परमेश्वरको नजिक हुनुहोस्
के यहोवाले साँच्चै तपाईंको चासो राख्नुहुन्छ?
एक जना महिलाले भनिन्, “म आफूलाई असाध्यै अयोग्य महसुस गर्छु। त्यसैले म यहोवा परमेश्वरसित नजिक हुन सकेकी छैन।” तिनलाई आफूसित यहोवाको चासो पाउन लायक कुनै कुरा छैन जस्तो लाग्छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ? लाग्छ भने तपाईंको मनमा यस्तो प्रश्न आउँछ होला, ‘के यहोवाले आफ्ना एक-एक जना उपासकको चासो राख्नुहुन्छ?’ पक्कै राख्नुहुन्छ! उहाँले प्रत्येक उपासकको चासो राख्नुभएको कुरा येशूका शब्दहरूबाट थाह पाउँछौं।—यूहन्ना ६:४४ पढ्नुहोस्।
यहोवाको व्यक्तित्व र उहाँको इच्छाबारे येशूलाई जत्तिको राम्ररी अरू कसैलाई थाह छैन। (लूका १०:२२) यहोवालाई यत्तिको राम्ररी चिन्ने येशूले भन्नुभयो: “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।” त्यसकारण यहोवाले हामीलाई नखिच्नुभएसम्म न येशूको चेला बन्न सक्छौं न त यहोवाको उपासक। (२ थिस्सलोनिकी २:१३) येशूको भनाइको अर्थ बुझ्यौं भने परमेश्वरले हामी प्रत्येकलाई कति चासो राख्नुहुन्छ भनेर थाह पाउनेछौं।
यहोवाले हामीलाई खिच्नुको अर्थ के हो? ‘खिच्नु’ भनेर अनुवाद गरिएको ग्रीक क्रिया माछाको जाल तान्ने अर्थ बुझाउन पनि प्रयोग गरिन्छ। (यूहन्ना २१:६, ११) के यहोवाले हामीलाई जबरजस्ती तानेर उहाँको सेवा गर्न लगाउनुहुन्छ? अहँ लगाउनुहुन्न। यहोवाले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ। त्यसैले उहाँ कसैलाई पनि जबरजस्ती गर्नुहुन्न। (व्यवस्था ३०:१९, २०) यहोवा सबैको मन जाँच्नुहुन्छ र आफूसित नजिक हुन चाहने मानिस खोज्नुहुन्छ। (१ इतिहास २८:९) त्यस्तो मानिस भेट्टाएपछि उहाँले मायालु ढङ्गमा कदम चाल्नुहुन्छ। कसरी?
यहोवाले “उचित मनसाय” भएको व्यक्तिलाई बिस्तारै आफूतर्फ खिच्नुहुन्छ। (प्रेषित १३:४८) यहोवाले हामीलाई दुई तरिकामा खिच्नुहुन्छ। एउटा हो, उहाँले “उचित मनसाय” भएको व्यक्तिसम्म बाइबलको सन्देश पुऱ्याउनुहुन्छ। अर्को, पवित्र शक्तिद्वारा मदत गर्नुहुन्छ। यहोवाले पवित्र शक्तिद्वारा बाइबलको सत्य कुरा बुझ्न र त्यसलाई जीवनमा लागू गर्न मदत गर्नुहुन्छ। (१ कोरिन्थी २:११, १२) परमेश्वरको मदतविना न हामी येशूको साँचो चेला बन्न सक्छौं न त यहोवाको समर्पित उपासक।
“यहोवाले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ। त्यसैले उहाँ कसैलाई पनि जबरजस्ती गर्नुहुन्न”
त्यसोभए यहोवा परमेश्वरबारे यूहन्ना ६:४४ मा येशूका शब्दहरूबाट के सिक्न सक्छौं? यहोवा मानिसहरूमा असल कुरा देख्नुहुन्छ र तिनीहरू प्रत्येकको चासो राख्नुहुन्छ। त्यसैले तिनीहरूलाई खिच्नुहुन्छ। यो कुरा बुझेपछि यस लेखको सुरुमा उल्लिखित महिलाले ठूलो सान्त्वना पाइन्। तिनी भन्छिन्: “यहोवाको सेवक हुन पाउनु सबैभन्दा ठूलो सुअवसर हो। यहोवाले मलाई आफ्नो सेवकको रूपमा रोज्नुभयो। म पक्कै उहाँको लागि अनमोल हुनुपर्छ।” के तपाईंलाई पनि उहाँले अनमोल ठान्नुहुन्छ? यहोवा प्रत्येक उपासकको चासो राख्नुहुन्छ भनेर थाह पाएपछि के तपाईं उहाँसित नजिक हुन चाहनुहुन्न र? (w13-E 05/01)
सुझावित बाइबल पढाइ