“चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्”
“चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्”
क्रिस्टेबेल कन्नेलको वृत्तान्तमा आधारित
क्रिस्टोफरले बाइबलसम्बन्धी सोधेको प्रश्नको जवाफ दिन हामी यत्ति लीन भयौं कि राती निकै अबेर भइसकेको चालै पाएनौं, न त क्रिस्टोफरले घरिघरि झ्यालबाहिर हेरेको नै याद गऱ्यौं। अन्ततः तिनले हामीतिर हेरेर भने: “अब गए हुन्छ, कुनै डर छैन।” त्यसो भन्दै तिनले हामीलाई हाम्रो साइकल भएको ठाउँसम्म पुऱ्याइदिए र बिदा भए। त्यस्तो खतरनाक के कुरा तिनले देखेका थिए?
मेरो जन्म सन् १९२७ मा इङ्गल्यान्डको शेफिल्डमा भएको थियो। दोस्रो विश्वयुद्धको दौडान हाम्रो घर बमले ध्वस्त भयो। त्यसैले स्कूलको पढाइ नसकिन्जेल मलाई हजुरआमासित बस्न पठाइयो। क्याथोलिकहरूले चलाएको मेरो स्कूलका ननहरूलाई यतिबिघ्न खराबी र हिंसा हुनुको कारण सोधिरहन्थें। मेरो प्रश्नको चित्तबुझ्दो जवाफ न त तिनीहरूले दिन सके न अन्य धार्मिक मानिसहरूले नै।
दोस्रो विश्वयुद्ध समाप्त भएपछि नर्सको तालिम लिएँ। त्यसपछि जागिर खान लन्डनको प्याडिङ्टन जनरल हस्पिटल गएँ। तर त्यो सहरमा झनै हिंसा देखें। मेरो एक जना दाजु कोरियन युद्धमा जानुभएको केही समय नबित्दै म काम गर्ने हस्पिटलको ठीक बाहिरपट्टि एउटा डरलाग्दो झगडा देखें। पिटाइ खाने व्यक्तिले कसैबाट मदत पाएनन्। अनि उसले आँखै गुमाउनुपऱ्यो। यसै समयतिर म मसान जगाउने मानिसहरूको भेलामा जान थालें र आमा पनि मसँगै आउनुभयो। तरैपनि यतिबिघ्न दुष्टता किन भइरहेको, बुझ्न सकिनँ।
बाइबल अध्ययन गर्न प्रोत्साहन पाएँ
एक दिन मेरा जेठा दाजु जोन मलाई भेट्न आउनुभयो। उहाँ यहोवाका साक्षी हुनुभएको थियो। उहाँले मलाई सोध्नुभयो: “यी सब खराब कुरा किन भएको, के तिमीलाई थाह छ?” मैले भनें: “अहँ, थाह छैन।” उहाँले बाइबल खोलेर प्रकाश १२:७-१२ पढेर सुनाउनुभयो। संसारमा भइरहेको दुष्टताको मुख्य जिम्मेवार शैतान र त्यसका प्रेतहरू रहेछन् भनी बल्ल बुझें। त्यसपछि उहाँको सल्लाहअनुसार बाइबल अध्ययन स्वीकारी हालें। तर त्यतिबेला मानिसको डरले बप्तिस्मा चाहिं लिइनँ।—हितो. २९:२५.
मेरी दिदी डोरोथी पनि साक्षी भएकी थिइन्। उनी आफ्ना मँगेतर बील रबर्टस्सित न्यु योर्कमा सम्पन्न अन्तरराष्ट्रिय अधिवेशनमा (१९५३) गएका थिए र तिनीहरू त्यहाँबाट फर्केपछि मैले बाइबल अध्ययन गरेको कुरा तिनीहरूलाई भनें। हुनेवाला भिनाजुले मलाई सोध्नुभयो: “बाइबल अध्ययन गर्ने किताबमा दिइएका जम्मै शास्त्रपदहरू पल्टाएर हेऱ्यौ? प्रश्नका उत्तरहरूमा
धर्को तान्यौ?” त्यसो त गरेको छैन भन्दा उहाँले मलाई भन्नुभयो: “त्यसोभए तिमीले अध्ययन गरेकै छैनौ! तिमीलाई अध्ययन गराउने बहिनीलाई भेट र फेरि अध्ययन गर!” त्यस समयतिर मलाई प्रेतहरूले दुःख दिन थालेको थियो। बचाउको लागि र तिनीहरूको प्रभावबाट उम्किन यहोवालाई पुकारेको मलाई अझै सम्झना छ।स्कटल्याण्ड र आयरल्याण्डमा अग्रगामी गर्दै
जनवरी १६, १९५४ मा बप्तिस्मा लिएँ, मे महिनासम्म जागिर खाने सम्झौता भएको थियो र त्यो सिद्धिए लगत्तै जूनदेखि अग्रगामी थालें। आठ महिनापछि स्कटल्याण्डको ग्रेन्जमाउथमा विशेष अग्रगामीको रूपमा खटिएँ। त्यस्तो अनकन्टार इलाकामा सेवा गर्दा यहोवाका दूतहरूले “चारैतिर छाउनी” हालेको महसुस भयो।—भज. ३४:७.
सन् १९५६ मा आयरल्याण्डमा सेवा गर्ने निम्तो पाएँ। अरू दुई जनासहित गल्वे सहरमा खटियौं। प्रचारमा गएको पहिलो दिनमै क्याथोलिक पादरी भेटें। केही क्षणपछि नै एक जना प्रहरी आएर म र मेरो साथीलाई प्रहरी चौकीमा लिएर गए। तिनले हाम्रो नाउँ र ठेगाना लिएपछि तुरुन्तै फोन गरे। तिनले यसो भनेको हामीले सुन्यौं: “हजुर फादर, तिनीहरू कहाँ बस्छन् मलाई राम्ररी थाह छ!” तिनलाई पादरीले पठाएको रहेछ! हामीलाई घरमा बस्न नदिन घरपतिलाई दबाब दिइयो। त्यसैकारण शाखा कार्यालयबाट त्यो इलाका छोड्ने निर्देशन पायौं। हामी रेलवे स्टेसन दस मिनेट ढिलो पुग्यौं। तर रेल गएकै थिएन। हामी गएको पक्का गर्न एक जना मान्छे कुरिरहेका थिए। गल्वे सहरमा आएको तीन हप्ता मात्र हुँदा यो सब भयो!
हामी अर्को सहर लिम्रिकमा खटियौं। त्यहाँ क्याथोलिक चर्चको बलियो पकड थियो। उत्तेजित भीड हामी देखेर कराउँथे। थुप्रै मानिसहरू ढोका खोल्न डराउँथे। एक वर्षअघि नजिकैको सानो सहर क्लुन्लारामा एक भाइ पिटिएका थिए। त्यसैले, सुरुमा बताइएको क्रिस्टोफरलाई त्यहाँ भेट्दा हामी खुसी भयौं जसले हामीलाई बाइबल छलफलको लागि घरमा फेरि आउने निम्तो दिए। हामी तिनलाई भेट्न जाँदा एक जना पादरी ठमठम भित्र पस्यो र हामीलाई घरबाट निकाल् भन्यो। पादरीको कुरा ठुक्राउँदै तिनले भने: “यी बहिनीहरू निम्तो पाएर मेरो घरमा आएका हुन् अनि तिनीहरूले भित्र पस्नुअघि ढोका ढकढकाएका थिए। तपाईंलाई त बोलाएकै थिएन, न त तपाईं ढोका ढकढकाएर नै आउनुभयो।” पादरी रिसाउँदै गए।
उक्त पादरीले क्रिस्टोफरको घरबाहिर ठूलो भीड जम्मा गरेको हामीले चालै पाएनौं। तिनीहरूले हामीलाई ढुकी बसेका रहेछन्। तिनीहरू हाम्रो विरोधमा रिसाएर आएको थाह पाएर क्रिस्टोफरले यस लेखको सुरुमा बताइएको पाइला चालेका रहेछन्। तिनले हामीलाई त्यो भीड नगएसम्म भित्रै बस्न लगाए। पछि थाह पायौं कि तिनी र तिनका परिवारलाई त्यो इलाका छोड्न बाध्य पारियो रे अनि तिनीहरू इङ्गल्यान्ड बसाइँ सरेछन्।
गिलियड जान निमन्त्रणा
गिलियडको ३३ औं कक्षाको लागि निमन्त्रणा पाउँदा मैले न्यु योर्कमा सम्पन्न हुने सन् १९५८ को ईश्वरीय इच्छा नामक अन्तरराष्ट्रिय सम्मेलन जाने योजना बनाइसकेकी थिएँ। सम्मेलनपछि घर फर्कनुको साटो सन् १९५९ मा गिलियडको कक्षा सुरु नहोउन्जेल क्यानाडाको, ओन्टारियो, कलिङवुडमा सेवा गरें। सम्मेलनको दौडान एरिक कन्नेलसित मेरो भेट भयो। तिनले सन् १९५७ मा बाइबल सच्चाइ सिकेर सन् १९५८ मा अग्रगामी सेवा थालेका थिए। सम्मेलनपछि तिनले म क्यानाडामा बसुन्जेल र गिलियड कक्षाको दौडानभरि नै मलाई दिनहुँ पत्र लेख्थे। गिलियड कक्षा सकेपछि हामीले के गर्ने होला, सोचें।
गिलियडमा भाग लिनु मेरो जीवनको महत्त्वपूर्ण क्षण थियो। मेरी दिदी डोरोथी र भिनाजु पनि त्यही कक्षामा थिए। तिनीहरू पोर्चुगलमा खटिए। म चाहिं आयरल्याण्डमा खटिएकोले अचम्म लाग्यो। दिदीसित जान नपाएकोमा मलाई एकदमै दुःख लाग्यो। मैले कुनै गल्ती गरें कि भनी एक जना प्रशिक्षकलाई सोधें। उहाँले भन्नुभयो: “त्यसो होइन। तपाईं र तपाईंकी साथी आइलिन माहोनी संसारको जुनसुकै ठाउँमा जान तयार हुनुभएको छ।” अनि त्यसमा आयरल्याण्ड पनि पक्कै पर्छ।
फेरि आयरल्याण्डमा
म सन् १९५९ को अगस्तमा फेरि आयरल्याण्ड आइपुगें र डन लाओहेर मण्डलीमा खटिएँ। त्यसबीच एरिक बेलायत फर्किसकेका थिए र म नजिकै आएकोले एकदमै खुसी भए। तिनी पनि मिसनरी बन्न चाहन्थे। त्यतिबेला
मिसनरीहरू पठाउने एउटा इलाका आयरल्याण्ड पनि भएकोले तिनले त्यहीं अग्रगामी गर्ने निर्णय गरे। तिनी डन लाओहेरमा सरे अनि हामीले सन् १९६१ मा विवाह गऱ्यौं।त्यसको छ महिनापछि एरिक नराम्रोसित मोटरसाइकल दुर्घटनामा पर्नुभयो। उहाँको टाउको फुट्यो। उहाँ बच्ने हो कि होइन डाक्टरहरू निश्चित थिएनन्। तीन हप्ता अस्पतालमा राखेपछि उहाँलाई घरैमा निको नभइन्जेल पाँच महिनासम्म स्याहार-सुसार गरें। मैले प्रचारकार्यलाई सक्दो निरन्तरता दिएँ।
सन् १९६५ मा आठ जना प्रकाशक भएको एउटा मण्डलीमा खटियौं। त्यो मण्डली स्लिगोमा थियो जुन उत्तर-पश्चिमी तटको एउटा बन्दरगाह हो। त्यसको तीन वर्षपछि अझ टाढा उत्तरतिर लन्डन्डेरीको सानो मण्डलीमा गयौं। एक दिन प्रचारबाट फर्किंदा हामी बस्ने इलाकाको सडक वारपार काँढेतार लगाइएको देख्यौं। उत्तर आयरल्याण्डमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच तनाव सुरु भएको थियो। युवाहरूको जमातले गाडीहरू जलाए। त्यो सहर प्रोटेस्टेन्ट र क्याथोलिक दुई इलाकामा विभाजित भयो। सहरको एक भागदेखि अर्को भागमा जानु खतरापूर्ण थियो।
त्यस बेलाको जीवन र साक्षी कार्य
तथापि, प्रचारकार्यले हामीलाई चारैतिर पुऱ्यायो। हाम्रो चारैतिर स्वर्गदूतले छाउनी लगाइरहेको फेरि महसुस गऱ्यौं। हूलदंगा भएको इलाकामा पुग्दा त्यो ठाउँ तुरुन्तै छाड्थ्यौं र स्थिति शान्त भएपछि त्यहाँ फर्केर जान्थ्यौं। एकपटक हाम्रो अपार्टमेन्ट भवन नजिकै हूलदंगा हुँदा छेवैको रंग पसलमा जलेको चीजबीजको टुक्राटाक्री हाम्रो झ्यालको चौकोससम्म आइपुग्यो। कतै हाम्रो अपार्टमेन्ट भवनमा पनि आगो लाग्ने हो कि भनेर सुत्नै सकेनौं। सन् १९७० मा बेलफास्ट सरेपछि थाह भयो कि त्यस रंग पसलमा पेट्रोल बम पड्काएकोले आगो लागेको रहेछ। अनि त्यस दौडान हामी बसेको त्यो अपार्टमेन्ट भवन पनि जलेर खरानी भएछ।
अर्कोपटक चाहिं म र एक जना बहिनी प्रचारमा निस्कँदा पाइपको अनौठो टुक्रा एउटा घरको झ्यालको चौकोसमा देख्यौं। हामी अघि बढ्यौं। केही क्षणमै त्यो पड्कियो। बम पड्केपछि आ-आफ्नो घरबाट निस्केका त्यहाँका बासिन्दाले त्यो पाइप बम हामीले पड्काएको भन्ठाने! ठीक त्यति नै बेला त्यस इलाकामा बस्ने एउटी बहिनीले हामीलाई घरभित्र बोलाइन्। तब हामी निर्दोष छौं भन्ने कुरा उनका छिमेकीहरूले पत्याए।
सन् १९७१ मा हामी एक जना बहिनीलाई भेट्न लन्डन्डेरी गयौं। हामी आएको बाटो र हामीले पार गरेको चेकपोस्टबारे बताउँदा उक्त बहिनीले सोधिन्: “चेकपोस्टमा कोही पनि थिएन?” “थिए तर हामीलाई वास्तै गरेनन्!” भनी भन्दा उनी छक्क परिन्। किन? किनभने अघिल्लो दिन मात्र एक जना डाक्टर र प्रहरीको गाडी खोसेर जलाइएको रहेछ।
सन् १९७२ मा हामी कोर्क सऱ्यौं। पछि हामीले क्रमशः नास र आर्कलोमा सेवा गऱ्यौं। अन्ततः हामी सन् १९८७ मा क्यासलबारमा खटियौं जहाँ अहिले हामी छौं। हामीले यहाँ एउटा राज्यभवन निर्माणमा हात बटाउने सुअवसर पायौं। सन् १९९९ मा एरिक सिकिस्त बिरामी पर्नुभयो। तैपनि यहोवाको मदत र मण्डलीको मायालु सहयोगले त्यस परिस्थितिको सामना गर्न र उहाँलाई निको पार्न सक्षम भएँ।
एरिक र मैले अग्रगामी सेवा स्कूलमा दुई पटक भाग लिने मौका पायौं। उहाँ अझै प्राचीनको हैसियतमा सेवा गर्दै हुनुहुन्छ। मलाई जोर्नी सुन्निने र दुख्ने रोगले नराम्ररी च्याप्यो र कम्मर अनि दुवै घुँडाको अप्रेसन गर्नुपऱ्यो। हुन त मैले धर्महरूबाट घोर विरोध सहनुपऱ्यो अनि गम्भीर राजनैतिक र सामाजिक तनावको घडी पार गर्नुपऱ्यो। तर मेरो लागि सबैभन्दा ठूलो चुनौती भनेको गाडी चलाउन छाड्नुपर्ने बाध्यता थियो। त्यो एउटा परीक्षा थियो किनकि मलाई आफ्नो स्वतन्त्रता छिनेको जस्तो लाग्यो। तर मण्डलीबाट ठूलो सहयोग पाएकी छु। अहिले म लौरोको सहाराले हिंडडुल गर्छु अनि अलिक टाढा जानुपर्दा चाहिं ब्याट्रीले चल्ने तीन पांग्रे साइकल चलाउँछु।
एरिक र मैले विशेष अग्रगामीको रूपमा जम्माजम्मी १०० वर्षभन्दा धेरै समय बिताइसकेका छौं। त्यसमध्ये ९८ वर्ष त यहाँ आयरल्याण्डमा मात्रै। यस सेवाबाट अवकाश लिने हाम्रो सोचाइ छैन। हामी चमत्कारमा भर पर्दैनौं। तर यहोवाको डर राख्ने र विश्वासी भई उहाँको सेवा गर्नेहरूको “चारैतिर” उहाँका दूतहरूले “छाउनी” लगाइरहेका छन् भनेर चाहिं विश्वास गर्छौं। (w 09 3/15)