सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

१ बाइबलमा भरोसा गर्न सिक्नुहोस्‌

१ बाइबलमा भरोसा गर्न सिक्नुहोस्‌

१ बाइबलमा भरोसा गर्न सिक्नुहोस्‌

“परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई . . . उपयोगी हुन्छ।”—२ तिमोथी ३:१६.

चुनौती: थुप्रैले बाइबल मानव बुद्धिको एउटा पुस्तक सिवाय अरू केही होइन भन्‍ने गर्छन्‌। केहीले चाहिं बाइबलमा भएको ऐतिहासिक विवरणहरू ठीक छैन भनी विश्‍वास गर्छन्‌। अरूले भने बाइबलको सल्लाह व्यावहारिक छैन वा अहिले हाम्रो समयमा काम लाग्दैन भनेर दाबी गर्छन्‌।

कसरी पार लगाउने? सामान्यतया बाइबलको विश्‍वसनीयता र उपयोगितामाथि प्रश्‍न उठाउनेहरू आफैले बाइबल जाँचेर हेरेका छैनन्‌। तिनीहरू ‘कागले कान लग्यो भन्दा कानै नछामी कागको पछि दौडनेहरू’ जस्ता छन्‌। तर, बाइबलले यस्तो चेतावनी दिन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।”—हितोपदेश १४:१५.

अरूले भनेको कुरा आँखा चिम्लेर पत्याउनुको साटो प्रथम शताब्दीको बिरियाका ख्रीष्टियानहरूको उदाहरण किन नअपनाउने? बिरिया अहिले उत्तरी ग्रीसमा पर्छ। तिनीहरूले अरूले जे भने त्यही पत्याएनन्‌। बरु, “ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी” गर्नेहरू भनी तिनीहरू चिनिएका थिए। (प्रेरित १७:११) आउनुहोस्‌, बाइबल परमेश्‍वरको प्रेरित वचन हो भनेर भरोसा गर्न सक्ने दुइटा प्रमाणलाई एकछिन विचार गरौं।

बाइबल ऐतिहासिक तवरमा सही छ। वर्षौंदेखि आलोचकहरूले बाइबलमा उल्लेख गरिएका मान्छेहरूको नाउँ र ठाउँ सही छैनन्‌ भनेर चुनौती दिंदै आएका छन्‌। तर पटक-पटक प्रमाणहरूले ती आलोचकहरूको मुखमा बुजो हालिदिएको छ र बाइबलको रेकर्डलाई भरपर्दो साबित गरिदिएको छ।

उदाहरणको लागि, एक चोटि शास्त्रविद्‌हरूले यशैया २०:१ मा लेखिएका अश्‍शूरका राजा सर्गानको अस्तित्वबारे शंका गरेका थिए। तर सन्‌ १८४० को दशकमा पुरातत्त्वविद्‌हरूले उक्‍त राजाको दरबारमा उत्खनन कार्य थाले। उनी अहिले चिरपरिचित अश्‍शूरी राजामध्ये गनिन्छन्‌।

आलोचकहरूले येशूलाई मार्न आदेश दिने रोमी राज्यपाल पन्तियस पिलातसको अस्तित्वमाथि पनि प्रश्‍न उठाएका थिए। (मत्ती २७:१, २२-२४) तर सन्‌ १९६१ मा इस्राएलको सिजरिया सहर नजिकै पिलातसको नाउँ र दर्जा कुँदिएको एउटा ढुङ्‌गा फेला पऱ्‍यो।

बाइबलको ऐतिहासिक सत्यताबारे यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-को अक्टोबर २५, १९९९ को अंकले यसो भनेको थियो: “आधुनिक समयमा गरिएका पुरातात्त्विक अध्ययनले इस्राएलका कुलपिताको, इस्राएलीहरू मिश्र देशबाट प्रस्थान गरेको, दाऊदको शासनको अनि येशू र उहाँको समयताकाका मानिसहरूको जीवनशैलीको इतिहास जस्ता पुरानो अनि नयाँ नियमको मुख्य-मुख्य कुरालाई असाधारण तरिकाले पुष्टि गरेको छ।” बाइबलमाथिको विश्‍वास पुरातात्त्विक खोजहरूमा भर नपर्ने भए तापनि परमेश्‍वरको प्रेरित पुस्तकबाट यस्ता ऐतिहासिक सत्यताको आशा गर्न सक्नुहुन्छ।

बाइबलमा भएको व्यावहारिक बुद्धिले हरेक पृष्ठभूमिको मानिसलाई लाभ पुऱ्‍याउँछ। सुक्ष्मजीवहरू र त्यसले रोग फैलाउने कुरा पत्ता लाग्नुभन्दा धेरै पहिला नै बाइबलले सरसफाइसम्बन्धी नियमहरू दिएको थियो जुन अहिले पनि उत्तिकै उपयोगी छ। (लेवी ११:३२-४०; व्यवस्था २३:१२, १३) बाइबलको सल्लाहअनुसार व्यवहार गर्ने परिवारहरूका सदस्यहरूले अझै सुखमय पारिवारिक जीवन बिताइरहेका छन्‌। (एफिसी ५:२८–६:४) बाइबलको सिद्धान्तअनुसार चल्ने व्यक्‍ति अझै कर्तव्यनिष्ठ कर्मचारी वा अझै व्यावहारिक मालिक बन्‍न सक्लान्‌। (एफिसी ४:२८; ६:५-९) बाइबलका सल्लाहहरू पालन गर्नु भावनात्मक सुस्वास्थ्यको लागि पनि लाभदायी छ। (हितोपदेश १४:३०; एफिसी ४:३१, ३२; कलस्सी ३:८-१०) हाम्रो सृष्टिकर्ताबाट हामी यस्तै व्यावहारिक सल्लाहहरू पाउने आशा गर्न सक्छौं नि, होइन र?

इनाम: बाइबलमा पाइने बुद्धिले अनुभवहीन व्यक्‍तिलाई पनि बुद्धिमान्‌ बनाउन सक्छ। (भजन १९:७) साथै, बाइबलमा एकचोटि भरोसा गर्न सिकेपछि त्यसले बलियो विश्‍वासको लागि आवश्‍यक अर्को कदम चाल्न मदत गर्छ र यस्तो मदत अरू कुनै पनि पुस्तकले दिन सक्दैन। (w09 5/1)

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? a पुस्तकको “बाइबल—परमेश्‍वरले दिनुभएको किताब” अध्याय २ हेर्नुहोस्‌।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।