सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल हाम्रो समयमा किन व्यावहारिक?

बाइबल हाम्रो समयमा किन व्यावहारिक?

बाइबल हाम्रो समयमा किन व्यावहारिक?

“परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ।”—२ तिमोथी ३:१६.

शताब्दीयौंदेखि बाइबलले विभिन्‍न संस्कृतिका मानिसलाई परिवर्तन गरेर उनीहरूको जीवनशैली अझ राम्रो बनाउन उत्प्रेरित गरेको छ। बाइबल यसरी प्रभावकारी हुनुको कारण माथि उद्धृत शास्त्रपदले बताउँछ। यसमा भएको बुद्धि परमेश्‍वरबाट आएको हो। बाइबल लेख्न मानिसहरू चलाइएको भए तापनि यसले परमेश्‍वरका विचारहरू हामीलाई प्रदान गर्छ। बाइबल भन्छ: “पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२१.

बाइबलले कम्तीमा पनि दुई तरिकामा व्यावहारिक निर्देशन दिन्छ। पहिलो: कस्तो जीवनशैली बनाउनु उत्तम हो त्यसमा वास्तविक दृष्टिकोण राख्न मदत दिन्छ। दोस्रो: राम्रो जीवनशैली प्राप्त गर्न मानिसलाई आवश्‍यक परिवर्तन गर्न उत्प्रेरणा दिने शक्‍ति यसमा छ। आउनुहोस्‌, यी दुई पक्षलाई ध्यान देऔं।

व्यावहारिक लक्ष्यहरू राख्न शिक्षा

बाइबलमा परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भजन ३२:८) याद गर्नुहोस्‌, परमेश्‍वरले सल्लाह मात्र नभई शिक्षा दिनेछु पनि भन्‍नुभयो जसले परिस्थितिको गहिराइसम्म पुग्ने क्षमता दिन्छ। कस्तो प्रकारको लक्ष्य राख्नु फाइदाजनक हुन्छ भनी बुझ्दा व्यर्थका कुराहरूको पछि लाग्नबाट जोगिन सक्छौं।

उदाहरणको लागि, धेरै मानिसको लक्ष्य भनेकै नाम र दाम कमाउने हुन्छ। नाम वा दाम कमाउनमा अरूलाई कसरी उछिन्‍ने भन्‍नेबारे सिकाउने किताबहरूको कुनै कमी छैन। तर अर्कोतर्फ बाइबल हामीलाई यसो भन्छ: “ती सबै मानिसको आपसको शत्रुता . . . व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो।” “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।” (उपदेशक ४:४; ५:१०) के यो सल्लाह आज हाम्रो लागि व्यावहारिक छ?

बाइबलको सल्लाह व्यावहारिक कसरी छ भनेर जान्‍न जापानका अकिनोरिको अनुभव हेरौं। कडा प्रतिस्पर्धाको बाबजुद एउटा नामी विश्‍वविद्यालयबाट डिग्री हासिल गर्ने र नाउँ चलेको कम्पनीमा जागिर खाने आफ्नो लक्ष्यमा पुग्न उनी सफल भए। सबै कुरा उनले सोचेजस्तै भइरहेको देखिन्थ्यो। तैपनि त्यस सफलताले उनलाई आशा गरेको आनन्दतर्फ डोऱ्‍याउन सकेन। बरु तनाव र थकानले गर्दा स्वास्थ्य बिग्रियो। आफ्ना अफिसका साथीहरूबाट केही सान्त्वना पाएनन्‌। निराश भएर उनी मद्यव्यसनी भए र आत्महत्या गर्ने विचार समेत गरे। त्यसपछि उनले यहोवाका साक्षीसँग बाइबल अध्ययन सुरु गरे। अध्ययनमा सिकेका कुराहरूले गर्दा जीवनमा महत्त्वपूर्ण कुरा के हो त्यसलाई हेर्ने उनको दृष्टिकोण बद्‌लियो। चाँडै, मानसिक तनावले गर्दा लागेको उनका रोगहरू हराउन थाल्यो। घमन्ड र महत्त्वकांक्षाले डोरिन दिइरहनुभन्दा उनले बाइबलको हितोपदेश पुस्तकमा बताएको कुरा आफैले अनुभव गर्न पाए जहाँ यसो भनिएको छ: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।”—हितोपदेश १४:३०.

तपाईंको विचारमा जीवनमा कुन लक्ष्य राख्नु सबैभन्दा व्यावहारिक हुन्छ? कस्ता उपलब्धिले तपाईंलाई साँच्चिकै खुसी बनाँउछ? हुन सक्छ, विवाह सफल भइरहँदा? वा छोराछोरीलाई जीवनको राम्रो सुरुआत गरिदिंदा? धेरै साथीहरू बनाँउदा? जीवनमा रम्दा? यी सबै राम्रा लक्ष्यहरू हुन्‌। वास्तवमा बाइबलले यसो गर्न प्रोत्साहन दिन्छ तर जीवनको मुख्य उद्देश्‍यको रूपमा होइन। व्यावहारिक शिक्षाका साथ बाइबलले आनन्दित जीवन बिताउन पूरा गर्नुपर्ने आधारभूत कुरा औंल्याउँदै यसो भन्छ: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१३) हामीले यो कर्तव्य वहन गर्न हेलचेक्य्राइँ गर्दा जीवन उद्देश्‍यहीन, हरेसलाग्दो र अन्ततः निराशाजनक हुन जान्छ। तर अर्कोतर्फ, बाइबल हामीलाई यस्तो आश्‍वसन दिन्छ: “परमप्रभुमा भरोसा राख्ने मानिस आशीषित हुन्छ।”—हितोपदेश १६:२०.

बाइबलले मानिसलाई परिवर्तन गर्न उत्प्रेरित गर्छ

“परमेश्‍वरको वचन जीवित र प्रबल” छ भनी प्रेरित पावल लेख्छन्‌। धारिलो दुई धारे तरवारले जस्तै बाइबलले व्यक्‍तिको भित्री मनोवृत्ति र विचारलाई असर गर्न सक्छ। (हिब्रू ४:१२) बाइबलमा मानिसको जिउने तरिका परिवर्तन गर्ने क्षमता छ किनकि यसले तिनीहरू जे सोच्छन्‌ त्यो मात्र नभई वास्तवमा आफैलाई बुझ्न मदत गर्छ। अनि हृदयको अवस्था राम्रो भएकाहरूले परिवर्तन गर्नुपर्ने आवश्‍यकता महसुस गर्नेछन्‌। उदाहरणको लागि, प्राचीन कोरिन्थ मण्डलीकाहरूलाई याद गर्नुहोस्‌ जो एक समय चोरहरू, मतवालाहरू, व्यभिचारीहरू आदि-आदि थिए र पावलले यसो भने: “तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ . . . हाम्रा परमेश्‍वरका आत्माद्वारा।” (१ कोरिन्थी ६:९-११) यहोवाको पवित्र आत्मा आज पनि सक्रिय छ र यसले मानिसलाई आवश्‍यक परिवर्तनहरू गर्न उत्प्रेरित गर्न सक्छ।

युरोपमा बस्ने मारियो हिंस्रक हुनुका साथै गाँजा खाने र त्यसको व्यापार गर्ने गर्थे। एकपटक पुलिसले उनको लागुपदार्थ जफत गर्दा उनी एकदमै रिसाएर उक्‍त पुलिसमाथि नै जाइलागे र गाडी पनि बिगारिदिए। यसबाहेक मारियो बेरोजगार र ऋणमा चुर्लुम्मै डुबेका थिए। समस्या समाधान गर्न बुद्धिको कमी भएको महसुस भएकोले उनी बाइबल अध्ययन गर्न राजी भए। प्रगति गर्दै जाँदा मारियोले आफ्नो रूपरंगमा परिवर्तन ल्याए, लागुपदार्थ खान र बेच्न छोडे अनि हिंसा त्यागिदिए। उनको पुरानो बानी थाहा पाएकाहरू छक्क परे। तिनीहरू उनलाई रोकेर सोध्थे: के तिमी मारियो नै हौ?

अकिनोरि र मारियो जस्ता व्यक्‍तिहरूलाई जीवनमा परिवर्तन गर्न अनि साँचो सन्तुष्टि र आनन्दित जीवन भेट्टाउन केले उत्प्रेरणा दिन्छ? स्पष्ट छ, बाइबल अध्ययनमार्फत भर्खरै भेट्टाएको परमेश्‍वरको ज्ञानले। अहिले सफल जीवन बिताउन र भविष्यमा अनन्त जीवनको आशा पाउन आवश्‍यक उपयोगी निर्देशन परमेश्‍वरले मात्र दिन सक्नुहुन्छ। बुबाले जस्तै गरी यहोवा बाइबलमार्फत कुरा गर्नुहुन्छ: “हे मेरो छोरो, सुन्‌। मेरो वचन हृदयमा राख्‌, र तँ दीर्घायु हुनेछस्‌ . . . तँ हिड्‌दा चिप्लनेछैनस्‌, औ तँ दगुरिस्‌ भने पनि केही कुराले तँलाई लडाउनेछैन। अर्तीलाई समातिराख्‌ र त्यसलाई कहिल्यै नछोड्‌, त्यसलाई राम्ररी पालन गर, किनभने त्यो तेरो जीवन हो।” (हितोपदेश ४:१०-१३) सृष्टिकर्ताले हाम्रो डोऱ्‍याइको लागि दिएको सल्लाह खोज्नु जस्तो व्यावहारिक अरू के होला र? (w09 6/1)

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

आजका लागि व्यावहारिक सल्लाह

बाइबलले आधारभूत तर व्यावहारिक सिद्धान्तहरू दिन्छ जसले हाम्रो वर्तमान जीवनको हरेक पक्षमा डोऱ्‍याइ दिन सक्छ। यहाँ केही उदाहरणहरू छन्‌:

अरूसँग सुमधुर सम्बन्ध बनाउन

“यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.

“तिमीहरू सबैमा जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।”—लूका ९:४८.

“अतिथि-सत्कार कायम राख।”—रोमी १२:१३.

खराब बानी हटाउन

“बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

“मतवाला[हरूको] . . . सङ्‌गत नगर्‌।”—हितोपदेश २३:२०.

“रीस गर्ने मानिसलाई कहिल्यै मित्र नबना।”—हितोपदेश २२:२४.

दाम्पत्य जीवन स्थिर बनाउन

“जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्‌।”—एफिसी ५:३३, NRV.

“सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, . . . एउटाले अर्कोलाई क्षमा गर।”—कलस्सी ३:१२, १३.

छोराछोरीको लालनपालन गर्न

“बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदश २२:६.

“ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.

झै-झगडाबाट जोगिन

“मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।”—हितोपदेश १५:१.

“मानमा एउटाले अर्कोको बढ्‌ता कदर गर।”—रोमी १२:१०.

साथीहरूमाझ पनि व्यापारिक मामिलामा लिखित सम्झौता गर्दा धेरैजसो मनमुटावबाट जोगिन सकिन्छ। त्यसकारण परमेश्‍वरका सेवक यर्मियाले यस्तो लेखे: “मैले तमसुकमा सही गरें, छाप लगाएँ, साक्षीहरू राखें र जोखेर दाम दिएँ।”—यर्मिया ३२:१०.

सकारात्मक मनोवृत्ति खेती गर्न

“जे कुरा सच्चा छन्‌, . . . जे कुरा चोखा छन्‌, . . . जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.

बाइबलले नकारात्मक कुरा मनमा नराख्न प्रोत्साहन दिन्छ र “आफ्नै भाग्यलाई दोष लाउनेहरू”-को निन्दा गर्छ। बाइबल यसो भन्छ: “आशामा आनन्द गर।”—यहूदा ४, १६; रोमी १२:१२.

यी उत्तम सिद्धान्तहरूलाई हामीले पछ्याइरह्‍यौं भने अहिले सन्तुष्टि र शान्ति पाउँछौं नै, साथै परमेश्‍वरले चाहनुभएअनुसार जीवन बिताउन र उहाँको आशिष्‌ पाइरहन मदत प्राप्त गर्छौं। बाइबल यसो भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

[पृष्ठ ५-मा भएको चित्र]

अकिनोरी व्यापारी हुँदाको बेला (बाँया) र अहिले पत्नीसँगै खुसीसाथ बाइबल सत्य अरूलाई बाँड्‌दै