको राज्यको खातिर सहकर्मी’ भएर काम गर्ने हाम्रा यी प्यारा भाइबहिनीहरूप्रति आभार व्यक्त गरौं। (कल. ४:११) सभा-सम्मेलनमा जाँदा हामी यी भाइबहिनीहरूलाई मायालु तरिकामा प्रोत्साहन दिन सक्छौं। हामी तिनीहरूको उदाहरण अनुकरण गर्न पनि सक्छौं। अतिथिसत्कार गरेर—सायद सँगै खाना खाएर—हामी तिनीहरूको अनुभव अनि उत्थानदायी बोलीहरू सुन्ने “मौका” निकाल्न सक्छौं।—फिलि. ४:१०.
विभिन्न परीक्षाको सामना गरिरहेकाहरूसँग रमाऔं
खेदो सहँदा अनि परीक्षाहरूको सफलतासाथ सामना गर्दा यहोवाप्रति वफादार रहने पावलको सङ्कल्प झनै बलियो भयो। (कल. १:२४; याकू. १:२, ३) फिलिप्पीका ख्रीष्टियनहरूले पनि आफ्नो जस्तै परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ भनेर पावललाई थाह थियो। अनि आफू विश्वासमा दृढ रहेको कुरा तिनीहरूलाई बताउँदा तिनीहरू पनि प्रोत्साहित हुनेछन् भन्ने कुरा बुझ्दा तिनी खुसी हुन अनि रमाउन सके। त्यसैले तिनले यस्तो लेखे: “ख्रीष्टको खातिर तिमीहरूलाई यो सम्मान दिइयो, कि तिमीहरूले उहाँमाथि विश्वास राख्ने मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ। मैले जे-जस्तो सङ्घर्ष गरेको तिमीहरूले देख्यौ र अहिले सुनिरहेका छौ, तिमीहरूले पनि त्यस्तै सङ्घर्ष गरिरहेका छौ।”—फिलि. १:२९, ३०.
त्यतिबेला जस्तै अहिले पनि ख्रीष्टियनहरूले अरूलाई साक्षी दिंदा विरोधको सामना गर्छन्। कहिलेकाहीं यस्ता विरोधहरू एकदमै हिंस्रक किसिमका हुन्छन्। तर प्रायजसो भने यस्ता विरोधहरू चालै नपाउने तरिकामा आउँछन्। सायद धर्मत्यागीहरूले झूटो आरोप लगाएर, परिवारका सदस्यहरूले शत्रुवत व्यवहार गरेर अनि सहकर्मी वा सहपाठीले गिल्ला गरेर हामीलाई विरोध गर्न सक्छन्। यस्ता परीक्षाहरूको सामना गर्नुपर्दा अचम्म मान्नुहुँदैन अनि निराश हुनुहुँदैन भनेर येशूले चेतावनी दिनुभएको थियो। बरु यस्तो बेला हामी रमाउनुपर्छ। उहाँले यसो भन्नुभयो: “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्, खेदो गर्छन् र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरी खराब कुरा भन्छन्। तब रमाओ र खुसीले उफ्र, किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो इनाम छ।”—मत्ती ५:११, १२.
कुनै-कुनै मुलुकका हाम्रा भाइबहिनीहरूले कठोर सतावट भोगेको सुन्दा हामी तर्सिनु वा डराउनु हुँदैन। बरु तिनीहरू विश्वासमा दृढ रहेकोमा हामी रमाउनुपर्छ। यहोवाले तिनीहरूको विश्वास ढलपल नहुन अनि तिनीहरूलाई परीक्षा सहन मदत गरून् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरिदिन सक्छौं। (फिलि. १:३, ४) यी प्यारा भाइबहिनीका लागि हामीले धेरै थोक गर्न त नसकौंला तर हामी आफ्नो मण्डलीमा परीक्षा भोगिरहेका भाइबहिनीहरूका लागि भने सक्दो गर्न सक्छौं। हामी तिनीहरूप्रति चासो देखाउन सक्छौं र तिनीहरूलाई सहायता गर्न सक्छौं। तिनीहरूलाई कहिलेकाहीं आफ्नो पारिवारिक उपासनामा बोलाएर, तिनीहरूसँगै प्रचार गएर अनि मनोरञ्जनात्मक गतिविधिमा भाग लिएर हामी तिनीहरूसँगै रमाउने मौका खोज्न सक्छौं।
हामी सबै जना मिलेर रमाउनुपर्ने कारणहरू थुप्रै छन्! यस संसारको एकलकाँटे मनोभावको प्रतिरोध गरौं र आफ्ना भाइबहिनीहरूसित खुसी साटासाट गरिरहौं। यसरी हामी मण्डलीको शान्ति अनि एकतामा टेवा पुऱ्याउन सक्छौं र आपसी भ्रातृत्वको आनन्द उठाउन सक्छौं। (फिलि. २:१, २) “प्रभुमा सधैं” रमाऔं किनभने पावल हामीलाई यस्तो आग्रह गर्छन्: “म फेरि एक चोटि भन्छु, रमाओ!”—फिलि. ४:४.