सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सान्त्वना पाउनुहोस्, सान्त्वना दिनुहोस्

सान्त्वना पाउनुहोस्, सान्त्वना दिनुहोस्

त्रुटिपूर्ण भएकोले हामी सबैलाई रोगबिमारले छोएको छ। हामीमध्ये केही त सिकिस्त बिरामीसमेत परेका छौं। यस्तो गाह्रो परिस्थितिको सामना कसरी गर्न सक्छौं?

परिवार, साथीभाइ र सँगी विश्वासीहरूबाट पाइने सान्त्वनाले हामीलाई ठूलो मदत दिन्छ।

साथीको मायालु बोली निको पार्ने र सन्चो महसुस गराउने मलहमजस्तै हुन सक्छ। (हितो. १६:२४; १८:२४; २५:११) साँचो ख्रीष्टियनहरू सान्त्वना पाउन मात्र चाहँदैनन्‌। तिनीहरू आफूले ‘जुन सान्त्वना परमेश्वरबाट पाएका छन्‌, त्यही सान्त्वनाद्वारा हरप्रकारका सङ्कष्टमा परेकाहरूलाई सान्त्वना दिन’ पनि अग्रसर हुन्छन्‌। (२ कोरि. १:४; लूका ६:३१) मेक्सिकोमा सेवा गरिरहेका जिल्ला निरीक्षक आन्टोनिओले आफ्नै जीवनबाट यो कुरा सिके।

आफूलाई लिम्फोमा भनिने रक्त क्यान्सर लागेको थाह पाउँदा आन्टोनिओ साह्रै निराश भए। तैपनि तिनले नकारात्मक सोच दबाउन सक्दो गरे। कसरी? तिनी राज्यगीतहरू सम्झने कोसिस गर्थे अनि सुन्दै मनन गर्न गाउँथे पनि। ठूलो सोरले प्रार्थना गर्दा अनि बाइबल पढ्दा पनि तिनले धेरै सान्त्वना पाए।

सँगी विश्वासीहरूबाट पाएको सान्त्वना आफ्नो लागि सबैभन्दा ठूलो मदत भएको कुरा आन्टोनिओ स्वीकार्छन्‌। तिनी भन्छन्‌: “हाम्रो एक जना आफन्त एल्डर हुनुहुन्थ्यो। म र मेरी श्रीमती चिन्तित भएको बेला उहाँलाई सँगै बसेर प्रार्थना गर्न बोलाउँथ्यौं। यसले गर्दा हामीले सान्त्वना र शान्ति पायौं।” तिनी अझै भन्छन्‌: “परिवारले र भाइबहिनीहरूले दिएको सहयोगको लागि हामी निकै कृतज्ञ छौं। छोटो समयमै हामीले नकारात्मक भावनालाई वशमा राख्न सक्यौं।” त्यस्तो मायालु अनि ख्याल राख्ने साथीहरू पाएकोमा तिनी असाध्यै आभारी भए।

दुःख परेको बेला पवित्र शक्तिले पनि मदत दिन्छ। प्रेषित पत्रुसले परमेश्वरको पवित्र शक्तिलाई ‘सित्तैंमा पाइने वरदान’ भने। (प्रेषि. २:३८) इ. सं. ३३ पेन्तिकोसमा थुप्रै ख्रीष्टियन पवित्र शक्तिद्वारा अभिषेक हुँदा यो कुरा सत्य साबित भयो। तर पवित्र शक्तिको वरदान हामी सबैले पाउन सक्छौं। यो वरदान प्रचुर मात्रामा उपलब्ध छ; त्यसो हो भने प्रशस्त मात्रामा किन नमाग्ने?—यशै. ४०:२८-३१.

दुःखमा परेकाहरूलाई चासो देखाउनुहोस्

प्रेषित पावलले निकै कठिनाइ भोगे, कहिलेकाहीं त मृत्युको मुखमै पुगे। (२ कोरि. १:८-१०) तैपनि पावल मृत्युको डरले पछि हटेनन्‌। परमेश्वर आफ्नो साथमा हुनुहुन्छ भनेर बुझेकोले तिनले सान्त्वना पाए। तिनले लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र बुबा धन्यका होऊन्‌। उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टहरूमा सान्त्वना दिनुहुन्छ।” (२ कोरि. १:३, ४) पावल समस्यामै डुबेर बसेनन्‌। बरु आफूले भोगेको परीक्षाले तिनलाई समानुभूति देखाउन मदत गऱ्यो। तिनी खाँचोमा परेकाहरूलाई सान्त्वना दिन सक्षम भए।

निको भएपछि आन्टोनिओ फेरि परिभ्रमण कार्यमा लागे। तिनले सँगी विश्वासीहरूलाई सधैं चासो देखाएका थिए तर पछि तिनी र तिनकी पत्नीले बिरामीहरूलाई भेटेर प्रोत्साहन दिन विशेष प्रयास गरे। उदाहरणको लागि, गम्भीर स्वास्थ्य समस्या भएका एक जना भाइलाई भेटेपछि उनलाई सभामा जान मन नलागेको आन्टोनिओले थाह पाए। तिनी भन्छन्‌: “यहोवा अनि भाइबहिनीप्रति माया नै नभएकोले त्यस्तो लागेको होइन तर बिमारीले उनको भावनालाई यतिसम्म असर गरेको थियो, उनी आफूलाई बेकामको महसुस गर्थे।”

ती बिरामी भाइलाई प्रोत्साहन मिलोस् भनेर आन्टोनिओले हालै भएको एउटा जमघटमा उनलाई नै प्रार्थना गर्न आग्रह गरे। अप्ठेरो लागे तापनि ती भाइ प्रार्थना गर्न राजी भए। आन्टोनिओ भन्छन्‌: “उनले एकदमै राम्रो प्रार्थना गरे। पछि त उनी मान्छे अर्कै भए। उनले आफूलाई उपयोगी महसुस गरे।”

धेरै होस् वा थोरै, हामी सबैले कुनै न कुनै प्रकारको दुःख भोगेका छौं। तर पावलले भनेझैं यसले हामीलाई खाँचोमा परेकाहरूलाई सान्त्वना दिन सक्षम बनाउँछ। त्यसकारण सँगी ख्रीष्टियनहरूको दुःख बुझौं अनि उनीहरूको लागि सान्त्वनाको स्रोत भएर यहोवा परमेश्वरको अनुकरण गरौं।