सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसले भविष्यवाणीको अर्थ खुलाउन सक्छ?

कसले भविष्यवाणीको अर्थ खुलाउन सक्छ?

कसले भविष्यवाणीको अर्थ खुलाउन सक्छ?

महान्‌ सिकन्दरको पालामा सबैभन्दा ठूलो रहस्य भनेको गर्डियन गाँठो थियो। बुद्धिमान्‌ र विजेताले मात्र त्यो जटिल गाँठो फुकाउन सक्छ भनेर मानिसहरू विश्‍वास गर्थे। a भनिन्छ, सिकन्दरले तरबारको एक प्रहारमै गाँठोको त्यो रहस्य खोलिदिए।

इतिहास हेर्ने हो भने बुद्धिमान्‌ पुरुषहरूले जटिल गाँठोहरू फुकाउने मात्र होइन, गाउँखाने कथा र भविष्यवाणीहरूको अर्थ खुलाउने अनि भविष्यबारे अग्रिमवाणीसमेत गर्ने कोसिस गरेका छन्‌।

तर धेरैजसो अवस्थामा तिनीहरूले रहस्य खुलाउन सकेनन्‌। उदाहरणको लागि, राजा बेलसजरको दरबारमा तडकभडकपूर्ण भोज भइरहेको थियो। त्यतिबेला चमत्कारपूर्ण ढङ्‌गमा भित्तामा अक्षरहरू लेखिए, जसको अर्थ बेबिलोनका ज्ञानी पुरुषहरूले खुलाउन सकेनन्‌। तर “अड्‌को फुकाउने” व्यक्‍ति भन्‍ने नाम कमाइसकेका वृद्ध भविष्यवक्‍ता दानियल, जो यहोवा परमेश्‍वरका उपासक थिए, तिनले मात्र त्यस भविष्यसूचक सन्देशको अर्थ खुलाउन सके। (दानियल ५:१२) बेबिलोन साम्राज्यको पतनबारे गरिएको त्यो भविष्यवाणी त्यसै रात पूरा भयो।—दानियल ५:१, ४-८, २५-३०.

भविष्यवाणी के हो?

भविष्यवाणी भनेको भविष्यको घटना हुनुअगावै त्यसबारे बताउनु हो। साँचो भविष्यवाणी भनेको लिखित वा मौखिक तवरमा व्यक्‍त गरिएको प्रेरित सन्देश अर्थात्‌ परमेश्‍वरको इच्छा र उद्देश्‍यको प्रकटीकरण हो। बाइबलमा मसीह र उहाँको चिनारी, “यस युगको आखिरी समय”-का साथै परमेश्‍वरको न्याय सन्देशबारे भविष्यवाणीहरू पाइन्छ।—मत्ती २४:३; दानियल ९:२५.

आजका “ज्ञानी पुरुषहरू” अर्थात्‌ विज्ञान, अर्थ-व्यवस्था, स्वास्थ्य, राजनीति, वातावरण र अन्य क्षेत्रका विशेषज्ञहरूले भविष्यवाणी गर्ने कोसिस गर्छन्‌। त्यस्ता भविष्यवाणीहरूबारे सञ्चारजगत्‌ले व्यापक प्रचारप्रसार गर्ने र आम जनताले निकै चासो देखाउने भए तापनि ती केवल केही तथ्यको भरमा गरिएका अनुमान र व्यक्‍तिगत धारणा मात्र हुन्‌। साथै, कुनै एउटा धारणा व्यक्‍त गर्दा त्यसको विपक्षमा थुप्रै धारणा र तर्कवितर्क सृजना भइहाल्छ। भविष्यवाणी गर्नु भनेको सजिलो काम होइन।

साँचो भविष्यवाणीको स्रोत

साँचो भविष्यवाणीका स्रोत को हुन्‌ र कसले त्यसको अर्थ खुलाउन सक्छ? प्रेषित पत्रुसले लेखे: “धर्मशास्त्रमा भएको कुनै पनि भविष्यवाणी कसैको निजी धारणाको उपज होइन।” (२ पत्रुस १:२०) यहाँ “धारणा” भनी अनुवाद गरिएको ग्रीक शब्दले “पहिला बाँधिएको वा गाँठो पारिएको कुराको समाधान, खुलासा” भन्‍ने अर्थ बुझाउँछ। त्यसैले यस अभिव्यक्‍तिलाई एउटा बाइबलले “फुकाउनु” भनेर अनुवाद गरेको छ।

जटिल प्रकारले गाँठो पार्न सिपालु एक जना डुङ्‌गा खियाउने मानिस कल्पना गर्नुहोस्‌। गाँठोबारे ज्ञानै नभएको मान्छेलाई त्यो गाँठो हेर्दा फुकाउन सकिन्छ जस्तो लाग्ला तर सोचेजस्तो सजिलो कहाँ हुन्छ र! त्यसैगरि, मानिसहरूले वर्तमान घटनाक्रम हेरेर भविष्य जटिल हुनेछ भनेर अनुमान त गर्लान्‌ तर भविष्यको गाँठो कसरी फुकाइनेछ भनेर यकिन गरेर भन्‍न सक्दैनन्‌।

दानियलजस्ता प्राचीन समयका प्रेरित भविष्यवक्‍ताहरूले तत्कालीन घटनाक्रम आफैले केलाउने र त्यसको आधारमा भविष्यवाणी गरेर त्यसको अर्थ खुलाउने प्रयास गरेनन्‌। यदि तिनीहरूले भविष्यमा हुने घटनालाई आफ्नै तरिकामा मोड्‌न खोजेका भए ती भविष्यवाणीहरू तिनीहरूकै काल्पनिक संसारको उपज हुने थियो। ती निराधार जगमा बसालिएको मानव पूर्वानुमान मात्र हुने थिए। तर पत्रुसले यसो भने: “कुनै पनि भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्‍ति पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।”—२ पत्रुस १:२१.

‘सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुन्छ’

लगभग ३,७०० वर्षअघि मिश्रको झ्यालखानामा दुई पुरुष थुनिए। दुवैले अनौठो सपना देखे। तिनीहरू त्यस देशका बुद्धिमान्‌ पुरुषहरूलाई भेट्‌न नसक्ने अवस्थामा थिए। त्यसैले तिनीहरूले आफूसँगै थुनिएका कैदी यूसुफलाई यसो भने: “हामीले सपना देख्यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।” परमेश्‍वरका ती सेवकले तिनीहरूलाई आफ्नो सपनाबारे बताउन आग्रह गर्दै भने: “सपनाको अर्थ ता परमेश्‍वरकै हातमा हुँदैन र?” (उत्पत्ति ४०:८) डुङ्‌गा खियाउने अनुभवी मान्छेले मात्र जटिल गाँठो फुकाउन सकेझैं भविष्यवाणीहरूको गाँठो पनि यहोवा परमेश्‍वरले मात्र फुकाउन सक्नुहुन्छ। हुन पनि, ती भविष्यवाणीहरूको गाँठो कस्ने परमेश्‍वर नै हुनुहुन्छ। त्यसकारण त्यसको अर्थ खुलाउन हामीले उहाँकै मदत लिनुपर्छ। यूसुफले भविष्यवाणीको अर्थ खुलाउने त परमेश्‍वर नै हुनुहुन्छ भनेर ठीक भनेका थिए।

कुन-कुन तरिकामा भविष्यवाणीको “अर्थ ता परमेश्‍वरकै हातमा” हुन्छ? विभिन्‍न तरिकामा। केही बाइबल भविष्यवाणी त्यसको पूर्तिसमेत रेकर्ड गरिएको छ। यस्ता भविष्यवाणीहरूको अर्थ अरूको तुलनामा खुलाउन सजिलो हुन्छ, जस्तै:- कुनै-कुनै गाँठो कसरी फुकाउने भनेर डुङ्‌गा खियाउने मान्छेले सजिलै बताइदिन्छ।—उत्पत्ति १८:१४; २१:२.

अरू भविष्यवाणीहरू भने सन्दर्भ राम्ररी केलाएर व्याख्या गर्न र त्यसको अर्थ खुलाउन सकिन्छ। भविष्यवक्‍ता दानियलले ‘आँखाहरूको बीचमा एउटा प्रस्टै देखिने सीङ भएको बोकाले’ “दुई सीङ भएको एउटा साँढ-भेडा”-लाई बेसरी प्रहार गरेको भविष्यसूचक दर्शन देखे। यसको सन्दर्भअनुसार दुई-सीङे साँढ-भेडाले “मादी देश र फारस देशका राजाहरू” अनि बोकाले चाहिं “यूनानी” अर्थात्‌ ग्रीसको राजालाई प्रतिनिधित्व गर्छ। (दानियल ८:३-८, २०-२२) यो भविष्यवाणी गरिएको लगभग २०० वर्षपछि “ठूलो सीङ” अर्थात्‌ महान्‌ सिकन्दरले फारसमाथि कब्जा जमाउन थाले। यहूदी इतिहासकार जोसेफसको भनाइअनुसार सिकन्दरले यरूशलेमको इलाका वरपर सैन्य आक्रमण गर्दा तिनलाई यही भविष्यवाणी देखाइएको थियो र तिनले पनि त्यो आफू नै हो भनेर मानिलिए।

अर्को तरिकामा पनि भविष्यवाणीको “अर्थ ता परमेश्‍वरकै हातमा” हुन्छ। पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर यहोवा परमेश्‍वरका वफादार सेवक यूसुफले अन्योलमा परेका सँगी कैदीहरूको सपनाको अर्थ खुलाउन सके। (उत्पत्ति ४१:३८) वर्तमान समयका परमेश्‍वरका सेवकहरू आफूले कुनै भविष्यवाणीको अर्थ बुझ्न नसक्दा परमेश्‍वरको पवित्र शक्‍तिको लागि प्रार्थना गर्छन्‌ र परमेश्‍वरको प्रेरित वचन लगनशील भई अध्ययन गर्नुका साथै त्यसमा खोजीनिती गर्छन्‌। परमेश्‍वरको डोऱ्‍याइ पाएर तिनीहरूले केही भविष्यवाणीको अर्थ बुझ्न मदत गर्ने शास्त्रपदहरू भेट्टाउन सक्छन्‌। कुनै मानिसले चमत्कारपूर्ण ढङ्‌गमा भविष्यवाणीको अर्थ खुलाउन सक्दैन। परमेश्‍वरले मात्र खुलाउन सक्नुहुन्छ किनभने उहाँको पवित्र शक्‍ति र वचनमार्फत मात्र भविष्यवाणीको अर्थ स्पष्ट हुन्छ। बाइबलसित कुनै सरोकार नभएका मानव भविष्यवक्‍ताहरूले त्यसको अर्थ खुलाउन सक्दैनन्‌।—प्रेषित १५:१२-२१.

पृथ्वीमा भएका आफ्ना वफादार सेवकहरूले कहिले अनि कसरी भविष्यवाणीको अर्थ बुझ्ने हो, त्यो पनि उहाँले नै निर्धारण गर्नुहुने हुँदा भविष्यवाणीको “अर्थ ता परमेश्‍वरकै हातमा” हुन्छ भन्‍न सकिन्छ। भविष्यवाणी पूरा हुनुअघि, हुँदै गर्दा वा भइसकेपछि त्यसको अर्थ बुझ्न सकिन्छ। परमेश्‍वरले भविष्यवाणीको गाँठो कस्नुभएको हुँदा उहाँले नै ठीक समयमा अर्थात्‌ उहाँको समयमा त्यसको अर्थ खोल्नुहुनेछ।

यूसुफ र दुई जना कैदीको विवरणमा तिनले उक्‍त सपनाको कुरा पूरा हुनुभन्दा तीन दिनअघि त्यसको अर्थ खुलाए। (उत्पत्ति ४०:१३, १९) पछि, पराक्रमी फिरऊनको सपनाको अर्थ खुलाउन यूसुफलाई राजासामु हाजिर गराइँदा सात वर्षे सहकाल सुरु हुनै लागेको थियो। परमेश्‍वरको पवित्र शक्‍ति पाएर यूसुफले फिरऊनको सपनाको अर्थ खुलाए अनि यसको फलस्वरूप भविष्यवाणी गरिएको सहकालमा प्रशस्त अन्‍न भित्र्याउने प्रबन्ध मिलाउन सम्भव भयो।—उत्पत्ति ४१:२९, ३९, ४०.

अरू भविष्यवाणीहरू भने ती पूरा भइसकेपछि मात्र परमेश्‍वरका सेवकहरूले राम्ररी बुझ्न सक्छन्‌। येशूको जीवनमा हुने थुप्रै घटना उहाँको जन्म हुनुभन्दा शताब्दीयौंअघि भविष्यवाणी गरिएका थिए तर उहाँ पुनर्जीवित भइसकेपछि मात्र चेलाहरूले त्यसको अर्थ राम्ररी बुझ्न सके। (भजन २२:१८; ३४:२०; यूहन्‍ना १९:२४, ३६) अन्ततः दानियल १२:४ अनुसार केही भविष्यवाणी “अन्तको समय”-सम्म “छाप लगाएर बन्द” गरिने थिए। त्यतिबेला साँचो ज्ञान प्रशस्त हुनेछ भनी दानियलले बताए। ती भविष्यवाणीहरू पूरा भइरहेकै समयमा हामी अहिले बाँचिरहेका छौं। b

बाइबल भविष्यवाणी र तपाईं

यूसुफ र दानियलले तत्कालीन राजाहरूसामु खडा भएर सम्पूर्ण मुलुक र राज्यलाई असर गर्ने भविष्यसूचक सन्देश सुनाए। यहोवाको प्रवक्‍ताको हैसियतमा प्रथम शताब्दीका ख्रीष्टियनहरू तत्कालीन मानिसहरूसामु खडा भए अनि ती सन्देश सुन्‍नेहरूले ठूलो लाभ उठाए।

आज यहोवाका साक्षीहरूले संसारभरि एउटा भविष्यसूचक सन्देश अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गरिरहेका छन्‌ र येशूले भविष्यवाणी गर्नुभएको “यस युगको आखिरी समयको चिन्ह” अहिले पूरा भइरहेको छ भनेर मानिसहरूलाई बताइरहेका छन्‌। (मत्ती २४:३, १४) त्यो कुनचाहिं भविष्यवाणी हो र त्यसले तपाईंलाई कसरी असर गर्छ, के तपाईंलाई थाह छ? बाइबलमा भएका भविष्यवाणीहरूमध्ये एकदमै महत्त्वपूर्ण भविष्यवाणीबारे बुझाउन र त्यसबाट लाभ उठाउने तरिका बताइदिन यहोवाका साक्षीहरू तयार छन्‌। (w11-E 12/01)

[फुटनोटहरू]

a ग्रीक दन्त्यकथाअनुसार फ्रिगियाको राजधानी गर्डिअमका संस्थापक गर्डियसको रथ एउटा खम्बामा बेसरी कसेर बाँधिएको थियो अनि त्यो गाँठो फुकाउन सक्ने व्यक्‍ति नै एसियाका भावी विजेता हुने थिए।

b यस पत्रिकाको मे १, २०११ को अङ्‌ग्रेजी संस्करणमा “अहिले पूरा भइरहेका छ वटा बाइबल भविष्यवाणी” भन्‍ने आवरण लेखहरू हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएको चित्र]

यूसुफ र दानियल दुवैले भविष्यवाणीको अर्थ खुलाएको श्रेय परमेश्‍वरलाई दिए