सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूको आवश्यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?

अरूको आवश्यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?

फ्राँस्वाँ नाम गरेका एक जना एल्डर आफ्नो देशमा भएको घटनाबारे यसो भन्छन्‌: “चुनावमा धाँधली भएपछि हिंसा मच्चियो। यहोवाका हजारौं साक्षी घर छोडेर भागे। खानेकुरा र औषधीको अभाव भयो अनि जे-जति बाँकी थिए, ती पनि असाध्यै महँगा भए। बैङ्कका सम्पूर्ण कारोबार ठप्प भए।”

विस्थापित साक्षीहरू ठाउँ-ठाउँका राज्यभवनमा जम्मा भए। शाखा कार्यालयका भाइहरूले ढिलासुस्ती नगरी राहत सामग्री र पैसा पठाए। विपक्षीहरूले बाटोमा अवरोध खडा गरेका थिए। तर दुवै पक्षलाई साक्षीहरूको तटस्थताबारे थाह भएकोले शाखा कार्यालयका गाडीहरूलाई भने अक्सर आवतजावत गर्न दिइन्थ्यो।

फ्राँस्वाँ भन्छन्‌: “एउटा राज्यभवनतर्फ जाँदै गर्दा बन्दुकधारीहरूले हाम्रो गाडीमा गोली बर्साउन थाले। तर हामीलाई गोली लागेन। एक जना हतियारधारी हामीतिर दौडेर आइरहेको देखेपछि गाडी मोड्यौं र शाखा कार्यालयतर्फ हुइँक्यौं। धन्न! हामी जोगियौं। हामीलाई जोगाउनुभएकोमा यहोवालाई धन्यवाद दियौं। त्यस राज्यभवनमा बसेका १३० जना भाइहरू भोलिपल्ट सकुशल अर्को ठाउँमा पुगे। केही भाइ शाखा कार्यालयमा आए। हिंसा नथामिउन्जेल हामीले उनीहरूको भौतिक तथा आध्यात्मिक आवश्यकता पूरा गऱ्यौं।”

फाँस्वाँ अझै भन्छन्‌: “देशका विभिन्न ठाउँबाट भाइहरूले शाखा कार्यालयमा थुप्रै पत्र पठाए। पत्रमा उनीहरूले कृतज्ञता व्यक्त गरेका थिए। ठाउँ-ठाउँका भाइहरूले मदत गरेकोले यहोवामाथिको उनीहरूको भरोसा अझै बलियो भयो।”

विपत्ति मानवीय होस् वा प्राकृतिक, खाँचोमा परेका भाइबहिनीलाई हामी “न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्दैनौं। (याकू. २:१५, १६) बरु उनीहरूको भौतिक आवश्यकता पूरा गर्ने प्रयास गर्छौं। प्रथम शताब्दीका ख्रीष्टियनहरूले पनि त्यसै गरेका थिए। अनिकाल पर्दै छ भनेर थाह पाएपछि “एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।”—प्रेषि. ११:२८-३०.

हामी यहोवाका सेवकहरू खाँचोमा परेकाहरूलाई भौतिक सहयोग गर्न इच्छुक छौं। तर मानिसहरूलाई परमेश्वरको मार्गनिर्देशन पनि चाहिन्छ। (मत्ती ५:३) मानिसहरूले यो आवश्यकता बुझेको र त्यो आवश्यकता पूरा गर्न कदम चालेको येशू चाहनुहुन्थ्यो। त्यसैकारण उहाँले “चेला बनाओ” भन्ने आज्ञा आफ्ना अनुयायीहरूलाई दिनुभयो। (मत्ती २८:१९, २०) येशूको यो आज्ञा पूरा गर्न हामी आफ्नो समय, शक्ति र सरसम्पत्ति खर्च गर्छौं। सङ्गठनले भौतिक मदत दिन पनि केही अनुदान प्रयोग गर्छ तर ती अनुदान विशेषगरि राज्यसम्बन्धी गतिविधिलाई टेवा पुऱ्याउन र सुसमाचार फैलाउन प्रयोग गर्छ। यसरी हामी परमेश्वरलाई र छिमेकीलाई प्रेम गरेको देखाउँछौं।—मत्ती २२:३७-३९.

यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यलाई समर्थन गर्ने सबै जना आफूले दिएको अनुदानको पूरापूर सदुपयोग हुन्छ भनेर ढुक्क हुन सक्छन्‌। के तपाईं खाँचोमा परेका भाइबहिनीलाई मदत गर्न सक्ने अवस्थामा हुनुहुन्छ? के तपाईं चेला बनाउने कामलाई समर्थन गर्न इच्छुक हुनुहुन्छ? हुनुहुन्छ भने ‘दया देखाउन अस्वीकार नगर्नुहोस्।’—हितो. ३:२७.