म यिप्तहकी छोरीजस्तै बन्न चाहन्थें
म यिप्तहकी छोरीजस्तै बन्न चाहन्थें
जोआना सोन्सको वृतान्तमा आधारित
किशोरावस्थामा छँदै मेरो मनभित्र यिप्तहकी छोरीजस्तै हुने ठूलो इच्छा पलायो। त्यतिबेला मेरो मनमा के थियो अनि अन्तमा म कसरी उनीजस्तै हुन सकें, यसबारे म तपाईंहरूलाई बताउँछु।
सन् १९५६ मा भारतको बम्बईमा (हाल मुम्बई) भएको यहोवाका साक्षीहरूको सम्मेलनमा म पहिलो पटक उपस्थित भएँ। त्यसले मेरो जीवनै परिवर्तन गऱ्यो। यिप्तहकी छोरीको विषयमा त्यहाँ दिइएको भाषणले मेरो मनमा गहिरो छाप पाऱ्यो।
तपाईंहरूले बाइबलमा पढ्नु भएको होला, यिप्तहकी छोरी किशोरी छँदै अविवाहित रहन राजी भइन्। यसले गर्दा उनको बुबाले गरेको भाकल पूरा हुन सम्भव भयो। त्यसैले उनले आफ्नो बाँकी जीवन यहोवाको भवनमा अविवाहित रहेर सेवा गरिन्।—न्यायकर्त्ता ११:२८-४०
उक्त भाषण सुनेपछि मेरो मनमा पनि उनीजस्तै भएर सेवा गर्ने ठूलो इच्छा जाग्यो। तर उनको जस्तै जीवनशैली पछ्याउनु गाह्रो हुने थियो। यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन।
मेरो पारिवारिक पृष्ठभूमि
म भारतको पश्चिमी तटमा रहेको उडिपी सहरमा जन्मिएँ। मेरो बुबा र आमाको नाम बेन्जामिन र मार्सेलिना सोन्स हो। हामी छ जना छोराछोरी थियौं, त्यसमध्ये म पाँचौं हुँ। करिब २० लाख मान्छेले बोल्ने टुलु भाषा हाम्रो मातृभाषा हो। तर उडिपीमा बस्ने थुप्रैको जस्तै हाम्रो स्कूलको पढाइ भने कन्नडा भाषामा हुन्थ्यो।
यहाँ बिहाबारी गर्ने अनि बच्चा जन्माउने कुरालाई महत्त्वपूर्ण मानिन्थ्यो। हुर्कंदै गर्दा मैले “अविवाहित,” “एकाकीपन” वा “घरको याद” भन्ने अर्थ बुझाउने टुलु शब्दहरू सुनेको यादै छैन। मानौं, यस्ता अवस्थाहरू छँदै छैनन्। हामी हजुरबुबा-हजुरआमा, काका-काकी, फुपू-फुपाजु अनि अरू थुप्रै दाजुभाइ-दिदीबहिनीसित एउटै घरमा बस्थ्यौं।
हाम्रो समाज मातृसत्तात्मक भएकोले छोराछोरीको पुर्ख्यौली आमापट्टिबाट लिइन्थ्यो अनि छोरीहरूले सम्पत्तिको ठूलो हिस्सा पाउँथे। कुनै-कुनै टुलु समुदायमा छोरीको विवाह भइसकेपछि पनि श्रीमान्सँग माइतीमै बस्ने चलन थियो।
हामी ख्रीष्टियन धर्म मान्ने भएकोले हाम्रो परिवारको तौरतरिका भने अलि फरक थियो। हरेक साँझ हजुरबुबाले पारिवारिक उपासनामा नेतृत्व लिनुहुन्थ्यो। उहाँले प्रार्थना गर्नुहुन्थ्यो र ठूलो स्वरमा टुलु भाषाको बाइबल पढ्नुहुन्थ्यो। उहाँको बाइबल च्यातिएर थोत्रो भइसकेको थियो तैपनि सुनचाँदी राख्ने बाकस खोलेजस्तै गरी बाइबल खोल्नुहुन्थ्यो अनि पढेर सुनाउनुहुन्थ्यो। मलाई एकदमै मजा लाग्थ्यो! भजन २३:१ मा लेखिएको कुराले मेरो उत्सुकता जगायो, जहाँ यस्तो लेखिएको छ: “परमप्रभु [“यहोवा,” NW] मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” ‘यहोवा को हो अनि उहाँलाई किन गोठाला भनेको होला?’ भनेर मेरो मनमा प्रश्न खेल्न थाल्यो।
मेरो आँखाबाट “पाप्रा” झरेजस्तै भयो
दोस्रो विश्वयुद्धले ल्याएको आर्थिक सङ्कटको कारण हामी ९०० किलोमिटर टाढा रहेको बम्बई सहरमा बसाइँ सऱ्यौं। त्यहीं छँदा सन् १९४५ मा यहोवाका दुई जना साक्षीले मेरो बुबालाई बाइबलआधारित एउटा सानो पुस्तिका दिनुभयो। बुबाले बडो उत्सुकतासाथ त्यो पुस्तिका पढ्नुभयो अनि कन्नडा भाषा बोल्ने अरू मानिसहरूलाई पनि आफूले पाएको सन्देशबारे सुनाउन थाल्नुभयो। सुरु-सुरुतिरको सानो अध्ययन समूह सन् १९५० दशकको
सुरुतिर सम्ममा कन्नडा भाषाको पहिलो मण्डलीको रूपमा बम्बईमा स्थापित भयो।आमा र बुबा दुवैले हामीलाई जोसिलो बाइबल विद्यार्थी अनि राम्रो शिक्षक हुनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। उहाँहरूले हरेक दिन सँगै प्रार्थना अनि अध्ययन गर्ने समय निकाल्नुहुन्थ्यो। (व्यवस्था ६:६, ७; २ तिमोथी ३:१४-१६) एकदिन बाइबल पढ्दै गर्दा मेरो आँखाबाट पाप्रा झरेजस्तै भयो। (प्रेषित ९:१८) यहोवा हाम्रो गोठालो हुनुहुन्छ भन्नुको कारण मैले बुझें किनभने उहाँ आफ्ना जनलाई डोऱ्याउनुहुन्छ, खुवाउनुहुन्छ अनि सुरक्षा दिनुहुन्छ।—भजन २३:१-६; ८३:१८
यहोवाले मेरो हात समाउनुभएको छ
सन् १९५६ मा बम्बईमा भएको अधिवेशन मेरो लागि अविस्मरणीय थियो। त्यसको अलिक समयपछि मैले बप्तिस्मा गरें। बप्तिस्मा गरेको छ महिनापछि मैले पनि मेरो जेठो दाइ, प्रभाकरले जस्तै पूर्ण-समय प्रचारकको सेवा सुरु गरें। म अरूलाई बाइबल सत्य सिकाउन एकदमै उत्साहित हुन्थें तर अरूलाई आफ्नो विश्वासबारे बताउन खोज्दा डरले गर्दा म मुखै खोल्न सक्दिनथें। मेरो सोर काम्थ्यो र बोली अस्पष्ट हुन्थ्यो। “यहोवाको मदतविना यो काम गर्न सक्दिनँ” भनेर म ठूलो सोरले कराउँथें।
सन् १९४७ मा क्यानाडाबाट दुई जना मिसनरी, होमर र रूथ म्याकके भारतमा आउनुहुँदा मैले यहोवाको मदत पाउन सकें। उहाँहरूले अमेरिकाको न्यु योर्कमा सञ्चालित यहोवाका साक्षीहरूको मिसनरी स्कूलमा भाग लिनुभएको रहेछ। मैले बेढङ्गी पाराले प्रचार गरेको देख्दा उहाँहरूले मेरो हरेक कुरामा मदत गर्नुभयो, भनौं भने मेरो हात समातेर मलाई डोऱ्याउनुभयो। घर-घरमा गएर कसरी प्रचार गर्ने भनेर रूथ दिदीले नियमित तवरमा मसँग अभ्यास गर्नुहुन्थ्यो। मेरो डर हटाउन के गर्नुपर्छ, उहाँलाई थाह थियो। मेरो कामेको हात समाउँदै उहाँ भन्नुहुन्थ्यो: “चिन्ता नगर बहिनी, अर्को घरमा प्रयास गर्ने नि।” उहाँका यी शब्दहरूले मलाई हौसला दिन्थ्यो।
एक दिनको कुरा हो, मेरो प्रचारकार्यको साथी बन्नको लागि एक जना वृद्ध, अनुभवी बाइबल शिक्षिका आउनुहुनेछ भन्ने खबर पाएँ। उहाँको नाम एलिजाबेथ चक्रनारायण थियो। यस्तो खबर पाउनेबित्तिकै मलाई यस्तो लाग्यो: “उहाँ मभन्दा कत्ति धेरै जेठी हुनुहुँदो रै’छ, उहाँसँग कसरी बस्ने होला?” तर उहाँ त मलाई चाहिएकै साथी साबित हुनुभयो।
“हामी वास्तवमा कहिल्यै एक्लो हुँदैनौं”
हाम्रो पहिलो असाइनमेन्ट बम्बईको पूर्वपट्टि करिब २५० किलोमिटर पर रहेको ऐतिहासिक सहर औरंगबाद थियो। त्यहाँ पुगेपछि पो हामीलाई थाह भयो, लगभग दस लाख मानिसको माझमा यहोवाका साक्षीको नाममा हामी दुई जना मात्र थियौं। मैले त्यो सहरको प्रमुख भाषा मराठी पनि सिक्नुपर्ने भयो।
कहिलेकाहीं एक्लो महसुस हुँदा टुहुरो बच्चाजस्तै म धुरुधुरु रुन्थें। तर एलिजाबेथ दिदीले मलाई आमाले झैं सान्त्वना दिनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो: “हामी कहिलेकाहीं एक्लो महसुस गर्छौं तर हामी वास्तवमा कहिल्यै एक्लो हुँदैनौं। तिमी आफ्ना साथीहरू अनि परिवारबाट टाढा भए पनि यहोवा सधैं तिम्रो साथमा हुनुहुन्छ। उहाँलाई आफ्नो साथी बनाऊ अनि तिमीलाई एक्लो लाग्नेछैन।” आजको दिनसम्म पनि उहाँले दिनुभएको अनमोल सल्लाह मैले बिर्सेकी छैन।
गाडी चढ्न पैसा नहुँदा हामी धुलो र हिलो बाटो भएर अनि जाडो-गर्मी केही नभनी दिनहुँ २० किलोमिटर हिंड्थ्यौं। गर्मी महिनामा त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस पुग्थ्यो। झरीको बेला भने त्यस इलाकाको कुनै-कुनै भाग महिनौंसम्म हिलाम्मे हुन्थ्यो। तर मौसमभन्दा पनि हामीलाई सबैभन्दा चुनौतीपूर्ण लागेको कुराचाहिं त्यहाँका मानिसहरूको सोचाइ थियो।
आइमाईहरू आफ्नो नाता पर्ने केटा मान्छेबाहेक अरूसित कुरा गर्दैनथे, आइमाईहरूले केटा मान्छेलाई सिकाउने कुरा त परै जाओस्। त्यसैले हामी उनीहरूको हाँसोको पात्र र दुर्व्यवहारको सिकार भयौं। सुरुको छ महिनासम्म हामी दुई
जना मात्रै बसेर हरेक हप्ता सभा गर्थ्यौं। तर पछि चासो देखाउने कोही-कोही सभामा आउन थाले। चाँडै एउटा सानो समूह बन्न लागेको थियो। कतिले त हामीसँग प्रचारकार्यमा पनि भाग लिए।“तिम्रो सीप सधैं तिखारिराख है”
लगभग अढाई वर्षपछि हामीलाई फेरि बम्बई खटाइयो। मेरो साथी एलिजाबेथ प्रचारकार्यमै लागिरहनुभयो तर मलाई भने बुबालाई मदत गर्न भनियो। त्यतिखेर बुबा एक्लैले कन्नडा भाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने काम गर्दै हुनुहुन्थ्यो। मण्डलीमा उहाँको थुप्रै जिम्मेवारी थियो। त्यसकारण मेरो मदत पाउँदा उहाँ एकदम खुसी हुनुभयो।
सन् १९६६ मा आमाबुबाले हाम्रो पहिलेको घर उडिपी फर्कने निर्णय गर्नुभयो। बम्बई छोड्ने बेला बुबाले मलाई यसो भन्नुभयो: “छोरी, तिम्रो सीप सधैं तिखारिराख है। सरल भाषामा स्पष्ट अनुवाद गर। आफूलाई बढ्तै ठूलो नठान, बरु नम्र होऊ। यहोवामा भरोसा राख।” मेरो लागि यो नै उहाँको अन्तिम सल्लाह थियो किनभने उडिपी फर्केको केही समय नबित्दै उहाँको मृत्यु भयो। अनुवादको काम गर्दा उहाँले भन्नुभएअनुसारै गर्न अहिले पनि पूरा तनमनले कोसिस गर्दै छु।
“के तिमी घरजम गर्न चाहँदैनौ?”
भारतमा आमाबुबाले आफ्ना छोराछोरीहरू सानै छँदा बिहे गरिदिने अनि घरजम गर्न जोड दिने चलन छ। त्यसकारण मानिसहरू अक्सर मलाई यस्तो प्रश्न सोध्ने गर्थे: “के तिमी घरजम गर्न चाहँदैनौ? बूढी भएपछि तिमीलाई कसले गर्छ? एक्लो जीवन बिताउन गाह्रो हुँदैन?”
यस्तो कुरा सुनिरहनुपर्दा कहिलेकाहीं मन साह्रै भारी हुन्थ्यो। मैले अरूको अगाडि आफ्नो पीडा लुकाउने गर्थें तर अरू कोही नभएको बेला यहोवालाई आफ्नो मनको बह पोखाइहाल्थें। म अविवाहित भए तापनि यहोवाले मलाई अपूरो ठान्नुहुन्न भनेर थाह पाउँदा मैले सान्त्वना पाउँथें। म यिप्तहकी छोरी अनि येशूलाई सम्झन्थें, जसले अविवाहित रहेर आफ्नो सम्पूर्ण जीवन यहोवाको इच्छाअनुरूप गर्न बिताए। यसरी अरू कुरामा नअलमली परमेश्वरको सेवा गर्ने अठोटलाई मैले पनि कायमै राख्न सकें।—यूहन्ना ४:३४.
यहोवाले दिनुभएको उपहार
करिब ५० वर्षजति एलिजाबेथ दिदी र म सँगै बस्यौं। उहाँ मेरो घनिष्ठ साथी हुनुहुन्थ्यो। सन् २००५ मा ९८ वर्षको हुँदा उहाँको मृत्यु भयो। उमेर ढल्कँदै जाँदा आँखा धमिलो भएकोले उहाँले बाइबल पढ्न सक्नुभएन। त्यसैले उहाँ हरेक दिन घण्टौंसम्म प्रार्थनामा आफ्नो सबै कुरा परमेश्वरलाई बताउनुहुन्थ्यो। कहिलेकाहीं मलाई उहाँ कोठामा कसैसित बाइबलबारे छलफल गर्दै हुनुहुन्छ कि जस्तो लाग्थ्यो तर वास्तवमा उहाँ यहोवालाई प्रार्थना गरिरहनुभएको हुन्थ्यो। उहाँलाई यहोवा एकदमै वास्तविक लाग्थ्यो। त्यसैले उहाँलाई यहोवा आफूसँगै हुनुहुन्छ जस्तो लाग्थ्यो। उहाँको जस्तै दृष्टिकोण राखें भने मात्र यिप्तहकी छोरीले जस्तै यहोवाको सेवामा दृढ भइरहन सकिन्छ भनेर मैले सिकेकी छु। जवान छँदा अनि मेरा सबै सङ्घर्षहरूमा सान्त्वना र प्रोत्साहन दिन मेरो लागि यस्तो परिपक्व अनि अनुभवी दिदी मिलाइदिनु भएकोमा म यहोवाप्रति एकदमै कृतज्ञ छु।—उपदेशक ४:९, १०.
यिप्तहकी छोरीले जस्तै यहोवाको सेवा गर्दा मैले धेरै आशिष् पाएँ। अविवाहित रहँदा अनि बाइबलको सल्लाहअनुसार जीवन बिताउँदा “कुनै अलमलविना निरन्तर प्रभुको सेवा” गर्न सकेकी छु र मेरो जीवन अर्थपूर्ण अनि इनामदायी भएको छ।—१ कोरिन्थी ७:३५. (w11-E 12/01)
[पृष्ठ २८-मा भएको चित्र]
बुबा सन् १९५० को दशकमा जनभाषण दिंदै
[पृष्ठ २८-मा भएको चित्र]
एलिजाबेथ दिदीको मृत्यु हुनुभन्दा केही समयअघि
[पृष्ठ २९-मा भएको चित्र]
सन् १९६० मा बाइबलआधारित भाषणबारे विज्ञापन गर्दै
[पृष्ठ २९-मा भएको चित्र]
अनुवाद कार्यालयमा सहकर्मीहरूसँग