परमेश्वरले दुःख-कष्ट हुने अनुमति किन दिनुभएको छ
भाग ६
परमेश्वरले दुःख-कष्ट हुने अनुमति किन दिनुभएको छ
१, २. परमेश्वरले दिनुभएको असल सुरुवातलाई हाम्रा प्रथम मातापिताले कसरी बिगारे?
के कुरा बिग्रियो? त्यस्तो के घटना घट्यो जसले गर्दा अदनको बगैंचामा हाम्रा प्रथम माता-पितालाई परमेश्वरले दिनुभएको सुन्दर सुरुवात बिग्रियो? प्रमोदवनको शान्ति र सुव्यवस्थाको सट्टा किन हजारौं वर्षसम्म दुष्टता र दुःख-कष्ट फैलियो?
२ यसको कारण आदम र हव्वाले गरेको आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग थियो। परमेश्वर र उहाँका कानुनहरूभन्दा टाढा रहेर फल्न-फुल्नका निम्ति तिनीहरू सृष्टि भएका थिएनन् भन्ने कुरालाई तिनीहरूले बिर्से। तिनीहरूले परमेश्वरबाट स्वतन्त्र हुने निर्णय गरे र यसले तिनीहरूको जीवनलाई अझ राम्रो बनाउने छ भनी ठाने। अतः परमेश्वरले स्थापित गर्नुभएको स्वतन्त्र इच्छाको सीमाहरूलाई तिनीहरूले नाघे।—उत्पत्ति, अध्याय ३.
विश्व सार्वभौमिकताको विवाद
३-५. परमेश्वरले आदम र हव्वालाई तुरुन्त नाश गरेर किन एउटा नयाँ सुरुवात गर्नुभएन?
३ किन त्यति नै खेर परमेश्वरले आदम र हव्वालाई नाश गरेर फेरि अर्को मानव जोडीद्वारा एउटा नयाँ सुरुवात गर्नुभएन? किनभने उहाँको सार्वभौमिकता अर्थात शासन गर्ने उहाँको अपरिहार्य अधिकारलाई चुनौती दिइएको थियो।
४ प्रश्न थियो: शासन गर्ने अधिकार कसको हो र कसको शासन ठीक छ? सर्वशक्तिमान् र सारा प्राणीहरूको सृष्टिकर्त्ता उहाँ नै हुनुभएको हुनाकारण परमेश्वरसँग तिनीहरूमाथि शासन गर्ने हक छ। उहाँ सर्वज्ञानी भएको हुनाले सबै प्राणीहरूका निम्ति उहाँको शासन उत्तम छ। तर अहिले यहाँ परमेश्वरको शासनलाई चुनौती दिइएको थियो। उहाँको सृष्टि—मानिसमै केही खोट थियो कि? मानव निष्ठा यसमा कसरी सम्मिलित छ भन्ने कुरा हामी पछि जाँच्नेछौं।
५ परमेश्वरबाट मानिस स्वतन्त्र हुँदा एउटा अर्को प्रश्न पनि उठेको थियो: परमेश्वरको शासनको अधीनमा बस्न नपरेमा के मानिसहरूले अझ राम्रो व्यवस्था कायम गर्न सक्थ्यो? निस्सन्देह सृष्टिकर्तालाई यसको उत्तर थाह थियो, तर तिनीहरूले चाहेको पूर्ण स्वतन्त्रता दिनु नै मानिसहरू आफैलाई यो कुरा थाह लगाउन दिने उत्तम तरिका थियो। तिनीहरूले आफ्नो स्वतन्त्र इच्छाको मार्गलाई छाने अतः परमेश्वरले त्यसको अनुमति दिनुभयो।
६, ७. यतिका समयसम्म परमेश्वरले मानिसहरूलाई पूर्ण स्वतन्त्रता किन दिनुभएको?
६ पूर्ण स्वतन्त्रताको अनुभव गर्न मानिसहरूलाई पर्याप्त समय दिनुभएर मानिसहरू आफ्नै शासनको अधीनमा वा परमेश्वरको शासनको अधीनमा सुखी छन् भन्ने कुरालाई परमेश्वरले सदाको लागि प्रमाणित गर्नुहुने थियो। राजनैतिक, औद्योगिक, वैज्ञानिक र चिकित्सा क्षेत्रमा तिनीहरूले चाहेको जस्तो सफलता प्राप्त गर्न मानिसहरूलाई अनुमति दिएको समय पर्याप्त हुनुपर्थ्यो।
७ तसर्थ, परमेश्वरबाट स्वाधीन भएका मानव शासन सफल हुन सक्छ वा सक्दैन भन्ने कुरालाई छर्लङ्गै हुने गरी देखाउन परमेश्वरले आजका दिनसम्म मानिसलाई सम्पूर्ण अधिकार दिनुभएको छ। यसप्रकार मानिस दया र क्रूरता, प्रेम र घृणा, धार्मिकता र पापबीच फैसला गर्न सक्ने भएको छ। तर आफूले गरेका फैसलाहरूको परिणामहरू पनि उसले सामना गर्नुपरेको छ: भलाइ र शान्ति वा दुष्टता र दुःख-कष्ट।
आत्मिक प्राणीहरूको विद्रोह
८, ९. (क) आत्मिकजगत्मा कसरी विद्रोह सुरु भयो? (ख) आदम र हव्वाबाहेक शैतानले अरू कसलाई पनि विरोध गर्न बहकायो?
८ तर विचार गर्नुपर्ने अर्को कुरा पनि छ। परमेश्वरको शासनको विद्रोह गर्ने हाम्रा प्रथम माता-पिता मात्र थिएनन्। त्यसोभए त्यतिबेला अरू को पनि अस्तित्वमा थिए त? आत्मिक प्राणीहरू। परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुभन्दा अघि स्वर्गमा बस्नका लागि उहाँले उच्च स्तरका प्राणी, अनगिन्ती स्वर्गदूतहरू सृष्टि गर्नुभएको थियो। तिनीहरूलाई पनि स्वतन्त्र इच्छा र परमेश्वरको शासनको अधीनमा बस्नुपर्ने आवश्यकताका साथ सृष्टि गरिएको थियो।—अय्यूब ३८:७; भजन १०४:४; प्रकाश ५:११.
९ विद्रोहको सुरुवात सबैभन्दा पहिला आत्मिकजगत्मा भएको थियो भनेर बाइबलले बताउँछ। एक जना आत्मिक प्राणी आफ्नो लागि पूर्ण स्वतन्त्रता चाहन्थ्यो। मानिसहरूले उसको उपासनासमेत गरेको ऊ चाहन्थ्यो। (मत्ती ४:८, ९) आदम र हव्वालाई विद्रोह गर्न लगाउने पनि यही आत्मिक विद्रोही थियो। उसकै प्रभावमा परेर आदम र हव्वाले परमेश्वरले उनीहरूलाई राम्रो कुरादेखि वञ्चित गराउनुभयो भन्ने गलत दोष लगाए। (उत्पत्ति ३:१-५) अतः त्यो दियाबल (झूट बोल्ने) र शैतान (विरोधी) कहलाइयो। पछि अरू आत्मिक प्राणीहरूलाई पनि त्यसले विद्रोह गर्न उक्सायो। साथ दिने यी विद्रोहीहरू प्रेतहरूको रूपमा प्रचलित भए।—व्यवस्था ३२:१७; प्रकाश १२:९; १६:१४.
१०. मानिसहरू र आत्मिक प्राणीहरूको विद्रोहको के परिणाम भयो?
१० परमेश्वरको विद्रोह गरेर मानिसहरूले आफूलाई शैतान र उसको प्रेतहरूको प्रभावमा पर्न दिए। त्यसैकारण त बाइबलले शैतानलाई “यस संसारको देव” भन्दछ, जसले “अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ।” तसर्थ, “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर परमेश्वरको वचनले भन्दछ। स्वयम् येशूले पनि शैतानलाई “यस संसारको मालिक” भन्नुभएको थियो।—२ कोरिन्थी ४:४; १ यूहन्ना ५:१९; यूहन्ना १२:३१.
दुई विवादहरू
११. अरू कुन विवादको सम्बन्धमा पनि शैतानले परमेश्वरलाई चुनौती दियो?
११ परमेश्वरलाई चुनौती दिन शैतानले अर्को विवाद पनि उठायो। भनौं भने मानिसहरूको सृष्टि नै त्रुटिपूर्ण थियो र दबाबमा पर्दा कुनै व्यक्तिले पनि ठीक काम गर्न चाहने छैन भनेर त्यसले परमेश्वरलाई आरोप लगायो। वास्तवमा परीक्षामा पर्दा परमेश्वरलाई तिनीहरूले सराप्ने समेत छन् भनेर त्यसले दावा गऱ्यो। (अय्यूब २:१-५) यसप्रकार मानव सृष्टिको सम्पूर्ण निष्ठामाथि त्यसले प्रश्न उठायो।
१२-१४. शैतानले उठाएका दुई विवादहरूको सत्यतालाई समयले कसरी प्रकट गर्नेछ?
१२ तसर्थ, यस विवाद र परमेश्वरको सार्वभौमिकता सम्बन्धी विवादलाई कसरी समाधान गरिनेछ भन्ने कुरा देखियोस् भनेर परमेश्वरले बौद्धिक प्राणीहरूलाई यथेष्ट समय दिनुभएको छ। (प्रस्थान ९:१६ लाई तुलना गर्नुहोस्।) मानव इतिहासको अन्तिम अनुभवले यी दुई विवादहरूको सत्यतालाई प्रकट गर्नेछ।
१३ प्रथमतः सार्वभौमिकताको विवाद अर्थात् परमेश्वरको शासन गर्ने औचित्यको सम्बन्धमा समयले के प्रकट गर्नेछ? के मानिसहरूले परमेश्वरले भन्दा राम्रोसँग शासन गर्न सक्नेछन्? परमेश्वरबाहेक के अरू कुनै मानव शासन प्रणालीले युद्ध, अपराध र अन्यायबाट मुक्त एउटा आनन्दित संसार ल्याउनेछ? के तीमध्ये कुनैले गरिबीलाई हटाएर सबैका निम्ति सम्पन्नता ल्याउनेछ? के रोग, वृद्धावस्था र मृत्युमाथि तीमध्ये कुनैले विजय प्राप्त गर्नेछ? परमेश्वरको राज्य यी सबै कुराहरू गर्न खडा गरिएको थियो।—उत्पत्ति १:२६-३१.
१४ दोस्रो विवाद अर्थात् मानव सृष्टि कत्तिको ठीक छ भन्ने सम्बन्धमा समयले के देखाउनेछ? मानिसहरूलाई त्यसप्रकार सृष्टि गर्नुमा के परमेश्वरको कुनै गल्ती थियो? परीक्षामा पर्दा के तिनीहरूमध्ये कसैले ठीक काम गर्नेछन् त? स्वतन्त्र मानव शासनको सट्टा परमेश्वरको शासन चाहिन्छ भनेर के कुनै मानिसले देखाउनेछ?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १३-मा भएको चित्र]
आफ्नो सफलताको चरम विन्दुसम्म पुग्न परमेश्वरले मानिसहरूलाई समय दिनुभयो
Shuttle: Based on NASA photo