सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ

यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ

अध्याय अठाह्र

यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ

१, २. (क) दौडमा सफल हुन धावकसित कुन महत्त्वपूर्ण गुण हुनुपर्छ? (ख) प्रेरित पावलले यहोवाको सेवामा बिताएको आफ्नो वफादार सेवालाई कसरी एउटा दौडसित तुलना गरे?

 धावकको दौड सिद्धिनै लागेको छ। ऊ लखतरान भइसकेको छ तर लक्ष्य आफ्नो आँखैअगाडि भएकोले तिनी अन्तिम दुई चार कदम, आफ्नो भएभरको शक्‍ति लगाएर दौडन्छन्‌। आफ्नो एक एक मांसपेशीको बल लगाएर अन्ततः तिनले दौड पूरा गर्छन्‌! उसको अनुहारमा विजय र आनन्दको मुस्कान छचल्कन्छ। अन्तसम्मै दौड पूरा गर्दा सफलता हात परेको छ।

दानियल अध्याय १२ को अन्ततिर हामी प्रिय अगमवक्‍ता दानियलले यहोवाको सेवामा बिताएको जीवन अर्थात्‌ तिनको “दौडको” अन्ततिर पाउँछौं। यहोवाका मसीहीपूर्व सेवकहरूको विश्‍वासको थुप्रै उदाहरण उल्लेख गरिसकेपछि प्रेरित पावलले यसप्रकार लेखे: “हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:१, २.

३. (क) कुन कुराले दानियललाई ‘धीरजसँग दौड्‌न’ उत्प्रेरित गऱ्‍यो? (ख) यहोवाको स्वर्गदूतले दानियललाई कुन तीनवटा खास कुराहरू बताए?

त्यो ‘गवाहीका मेघमा’ दानियल पनि थिए। तिनले “दौड धीरजसँग” दौडे र परमेश्‍वरप्रति गहिरो प्रेमले गर्दा नै त्यसरी दौडन उत्प्रेरित भएका थिए। यहोवाले विश्‍व सरकारहरूको भविष्यबारे दानियललाई धेरै कुरा प्रकट गर्नुभएको थियो तर अब भने उहाँले तिनलाई यस्तो व्यक्‍तिगत प्रोत्साहन दिनुभयो: “तिमीचाहिं अन्तसम्मै आफ्नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ, र त्यसपछि तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खड़ा हुनेछौ।” (दानियल १२:१३, नयाँ संशोधित संस्करण) यहोवाको स्वर्गदूतले दानियललाई तीनवटा खास कुराहरू बताइरहेका थिए: (१) दानियल “अन्तसम्मै आफ्नो बाटो” लाग्नेछन्‌, (२) तिनले “विश्राम” लिनेछन्‌ अनि (३) भविष्यमा फेरि “खडा” हुनेछन्‌। यी शब्दहरूले वर्तमान समयका मसीहीहरूलाई जीवनको दौडमा अन्तसम्मै दौडिरहन कसरी प्रोत्साहन दिनसक्छ?

“अन्तसम्मै आफ्नो बाटो लाग”

४. यहोवाको स्वर्गदूतले “अन्तसम्मै आफ्नो बाटो लाग” भन्‍नुको अर्थ के थियो र यो दानियलको लागि किन चुनौतीपूर्ण भएको हुनसक्छ?

स्वर्गदूतले दानियललाई यसो भन्‍नुको अर्थ के थियो: “अन्तसम्मै आफ्नो बाटो लाग”? केको अन्तसम्मै? दानियल झन्डै १०० वर्ष पुगिसकेको हुँदा यसले तिनको जीवनकै अन्तलाई संकेत गरिरहेको हुनसक्छ र त्यो धेरै टाढा थिएन होला। a स्वर्गदूतले दानियललाई मृत्युसम्मै वफादार रहन आग्रह गरिरहेका थिए। तर त्यसो गर्न सजिलो हुने थिएन। दानियलले बेबिलोनको पराजय र निर्वासित यहूदीहरूमध्ये शेष जनहरू, यहूदा र यरूशलेम फर्केको देखिसकेका थिए। यी घटनाहरूले यस वृद्ध अगमवक्‍तालाई निकै आनन्दित तुल्याएको हुनुपर्छ। तर, निर्वासनबाट फर्कनेहरूमध्ये तिनी पनि थिए भन्‍ने कुनै विवरण पाइँदैन। तिनी त्यतिबेला निकै वृद्ध र कमजोर भइसकेको हुनुपर्छ। अथवा, तिनी बेबिलोनमै रहून्‌ भन्‍ने यहोवाले चाहनुभएको हुनसक्छ। तर जे होस्‌, आफ्ना देशबासीहरू यहूदा फर्केको देख्दा दानियललाई पनि तिनीहरूसँगै फर्कन मन लागेको थियो कि भनी जान्‍ने उत्सुकता जाग्नु स्वाभाविकै हो।

५. दानियलले अन्तसम्मै धैर्य धारण गरे भन्‍ने के संकेत पाइन्छ?

स्वर्गदूतको यो मायालु भनाइबाट दानियलले निकै बल पाएको हुनुपर्छ: “अन्तसम्मै आफ्नो बाटो लाग।” यहाँनेर येशू ख्रीष्टले झन्डै छ शताब्दीपछि भनेका यी शब्दहरू हाम्रो दिमागमा आउनसक्छ: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) निस्सन्देह, दानियलले त्यसै गरे। तिनले अन्तसम्मै धैर्य धारण गरे, जीवनको दौडको अन्तसम्मै वफादार भए। पछि परमेश्‍वरको वचनमा तिनको तारिफ गरिनुको एउटा कारण यही हुनसक्छ। (हिब्रू ११:३२, ३३) अन्तसम्मै धैर्य धारण गर्न दानियललाई कुन कुराले मदत गऱ्‍यो? तिनको जीवनीबारे विचार गर्दा हामी यसको जवाफ पाउन सक्छौं।

परमेश्‍वरको वचनको विद्यार्थी भएर धैर्य धारण गर्ने

६. दानियल, परमेश्‍वरको वचनका जेहनदार विद्यार्थी थिए भनेर हामी कसरी थाह पाउन सक्छौं?

दानियलले अन्तसम्म धैर्य धारण गर्न परमेश्‍वरका रोमाञ्चकारी प्रतिज्ञाहरू अध्ययन गर्नुका साथै त्यसमा गहिरो मनन गर्नुपर्ने थियो। दानियल, परमेश्‍वरको वचनका जेहनदार विद्यार्थी थिए भनेर हामीलाई थाह छ। अन्यथा, यहोवाले यर्मियालाई प्रतिज्ञा गर्नुभएअनुसार निर्वासनको अवधि ७० वर्ष हुनेछ भनेर तिनले कसरी थाह पाउने थिए? दानियल आफैले यस्तो लेखे: “म, दानियलले धर्मशास्त्र पढ़ेर विचार गरिरहेको थिएँ।” (दानियल ९:२; यर्मिया २५:११, १२) दानियलले त्यतिबेला उपलब्ध परमेश्‍वरको वचनका पुस्तकहरू खोजे भन्‍ने कुरामा कुनै शंका छैन। त्यतिबेला उपलब्ध, मोशा, दाऊद, सुलेमान, यशैया, यर्मिया र इजकिएलका पुस्तकहरू दानियलले खोजे अनि यो पढ्‌दा र मनन गर्दा घण्टौंसम्म आनन्द उठाउन सकेको हुनुपर्छ।

७. अहिलेको समयलाई दानियलको समयसित तुलना गर्दा अहिले परमेश्‍वरको वचन अध्ययन गर्न कसरी सजिलो भएको छ?

परमेश्‍वरको वचन अध्ययन गर्नु अनि त्यसमा मग्न हुनु अहिले हामीलाई धैर्य धारण गर्न अत्यावश्‍यक कुराहरू हुन्‌। (रोमी १५:४-६; १ तिमोथी ४:१५) अहिले हामीसित सिंगो बाइबल छ र यसमा दानियलका केही भविष्यवाणीहरू शताब्दीयौंपछि कसरी पूरा भए भनी लेखिएको छ। यसबाहेक, हामीले दानियल १२:४ मा भविष्यवाणी गरिएको “अन्तको समयमा” बाँच्ने सुअवसर पाएका छौं। अहिले अभिषिक्‍त जनहरूले आध्यात्मिक अन्तरदृष्टि पाएर यस अन्धकारमय युगमा सत्यको ज्योतिजस्तै चम्किरहेका छन्‌। फलस्वरूप, दानियलको पुस्तकमा लिपिबद्ध थुप्रै गहन भविष्यवाणीहरू, जसमध्ये कतिपय त तिनी आफैले बुझेनन्‌, ती आज हाम्रोलागि असाध्यै अर्थपूर्ण भएका छन्‌। त्यसकारण, हामी दिनहुँ परमेश्‍वरको वचन अध्ययन गर्न नछोडौं, यी कुराहरूलाई कहिल्यै हल्कासित नलेऔं। यसो गरेर हामीले धैर्य धारण गर्ने मदत पाउनेछौं।

दानियलले प्रार्थना गर्न छोडेनन्‌

८. प्रार्थनाको सन्दर्भमा दानियलले कस्तो उदाहरण बसाले?

प्रार्थनाले पनि दानियललाई अन्तसम्म धैर्य धारण गर्न मदत गऱ्‍यो। तिनी दिनहुँ यहोवा परमेश्‍वरलाई प्रार्थना गरेर पूरा विश्‍वास र भरोसासहित उहाँलाई सबै कुरा पोख्थे। यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ भनेर तिनलाई थाह थियो। (भजन ६५:२; तुलना गर्नुहोस्‌ हिब्रू ११:६) इस्राएलको विद्रोही चालले गर्दा हृदय दुःखित हुँदा दानियलले यहोवालाई आफ्ना भावनाहरू पोखे। (दानियल ९:४-१९) राजा दाराले ३० दिनसम्म तिनलाई मात्र बिन्ती गर्नू भनी आदेश दिए तापनि दानियलले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न छाडेनन्‌। (दानियल ६:१०) प्रार्थना गर्ने विशेष सुअवसरलाई त्याग्नुभन्दा बरु सिंहको खोरमा बस्न रुचाउने वफादार वृद्धको विवरणले के हाम्रो हृदय छुँदैन र? दानियल अन्तसम्मै वफादार रहेर दिनहुँ यहोवालाई प्रार्थना गरे भन्‍ने सन्दर्भमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन।

९. हामीले प्रार्थना गर्ने सुअवसरलाई किन कहिल्यै हल्कासित लिनु हुँदैन?

प्रार्थना, कुनै गाह्रो काम होइन। भनौं भने, हामीले जुनसुकै बेला, जहाँसुकै, मनमनै वा ठूलो स्वरले प्रार्थना गर्नसक्छौं। हामीले यो अनमोल सुअवसरलाई कहिल्यै हल्कासित लिनु हुँदैन। बाइबलले धीरज, सहनशक्‍ति र आध्यात्मिक सजगता कायम राख्न प्रार्थना आवश्‍यक छ भनेर प्रस्ट पारेको छ। (लूका १८:१; रोमी १२:१२; एफिसी ६:१८; कलस्सी ४:२) ब्रह्‍माण्डको सबैभन्दा महान्‌ व्यक्‍तिसित खुला र निर्धक्क भई कुराकानी गर्न सक्नु के एकदमै राम्रो कुरा होइन र? अनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्छ! दानियलले प्रार्थना गरेको अनि यहोवाले त्यसको जवाफमा स्वर्गदूत पठाउनुभएको घटना सम्झनुहोस्‌। दानियल प्रार्थना गरिरहेकै बेला स्वर्गदूत आइपुगे! (दानियल ९:२०, २१) अहिले हाम्रो समयमा त्यसरी स्वर्गदूतहरू नआउलान्‌ तर यहोवा परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६) उहाँले दानियलको प्रार्थना सुन्‍नुभएझैं हाम्रो प्रार्थना पनि सुन्‍नुहुनेछ। अनि प्रार्थना गर्दा हामी यहोवासित घनिष्ठ हुनेछौं अनि दानियलजस्तै उहाँसित नजिक भएर अन्तसम्मै धैर्य धारण गर्न सक्नेछौं।

परमेश्‍वरको वचनको शिक्षकको हैसियतमा धैर्य धारण गर्ने

१०. परमेश्‍वरको वचनको सत्य सिकाउनु दानियलको लागि किन महत्त्वपूर्ण थियो?

१० दानियल अर्को अर्थमा पनि ‘अन्तसम्मै आफ्नो बाटो लाग्नु परेको थियो।’ तिनले सत्यको शिक्षकको हैसियतमा धैर्य धारण गर्नु परेको थियो। आफू छानिएका ती जनहरूमध्ये एक हो, जसबारे धर्मशास्त्रले निम्न कुरा भनेको थियो भनेर तिनले कहिल्यै बिर्सेनन्‌: “परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ।’” (यशैया ४३:१०) यो काम पूरा गर्न दानियलले कुनै कसर बाँकी राखेनन्‌। सम्भवतः तिनले गर्नुपरेका कामहरूमध्ये बेबिलोनको निर्वासनमा परेका आफ्नै जनहरूलाई सिकाउनु पनि थियो होला। हामीलाई दानियलका “मित्रहरू” हनन्याह, मीशाएल र अजर्याहबाहेक अरू सँगी यहूदीहरूसित तिनले कस्तो व्यवहार गरे भनेर थाह छैन। (दानियल १:७; २:१३, १७, १८) आपसी घनिष्ठ मित्रताले तिनीहरू सबैलाई धैर्य धारण गर्न अवश्‍य मदत गरेको हुनुपर्छ। (हितोपदेश १७:१७) यहोवाको आशिष्‌ले गर्दा दानियलले विशेष अन्तर्दृष्टि पाए अनि आफ्ना मित्रहरूलाई धेरै सिकाए। (दानियल १:१७) तर तिनले सिकाउनुपर्ने कुरा अरू पनि थियो।

११. (क) दानियलको कार्यको विशेष पक्ष के थियो? (ख) आफ्नो असामान्य कार्यभार पूरा गर्न दानियल कत्तिको प्रभावकारी भए?

११ दानियलले जति अरू कुनै अगमवक्‍ताले अन्यजातिका पदाधिकारीहरूलाई साक्षी दिनु परेको थिएन। प्रायजसो मानिसहरूले मन नपराउने सन्देश सुनाउनु परे तापनि तिनले यी शासकहरूलाई घृणा गरेनन्‌ वा आफूभन्दा तुच्छ ठानेनन्‌। दानियलले तिनीहरूसित आदरपूर्वक अनि कौशलतासाथ कुरा गरे। दानियललाई खतम पार्न खोज्ने डाही अनि षड्यन्त्रकारी हाकिमहरू नभएका होइनन्‌। यद्यपि, अरू पदाधिकारीहरूले तिनलाई आदर गरे। राजा र ज्ञानी पुरुषहरूले बुझ्न नसकेका रहस्यहरूको अर्थ खुलाउन यहोवाले दानियललाई मदत गर्नुभएको हुँदा यस अगमवक्‍ताले निकै प्रतिष्ठा कमाए। (दानियल २:४७, ४८; ५:२९) हो, उमेर ढल्कँदै जाँदा तिनले जवानीको बेलामा जत्तिको गर्न सकेनन्‌। तर तिनले भित्री हृदयदेखि प्रेम गर्ने परमेश्‍वरको साक्षीको हैसियतमा आफूले सकेजति अन्तसम्मै वफादार भएर सेवा गरे।

१२. (क) हामी मसीहीहरू अहिले कस्तो शिक्षण कार्यमा संलग्न छौं? (ख) “बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ” चल्ने पावलको सल्लाह हामी कसरी पालन गर्नसक्छौं?

१२ दानियल र तिनका तीन जना मित्रहरूले एकअर्कालाई मदत गरेझैं वर्तमान मसीही मण्डलीमा पनि हामीलाई मदत गर्ने वफादार मित्रहरू पाउन सक्छौं। हामी पनि एकअर्कालाई सिकाउँछौं र “आपसमा . . . सान्त्वना” बाँड्‌छौं। (रोमी १:११, १२) दानियलले जस्तै हामीले पनि विश्‍वासमा नहुनेहरूलाई साक्षी दिने जिम्मेवारी पाएका छौं। (मत्ती २४:१४; २८:१९, २०) यसकारण, हामीले आफ्ना सीपहरूलाई तिखार्नुपर्छ र यसो गऱ्‍यौं भने “सत्यको वचनलाई ठीकसँग प्रयोग” गरेर अरूलाई यहोवाबारे बताउन सक्नेछौं। (२ तिमोथी २:१५) अनि प्रेरित पावलको यो सल्लाह पालन गरेर पनि मदत पाउनेछौं: “बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल।” (कलस्सी ४:५) त्यस्तो बुद्धिमानी झल्काउनुमा बेग्लै धर्म मान्‍ने व्यक्‍तिहरूप्रति सन्तुलित दृष्टिकोण राख्नु पनि समावेश छ। हामी ती मानिसहरूलाई तुच्छ अनि आफूलाई चाहिं उच्च ठान्दैनौं। (१ पत्रुस ३:१५) बरु, ती मानिसहरूको हृदयसम्म पुग्न परमेश्‍वरको वचनलाई कौशलतासाथ र निपुणतासाथ प्रयोग गरेर सत्यतर्फ तिनीहरूलाई आकर्षित गर्न चाहन्छौं। अनि कसैको हृदयसम्म पुग्न सक्नु, साह्रै आनन्दको कुरा हो! त्यस्तो आनन्दले हामीलाई दानियलले जस्तै अन्तसम्मै धैर्य धारण गर्न मदत गर्नेछ।

“तिमीले विश्राम गर्नेछौ”

१३, १४. थुप्रै बेबिलोनीहरू मृत्युसित किन डराउँथे र दानियलको भने कस्तो बेग्लै धारणा थियो?

१३ त्यसपछि स्वर्गदूतले दानियललाई यस्तो आश्‍वासन दिए: “तिमीले विश्राम गर्नेछौ।” (दानियल १२:१३) यी शब्दहरूको अर्थ के थियो? दानियललाई आफ्नो जीवन अब धेरै बाँकी छैन भनेर थाह थियो। आदमको समयदेखि अहिले हाम्रो समयसम्म मानिसहरू मृत्युबाट उम्कन सकेका छैनन्‌। त्यसैकारण, बाइबलले मृत्युलाई “शत्रु” भनेको छ। (१ कोरिन्थी १५:२६) तथापि, मृत्युबारे वरपरका बेबिलोनीहरूले जस्तो धारणा राख्थे, दानियलको भने त्योभन्दा एकदमै बेग्लै दृष्टिकोण थियो। लगभग ४,००० जति झूटा देवताहरूको गन्जागोलपूर्ण उपासना गर्ने बेबिलोनीहरू मृत्यु भन्‍ने बित्तिकै असाध्यै डराउँथे। असन्तुष्ट जीवन बिताउने वा हिंस्रक ढंगमा मृत्यु हुनेहरूले मरेपछि बाँचेकाहरूलाई तड्‌पाउनेछन्‌ भनेर तिनीहरू विश्‍वास गर्थे। बेबिलोनीहरू मृतकहरूको डरलाग्दो संसारमा विभत्स राक्षसहरूले मानिस तथा पशुको रूप धारण गरेका हुन्छन्‌ भनेर पनि विश्‍वास गर्थे।

१४ तर दानियलको मृत्युसम्बन्धी यस्तो धारणा पटक्कै थिएन। दानियलको समयभन्दा सयौं वर्षअघि राजा सुलेमानले ईश्‍वरीय प्रेरणा पाएर यसो भनेका थिए: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) अनि मरेकाहरूबारे भजनरचयिताले भजनमा यसो भने: “त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजन १४६:४) अतः स्वर्गदूतले भनेका शब्दहरू साँचो साबित हुनेछन्‌ भनेर दानियललाई थाह थियो। मृत्युको अर्थ विश्राम थियो। कुनै सोचविचार, ग्लानि, सास्ती र राक्षसहरू केही पनि हुनेछैनन्‌। लाजरसको मृत्यु हुँदा येशू ख्रीष्टले यस्तै कुरा व्यक्‍त गर्नुभएको थियो। उहाँले भन्‍नुभयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्‌।”—यूहन्‍ना ११:११.

१५. जन्मेको दिनभन्दा मृत्युको दिन कसरी उत्तम हुनसक्छ?

१५ दानियल मृत्युसित नडराउनुको अर्को कारण पनि विचार गर्नुहोस्‌। परमेश्‍वरको वचन यसो भन्छ: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” (उपदेशक ७:१) शोकको समय अर्थात्‌ मृत्युको दिन कसरी जन्मेको दिनभन्दा उत्तम हुनसक्छ? यहाँ मुख्य कुरा “नाउँ” हो। “सुगन्धित अत्तर” एकदमै महँगो हुनसक्छ। लाजरसकी दिदी मरियमले एक चोटि सुगन्धित तेलले येशूको पाउ मलिन्‌, जसको मोल झन्डै वर्षभरिको ज्याला बराबर थियो! (यूहन्‍ना १२:१-७) एउटा साधारण नाउँ पनि कसरी त्यत्तिको मूल्यवान्‌ हुनसक्छ? उपदेशक ७:१ मा “असल नाउँ” भनिएको छ। नाउँ मात्र होइन तर त्यसले कुन कुरालाई चिनाउँछ, त्यो अनमोल हुन्छ। जन्मने बित्तिकै कुनै ख्याति अथवा असल कामको रेकर्ड हुँदैन। नाउँ धारण गर्ने व्यक्‍तिको व्यक्‍तित्त्व र गुणहरूको सम्झना पनि मानिसहरूसित हुँदैन। तर जीवनको अन्त अर्थात्‌ मृत्यु हुँदा नाउँसँगै यी सबै कुराहरू गाँसिएका हुन्छन्‌। अनि परमेश्‍वरको नजरमा उक्‍त व्यक्‍तिले असल नाउँ कमाएको छ भने त्यो तिनीसित भएको कुनै पनि भौतिक सरसम्पत्तिभन्दा अनमोल हुन्छ।

१६. (क) दानियलले परमेश्‍वरसित असल नाउँ कमाउन कस्तो प्रयास गरे? (ख) यहोवासित असल नाउँ कमाउन सकेकोमा ढुक्क भएर दानियलले किन विश्राम गर्न सक्थे?

१६ परमेश्‍वरसित असल नाउँ कमाउन दानियलले जिन्दगीभर यथाशक्य गरे अनि यहोवाले त्यसलाई बेवास्ता गर्नुभएन। उहाँले दानियललाई हेर्नुभयो र तिनको हृदय केलाउनुभयो। परमेश्‍वरले राजा दाऊदलाई पनि यस्तै गर्नुभएको थियो र तिनले यस्तो भजन गाएका थिए: “हे परमप्रभु, तपाईले मलाई जाँचेर चिन्‍नुभएको छ। तपाईले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्छ, तपाईले टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ।” (भजन १३९:१, २) हो, दानियल सिद्ध थिएनन्‌। तिनी पापी आदमको सन्तान र पापी राष्ट्रको सदस्य थिए। (रोमी ३:२३) तर दानियलले आफ्नो पापको पश्‍चात्ताप गरे अनि परमेश्‍वरसामु धर्मको मार्गमा हिंड्‌ने प्रयास गरिरहे। तसर्थ, यस विश्‍वासी अगमवक्‍ताको पाप यहोवाले क्षमा गर्नुहुनेछ र तिनीप्रति द्वेष राख्नुहुनेछैन भनेर पक्का थियो। (भजन १०३:१०-१४; यशैया १:१८) यहोवाले आफ्ना विश्‍वासी सेवकहरूको असल कार्यहरू बिर्सनुहुन्‍न। (हिब्रू ६:१०) त्यसैकारण, यहोवाको स्वर्गदूतले दानियललाई दुई चोटि “अति प्रिय मानिस” भनेर सम्बोधन गरे। (दानियल १०:११, १९) यसको अर्थ, परमेश्‍वरले दानियललाई प्रिय ठान्‍नुहुन्थ्यो। परमेश्‍वरसित असल नाउँ कमाएको छु भनी ढुक्क भएर दानियलले विश्राम लिन सक्थे।

१७. हामीले अहिल्यै यहोवासित असल नाउँ कमाउनु किन जरुरी छ?

१७ हामी सबैले आफैलाई सोध्न सक्छौं, ‘के मैले यहोवासित असल नाउँ कमाएको छु?’ अहिले हामी बाँचिरहेको समयमा थुप्रै समस्याहरू छन्‌। हाम्रो कुनै पनि बेला मृत्यु हुनसक्छ भनेर मानिलिनु मृत्युसित डराएर थरथर काँप्नु होइन तर व्यावहारिक हुनु हो। (उपदेशक ९:११) तसर्थ, हामी सबैले अहिल्यै कुनै ढिलासुस्ती नगरी परमेश्‍वरसित असल नाउँ कमाउने संकल्प गर्नु अत्यावश्‍यक छ। त्यसो गऱ्‍यौं भने हामी मृत्युसित डराउनु पर्दैन। यो विश्राम लिएको अर्थात्‌ सुतेको जस्तो मात्र हो। अनि निद्राबाट ब्यूँझेझैं मृत्युबाट पनि ब्यूँझनेछौं!

“खडा हुनेछौ”

१८, १९. (क) स्वर्गदूतले दानियल भविष्यमा “खडा” हुनेछन्‌ भनेर के भन्‍न खोजिरहेका थिए? (ख) दानियललाई किन पुनरुत्थानको आशाबारे पहिल्यै थाह भएको हुनुपर्छ?

१८ दानियलको पुस्तकको अन्तमा यहोवाले व्यक्‍तिविशेषलाई गर्नुभएको सबैभन्दा सुन्दर प्रतिज्ञा छ। यहोवाको स्वर्गदूतले दानियललाई यसो भने: “तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खड़ा हुनेछौ।” यहाँ स्वर्गदूतले के भन्‍न खोजिरहेका थिए? भर्खरै छलफल गरेको “विश्राम” मृत्यु भएको हुँदा दानियल पछि ‘खडा हुनेछन्‌’ भन्‍ने प्रतिज्ञाले पुनरुत्थानलाई नै संकेत गरेको हुनुपर्छ! b कोही कोही शास्त्रविद्‌ले हिब्रू धर्मशास्त्रमा पुनरुत्थानबारे प्रथम चोटि स्पष्ट संकेत दिएको दानियल अध्याय १२ मा नै हो भनेका छन्‌। (दानियल १२:२) तर यो कुरा सही होइन। दानियललाई पुनरुत्थानको आशाबारे राम्ररी थाह थियो।

१९ उदाहरणका लागि, यशैयाले दुई शताब्दीअघि लिपिबद्ध गरेका यी शब्दहरू दानियललाई पक्कै पनि थाह थियो: “मरिगएका तपाईंका जनहरू जिउनेछन्‌। तिनीहरूको शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठेर आऊ। . . . अधलोकमा तपाईंले त्यो झार्नुहुनेछ।” (यशैया २६:१९) त्योभन्दा धेरैअघि यहोवाले एलिया र एलिशालाई वास्तवमै पुनरुत्थान गर्ने बल प्रदान गर्नुभएको थियो। (१ राजा १७:१७-२४; २ राजा ४:३२-३७) योभन्दा अझै अघि अगमवक्‍ता शमूएलकी आमाले शिओल अर्थात्‌ चिहानबाट मानिसहरूलाई ब्यूँताउने यहोवाको शक्‍तिलाई मानिलिएकी थिइन्‌। (१ शमूएल २:६) त्योभन्दा अझै अघि, विश्‍वासी अय्यूबले यी शब्दहरूमार्फत आफ्नो आशा व्यक्‍त गरेका थिए: “तर मेरो सेवा जतिसुकै लामो भए तापनि म आशा मार्नेथिइनँ? मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेथिएँ। तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृजनुभएको प्राणीलाई तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो।”—अय्यूब १४:१४, १५.

२०, २१. (क) कुनचाहिं समूहको पुनरुत्थानमा दानियल अवश्‍यै हुनेछन्‌? (ख) प्रमोदवनमा पुनरुत्थान कुन तरिकाले हुनेछ होला?

२० यहोवाले पक्कै पनि भविष्यमा तिनलाई ब्यूँताउन तिर्सना गर्नुहुनेछ भनी अय्यूबजस्तै दानियल पनि ढुक्क हुनसक्ने कारण थियो। तैपनि, पराक्रमी आत्मिक प्राणीले यो आशालाई पुष्टि गरेको सुन्‍न पाउँदा तिनले निकै सान्त्वना पाएको हुनुपर्छ। हो, ख्रीष्टको सहस्र शासनमा “धर्मीहरूका पुनरुत्थान” हुँदा दानियल खडा हुनेछन्‌। (लूका १४:१४) दानियलले त्यतिबेला कस्तो महसुस गर्नेछन्‌? यसबारे परमेश्‍वरको वचनले धेरै कुरा बताउँछ।

२१ यहोवा “गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी १४:३३) त्यसकारण, प्रमोदवनमा पुनरुत्थान व्यवस्थित ढंगमा हुनेछ भन्‍ने कुरा प्रस्ट हुन्छ। सायद आरमागेडोनको केही समयपछि पुनरुत्थान हुन थाल्नेछ। (प्रकाश १६:१४, १६) पुरानो रीतिरिवाजको कुनै चिह्न नरहने गरी हटाइएको हुनेछ अनि मरेकाहरूलाई स्वागत गर्ने तयारी पनि पक्कै भइसकेको हुनेछ। मरेकाहरूको पुनरुत्थान हुने क्रमबारे बाइबल यसो भन्छ: “हरेक आफ्नो आफ्नै क्रमअनुसार।” (१ कोरिन्थी १५:२३) ‘धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुँदा’ पहिला धर्मीहरूको पुनरुत्थान हुन्छ जस्तो देखिन्छ। (प्रेरित २४:१५) यसरी दानियलजस्ता पुरातन समयका विश्‍वासी मानिसहरूले मरेकाबाट ब्यूँताइने लाखौं “अधर्मी” मानिसहरूलाई सिकाउनुको साथसाथै पार्थिव गतिविधिको प्रशासकीय कामकुरामा मदत गर्न सक्नेछन्‌।—भजन ४५:१६.

२२. दानियलले कस्ता प्रश्‍नहरूको जवाफ पाउने उत्कट चाह पक्कै गर्नेछन्‌?

२२ त्यस्ता जिम्मेवारीहरू स्वीकार्न तयार हुनुअघि दानियलले पक्कै पनि केही प्रश्‍नहरू सोध्नेछन्‌। हुन पनि केही गहकिला भविष्यवाणीहरू सुनेपछि तिनले यसो भनेका थिए: “मैले सुन्‍न ता सुनें तर बुझ्नसकिनँ।” (दानियल १२:८) अन्ततः यी गोप्य रहस्यहरूको अर्थ बुझ्न पाउँदा तिनी कत्ति रोमाञ्चित हुनेछन्‌! निस्सन्देह, तिनले मसीहबारे भएभरको कुरा सुन्‍ने इच्छा गर्नेछन्‌। दानियलले थुप्रै कुरा थाह पाउनेछन्‌, जस्तै तिनको समयदेखि अहिले हाम्रो समयसम्मको विश्‍वशक्‍ति, “अन्तको समयमा” सतावट भोग्नुपर्दा अडिग रहने “सर्वोच्चका पवित्र जनहरू[को]” चिनारी अनि परमेश्‍वरको मसीहको राज्यद्वारा सबै मानव राज्यहरूको अन्तिम विनाश इत्यादि।—दानियल २:४४; ७:२२; १२:४.

प्रमोदवनमा दानियलको उत्तराधिकार —अनि तपाईंको पनि!

२३, २४. (क) दानियलको पुनरुत्थान हुने संसार कसरी तिनी बाँचेको संसारभन्दा भिन्‍न हुनेछ? (ख) दानियलले प्रमोदवनमा स्थान पाउनेछन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौं?

२३ दानियलले फेरि जीवन बिताउने संसारबारे सबै कुरा जान्‍न चाहनेछन्‌ जुन संसार तिनको पालाको भन्दा एकदमै भिन्‍न हुनेछ। तिनी बाँचेको संसारमा व्याप्त युद्ध तथा दमन केही पनि हुनेछैन। पीडा, बिमारी, मृत्यु केही हुनेछैन। (यशैया २५:८; ३३:२४) बरु, सबैको लागि प्रशस्त भोजन, आवास र सन्तोषजनक कार्य हुनेछ। (भजन ७२:१६; यशैया ६५:२१, २२) मानवजाति, एकताबद्ध अनि आनन्दित परिवार हुनेछ।

२४ त्यस संसारमा दानियलले पक्कै ठाउँ पाउनेछन्‌। स्वर्गदूतले दानियललाई यसो भने, “तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खड़ा हुनेछौ।” यहाँ “उत्तराधिकार” भनेर अनुवाद गरिएको हिब्रू शब्द र जग्गाजमिनको उत्तराधिकार बुझाउने शब्द एउटै हो। c इस्राएलको पुनर्स्थापित भूमिलाई भाग लगाउने विषयमा इजकिएलको भविष्यवाणी दानियललाई राम्ररी थाह भएको हुनुपर्छ। (इजकिएल ४७:१३-४८:३५) इजकिएलको भविष्यवाणी प्रमोदवनमा पूरा हुँदा के हुनसक्छ भनेर हामी बुझ्नसक्छौं? यही कि, परमेश्‍वरका सबै जनहरूले प्रमोदवनमा ठाउँ पाउनेछन्‌ अनि जग्गाजमिन पनि व्यवस्थित र निष्पक्ष किसिमले भाग लगाइनेछ। निस्सन्देह, दानियलले प्रमोदवनमा पाउने उत्तराधिकार, जमिन मात्र हुनेछैन। परमेश्‍वरको उद्देश्‍य पूर्तिमा पनि तिनको भूमिका रहनेछ। दानियललाई प्रतिज्ञा गरिएको इनाम तिनले पक्कै पाउनेछन्‌।

२५. (क) तपाईं प्रमोदवनमा जीवन बिताउन चाहनुका केही कारण के हुन्‌? (ख) मानिसहरू प्रमोदवनमा बस्नकै लागि बनाइएका थिए भनेर किन भन्‍न सकिन्छ?

२५ तपाईंको उत्तराधिकार नि? तपाईंमाथि पनि यही प्रतिज्ञा लागू हुनसक्छ। आज्ञाकारी मानिसहरू आ-आफ्नो उत्तराधिकार अर्थात्‌ प्रमोदवनमा बस्न “खडा” भएको यहोवा चाहनुहुन्छ। कल्पना गर्नुहोस्‌ त! दानियल र बाइबलकालीन विश्‍वासी पुरुष तथा स्त्रीहरूलाई व्यक्‍तिगत तवरमा भेट्‌न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ! अनि मृत्युबाट ब्यूँताइएकाहरू पनि थुप्रै हुनेछन्‌ र तिनीहरूलाई यहोवा परमेश्‍वरलाई चिन्‍न अनि उहाँलाई प्रेम गर्न निर्देशन दिनु पर्नेछ। हाम्रो पार्थिव घरको हेरचाह गरिरहेको अनि त्यसलाई अनेकन्‌ विविधता र स्थायी सौन्दर्यले भरिएको प्रमोदवनमा परिवर्तन गरिरहेको दृश्‍य कल्पना गर्नुहोस्‌। मानवजाति यहोवाबाट सिकाइएको अनि परमेश्‍वरले चाहनुभएझैं जीवन बिताउन सिकिरहेको कल्पना गर्नुहोस्‌। (यशैया ११:९; यूहन्‍ना ६:४५) हो, प्रमोदवनमा तपाईंको ठाउँ छ। अहिले कसै कसैलाई प्रमोदवन भन्‍ने शब्द अनौठो लाग्ला तर यहोवाले सुरुमा मानिसलाई त्यस्तै ठाउँमा बस्न बनाउनुभएको थियो भनेर नबिर्सनुहोस्‌। (उत्पत्ति २:७-९) त्यस अर्थमा पृथ्वीका अरबौं मानिसहरूको स्वभाविक घर, साँच्चै प्रमोदवन हो। तिनीहरू बस्न बनाइएको ठाउँ नै प्रमोदवन हो। त्यहाँ बस्नु भनेको घर गएझैं हुनेछ।

२६. यस रीतिरिवाजको अन्त हुने समय पर्खनु सजिलो काम होइन भनेर यहोवा कसरी मानिलिनुहुन्छ?

२६ यी सबै कुराहरू सम्झँदा के हाम्रो हृदय मूल्यांकनले भरिंदैन र? के तपाईं त्यहाँ बस्ने तिर्सना गर्नुहुन्‍न र? त्यसैले, यहोवाका साक्षीहरू यो रीतिरिवाजको अन्त कहिले हुनेछ भनेर जान्‍न उत्सुक हुनुको कारण बुझ्न सक्छौं! पर्खनु भनेको सजिलो काम होइन। यहोवाले पनि यो कुरा बुझ्नुभएकोले उहाँ “ढिलो भए तापनि त्यसको बाटो हेर्दै बस” भनी हामीलाई आग्रह गर्नुहुन्छ। उहाँले भन्‍न खोज्नुभएको कुरा हो, हाम्रो दृष्टिकोणमा ढिलो भएजस्तो लाग्ला तर त्यही शास्त्रपदमा यस्तो आश्‍वासन दिइएको छ: “त्यसले ढिलो गर्नेछैन।” (हबकूक २:३; तुलना गर्नुहोस्‌ हितोपदेश १३:१२) हो, तोकिएको समयमै अन्त आउनेछ।

२७. परमेश्‍वरसामु अनन्तसम्म खडा हुन के गर्नुपर्छ?

२७ अन्त नजिकिंदै जाँदा हामीले के गर्नुपर्छ? यहोवाको प्रिय अगमवक्‍ता दानियलजस्तै वफादार भई धैर्य धारण गर्नुहोस्‌। लगनशील भएर परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌। अटुट प्रार्थना गर्नुहोस्‌। सँगी विश्‍वासीहरूसित मायालु सरसंगति गर्नुहोस्‌। जोसका साथ अरूलाई सत्य सिकाउनुहोस्‌। यस दुष्ट रीतिरिवाजको अन्त दिनप्रति दिन नजिक हुँदै गइरहेकोले सर्वोच्चको वफादार सेवक र उहाँको वचनको विश्‍वासी समर्थक रहिरहन कटिबद्ध हुनुहोस्‌। हर हालतमा दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! अनि सार्वभौम परमेश्‍वर यहोवाले उहाँको सामु अनन्तसम्म आनन्दित भएर खडा हुने तपाईंलाई सुअवसर दिऊन्‌!

[फुटनोटहरू]

a सा.यु.पू. ६१७ मा दानियल किशोर छँदै बेबिलोनको निर्वासनमा लगिएको हुनुपर्छ। तिनले कोरेसको शासनको तेस्रो वर्ष अथवा सा.यु.पू. ५३६ मा यो दर्शन देखे।—दानियल १०:१.

b द ब्राउन-ड्राइभर-ब्रिग्स हिब्रू एण्ड इंग्लिश लेक्सिकन-अनुसार “खडा” अर्थ बुझाउने हिब्रू शब्दले “मृत्युपछि पुनर्जागरण” भन्‍ने अर्थ बुझाउँछ।

c यो हिब्रू शब्द “साना ढुंगाहरू” भन्‍ने अर्थ बुझाउने शब्दसित मिल्छ किनभने जमिन भाग लगाउन यस्ता ढुंगाहरू प्रयोग गरिन्थ्यो। (गन्ती २६:५५, ५६) अ ह्‍यान्डबूक अन द बूक अफ डानियल-अनुसार यहाँ यो शब्दको अर्थ “(परमेश्‍वरले) व्यक्‍तिविशेषको लागि छुट्याउनुभएको भाग” हो।

तपाईंले के बुझ्नुभयो?

• अन्तसम्म धैर्य धारण गर्न दानियललाई कुन कुराले मदत गऱ्‍यो?

• दानियल मृत्युसित नडराउनुको कारण के थियो?

• दानियल ‘आफ्नो उत्तराधिकार पाउन खडा हुनेछन्‌’ भन्‍ने स्वर्गदूतको प्रतिज्ञा कसरी पूरा हुनेछ?

• दानियलको भविष्यवाणीमा ध्यान दिएर तपाईंले व्यक्‍तिगत तवरमा कसरी लाभ उठाउनुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३०७-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ३१८-मा भएको चित्र]

दानियलले जस्तै के तपाईं परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहुन्छ?