सिरियाक पेशिट्टा—बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा माध्यम
सन् १८९२ मा जुम्ल्याहा दिदीबहिनी एग्नेस स्मिथ लेवीस र मार्गरेट डनलप गीब्सनले इजिप्टको साइनाइ डाँडाको फेदीमा रहेको सेन्ट क्याथेरिन मठ पुग्नको लागि ऊँटमा नौ दिनसम्म यात्रा गरे। त्यतिखेर मध्यपूर्वतिर यात्रा गर्नु निकै खतरनाक मानिन्थ्यो। तैपनि ५० वर्ष पुग्नै लागेका यी दिदीबहिनीले किन यस्तो खतरनाक यात्रा गरे? यसको जवाफले बाइबल सही छ भन्ने तपाईंको विश्वासलाई अझ बलियो बनाउनेछ।
स्वर्ग फर्कनु अघि येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई उहाँको बारेमा “यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिनू भनी आज्ञा दिनुभएको थियो। (प्रेषित १:८) उहाँका चेलाहरूले जोसिलो र निडर भई साक्षी दिए। तर तिनीहरूले यरूशलेममा घोर विरोधको सामना गर्नुपऱ्यो। यरूशलेमका मानिसहरूले येशूका एक चेला स्तिफनसको हत्या गरे। येशूका थुप्रै चेलाहरू सिरियाको एन्टिओक सहरमा भागे। एन्टिओक सहर यरूशलेमबाट झन्डै ५५० किलोमिटर टाढा उत्तरमा पर्थ्यो र यो सहर रोमन साम्राज्यको सबैभन्दा ठूला सहरहरूमध्ये एउटा थियो।—प्रेषित ११:१९.
एन्टिओकमा पनि चेलाहरूले येशूको “सुसमाचार” प्रचार गरी नै रहे। त्यसैले थुप्रै गैर यहूदीहरूले प्रभुमा विश्वास गर्न थाले। (प्रेषित ११:२०, २१) एन्टिओक सहर भित्र ग्रीक भाषा बोलिन्थ्यो। तर सहर बाहिर र पूरै सिरिया प्रान्तमा भने मानिसहरू सिरियाक भाषा बोल्दथे।
सिरियाक भाषामा ख्रीष्टियन ग्रीक धर्मशास्त्रको अनुवाद
दोस्रो शताब्दीमा सिरियाक भाषा बोल्ने ख्रीष्टियनहरूको सङ्ख्यामा वृद्धि हुन थाल्यो। त्यसैकारण ख्रीष्टियन ग्रीक धर्मशास्त्रलाई तिनीहरूको भाषामा अनुवाद गर्नु आवश्यक पऱ्यो। त्यसैले ख्रीष्टियन ग्रीक धर्मशास्त्रका केही किताबहरू पहिला ल्याटिन भाषामा नभई सिरियाक भाषामा अनुवाद भएका थिए जस्तो देखिन्छ।
इ.सं. १७० तिर सिरियाली लेखक टेशनले (इ.सं. १२०-१७३) मत्तीदेखि यूहन्नासम्मका चार छुट्टा-छुट्टै किताबलाई एउटै बनाएर ग्रीक वा सिरियाक भाषामा दिआटेसारोन भन्ने किताब निकाले। दिआटेसारोन भन्ने ग्रीक शब्दको अर्थ “चार [किताबहरू] मार्फत” हो। पछि गएर सिरियाका एफ्रेमले (इ.सं. ३१०-३७३) दिआटेसारोन-को समालोचना गर्दै एउटा लेख लेखे। यसबाट सिरियाली ख्रीष्टियनहरूमाझ दिआटेसारोन-को प्रयोग सामान्य भइसकेको थियो भनी हामी पक्का हुन सक्छौं।
आज हामीले पनि दिआटेसारोन-मा किन चासो लिनुपर्छ? किनभने उन्नाइसौं शताब्दीका केही शास्त्रविद्ले मत्ती, मर्कूस, लूका र यूहन्नाका किताबहरू दोस्रो शताब्दीको अन्ततिर अर्थात् इ.सं. १३० देखि १७० बीच लेखिएको हो भनी विवाद गर्न थाले। त्यसैले ती किताबहरूमा लेखिएको येशूको जीवनीको विवरण सही हो कि होइन भनी तिनीहरूले शङ्का गरे। तर दिआटेसारोन-को पुराना पाण्डुलिपिहरू भेट्टाइएपछि मत्ती, मर्कूस, लूका र यूहन्नाका किताबहरू दोस्रो शताब्दीको बीचतिरै व्यापक वितरण भइसकेको थियो भन्ने कुरा प्रमाणित भयो। त्यसैले ती किताबहरू दोस्रो शताब्दीको अन्ततिर नभई धेरै पहिल्यै लेखिएको थियो। साथै येशूको जीवनीबारे अरूले पनि किताबहरू लेखेका थिए। तर टेशनले दिआटेसारोन तयार पार्दा ती किताबहरूको नभई मुख्यतया मत्ती, मर्कूस, लूका र यूहन्नाले लेखेका किताबहरूको प्रयोग गरे। त्यसकारण थुप्रैले येशूको जीवनीसम्बन्धी किताबहरू लेखेका भए तापनि ती किताबहरू भरपर्दो वा मान्यता प्राप्त थिएनन् भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं।
पाँचौं शताब्दीको सुरुतिर उत्तर मेसोपोटामियामा सिरियाक भाषामा अनुवाद गरिएको बाइबलको प्रयोग सामान्य हुन थाल्यो। यो अनुवाद दोस्रो वा तेस्रो शताब्दीतिर तयार पारिएको हुनुपर्छ। यसमा २ पत्रुस, २ र ३ यूहन्ना, यहूदा र प्रकाशबाहेक अरू सबै किताबहरू थिए। यसलाई पेशिट्टा भनिन्थ्यो, जसको अर्थ “सरल” वा “स्पष्ट” हो। पेशिट्टा निकै पुरानो बाइबल हो र प्राचीन समयमा बाइबल सन्देश जनसाधारणसम्म कसरी पुऱ्याइन्थ्यो भनेर थाह पाउने एउटा महत्त्वपूर्ण माध्यम हो।
पेशिट्टा-को एउटा पाण्डुलिपिमा इ.सं. ४५९/४६० मिति उल्लेख गरिएको पाइन्छ। त्यसैले पेशिट्टा-लाई मिति प्रस्ट उल्लेख गरिएको सबैभन्दा पुरानो बाइबल पाण्डुलिपि मान्न सकिन्छ। इ.सं. ५०८ मा पेशिट्टा-लाई संशोधन गरियो। अनि त्यसमा पहिला अनुवाद नगरिएका पाँचवटा पुस्तकहरूलाई पनि समावेश गरियो। यसलाई फिलोसेनियन भर्सन भनिन्छ।
थप सिरियाक पाण्डुलिपिहरू भेट्टाइए
उन्नाइसौं शताब्दीसम्म भेट्टाइएका ख्रीष्टियन ग्रीक धर्मशास्त्रका सबै ग्रीक प्रतिहरू लगभग पाँचौं शताब्दी वा त्यसपछिका थिए। त्यसैकारण बाइबलविद्हरू ल्याटिन भल्गेट र सिरियाक पेशिट्टा जस्ता पुराना अनुवादहरूमा विशेष चासो राख्थे। केही मानिसहरूले भने पेशिट्टा अझ पुरानो सिरियाक बाइबलबाट संशोधन गरिएको हो भन्थे। तर पेशिट्टा भन्दा पुरानो सिरियाक अनुवाद त पाइएको थिएन। सिरियाक बाइबलको सुरुवात दोस्रो शताब्दीतिर भएकोले यो बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा महत्त्वपूर्ण माध्यम थियो। साथै यो अनुवाद बाइबलविद्हरूका लागि पनि निकै मूल्यवान् हुनसक्थ्यो! त्यसोभए साँच्चै नै पुराना सिरियाक अनुवादहरू थिए त? के ती पछि फेला परे?
हो, पुराना सिरियाक अनुवादहरू थिए। अनि दुई वटा अमूल्य सिरियाक पाण्डुलिपिहरू फेला परे। पहिलो पाण्डुलिपि पाँचौं शताब्दीको थियो। यो पाण्डुलिपि सन् १८४२ मा इजिप्टको नाइट्रियन मरुभूमिमा रहेको मठबाट बेलायतको सङ्ग्रहालयमा लगिएका थुप्रै सिरियाक पाण्डुलिपिमध्ये एक थियो। सङ्ग्रहालयमा पाण्डुलिपिहरू सुरक्षित राख्ने काम पाएका सहायक विलियम क्युरेटोनले यो पाण्डुलिपि फेला पारेका र प्रकाशित गरेका हुनाले यसको नाउँ क्युरेटोनियन सिरियाक राखियो। यसमा किताबहरूको क्रम यस्तो छ: मत्ती, मर्कूस, यूहन्ना र लूका।
दोस्रो पाण्डुलिपि साइनाइटिक सिरियाक आजको दिनसम्म पनि अस्तित्वमा छ। यो पाण्डुलिपि यस लेखको सुरुमा बताइएको जुम्ल्याहा दिदीबहिनीले गरेको साहसी यात्रासित सम्बन्धित छ। एग्नेसले विश्वविद्यालयको कुनै डिग्री हासिल नगरेको भए तापनि तिनले आठवटा भाषा सिकेकी थिइन्। तीमध्ये एउटा सिरियाक भाषा थियो। सन् १८९२ मा एग्नेसले इजिप्टको सेन्ट क्याथेरिन मठमा एउटा महत्त्वपूर्ण कुरा फेला पारिन्।
तिनले मठको सानो अँध्यारो कोठामा सिरियाक पाण्डुलिपि भेट्टाइन्। तिनका अनुसार “पाण्डुलिपि निकै फोहोर थियो र [सयौं वर्षसम्म पनि] कसैले नखोलेकोले यसका पानाहरू एक आपसमा टाँसिएका थिए।” यस पाण्डुलिपिमा मौलिक अक्षरहरूलाई मेटेर तीमाथि सिरियाक भाषामा स्त्री सन्तहरूको विषयमा लेखिएको थियो। तर एग्नेसले राम्ररी हेर्दा त्यसमुनि मधुरो अक्षरहरू देखिन् र पानाको माथिपट्टि कतै “मत्तीको”, कतै “मर्कूसको” अथवा कतै “लूकाको” जस्ता शब्दहरू लेखिएको पनि देखिन्। तिनको हातमा मत्तीदेखि यूहन्नासम्मका किताबहरूको सम्पूर्ण सिरियाक पाण्डुलिपि थियो! बाइबलविद्हरूका अनुसार यो पाण्डुलिपि चौथो शताब्दीको अन्ततिर लेखिएको हुनसक्छ।
साइनाइटिक सिरियाक पनि कोडेक्स साइनाइटिकस र कोडेक्स भाटिकानस जस्ता अरू ग्रीक पाण्डुलिपिहरू जस्तै बाइबलका महत्त्वपूर्ण पाण्डुलिपिहरू मध्ये एक हो। क्युरेटोनियन र साइनाइटिक पाण्डुलिपि दोस्रो शताब्दीको अन्ततिर वा तेस्रो शताब्दीको सुरुतिरका सिरियाक भाषाको मत्तीदेखि यूहन्नासम्मका किताबहरूको प्रतिहरू हुन् भनी मानिसहरूले स्वीकारेका छन्।
“हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”
के यी पाण्डुलिपिहरू आजका बाइबल विद्यार्थीहरूलाई पनि काम लाग्छ? अवश्य! उदाहरणको लागि मर्कूसको सुसमाचारको किताबलाई लिनुहोस्। धेरैजसो बाइबलमा मर्कूसको सुसमाचार मर्कूस १६:८ मा टुङ्गिन्छ। तर कुनै-कुनै बाइबलमा भने मर्कूस १६:८ पछि अरू विवरण पनि थपिएको पाइन्छ, जसलाई अक्सर लामो समापन भनिन्छ। यो समापन पाँचौं शताब्दीको कोडेक्स अलेक्जेन्ड्रिनस, ल्याटिन भल्गेट र अरू बाइबलमा पनि पाइन्छ। तर चौथो शताब्दीका दुई आधिकारिक ग्रीक पाण्डुलिपिहरू कोडेक्स साइनाइटिकस र कोडेक्स भाटिकानसमा मर्कूसको किताब मर्कूस १६:८ मा नै अन्त हुन्छ। साइनाइटिक सिरियाकमा पनि मर्कूसको लामो समापन पाइँदैन। यी तथ्यहरूले गर्दा लामो समापनको विवरण पछि थपिएको हो र यो सुरुमा लेखिएको मर्कूसको किताबको भाग थिएन भन्ने कुरा प्रमाणित हुन्छ।
अर्को एउटा उदाहरण विचार गरौं। उन्नाइसौं शताब्दीमा प्रायः सबै बाइबल अनुवादको १ यूहन्ना ५:७ मा त्रिएकको शिक्षालाई समर्थन गर्न केही कुरा थपिएको थियो। तर थपिएका कुराहरू न त पुराना ग्रीक पाण्डुलिपिहरूमा छन् न त सिरियाक पेशिट्टा-मै छन्। यी पाण्डुलिपिहरूलाई केलाउँदा १ यूहन्ना ५:७ मा थपिएका कुराहरूले बाइबलको शिक्षालाई बङ्ग्याएको छ भन्ने कुरा स्पष्ट हुन्छ।
प्रतिज्ञा गरे अनुसारै यहोवा परमेश्वरले आफ्नो पवित्र वचनलाई सुरक्षित राख्नु भएको छ। बाइबलले यो कुरामा हामीलाई ढुक्क बनाएको छ: “घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।” (यशैया ४०:८; १ पत्रुस १:२५) थुप्रै बाइबल अनुवादमध्ये पेशिट्टा-को भूमिका सानो भए तापनि यसले बाइबलको सही सन्देश जनसाधारणसम्म पुऱ्याउन भने महत्त्वपूर्ण भूमिका खेलेको छ।