सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”

यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”

“तपाईंको व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।”भज. ११९:१६५.

१. हार नमानेको कुरा एक जना धाविकाले कसरी देखाइन्‌?

मेरी डेकर किशोरावस्थादेखि नै विश्वविख्यात धाविका थिइन्‌। सन्‌ १९८४ को ओलम्पिकमा तिनले स्वर्ण पदक हात पार्नेछिन्‌ भनेर थुप्रैले अपेक्षा गरेका थिए। तर तिनले ३,००० मिटरको दौडको अन्तिम रेखा पार गर्न सकिनन्‌। तिनको गोडा अर्की धाविकाको गोडामा अल्झियो र तिनी हुत्तिएर लडिन्‌। तिनी घाइते भइन्‌ र बीचैमा दौड छोडिन्‌। तर तिनले हार मानिनन्‌। एक वर्षभित्रै तिनले दौडमा फेरि भाग लिइन्‌ र १,६०० मिटरको महिला दौडमा नयाँ विश्व कीर्तिमान कायम गरिन्‌।

२. ख्रीष्टियनहरू कस्तो दौड दौडँदै छन्‌ र हाम्रो लक्ष्य के हुनुपर्छ?

ख्रीष्टियनको रूपमा हामी अनन्त जीवनको दौड दौडँदै छौं। हामीले जित्ने लक्ष्य राखेर दौडनुपर्छ। छोटो दूरीको दौड जित्न बेसरी कुद्नुपर्छ तर हाम्रो दौड भने त्यस्तो होइन। अनि हाम्रो दौड कसरत गर्न दौडिने दौड पनि होइन, जसमा बिस्तारै अनि आराम गर्दै दौडिइन्छ। तर हाम्रो दौड म्याराथनजस्तै हो, जसमा जित्न धैर्य चाहिन्छ। एथ्लेटिक्सको लागि चर्चित सहर कोरिन्थका ख्रीष्टियनहरूलाई पत्र लेख्दा प्रेषित पावलले धावकको उदाहरण चलाए। तिनले यस्तो लेखे: “दौडमा भाग लिने सबै धावकहरू दौडन्छन्‌ तर पुरस्कार भने एक जनाले मात्र पाउँछ भनेर के तिमीहरूलाई थाह छैन? यसैले तिमीहरू पुरस्कार पाउन सक्ने गरी दौड।”—१ कोरि. ९:२४.

३. दौडमा सहभागी सबैले कसरी अनन्त जीवनको पुरस्कार पाउन सक्छन्‌?

बाइबलले हामीलाई यस प्रतीकात्मक दौड दौडन सल्लाह दिएको छ। (१ कोरिन्थी ९:२५-२७ पढ्नुहोस्) यस दौडमा सहभागी अभिषिक्त ख्रीष्टियनहरूले स्वर्गमा र बाँकी अरूले पृथ्वीमा अनन्त जीवनको पुरस्कार पाउँछन्‌। एथ्लेटिक्समा दौडने सबैले  पुरस्कार पाउँदैनन्‌ तर यस दौडमा भने अन्तसम्मै दौडने सबैले पुरस्कार पाउँछन्‌। (मत्ती २४:१३) नियम तोड्नेहरू र अन्तिम रेखा पार नगर्नेहरू मात्र हार्छन्‌। यो मात्र यस्तो दौड हो, जसमा विजेतालाई अनन्त जीवनको पुरस्कार दिइन्छ।

४. केले हाम्रो दौडलाई चुनौतीपूर्ण बनाउन सक्छ?

अन्तिम रेखा पार गर्नु त्यति सजिलो छैन। यसको लागि अनुशासन र निश्‍चित लक्ष्य हुनु आवश्यक छ। ठेस नखाई अन्तिम रेखा पार गर्ने व्यक्ति येशू ख्रीष्ट मात्र हुनुहुन्छ। तर “हामी सबै जना धेरै चोटि चुक्छौं” भनी चेला याकूबले बताए। (याकू. ३:२) हामी आफ्नै अनि अरूको त्रुटिपूर्ण अवस्थाले गर्दा अल्झिएर लरखराउन सक्छौं अनि हाम्रो गति कम हुन सक्छ। हामी लड्नसमेत सक्छौं तर फेरि उठ्छौं र दौडलाई निरन्तरता दिन्छौं। कोही-कोही यति नराम्ररी लडेका छन्‌, दौडलाई निरन्तरता दिन कसैले तिनीहरूलाई उठाउनुपरेको छ। हो, हामी कहिलेकाहीं अथवा पटक-पटक ठेस खान वा लड्न सक्छौं।—१ राजा ८:४६.

लड्नुभयो भने मदत स्वीकार्नुहोस् र उठ्नुहोस्!

ठेस खाए पनि दौडन नछोड्नुहोस्

५, ६. (क) ख्रीष्टियनहरूको लागि किन “ठेस खाने” कुनै कारण छैन र तिनीहरूलाई ‘उठ्न’ केले मदत गर्छ? (ख) ठेस खाएपछि कोही-कोही किन फेरि उठ्दैनन्‌?

कसैको आध्यात्मिक अवस्थालाई बुझाउन तपाईंले ‘ठेस खानु’ र ‘लोट्नु’ भन्ने शब्द प्रयोग गर्नुभएको होला। यी अभिव्यक्तिहरूको अर्थ कहिलेकाहीं एउटै हुन सक्छ तर सधैं भने होइन। उदाहरणको लागि, हितोपदेश २४:१६ का शब्दहरू विचार गर्नुहोस्: “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्छ, तर बदमाशचाहिं दुर्दिनलेनै गिर्नेछ [“ठेस खानेछ,” NW]।”

यहोवामाथि भरोसा गर्नेहरूलाई उहाँले उठ्नै नसक्नेगरि ठेस खान वा लड्न दिनुहुनेछैन अर्थात्‌ समस्यामा पर्दा वा गल्तीहरू गर्दा तिनीहरूलाई त्याग्नुहुनेछैन। यहोवाले हामीलाई ‘उठ्न’ मदत गर्नुहुनेछ भनी हामी विश्वस्त छौं। यसले गर्दा हामी उहाँलाई तनमनको भक्ति चढाइरहन सक्नेछौं। मनैदेखि यहोवालाई माया गर्नेहरूका लागि कति ठूलो सान्त्वना! बदमासहरू  भने धर्मी मानिसजस्तो उठ्न चाहँदैनन्‌। तिनीहरू परमेश्वरको पवित्र शक्ति र उहाँका उपासकहरूको मदत खोज्दैनन्‌ अनि मदत दिंदा पनि स्वीकार्दैनन्‌। त्यसको ठीक विपरीत ‘यहोवाको व्यवस्थालाई प्रेम’ गर्नेहरूका लागि जीवनको दौडबाट सधैंको लागि बाहिरिने कुनै कारण छैन।भजन ११९:१६५ पढ्नुहोस्।

७, ८. कोही “लोट्यो” भने पनि ऊ परमेश्वरको नजरमा कसरी असल ठहरिन सक्छ?

कसै-कसैले आफूमा भएको कमजोरीले गर्दा सानोतिनो गल्ती गर्छन्‌। एउटै गल्ती बारम्बारसमेत दोहोऱ्याएका छन्‌। तर ‘उठ्न’ अर्थात्‌ साँचो पश्‍चात्ताप गरेर सही कदम चाल्न सक्दो प्रयास गरेमा यहोवा तिनीहरूलाई असल व्यक्ति ठान्नुहुन्छ। परमेश्वरले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट यो कुरा बुझ्न सक्छौं। (यशै. ४१:९, १०) हितोपदेश २४:१६ मा ‘लोट्ने’ कुरालाई भन्दा कृपालु परमेश्वरको मदत लिएर ‘उठ्ने’ कुरालाई जोड दिइएको छ। (यशैया ५५:७ पढ्नुहोस्) हामीमाथि भरोसा देखाउँदै यहोवा परमेश्वर र येशू ख्रीष्ट हामीलाई ‘उठ्न’ मायालु प्रोत्साहन दिनुहुन्छ।—भज. ८६:५; यूह. ५:१९.

म्याराथनमा धावकले ठेस खायो वा लड्यो भने पनि ऊसित उठ्न र दौड पूरा गर्न समय हुन्छ। तर ऊ तुरुन्तै उठ्नुपर्छ। हामीलाई अनन्त जीवनको दौड टुङ्गिने “दिन र समय” थाह छैन। (मत्ती २४:३६) तर ठेस नखान सक्दो कोसिस गऱ्यौं भने दौड पूरा गर्न सजिलो हुनेछ। त्यसोभए ठेस खानदेखि कसरी जोगिन सक्छौं?

ठेस खान सक्ने कारणहरू

९. ठेस खान सक्ने के-कस्ता कारणबारे हामी छलफल गर्नेछौं?

ठेस खान सक्ने पाँचवटा कारण विचार गरौं:- व्यक्तिगत कमीकमजोरी, शरीरका कुइच्छाहरू, सँगी विश्वासीको अन्यायी व्यवहार, सङ्कष्ट वा खेदो र अरूको त्रुटिपूर्ण अवस्था। ठेस खाएका छौं भने पनि यहोवा धीरजी हुनुहुन्छ भनेर नबिर्सौं। उहाँ हामीलाई अवफादार घोषित गर्न हतार गर्नुहुन्न।

१०, ११. दाऊदमा कस्तो कमजोरी थियो?

१० व्यक्तिगत कमीकमजोरी बाटोमा भएका स-साना ढुङ्गाजस्तै हो। राजा दाऊद र प्रेषित पत्रुसको जीवनबाट हामी दुइटा कमजोरी थाह पाउन सक्छौं। दाऊदमा आत्मसंयमको कमी थियो भने पत्रुसमा मानिसको डर थियो।

११ राजा दाऊद आत्मसंयम देखाउनदेखि चुके। तिनले बेतशेबासित अनैतिक सम्बन्ध राखे। साथै नाबालले अपमान गर्दा तिनले सोचविचारै नगरी कदम चाल्न लागेका थिए। हो, तिनले आत्मसंयम गुमाए तर यहोवालाई खुसी बनाउने कोसिस गर्न भने कहिल्यै छोडेनन्‌। अरूको मदत पाएर तिनी फेरि ‘उठ्न’ सके।—१ शमू. २५:५-१३, ३२, ३३; २ शमू. १२:१-१३.

१२. गल्ती गरे तापनि दौडिरहन पत्रुसलाई केले मदत गऱ्यो?

१२ मानिसको डरको कारण नराम्ररी ठेस खाए तापनि पत्रुस यहोवा र येशूप्रति वफादार रहिरहे। जस्तै:- तिनले आफ्नो मालिकलाई सबैसामु इन्कार गरे, त्यो पनि एक पटक होइन, तीन-तीन पटक। (लूका २२:५४-६२) पछि पत्रुसले अन्यजातिका ख्रीष्टियनहरूलाई भन्दा खतना गरेका यहूदी ख्रीष्टियनहरूलाई महत्त्व दिए। तर प्रेषित पावलले मण्डलीभित्र वर्गभेदको लागि कुनै ठाउँ छैन भनेर राम्ररी बुझेका थिए। पत्रुसको मनोवृत्ति गलत थियो। त्यस्तो मनोवृत्तिले भाइबहिनीबीच फाटो ल्याउन सक्ने भएकोले पावलले तिनलाई कडा सल्लाह दिए। (गला. २:११-१४) के पत्रुसले आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस गर्दै जीवनको दौड दौडन छोडे? छोडेनन्‌। तिनले पावलको सल्लाहलाई गम्भीरतासाथ लिए, आफ्नो मनोवृत्ति सुधारे र दौडिरहे।

१३. स्वास्थ्य समस्या ठेस खाने कारण हुन सक्छ, कसरी?

१३ स्वास्थ्य समस्या हाम्रो लागि ठेस खाने कारण हुन सक्छ। यसले हाम्रो दौडको गति धिमा  बनाउन सक्छ र हामी लरखराउन अनि थकित हुनसमेत सक्छौं। एक जापानी बहिनीलाई विचार गर्नुहोस्। बप्तिस्मा गरेको १७ वर्षपछि तिनी सिकिस्त बिरामी परिन्‌। यसले गर्दा तिनी आध्यात्मिक रूपमा कमजोर हुन थालिन्‌ र पछि निष्क्रिय भइन्‌। दुई जना एल्डरले तिनलाई दयालु तरिकामा प्रोत्साहन दिए। पछि तिनी सभाहरूमा उपस्थित हुन थालिन्‌। तिनी सम्झिन्छिन्‌, “एल्डरहरूले मलाई मायालु तरिकामा स्वागत गर्नुभयो। मैले आँसु थाम्नै सकिनँ।” ती बहिनीले जीवनको दौड फेरि सुरु गरिन्‌।

१४, १५. कुइच्छा आउँदा कस्तो ठोस कदम चाल्नुपर्छ? उदाहरण दिनुहोस्।

१४ शरीरका कुइच्छाहरूले गर्दा थुप्रैले ठेस खाएका छन्‌। कुइच्छाहरू पूरा गर्ने प्रलोभनमा पर्दा मानसिक, नैतिक अनि आध्यात्मिक रूपमा स्वच्छ रहन ठोस कदम चाल्नै पर्छ। हाम्रो आँखा वा हात नै किन नहोस्, ठेस पुऱ्याउन सक्ने कुनै पनि कुरालाई प्रतीकात्मक अर्थमा ‘फालिदिनुपर्छ’ भनेर येशूले भन्नुभयो। दौडमा बाधा पुऱ्याउन सक्ने अनैतिक सोचाइ र काम पनि यसमा समावेश छ।मत्ती ५:२९, ३० पढ्नुहोस्।

१५ ख्रीष्टियन परिवारमा हुर्केका एक जना भाइ आफूले समलिङ्गी झुकावसित सङ्घर्ष गर्नुपरेको कुरा बताउँछन्‌। मानिसहरूमाझ हुँदा तिनलाई सधैं अप्ठेरो महसुस हुन्थ्यो र अरूसित घुलमिल हुन नसकेको जस्तो लाग्थ्यो। बीस वर्षको उमेरमा त तिनी नियमित अग्रगामी र सहायक सेवक भइसकेका थिए। पछि तिनले गम्भीर गल्ती गरे, तिनलाई सच्याइयो र एल्डरहरूले तिनलाई आवश्यक मदत दिए। तिनले प्रार्थना गरे, परमेश्वरको वचन अध्ययन गरे र अरूलाई मदत दिने कुरामा ध्यान लगाए। यी सबै कुराले तिनलाई उठेर फेरि दौडन मदत गऱ्यो। यो घटना घटेको वर्षौं भइसके तापनि तिनी भन्छन्‌, “अहिले पनि कहिलेकाहीं त्यस्तो भावना आउँछ तर त्यसलाई वशमा राख्छु। यहोवाले हामीलाई सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न। त्यसैले म आफ्नो भावनालाई वशमा राख्न सक्छु भनेर परमेश्वरलाई पक्कै थाह छ।” तिनी यसरी कुरा टुङ्ग्याउँछन्‌, “मैले जति पनि सङ्घर्ष गरेको छु, त्यसको इनाम नयाँ संसारमा पाउनेछु। म त्यो इनाम पाउन चाहन्छु। त्यतिन्जेल सङ्घर्ष गरिरहनेछु।” बीचैमा दौड नछोड्न तिनी कटिबद्ध छन्‌।

१६, १७. (क) आफूमाथि अन्याय भएको महसुस गरेका भाइलाई केले मदत गऱ्यो? (ख) ठेस खानदेखि जोगिन हामीले कुन कुरामा ध्यान केन्द्रित गर्नुपर्छ?

१६ सँगी विश्वासीको अन्यायी व्यवहार पनि ठेस खाने कारण हुन सक्छ। पहिले एल्डरको रूपमा सेवा गरेका फ्रान्सका एक जना भाइलाई आफूमाथि अन्याय भएको जस्तो लाग्यो। तिनलाई नमीठो लाग्यो र तिनले मण्डलीसित सङ्गत गर्न छोडे। तिनी निष्क्रिय भए। पछि दुई जना एल्डर तिनलाई भेट्न गए। तिनले मनमा लागेको कुरा बताउँदा एल्डरहरूले बीचमा कुरा नकाटी ध्यान दिएर सुने। उनीहरूले तिनलाई आफ्नो भारी यहोवामा बिसाउन प्रोत्साहन दिए। सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरलाई खुसी तुल्याउनु हो भनेर सम्झाए। तिनले एल्डरहरूको सल्लाह सुने र जीवनको दौड पुनः सुरु गरे।

१७ हामी सबैले मण्डलीका शिर येशू ख्रीष्टमा ध्यान केन्द्रित गर्नुपर्छ, त्रुटिपूर्ण मानिसमा होइन। “आगोको ज्वालाजस्ता” आँखा भएका येशूले मण्डलीभित्र भइरहेका सबै कुरालाई हामीले भन्दा राम्ररी बुझ्नुहुन्छ। (प्रका. १:१३-१६) उदाहरणको लागि, हामीलाई मण्डलीमा अन्यायी व्यवहार भइरहेको जस्तो लाग्न सक्छ। तर वास्तवमा हाम्रो बुझाइ गलत हुन सक्छ। येशूले मण्डलीका समस्याहरू सही तरिकामा अनि सही समयमा समाधान गर्नुहुनेछ। त्यसकारण सँगी ख्रीष्टियनको कुनै पनि कामकुराले गर्दा ठेस नखाऔं।

१८. सङ्कष्ट वा खेदो आइपर्दा हामी कसरी वफादार रहिरहन सक्छौं?

१८ ठेस खाने अरू दुई कारण हुन्‌:- सङ्कष्ट  वा खेदो अरूको त्रुटिपूर्ण अवस्था। “सङ्कष्ट वा खेदो” आइपर्दा कसै-कसैले ठेस खानेछन्‌ भनेर येशूले बीउ छर्ने मानिसको दृष्टान्तमा बताउनुभयो। परिवार, छिमेकी अथवा सरकार जोसुकैबाट खेदो आओस्, यसले विशेषगरि ‘आफ्नै जरा नभएकाहरू’ अर्थात्‌ बलियो विश्वास नभएकाहरूलाई ठेस पुऱ्याउँछ। (मत्ती १३:२१) तर आफ्नो हृदयलाई ठीक अवस्थामा राखिरह्यौं भने राज्य बीउले विश्वास बलियो बनाउन मदत गर्नेछ। त्यसैले कठिन परिस्थितिको सामना गर्नुपर्दा प्रार्थनापूर्वक प्रशंसायोग्य कुरामा मनन गर्नुहोस्। (फिलिप्पी ४:६-९ पढ्नुहोस्) यहोवाले हामीलाई परीक्षा आइपर्दा पनि वफादार रहिरहन मदत गर्नुहुनेछ। यसले गर्दा हामी जीवनको दौडमा ठेस खानेछैनौं।

दौड पूरा गर्नदेखि तपाईंलाई कुनै कुराले नरोकोस्!

१९. कसैले हाम्रो चित्त दुखाए तापनि ठेस खानदेखि कसरी जोगिन सक्छौं?

१९ दुःखको कुरा, अरूको त्रुटिपूर्ण अवस्थाले गर्दा कसै-कसैले ठेस खाएका छन्‌। अन्तस्करणसम्बन्धी मामिला पनि कसै-कसैको लागि ठेस खाने कारण भएको छ। (१ कोरि. ८:१२, १३) कसैले चित्त दुखाएमा के हामी सत्य नै त्याग्ने हदसम्म निराश हुनेछौं? बाइबलले हामीलाई अरूको न्याय गर्न छोडिहाल्न, क्षमा दिन र आफ्नो अधिकारमा जिद्दी नगर्न सल्लाह दिएको छ। (लूका ६:३७) कसैले तपाईंको चित्त दुखाउँदा आफैलाई यसरी सोध्नुहोस्: ‘के म आफूलाई जस्तो मन लाग्छ, त्यस्तै तरिकामा अरूको न्याय गर्दै छु? भाइबहिनीको त्रुटिपूर्ण अवस्थाले गर्दा के म जीवनको दौड दौडन छोड्नेछु?’ अरूले हामीलाई जस्तोसुकै व्यवहार गरे तापनि यहोवाप्रतिको मायाले अन्तिम रेखा पार गर्न मदत गर्नेछ।

धीरजी भई दौडनुहोस् र ठेस खानदेखि जोगिनुहोस्

२०, २१. जीवनको दौड पूरा गर्न तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० के तपाईं “दौड पूरा” गर्न कटिबद्ध हुनुहुन्छ? (२ तिमो. ४:७, ८) त्यसको लागि व्यक्तिगत अध्ययन अत्यावश्यक छ। अनुसन्धान गर्न, मनन गर्न र ठेस खाने सम्भाव्य कारणहरू थाह पाउन बाइबल र हाम्रा प्रकाशनहरू प्रयोग गर्नुहोस्। आध्यात्मिक रूपमा बलियो हुन यहोवासित पवित्र शक्ति माग्नुहोस्। यो कुरा नबिर्सनुहोस्, जीवनको दौडमा ठेस खायौं वा लड्यौं भने पनि फेरि उठ्न सक्छौं र दौड पूरा गर्न सक्छौं। आफ्ना गल्तीहरूबाट पाठ सिकेर अझ राम्ररी दौडन सक्छौं।

२१ अनन्त जीवनको पुरस्कार पाउन चाहन्छौं भने सक्रिय भई दौडनुपर्छ। यो दौड बस चढेर गन्तव्यमा पुग्नुजस्तो होइन। हामी आफै दौडनुपर्छ। यसरी दौडँदा यहोवाबाट “ठूलो शान्ति” पाउनेछौं। (भज. ११९:१६५) यहोवाले हामीलाई अहिले पनि मदत गर्नुहुन्छ र दौड पूरा गऱ्यौं भने भविष्यमा अनन्त आशिष्‌ दिनुहुनेछ।—याकू. १:१२.