विश्वास देखाएकीले सारपतकी विधवाले इनाम पाइन्
एउटी गरिब विधवा आफ्नो एक्लो छोरालाई अङ्गालोमा च्याप्छिन्। उनलाई पत्याउनै गाह्रो भइरहेको छ। एकैछिन अघि मात्र उनले आफ्नो मृतक छोरालाई सुमसुम्याउँदै अङ्गालोमा हालेकी थिइन्। पुनर्जीवित भएको छोरा मुस्कुराइरहेको देख्दा आमा एकदमै दङ्ग पर्छिन्। उनको पाहुना यसो भन्छन्: “हेर त, तिम्रो छोरो जीवित भयो।”
यो अचम्मलाग्दो घटना लगभग ३,००० वर्षअघि भएको थियो। तपाईं यो घटना १ राजा अध्याय १७ मा पढ्न सक्नुहुन्छ। पाहुना भविष्यवक्ता एलिया थिए। बालककी आमाचाहिं को थिइन्? उनी सारपतमा बस्ने विधवा थिइन्। उनको नाम बाइबलमा लेखिएको छैन। उनको विश्वास बलियो बनाएको थुप्रै घटनामध्ये छोराको पुनर्जीवन सबैभन्दा मुख्य घटना थियो। उनीबारे पढ्दा हामी केही महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।
एलिया विश्वास भएकी विधवा भेट्टाउँछन्
इस्राएलका दुष्ट राजा आहाबको शासनकालमा लामो समयसम्म खडेरी ल्याउने सङ्कल्प यहोवाले गर्नुभएको थियो। एलियाले खडेरी पर्ने घोषणा गरेपछि यहोवाले तिनलाई आहाबबाट लुकाउनुभयो अनि कागहरू प्रयोग गरेर तिनलाई चमत्कारपूर्ण तरिकामा रोटी र मासु खुवाउनुभयो। त्यसपछि यहोवाले एलियालाई यसो भन्नुभयो: “अब सीदोनको एउटा गाउँ सारपतमा गएर त्यहाँ बस्। त्यहाँ तँलाई खुवाउन मैले एउटा विधवालाई खटाएको छु।”—१ राजा १७:१-९.
सारपतमा आइपुग्दा एलियाले एउटी गरिब विधवालाई दाउरा बटुलिरहेकी देखे। एलियालाई खाना खुवाउन खटाइएकी स्त्री यिनी नै हुन् कि? उनी आफै गरिब भएकीले तिनलाई कसरी खाना दिन सक्थिन् र? एलियाको मनमा शङ्का त थियो होला तैपनि तिनले उक्त स्त्रीसँग कुरा थाले। तिनले भने: “कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ।” विधवा पानी लिन जानै लाग्दा एलियाले फेरि यसो भने: “कृपागरी एक टुक्रा रोटी पनि मलाई ल्याइदेऊ।” (१ राजा १७:१०, ११) पानी दिन त विधवाको लागि ठूलो कुरा थिएन, तर रोटी दिनचाहिं गाह्रो थियो।
विधवाले यसो भनिन्: “जीवित परमप्रभु तपाईंका परमेश्वरको नाउँमा शपथ खाएर म भन्दछु, कि भाँडामा एक मुठी पीठो र ढुंग्रोमा अलिकता तेलबाहेक प्राण रक्षा गर्नलाई मसित खानेकुरो केही छैन। मेरो छोरो र म आफै मर्नुअघि केही पकाएर खान अलिकता झिंजा यहाँ खोज्दैछु।” (१ राजा १७:१२) तिनीहरूबीचको कुराकानीले कुन कुरा स्पष्ट पार्छ?
एलिया परमेश्वरको डर मान्ने इस्राएली हुन् भनेर विधवाले स्वीकारिन्। उनले भनेको यस कुराबाट यो स्पष्ट हुन्छ: “जीवित परमप्रभु तपाईंका परमेश्वर।” इस्राएलीहरूको परमेश्वरबारे केही कुरा थाह भए तापनि उनी यहोवालाई “मेरा परमेश्वर” भन्न सक्ने अवस्थामा चाहिं थिइनन्। उनी सारपतमा बस्थिन्। यो गाउँ सायद फोनिसियाली सहर सीदोनमा निर्भर थियो। सारपतका बासिन्दाहरू बाल उपासक थिए। तैपनि यहोवाले यी विधवामा केही फरक कुरा देख्नुभयो।
मूर्तिपूजकहरूको माझमा बसे तापनि गरिब विधवाले आफ्नो कामद्वारा इस्राएलका परमेश्वरमा विश्वास गरेको देखाइन्। यहोवाले ती स्त्री र स्वयम् एलियाको भलाइको लागि यी भविष्यवक्तालाई पठाउनुभएको थियो। यस विवरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।
सारपतका बासिन्दाहरू सबै नै पूर्णतया भ्रष्ट त थिएनन्। यहोवाले एलियालाई ती विधवाकहाँ पठाएको घटनाबाट कुन कुरा स्पष्ट भयो? यहोवा उहाँको उपासना गर्न नथालेका तर राम्रो मन भएका व्यक्तिहरूलाई याद गर्नुहुन्छ। यहोवाले “जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” —प्रेषि. १०:३५.
तपाईंको इलाकामा पनि सारपतकी विधवाजस्तै मानिसहरू छन् कि? झूटो धर्म मान्ने मानिसहरूमाझ बसिरहेको भए तापनि तिनीहरूले असल कुराको चाह गरिरहेका हुन सक्छन्। तिनीहरूलाई यहोवाबारे थोरै मात्र थाह छ होला वा केही पनि थाह छैन होला। त्यसैले तिनीहरूलाई साँचो उपासना अँगाल्न मदत दिनुपर्छ। के तपाईं त्यस्ता मानिसहरूलाई खोज्दै अनि मदत दिंदै हुनुहुन्छ?
‘पहिले एउटा सानो फुलौरा बनाएर मकहाँ ल्याऊ’
एलियाले विधवालाई के भने, ध्यान दिनुहोस्। ती विधवाले भर्खरै मात्र आफू र आफ्नो छोरा मर्नुअघि केही बनाएर खानेबारे बताएकी थिइन्। तैपनि एलियाले यसो भने: “नडराऊ, गएर तिमीले भनेझैं गर। तर पहिले तिमीसित जे छ त्यसको एउटा सानो फुलौरा बनाएर यहाँ मकहाँ ल्याऊ, र त्यसपछि तिमी र तिम्रो छोराको निम्ति केही बनाऊ। किनभने परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘देशमा परमप्रभुले पानी नपठाउञ्जेल पीठो सिद्धिनेछैन, नता गरीयोको तेल रित्तिनेछ।’”—१ राजा १७:११-१४.
कसै-कसैले यसो भन्थे होलान्: ‘ठट्टा नगर्नुस्! मर्नुअघि अन्तिम छाक त खान दिनुस्!’ तर ती विधवाले त्यसो भनिनन्। यहोवाबारे थोरै मात्र थाह भए तापनि उनले एलियाको कुरा पत्याइन् र तिनले भनेअनुसार गरिन्। त्यतिखेर उनको विश्वासको परीक्षा भयो र उनले बुद्धिमानी निर्णय गरिन्।
यहोवाले ती गरिब विधवालाई त्याग्नुभएन। एलियाले प्रतिज्ञा गरेझैं ती विधवासित भएको थोरै खानेकुरा कहिल्यै सिद्धिएन। यसले गर्दा खडेरीको समयमा पनि एलिया, ती विधवा र उनको छोरा जीवितै रहन सके। हो, “एलियाद्वारा परमप्रभुले पहिले नै भन्नुभएझैं भाँडाको पीठो सिद्धिएन, औ गरीयोको तेल पनि रित्तिएन।” (१ राजा १७:१६; १८:१) यदि ती विधवाले एलियाको कुरा नपत्याएकी भए आफूसित भएको थोरै पीठो र तेलबाट बनाएको फुलौरा उनको अन्तिम छाक हुन सक्थ्यो। बरु उनले विश्वास देखाइन्, यहोवामा भरोसा राखिन् र पहिला एलियालाई खानेकुरा दिइन्।
यहोवामाथि विश्वास गर्नेहरूलाई उहाँ आशिष् दिनुहुन्छ भन्ने कुरा यसबाट सिक्न सक्छौं। सत्यनिष्ठाको जाँच हुँदा यहोवामा विश्वास गरिरहनुभयो भने उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ। परीक्षाको सामना गर्नुपर्दा उहाँ तपाईंको प्रबन्धक, रक्षक र मित्र हुनुहुनेछ।—प्रस्थ. ३:१३-१५.
सन् १८९८ को सियोनको प्रहरीधरहरा-ले (अङ्ग्रेजी) विधवाको कथाबाट सिक्न सकिने पाठबारे यसरी बताएको थियो: “विश्वास भएको खण्डमा ती विधवा भविष्यवक्तामार्फत परमेश्वरको मदत पाउन योग्य हुन्थिन्। तर विश्वास नभएको खण्डमा एलियाले यहोवामाथि विश्वास राख्ने अरू नै विधवा भेट्टाउन सक्थे। जीवनको यात्रामा हामीले पनि विश्वासको जाँच हुने परिस्थिति सामना गर्नुपर्ने हुन्छ। तर परमेश्वरमाथि विश्वास गऱ्यौं भने आशिष् पाउनेछौं; विश्वास गरेनौं भने आशिष् गुमाउनेछौं।”
कुनै खास परीक्षा सामना गर्नुपर्दा बाइबल अनि बाइबलआधारित प्रकाशनहरू पढेर यहोवाको निर्देशन खोज्नुपर्छ। अनि यहोवाले दिने निर्देशन स्वीकार्न जति नै गाह्रो लागे तापनि त्यसअनुसार चल्नुपर्छ। बाइबलको यो उपदेश मनमा राख्यौं भने आशिष् पाउनेछौं: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितो. ३:५, ६.
‘तपाईं त यहाँ मेरो छोरालाई मार्न आउनुभएको रहेछ’
ती विधवाले विश्वासको अर्को परीक्षा पनि सामना गर्नै लागेकी थिइन्। बाइबल विवरण यसो भन्छ: “केही समयपछि . . . त्यस घरकी मालिक्नीको छोरो बिरामी पऱ्यो, दिनदिनै सिकिस्त हुँदै गयो, औ आखिरमा त्यसले सास फेर्न पनि छोड्यो।” शोकमा परेकी ती आमाले आफूमाथि त्यत्रो बज्रपात आइपर्नुको कारण बुझ्न नसकेर एलियालाई यसो भनिन्: “हे परमेश्वरका जन, तपाईंको मसित के सरोकार? तपाईं ता यहाँ मेरो पाप देखाएर मेरो छोरालाई मार्न आउनुभएको रहेछ।” (१ राजा १७:१७, १८) उनले किन यस्तो नमीठो बोली बोलिन्?
विगतको गल्ती सम्झेर अन्तस्करणले सताएको हो कि? छोराको मृत्यु यहोवाले दिनुभएको दण्ड हो र एलिया मृत्युको सन्देश दिन आएका सन्देशवाहक हुन् भन्ने पो सोचिन् कि? बाइबलले यसबारे केही बताएको छैन तर एउटा कुरा भने स्पष्ट छ: ती विधवाले यहोवालाई अन्यायको दोष लगाइनन्।
विधवाको छोराको मृत्यु देख्दा र ती विधवाले एलियालाई त्यस्तो अप्रिय घटनाको दोष लगाउँदा तिनलाई पक्कै पीडा भयो। एलियाले ती मृत बालकलाई कौसीको कोठामा लगे र यसो भनेर कराए: “हे परमप्रभु मेरा परमेश्वर, म जसकहाँ बसेको छु त्यसको छोराको प्राण लिएर त्यस विधवामाथि यो विपत्ति तपाईंले किन ल्याउनुभयो?” यस्तो दयालु र अतिथि सत्कार गर्ने स्त्रीले अझ ठूलो विपत्ति भोग्नुपरेमा यहोवाको नाममा कलङ्क लाग्ला भनेर एलिया चिन्तित थिए। त्यसकारण तिनले यस्तो बिन्ती गरे: “हे परमप्रभु मेरा परमेश्वर, बिन्ती छ, जीवनको सास फेरि यस बालकको शरीरमा फर्कोस्।”—१ राजा १७:२०, २१.
“हेर त, तिम्रो छोरो जीवित भयो”
यहोवाले एलियाको बिन्ती सुन्नुभयो। ती विधवाले विश्वास देखाएकी थिइन् र भविष्यवक्तालाई अतिथि सत्कार गरेकी थिइन्। उहाँले ती विधवाको छोरालाई पुनर्जीवित पार्नुहुनेथियो र यस घटनाले भविष्यमा अरू मानिसहरूलाई पनि आशा प्रदान गर्नेथियो। त्यसकारण यहोवाले ती विधवाको छोरालाई बिरामी हुन दिनुभएको हुन सक्छ। एलियाले बिन्ती गरेपछि यहोवाले ती बालकलाई फेरि जीवित पार्नुभयो। यो घटना बाइबलमा उल्लेख गरिएको पुनर्जीवनसम्बन्धी पहिलो विवरण हो। एलियाले यसो भन्दा ती विधवाको अनुहारमा आएको चमक कल्पना गर्नुहोस्: “हेर त, तिम्रो छोरो जीवित भयो”! त्यसपछि ती विधवाले यसो भनिन्: “अब मलाई यो निश्चय थाह भयो कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ, औ तपाईंको मुखबाट निस्केको परमप्रभुको वचन सत्य रहेछ।”—१ राजा १७:२२-२४.
पहिलो राजा अध्याय १७ मा ती विधवाबारे अरू कुरा बताइएको छैन। येशूले उनीबारे गर्नुभएको सकारात्मक कुरा विचार गर्दा सायद उनी आफ्नो जीवनभर यहोवाप्रति वफादार भइन् भनेर थाह पाउँछौं। (लूका ४:२५, २६) यहोवाका सेवकहरूका निम्ति राम्रो काम गर्नेहरूलाई उहाँ आशिष् दिनुहुन्छ भनेर उनको कथाले सिकाउँछ। (मत्ती २५:३४-४०) साथै यस विवरणले गाह्रोसाह्रो परिस्थितिमा समेत यहोवा आफ्ना वफादार जनहरूको हेरचाह गर्नुहुन्छ भनेर देखाउँछ। (मत्ती ६:२५-३४) अनि मरेकाहरूलाई पुनर्जीवित पार्न यहोवा इच्छुक हुनुहुन्छ र उहाँसित त्यसो गर्ने क्षमता छ भनेर पनि यस विवरणले प्रमाणित गर्छ। (प्रेषि. २४:१५) हो, यी नै कारणले गर्दा हामी सारपतकी विधवालाई सधैंभरि सम्झिरहन्छौं।