‘प्रचार गर्न म कसरी सक्षम हुन सक्छु?’
‘प्रचार गर्न म कसरी सक्षम हुन सक्छु?’
गम्भीर स्वास्थ्य समस्याको बाबजुद विश्वासीपूर्वक प्रचारकार्यमा लागेका भाइबहिनीको उल्लेखनीय उदाहरण हामी संसारभरि नै पाउँछौं। उदाहरणको लागि लिथुआनियाको राजधानी सहर भिलनियसमा बस्ने दलियालाई लिनुहोस्।
दलिया ३० वर्ष नाघेकी बहिनी हुन्। जन्मैदेखि तिनी सेरेब्रल एपोप्लेक्सी भन्ने मस्तिष्कसम्बन्धी एक प्रकारको विकारले पीडित छिन्। यसले गर्दा तिनलाई पक्षाघात भयो। तिनको बोली भकभके भयो। परिवारका सदस्यले मात्रै तिनको कुरा राम्ररी बुझ्न सक्छन्। दलिया आफ्नी आमा गलिनासित बस्छिन् र उनैले तिनको आवश्यकताको हेरविचार गर्छिन्। दलियाको जीवन दुःख र निराशाले भरिएको भए तापनि तिनले सकारात्मक सोच राख्न सकेकी छिन्। यो कसरी सम्भव भयो?
गलिना भन्छिन्: “सन् १९९९ मा मेरो नजिकको आफन्त एपोलोनीजा हामीलाई भेट्न आइन्। उनी यहोवाको साक्षी थिइन् र बाइबलबारे उनलाई राम्रो ज्ञान थियो। दलियाले उनलाई थुप्रै प्रश्न सोध्न थालिन्। चाँडै नै दलियासित बाइबल अध्ययन सुरु गरियो। दलियाले भन्न खोजेको कुरा बुझाइदिन म पनि कहिलेकाहीं अध्ययनमा बस्थें। तिनले सिकिरहेको सबै कुराले तिनलाई साँच्चै फाइदा पुऱ्याएको याद गरें। केही समय नबित्दै मलाई पनि बाइबल अध्ययन गराउन आग्रह गरें।”
जसै दलियाले बाइबल सत्य बुझ्न थालिन् एउटा प्रश्नले तिनलाई झनझनै सताउन थाल्यो। अन्ततः तिनले एपोलोनीजालाई “पक्षाघातको बाबजुद प्रचार गर्न म कसरी सक्षम हुन सक्छु?” भनी सोधेरै छाडिन्। (मत्ती २८:१९, २०) एपोलोनीजाले दलियालाई शान्तपूर्वक ढाडस दिइन्: “डराउनु पर्दैन। यहोवाले तिमीलाई मदत गर्नुहुनेछ।” साँच्चै नै यहोवाले मदत गर्नुभयो।
त्यसोभए दलिया कसरी प्रचार गर्छिन्? विभिन्न तरिकामा। ख्रीष्टियन बहिनीहरूले तिनलाई बाइबल सन्देश भएको चिठी लेख्न मदत गर्छन्। पहिला दलिया आफ्ना भावना बहिनीहरूलाई पोख्छिन्। त्यसपछि तिनीहरू दलियाको भावना समावेश भएको चिठी तयार पार्छन्। दलियाले आफ्नो मोबाइलबाट मेसेज पठाएर पनि साक्षी दिन्छिन्। स्थानीय पार्क र बाटोका मानिसहरूलाई भेट्न मौसम राम्रो भएको बेला मण्डलीका सदस्यहरूले तिनलाई बाहिर पनि लैजान्छन्।
दलिया र तिनकी आमाले सच्चाइमा निरन्तर प्रगति गरिरहेका छन्। तिनीहरू दुवैले आफूलाई यहोवामा समर्पण गरे अनि नोभेम्बर २००४ मा बप्तिस्मा गरे। सेप्टेम्बर २००८ मा भिलनियसमा पोलिश भाषाको समूह स्थापित भयो। यो समूहलाई राज्य प्रकाशकहरूको आवश्यकता थियो। त्यसैले दलिया र तिनकी आमा पनि यसै समूहमा सामेल भए। दलिया भन्छिन्: “कुनै-कुनै महिनामा केही दिन बितिसक्दा समेत प्रचार नगएको बेला म चिन्तित हुन्छु। तर यस विषयमा यहोवालाई प्रार्थना गरिसकेपछि तुरुन्तै कसैले मलाई प्रचारमा लैजाने प्रबन्ध मिलाउनुहुन्छ।” हाम्री यी प्रिय बहिनी दलिया आफ्नो अवस्थाप्रति कस्तो महसुस गर्छिन्? तिनी भन्छिन्: “यो रोगले मेरो शरीरलाई चल्न नसक्ने बनाएको छ तर मेरो दिमागलाई भने चल्न नसक्ने बनाएको छैन। अरूलाई यहोवाबारे बताउन सक्षम भएकोले म एकदमै खुसी छु!”