बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
अबचाहिँ म अरूलाई मदत गर्न सक्छु जस्तो लाग्छ
जन्म मिति: सन् १९८१
जन्मस्थान: ग्वाटेमाला
विगतमा: दुःखद बाल्यकाल
मेरो विगत:
मेरो जन्म अकुलमा भयो र यो ग्वाटेमालाको पश्चिमी पहाडी इलाकामा भएको एउटा दुर्गम गाउँ हो। हामी इसिल समुदायका हौँ र यो माया जातिमा पर्छ। म सानैदेखि स्पेनिश भाषा र हाम्रो समुदायको भाषा बोल्थेँ। म जन्मँदा ग्वाटेमालामा गृहयुद्ध चर्किरहेको थियो र यो ३६ वर्ष चल्यो। यस युद्धमा इसिल समुदायका धेरै मानिस मारिए।
म चार वर्ष छँदाको कुरा हो, मेरो सात वर्षका दाइ हातेबम लिएर खेलिरहेका थिए। तर अचानक त्यो पड्कियो। त्यस दुर्घटनामा मेरो दृष्टि गुम्यो तर दुःखको कुरा, मेरो दाइको ज्यानै गयो। त्यसपछि मेरो बाल्यकाल ग्वाटेमाला सहरमा भएको दृष्टिविहीन बालबालिकाको लागि खोलिएको संस्थामा बित्यो। त्यहीँ छँदा मैले ब्रेल सिकेँ। किन हो कुन्नि, त्यहाँका कर्मचारीहरूले मलाई अरू केटाकेटीसित बोल्न दिँदैनथे अनि अरू विद्यार्थीहरू पनि मसित बोल्नै चाहँदैनथे। म सधैँ एक्लो महसुस गर्थेँ। त्यसैले वर्षमा दुई महिना पाउने बिदा कहिले आउँछ भनेर पर्खेर बस्थेँ। किनभने त्यतिबेला म घर फर्केर आमासँगै बस्न पाउँथेँ। उहाँ असाध्यै दयालु हुनुहुन्थ्यो र मलाई धेरै माया गर्नुहुन्थ्यो। तर म १० वर्षको छँदा उहाँ बित्नुभयो। मलाई असाध्यै दुःख लाग्यो। मलाई माया गर्ने उहाँ मात्र हुनुहुन्थ्यो। त्यसैले उहाँ बित्नुहुँदा अब यस संसारमा मेरो कोही छैन जस्तो लाग्यो।
एघार वर्षको छँदा म आफ्नो गाउँ फर्किएँ र मेरो सौतेनी दाइको परिवारसित बस्न थालेँ। उहाँहरूले मेरो राम्रो स्याहारसुसार गर्नुभयो तर मलाई चाहिएको भावनात्मक मदत भने कसैले दिन सकेन। त्यसैले कहिलेकाहीँ म परमेश्वरसित यस्तो बिलौना गर्थेँ: “आमा किन मर्नुभयो? म किन अन्धो हुनुपऱ्यो?” मानिसहरू यस्तो दुःख-पीडा ‘दैवको लीला’ हो भन्ने गर्थे। त्यसैले म यस्तो निष्कर्षमा पुगेँ: परमेश्वरलाई हाम्रो कुनै वास्ता छैन र उहाँ अन्यायी हुनुहुन्छ। म आत्महत्या गर्न चाहन्थेँ तर त्यसो गर्न मसित केही पनि थिएन।
आँखा नदेख्ने भएकोले मेरो सीमितता थियो र भावनात्मक तवरमा पनि असाध्यै कमजोर थिएँ। त्यसैले अरूले मेरो नाजायज फाइदा उठाउँथे। सानो केटो छँदा ममाथि धेरै चोटि यौन दुर्व्यवहार गरियो। मैले ती अपराधहरूबारे कसैलाई भनिनँ किनभने कसैलाई मेरो वास्ता छैन जस्तो लाग्थ्यो। मानिसहरू आकलझुकल मात्र मसित कुरा गर्थे। म पनि कसैसित कुरा गर्दिनथेँ। म निराश थिएँ, चुपचाप एक्लै बस्थेँ अनि कसैलाई भरोसा गर्दिनथेँ।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
म १३ वर्ष छँदाको कुरा हो, स्कुलको ब्रेक-टाइममा यहोवाका दुई जना साक्षी (एक विवाहित दम्पती) मलाई भेट्न आउनुभयो। स्कुलको एक जना शिक्षक मलाई माया गर्नुहुन्थ्यो। उहाँले नै ती दम्पतीलाई मलाई भेट्न भन्नुभएको रहेछ। उहाँहरूले मलाई मरेकाहरू फेरि जीवित हुनेछन् र एकदिन अन्धोले फेरि देख्नेछ भन्ने बाइबलको प्रतिज्ञा सुनाउनुभयो। (यसैया ३५:५; युहन्ना ५:२८, २९) उहाँहरूले सिकाउनुभएको कुरा मलाई राम्रो लाग्यो तर उहाँहरूसित कुराकानी गर्न भने मलाई असाध्यै गाह्रो लाग्थ्यो किनभने म अरूसित त्यत्ति बोल्दिनथेँ। म केही नबोली चुपचाप बसे तापनि उहाँहरूले मलाई माया गर्नुहुन्थ्यो र बाइबलको कुरा सिकाउन मकहाँ आइरहनुभयो। उहाँहरू पहाडहरू छिचोल्दै १० किलोमिटरभन्दा धेरै हिँडेर मेरो गाउँ आउनुहुन्थ्यो।
मेरो सौतेनी दाइले उहाँहरू गरिबजस्तो देखिए पनि सुकिलो लुगा लगाएर आउनुहुन्थ्यो भनेर बताउनुभयो। उहाँहरूले मलाई साँचो माया गरेकोले उपहारहरू पनि ल्याइदिनुहुन्थ्यो। यस्तो आत्मत्याग त साँचो ख्रिष्टियनहरूले मात्र देखाउँछन् जस्तो लाग्यो।
मैले ब्रेल प्रकाशनहरूबाट बाइबल अध्ययन गरेँ। आफूले सिकिरहेको कुरा दिमागले बुझिरहेको त थिएँ तर कुनै-कुनै कुरा भने मनैदेखि स्विकार्न गाह्रो लाग्यो। जस्तै: परमेश्वरले व्यक्तिगत तवरमा मेरो चासो राख्नुहुन्छ र अरूले पनि उहाँले जस्तै मलाई माया गर्न सक्छन् भन्ने कुरा विश्वासै गर्न सकिनँ। यहोवाले अहिले दुष्टता किन रहन दिनुभएको छ भन्ने कुरा मैले बुझेँ तर उहाँ साँच्चै मायालु बुबा हुनुहुन्छ भन्ने कुरा स्विकार्न गाह्रो लाग्यो। a
बाइबलबाट सिक्दै जाँदा मैले बिस्तारै आफ्नो दृष्टिकोण परिवर्तन गर्न सकेँ। जस्तै: दुःख भोगिरहेकाहरूलाई कस्तो लागिरहेको छ भनेर परमेश्वर राम्ररी बुझ्नुहुन्छ भनेर सिकेँ। दुर्व्यवहार भोगिरहेका आफ्ना उपासकहरूबारे परमेश्वरले यसो भन्नुभयो: “मेरो प्रजाको दुःख मैले देखेको छु। . . . तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।” (प्रस्थान ३:७) यहोवाका मन छुने गुणहरूबारे सिक्दै गएपछि भने म उहाँलाई आफ्नो जीवन समर्पण गर्न तयार भएँ। सन् १९९८ मा मैले बप्तिस्मा गरेँ अनि यहोवाको साक्षी बनेँ।
बप्तिस्मा गरेको लगभग एक वर्षपछि मैले एस्क्विन्टला सहरनजिकै दृष्टिविहीनहरूको लागि सञ्चालन गरिएको एउटा कोर्स गरेँ। त्यतिबेला स्थानीय मण्डलीको एक जना एल्डरले मलाई आफ्नो घरबाट सभाहरू जान कत्ति गाह्रो रहेछ भनेर थाह पाउनुभयो। हुन पनि मेरो घरबाट सबैभन्दा नजिकको मण्डलीसम्म पुग्न मलाई बाइबल अध्ययन गराउन आउने दम्पतीले छिचोल्नुपरेको पहाडहरू भएरै जानुपर्थ्यो। यो लामो यात्रा गर्न मलाई असाध्यै गाह्रो थियो। मलाई सजिलो होस् भनेर ती एल्डरले एस्क्विन्टलामा एउटा साक्षी परिवारसित मेरो विषयमा कुरा गर्नुभयो। उहाँहरू मलाई आफ्नो घरमा राख्न र मण्डलीका सभाहरूमा सँगै लैजान चाहनुहुन्थ्यो। आजको दिनसम्म उहाँहरूले मलाई आफ्नै परिवारको सदस्य ठानेर हेरचाह गरिरहनुभएको छ।
मण्डलीका भाइबहिनीले मलाई साँचो प्रेम देखाएको यस्ता थुप्रै अनुभव छन्। यी अनुभवहरूले गर्दा म एक जना यहोवाको साक्षी भएकोले साँचो ख्रिष्टियनहरूको माझमा छु भन्ने कुरामा कुनै शङ्का छैन।—युहन्ना १३:३४, ३५.
मैले कस्तो लाभ उठाएको छु?
मलाई अब आफू बेकारको छु जस्तो लाग्दैन अनि म निराश पनि छैनँ। अहिले मैले अर्थपूर्ण जीवन बिताइरहेको छु। म यहोवाका साक्षीहरूको बाइबलआधारित शैक्षिक कार्यक्रममा पूर्ण-समय सेवा गर्दै छु। त्यसैले आफ्नो शारीरिक कमजोरीमा घोरिएर बस्नुको साटो अरूलाई बाइबलका अनमोल सत्यहरू सिकाउँछु। साथै मण्डलीको एल्डरको रूपमा सेवा गर्ने र स्थानीय मण्डलीहरूमा जनसाधारणको लागि भाषणहरू दिने सुअवसर पाएको छु। यति मात्र होइन, हजारौँ-हजार उपस्थित हुने अधिवेशनहरूमा बाइबलआधारित भाषणहरू दिने सुअवसर पनि पाएको छु।
सन् २०१० मा मैले एल साल्भाडोरमा आयोजना गरिएको मिनिस्टेरियल ट्रेनिङ स्कुलबाट (अहिले राज्य प्रचारकहरूका लागि स्कुल भनिन्छ) स्नातक गरेँ। यो स्कुलले मलाई मण्डलीका जिम्मेवारीहरू अझ राम्ररी पूरा गर्न मदत गऱ्यो। यो तालिम पाउँदा यहोवा परमेश्वरले मलाई असाध्यै मोल गर्नुहुन्छ र माया गर्नुहुन्छ भन्ने महसुस गरेँ किनभने उहाँले जोकोहीलाई पनि आफ्नो कामको लागि योग्य बनाउन सक्नुहुन्छ।
येसुले भन्नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) अहिले म साँच्चै आनन्दित छु। अबचाहिँ म अरूलाई मदत गर्न सक्छु जस्तो लाग्छ, जुन कुरा मलाई पहिला कहिल्यै गर्न सक्छु जस्तो लाग्दैन थियो।
a परमेश्वरले किन दुष्टता रहन दिनुभएको छ भन्ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्।