पाठकहरूको प्रश्न
यूहन्ना ११:३५ मा बताइएअनुसार लाजरसलाई पुनर्जीवित गर्नुअघि येशू रुनुभयो, किन?
आफूले माया गरेको मान्छेको मृत्यु हुँदा अब ऊ हामीमाझ नभएकोले हामी रुन्छौं। येशू लाजरसलाई माया गर्नुहुन्थ्यो तर उहाँ लाजरसको मृत्यु भएकोले रुनुभएको होइन। यूहन्नाको विवरणको प्रसङ्ग विचार गर्ने हो भने लाजरसको परिवार तथा साथीभाइ रोइरहेको देखेर उहाँलाई साह्रै दुःख लाग्यो र उहाँ रुनुभयो।—यूह. ११:३६.
लाजरस बिरामी परेको खबर पाउँदा येशू तिनलाई निको पार्न झट्टै जानुभएन। विवरण यसो भन्छ: “जब [येशूले लाजरस] बिरामी परेको खबर पाउनुभयो, उहाँ अझै दुई दिन पहिलेकै ठाउँमा बस्नुभयो।” (यूह. ११:६) येशूले किन त्यसो गर्नुभयो? यसको कारण छ। उहाँले भन्नुभयो: “यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्वरको महिमा गर्नेछ, ताकि यसद्वारा परमेश्वरको छोराको महिमा होस्।” (यूह. ११:४) कुन अर्थमा लाजरसको बिमारीको “अन्तिम परिणाम” मृत्यु थिएन? येशूले लाजरसको मृत्युलाई ‘परमेश्वरको महिमा गर्ने’ माध्यमको रूपमा प्रयोग गर्ने विचार गर्नुभयो। कसरी? चमत्कार गरेर। हो, येशूले आफ्नो प्यारो साथीलाई चिहानबाट ब्यूँताउनै लाग्नुभएको थियो।
चेलाहरूसित यसै विषयमा कुरा गर्दा येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। त्यसैकारण उहाँले चेलाहरूलाई यसो भन्नुभयो: “म त्यहाँ [लाजरसलाई] निद्राबाट ब्यूँझाउन जाँदैछु।” (यूह. ११:११) येशूको लागि लाजरसलाई मृत्युबाट ब्यूँताउनु भनेको एउटी आमाले सुतिरहेको बच्चालाई ब्यूँझाउनुसरह थियो। त्यसकारण लाजरसको मृत्यु हुँदा येशूले दुःख मान्नुपर्ने कारणै थिएन।
त्यसोभए येशू किन रुनुभयो? प्रसङ्गले यसको जवाफ दिन्छ। जब येशूले लाजरसकी दिदी मरियम र अरू रोइरहेको देख्नुभयो तब “अत्यन्तै विचलित भएर उहाँले सुस्केरा हाल्नुभयो।” उनीहरूको पीडा देखेर येशू “अत्यन्तै विचलित” हुने हदसम्म दुःखित हुनुभयो। त्यसैकारण “येशू रुनुभयो।” आफ्ना प्यारा साथीहरूले शोक गरिरहेको देखेर उहाँ अत्यन्तै दुःखित हुनुभयो।—यूह. ११:३३, ३५.
मरेका मानिसहरूलाई आउँदै गरेको नयाँ संसारमा फेरि जीवन र सुस्वास्थ्य दिने शक्ति येशूसित छ भन्ने कुरा यस विवरणबाट स्पष्ट हुन्छ। शोकाकुल व्यक्तिको अवस्था येशू राम्ररी बुझ्नुहुन्छ भन्ने कुरा पनि यसले देखाउँछ। शोक गरिरहेकाहरूप्रति सहानुभूतिशील हुनुपर्छ भनेर पनि यस विवरणबाट सिक्न सक्छौं।
लाजरसलाई पुनर्जीवित गर्दै छु भन्ने कुरा येशूलाई थाह थियो। तैपनि साथीहरूप्रतिको गहिरो प्रेम र अनुकम्पाले गर्दा उहाँ रुनुभयो। समानुभूतिशील छौं भने हामी पनि ‘रुने मानिसहरूसित रुन्छौं।’ (रोमी १२:१५) शोक गर्नुको अर्थ पुनर्जीवनको आशामा विश्वास नै नहुनु होइन। लाजरसलाई पुनर्जीवित गर्नै लागेको भए तापनि येशू रुनुभयो। यसरी उहाँले शोक गरिरहेकाहरूप्रति सहानुभूतिशील हुने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो।