सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय एघार

आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌

आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌

१. के कस्ता कारणहरूले गर्दा परिवारहरू विभाजित हुनसक्छन्‌?

 धन्य हुन्‌ ती सबै जसको परिवारमा प्रेम, समझदारी तथा शान्ति हुन्छ। तपाईंको परिवारमा पनि अवश्‍य यस्तै होला। तर दुःखको कुरा, आज धेरैको परिवार यस्तो छैन। एउटा न एउटा कारणले गर्दा तिनीहरू विभाजित छन्‌। तर परिवारहरू किन विभाजित हुन्छन्‌? यसका तीन कारण हामी यहाँ छलफल गर्नेछौं। कुनै कुनै परिवारमा सबैको एउटै धर्म हुँदैन। केही परिवारमा भने सबै छोराछोरी एकै आमाबाबुका हुँदैनन्‌। यसबाहेक, जीवन यापन गर्नका लागि संघर्ष गर्नु अथवा भौतिक चीजहरूको लोभ पनि केही परिवारहरूमा फूटको कारण बनेको छ। तर जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्को परिवार विभाजित नहुनसक्छ। यस्तो फरक किन?

२. केही मानिसहरूले पारिवारिक जीवनका लागि कहाँबाट निर्देशन लिने कोसिस गर्छन्‌ तर सबैभन्दा राम्रो निर्देशन कहाँ पाइन्छ?

एउटा कारण दृष्टिकोण हो। अर्को व्यक्‍तिको दृष्टिकोण राम्ररी बुझ्ने कोसिस गर्नुभयो भने सम्भवतः परिवारमा एकता कायम राख्न पनि सिक्नुहुन्छ। दोस्रो कारण हो, तपाईंलाई सल्लाह दिने व्यक्‍ति। धेरैले सहकर्मीहरू, छिमेकीहरू र स्तम्भकारहरूले दिने अथवा अन्य मानव पुस्तकहरूमा पाइने सल्लाह मान्‍ने गर्छन्‌। तथापि, केहीले चाहिं परमेश्‍वरको वचनमा तिनीहरूको स्थितिबारे के भनिएको छ, त्यो सिकेर प्रयोगमा ल्याएका छन्‌। तर यसबाट परिवारमा शान्ति कायम राख्न कसरी मदत पाउन सकिन्छ?—२ तिमोथी ३:१६, १७.

तपाईंको पतिको बेग्लै धार्मिक विश्‍वास छ भने

३. (क) बेग्लै धार्मिक विश्‍वास हुने व्यक्‍तिसित विवाह गर्ने सम्बन्धमा बाइबलको सल्लाह के छ? (ख) पतिपत्नीबीच एक जना विश्‍वासमा हुँदा र अर्को नहुँदा लागू हुने केही आधारभूत सिद्धान्तहरू के हुन्‌?

बेग्लै धर्म मान्‍ने व्यक्‍तिसित विवाह नगर्नू भनी बाइबलमा कडा सल्लाह दिइएको छ। (व्यवस्था ७:३, ४; १ कोरिन्थी ७:३९) तथापि, तपाईंले आफ्नो विवाहपश्‍चात्‌ मात्र सत्य सिक्नुभएको होला र तपाईंको पतिले चाहिं सिकेका छैनन्‌ होला। तब के गर्ने? निस्सन्देह, त्यसो हुँदैमा विवाहको वाचा रद्द हुँदैन। (१ कोरिन्थी ७:१०) बाइबलमा वैवाहिक सम्बन्धको स्थायित्वमाथि जोड दिएको छ। विवाहित मानिसहरू आफ्ना भिन्‍नताहरूको कारण अलग्गिनुभन्दा भिन्‍नताहरू मेटाउने उपदेश बाइबलले दिन्छ। (एफिसी ५:२८-३१; तितस २:४, ५) तर तपाईंले बाइबलको धर्म मान्दा तपाईंको पतिले घोर विरोध गर्छन्‌ भने नि? तपाईं मण्डलीका सभाहरूमा जानु हुँदा उनले तपाईंलाई रोक्न खोज्लान्‌। अथवा आफ्नी पत्नी अरूको घर-घर जाँदै धर्मबारे कुरा गरेको उनलाई मन पर्दैन होला। तपाईं के गर्नुहुन्छ?

४. पतिको बेग्लै धार्मिक विश्‍वास छ भने पत्नीले कसरी समानुभूति दर्साउनसक्छिन्‌?

आफैलाई सोध्नुहोस्‌, ‘मेरो पतिलाई यस्तो किन लाग्छ?’ (हितोपदेश १६:२०, २३) तपाईं के गर्नु हुँदैछ, उनले राम्ररी नबुझेका हुनसक्छन्‌। शायद यसैकारण उनी तपाईंबारे चिन्तित छन्‌। अथवा तिनीहरूका लागि महत्त्व राख्ने केही प्रथाहरूमा तपाईंले उप्रान्त भाग नलिनुभएकोले उनलाई नातेदारहरूले दबाब दिएका हुनसक्छन्‌। “घरमा एक्लै बस्नुपर्दा म आफूलाई त्यजित महसुस गर्थें” भनी एक जना पतिले भने। धर्मले गर्दा आफ्नी पत्नी छिनिएको जस्तो उनलाई लाग्थ्यो। तर घमण्डको कारण उनले आफ्नो एकाकीपन व्यक्‍त गरेनन्‌। अतः तपाईंले अब यहोवालाई प्रेम गर्नु भए तापनि पतिप्रति आफ्नो प्रेम घटेको छैन भनी उनलाई निश्‍चिन्त पार्नुपर्छ। उनीसित समय बिताउनुपर्छ।

५. पतिको बेग्लै धार्मिक विश्‍वास छ भने पत्नीले कुन कुन कुरामा सन्तुलन कायम राख्नुपर्छ?

तथापि, परिस्थितिसित निपुणतासाथ सामना गर्ने हो भने अझ एउटा कुरालाई ध्यान दिनु जरुरी छ। परमेश्‍वरको वचनले पत्नीहरूलाई यो आग्रह गर्छ: “ए पत्नी हो, प्रभुमा खुल्ने जस्तैगरी पतिका अधीनमा बस।” (कलस्सी ३:१८) अर्थात्‌ स्वाधीनताको भावदेखि होशियार रहनुपर्छ। साथै, “प्रभुमा खुल्ने जस्तैगरी” भन्‍नाले पतिको अधीनमा बस्दा प्रभुको पनि अधीनमा बस्न बिर्सनु भएन। सन्तुलन कायम राख्नुपर्छ।

६. मसीही पत्नीले कुन कुन सिद्धान्तलाई ध्यानमा राख्नुपर्छ?

एक जना मसीहीका लागि मण्डलीका सभाहरू धाउनु र बाइबलमा आधारित आफ्नो विश्‍वासबारे अरूलाई साक्षी दिनु साँचो उपासनाका अभिन्‍न भागहरू हुन्‌। यी कुराहरूको उपेक्षा गर्नु मिल्दैन। (रोमी १०:९, १०, १४; हिब्रू १०:२४, २५) अतः कुनै मानवले तपाईंलाई परमेश्‍वरको निर्दिष्ट आवश्‍यकताअनुरूप नचल्ने आज्ञा दिएमा तपाईं के गर्नुहुन्छ? येशू ख्रीष्टका प्रेरितहरूले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) तिनीहरूको यो उदाहरण जीवनका सबै परिस्थितिहरूमा लागू हुन्छ। यहोवालाई प्रेम गर्नुहुन्छ भने के तपाईं उहाँको हक लाग्ने भक्‍ति उहाँलाई चढाउनुहुन्छ? साथै, पतिसित पनि प्रेम गर्नुहुन्छ, उनलाई आदर गर्नुहुन्छ भने के तपाईं सकेसम्म उनलाई रीस नउठ्‌ने गरी यहोवालाई ऐकान्तिक भक्‍ति चढाउने कोसिस गर्नुहुन्छ?—मत्ती ४:१०; १ यूहन्‍ना ५:३.

७. मसीही पत्नीले के अठोट गरेकी हुनुपर्छ?

तर यसो गर्नु सधैं सम्भव हुँदैन भनी येशूले स्वीकार्नुभयो। साँचो उपासनाको विरोध गरिनेछ तथा विश्‍वासमा भएका सदस्यहरू र परिवारका बाँकी सदस्यहरूबीच फाटो आउनेछ भनी येशूले चेताउनी दिनुभयो। (मत्ती १०:३४-३६) जापानमा बस्ने एउटी स्त्रीले यस्तै अनुभव गरिन्‌। पतिले ११ वर्षसम्म विरोध गऱ्‍यो। तिनले पत्नीसित कठोरतासाथ दुर्व्यवहार गरे र कैयौं पटक तिनलाई घरभित्र आउन दिएनन्‌। तर पत्नीले धैर्य धारण गरिन्‌। मसीही मण्डलीका साथीहरूले तिनलाई सहायता गरे। तिनी प्रार्थनामा लागिरहिन्‌ र १ पत्रुस २:२० बाट ठूलो प्रोत्साहन पाउन सकिन्‌। यस मसीही स्त्री कतिसम्म विश्‍वस्त थिइन्‌ भने आफू दृढ भएमा एक दिन पतिले पनि निश्‍चय यहोवाको सेवा गर्नेछन्‌ भन्‍ने तिनको विश्‍वास थियो। र पतिले अन्ततः त्यस्तै गरे।

८, ९. पत्नीले पतिलाई अनावश्‍यक निहुँ खोज्ने मौका कसरी दिनु हुँदैन?

आफ्नो पति वा पत्नीको मनोवृत्तिलाई प्रभावित पार्न अनेक कुरा गर्न सकिन्छ। उदाहरणका लागि, पतिलाई तपाईंको धर्म मन परेको छैन भने उनलाई अरू क्षेत्रहरूमा दोष भेट्टाउने मौका नदिनुहोस्‌। घरलाई सफासुग्घर राख्नुहोस्‌। आफ्नो कोरीबाटी, पहिरन, श्रृंगार इत्यादिलाई ध्यान दिनुहोस्‌। प्रशस्त मात्रामा माया र मूल्यांकन व्यक्‍त गर्नुहोस्‌। आलोचना गर्नुको साटो समर्थन जनाउनुहोस्‌। तपाईं उनको अगुवाइ चाहनुहुन्छ भनी प्रदर्शित गर्नुहोस्‌। तपाईंमाथि अन्याय भएको जस्तो लागे तापनि बदला लिन नखोज्नुहोस्‌। (१ पत्रुस २:२१, २३) मानव असिद्धताका कारण हुने गल्तीहरू वास्ता नगर्नुहोस्‌। आपसमा कुनै विवाद हुँदा प्रथमतः तपाईं नै माफी माग्नुहोस्‌।—एफिसी ४:२६.

तपाईं सभा धाउनुभएको कारण उनलाई खाना दिन अबेर नहोस्‌। मसीही सेवकाईमा पनि शायद उनी घर नभएको बेलामा जाने प्रबन्ध मिलाउन सक्नुहुन्छ। पतिलाई मन नपरेको खण्डमा मसीही पत्नीले पतिलाई प्रचार गर्नु बुद्धिमानी कुरा होइन। बरु तिनले प्रेरित पत्रुसको यो सल्लाह मान्‍न सक्छिन्‌: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।” (१ पत्रुस ३:१, २) मसीही पत्नीहरू परमेश्‍वरको आत्माको फल पूर्णतः प्रदर्शित गर्ने कोसिस गर्छन्‌।—गलाती ५:२२, २३.

पत्नीको धार्मिक विश्‍वास बेग्लै हुँदा

१०. विश्‍वासमा भएको पतिले बेग्लै धार्मिक विश्‍वास हुने पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ?

१० तर पति मसीही हो र पत्नी होइन भने नि? यस्तो बेलाका लागि पनि बाइबलमा निर्देशन दिएको छ। बाइबल भन्छ: “कुनै ख्रीष्टियानको [भाइको, NW] विश्‍वास नगर्ने पत्नी छ, र त्यो उसित बस्न चाहन्छे भने उसले त्यसलाई नछोडोस्‌।” (१ कोरिन्थी ७:१२) त्यहाँ बाइबलले पतिहरूलाई यो पनि आग्रह गर्छ: “ए पति हो, पत्नीलाई प्रेम गर।”—कलस्सी ३:१९.

११. पत्नीको धार्मिक विश्‍वास बेग्लै छ भने पतिले कसरी समझदारी तथा चतुऱ्‍याइँपूर्वक अगुवाइ गर्नसक्छन्‌?

११ आफ्नी पत्नीको बेग्लै धार्मिक विश्‍वास छ भने पत्नीलाई आदर देखाउन र तिनका भावनाहरूको कदर गर्न तपाईंले विशेष ध्यान दिनुपर्छ। तिनी वयस्क हुन्‌। तपाईं सहमत हुनुहोस्‌ या नहुनुहोस्‌, तिनले आफ्नो रुचिको धर्म मान्‍न पाउनुपर्छ। तपाईंले प्रथम पटक आफ्नो विश्‍वास प्रकट गर्नु हुँदैमा तिनले धेरै समयदेखि मान्दै आएको धर्म त्यागेर तपाईंको नयाँ विचार स्वीकारी हाल्छिन्‌ भनी नठान्‍नुहोस्‌। तिनी र तिनको परिवारले धेरै समयदेखि मान्दै आएका धार्मिक प्रथाहरू सबै झूटा हुन्‌ भनी च्वाट्टै भन्‍नुको साटो तिनीसित धर्मशास्त्रको आधारमा धैर्यपूर्वक छलफल गर्ने कोसिस गर्नुहोस्‌। तपाईं मण्डलीका गतिविधिहरूमा व्यस्त हुनुहुँदा सम्भवतः आफ्नो हेलचक्य्राइँ भएको जस्तो तिनलाई लाग्ला। बाहिरबाट हेर्दा त यहोवाको सेवा गर्ने तपाईंका प्रयासहरूको तिनले विरोध गरेको जस्तो देखिएला। तर वास्तवमा भने तिनले तपाईंलाई “मसित अझ समय बिताउने गर्नुहोस्‌!” मात्र भन्‍न खोजेकी हुनसक्छिन्‌। अतः धैर्य गर्नुहोस्‌। तपाईंको प्रेमपूर्ण विवेकद्वारा तिनले अन्ततः साँचो उपासना अपनाउने मदत पाउनसक्छिन्‌।—कलस्सी ३:१२-१४; १ पत्रुस ३:८, ९.

छोराछोरीको प्रशिक्षण

१२. पतिपत्नीको धार्मिक विश्‍वास बेग्लाबेग्लै भए तापनि छोराछोरीलाई मिलेर प्रशिक्षण दिंदा कसरी धर्मशास्त्रीय सिद्धान्तहरू लागू गर्न सकिन्छ?

१२ जुन परिवार एउटै उपासनामा एकताबद्ध हुँदैन, त्यहाँ छोराछोरीको धार्मिक प्रशिक्षणबारे कहिलेकाहीं विवाद उठ्‌नसक्छ। यस्तो हुँदा धर्मशास्त्रीय सिद्धान्तहरू कसरी प्रयोगमा ल्याउन सकिन्छ? छोराछोरीलाई प्रशिक्षण दिने जिम्मेवारी धर्मशास्त्रअनुसार मुख्यतः बुबाको हो। तर यसमा आमाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। (हितोपदेश १:८; तुलना गर्नुहोस्‌ उत्पत्ति १८:१९; व्यवस्था ११:१८, १९) ख्रीष्टको अगुवाइ नस्वीकारे तापनि बुबा परिवारको शिर नै हुन्छन्‌।

१३, १४. छोराछोरी लिएर मसीही सभा धाउन वा तिनीहरूसित अध्ययन गर्न पतिले नदिएमा पत्नीले के गर्नसक्छिन्‌?

१३ केही गैरविश्‍वासी बुबाहरूले छोरीछोरीलाई आमाबाट धार्मिक प्रशिक्षण लिन दिन्छन्‌। तर केहीले आपत्ति जनाउँछन्‌। तपाईंको पतिले तपाईंलाई छोराछोरी लिएर मण्डलीका सभाहरूमा जान अथवा तिनीहरूसित बाइबल अध्ययन गर्न मनाही गरेमा तपाईं के गर्नुहुन्छ? यहाँ तपाईंले यहोवा परमेश्‍वरप्रति, पतिप्रति र प्रिय छोराछोरीप्रति निर्वाह गर्नुपर्ने सबै जिम्मेवारीमध्ये कुनैलाई हेलचक्य्राइँ नगरिकन निर्वाह गर्नुपर्छ। तर यो तपाईं कसरी गर्न सक्नुहुन्छ?

१४ तपाईंले निश्‍चय यसबारे प्रार्थना गर्नुहुनेछ। (फिलिप्पी ४:६, ७; १ यूहन्‍ना ५:१४) तर अन्ततः कुन कदम चाल्ने हो, यसको फैसला स्वयं तपाईंले गर्नुपर्छ। तपाईंले पतिको अगुवाइलाई चुनौती दिनुभएको होइन भनी सुरुमै चतुऱ्‍याइँपूर्वक बताउनुभयो भने उनको विरोध कम हुनसक्छ। छोराछोरीलाई सभाहरूमा लैजान अथवा तिनीहरूसित औपचारिक बाइबल अध्ययन गर्न पाउनुभएन भने पनि तिनीहरूलाई सिकाउन सक्नुहुन्छ। तिनीहरूसित गरिने दैनिक कुराकानी र आफ्नो राम्रो उदाहरणद्वारा तपाईंले तिनीहरूलाई यहोवालाई प्रेम, उहाँको वचनमाथि विश्‍वास, आफ्नो आमा तथा बुबासमेतको आदर, अरूहरूको माया र परिश्रमको कदर गर्न सिकाउन सक्नुहुन्छ। अन्ततः बुबाले यसको राम्रो परिणाम देखेर तपाईंको प्रयासको प्रशंसा गर्नसक्छन्‌।—हितोपदेश २३:२४.

१५. छोराछोरीलाई शिक्षा दिने सम्बन्धमा मसीही बुबाको जिम्मेवारी के हो?

१५ तर तपाईं विश्‍वासमा हुनुहुने पति हुनुहुन्छ र तपाईंकी पत्नी चाहिं विश्‍वास गर्दिनन्‌ भने, छोराछोरीलाई “प्रभुको शिक्षा र चे[ता]उनीमा पालनपोषण” गर्ने जिम्मेवारी तपाईंले पूरा गर्नुपर्छ। (एफिसी ६:४) तर यसो गर्दा तपाईंले पत्नीसित दया, प्रेम तथा विवेकसाथ व्यवहार गर्न बिर्सनु हुँदैन।

तपाईंको आमाबाबुको धर्म बेग्लै छ भने

१६, १७. आफ्नो आमाबाबुको भन्दा बेग्लै धर्म अपनाउने छोराछोरीले बाइबलको कुन सिद्धान्त बिर्सनु हुँदैन?

१६ आजभोलि थुप्रै नाबालिगहरूले समेत आमाबाबुको भन्दा बेग्लै धर्म अपनाउन थालेका छन्‌। के तपाईंले पनि यसो गर्नुभएको छ? गर्नुभएको छ भने, बाइबलमा तपाईंका लागि सल्लाह छ।

१७ परमेश्‍वरको वचन भन्छ: “प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित हो। आफ्ना बाबु र आमाको मान गर।” (एफिसी ६:१, २) यसको अर्थ आमाबाबुको उचित आदर गर्नु हो। तथापि, आमाबाबुको आज्ञा पालन गर्नु महत्त्वपूर्ण भए तापनि त्यसले गर्दा साँचो परमेश्‍वरको अवहेलना चाहिं पटक्कै हुनु हुँदैन। बच्चा निर्णय लिनसक्ने उमेरको भएपछि आफूले गरेका कामहरूका लागि ऊ जिम्मेवार हुन थाल्छ। यस कुरालाई सांसारिक कानुनमा मात्र होइन, ईश्‍वरीय नियममा पनि खास मान्यता दिएको छ। बाइबल भन्छ: “यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.

१८, १९. आमाबाबुको भन्दा बेग्लै धर्म हुने छोराछोरीले आमाबाबुलाई आफ्नो नयाँ धर्म राम्ररी बुझ्ने मदत कसरी दिनसक्छन्‌?

१८ आफूले विश्‍वास गर्ने कुराहरूको कारण जीवनमा परिवर्तन ल्याउनु पऱ्‍यो भने, आफ्नो आमाबाबुको पनि दृष्टिकोण बुझ्ने कोसिस गर्नुहोस्‌। बाइबल सिद्धान्तहरू सिकेर तथा तिनलाई प्रयोगमा ल्याएर तपाईं अझ आदरपूर्ण, आज्ञाकारी र उहाँहरूले अह्राएको काममा मेहनती हुनुभयो भने उहाँहरू निश्‍चय प्रसन्‍न हुनेछन्‌। तथापि, बाबुबाजेदेखि चलिआएको परम्परालाई पनि तपाईंले कायम राखेको देख्न उहाँहरू इच्छुक हुन्छन्‌। तसर्थ नयाँ धर्म अपनाएर उहाँहरूले मान्दै आउनुभएका धार्मिक प्रथाहरू तिरस्कार गर्दा उहाँहरूको परम्परालाई होच्याए सरह लाग्नसक्छ। साथै, तपाईंले अपनाउनुभएको मार्ग समाजमा लोकप्रिय छैन अथवा भौतिक लाभ गराउने गतिविधिबाट तपाईंको ध्यान विकर्षण गर्छ भने पनि उहाँहरू विचलित हुन सक्नुहुन्छ। घमण्ड अर्को बाधा हुनसक्छ। उहाँहरूको विचारमा शायद तपाईंले आफूलाई ठीक र उहाँहरूलाई गलत साबित गर्न खोजेको जस्तो लाग्ला।

१९ यसकारण सकेसम्म चाँडो आफ्नो आमाबाबुसित स्थानीय मण्डलीका प्राचीनहरू तथा अन्य परिपक्व साक्षीहरूको भेट गराइ दिने प्रबन्ध मिलाइ हाल्नुहोस्‌। आमाबाबुलाई राज्य भवनमा आउन प्रोत्साहित गर्नुहोस्‌। त्यहाँ के के छलफल हुन्छ र यहोवाका साक्षीहरू कस्ता मानिसहरू हुन्‌, उहाँहरूले स्वयं सुन्‍न तथा देख्न सकून्‌। समयमा तपाईंको आमाबाबुको मन पग्लिनसक्छ। तर केही आमाबाबु कट्टर हुन्छन्‌। बाइबल साहित्य नष्ट गरिदिन्छन्‌ र छोराछोरीलाई मसीही सभाहरू धाउन निषेध गर्छन्‌। तर यस्तो हुँदा पनि अन्य ठाउँ गएर पढ्‌न, सँगी मसीहीहरूसित कुरा गर्न र अरूलाई अनौपचारिक रीतिले मदत दिन सकिन्छ। तपाईंले यहोवालाई प्रार्थना पनि गर्न सक्नुहुन्छ। केही जवान मानिसहरू बालिग भएपछि मात्र घर छाड्‌न तथा कुनै ठोस कदम चाल्नसक्छन्‌। अतः तिनीहरूले पर्खनुपर्ने हुन्छ। तर घरमा स्थिति जस्तोसुकै होस्‌, “बाबु र आमाको मान” गर्न नबिर्सनुहोस्‌। यथासम्भव घरमा शान्ति कायम गर्ने कोसिस गर्नुहोस्‌। (रोमी १२:१७, १८) तर प्रथमतः परमेश्‍वरसित शान्ति कायम राख्नुहोस्‌।

सौतिनी आमाबाबु हुने चुनौती

२०. आफ्नो सौतिनी आमा वा बुबाप्रति छोराछोरीको कस्तो विचार हुनसक्छ?

२० थुप्रै परिवारहरूमा सबैभन्दा ठूलो चुनौती धार्मिक भिन्‍नता होइन। सौतिनी नाता हो। आज थुप्रै परिवारहरूमा आमा वा बुबा वा दुवैको झट्‌केली छोराछोरी हुन्छन्‌। यस्तो परिवारमा छोराछोरीले डाह, क्रोध अथवा वफादारीसम्बन्धी द्वन्द अनुभव गर्नसक्छन्‌। फलतः सौतिनी आमा वा बुबाका निष्कपट प्रयासहरूलाई केटाकेटीले तिरस्कार गर्नसक्छन्‌। त्यसो भए सौतिनी परिवार कसरी सुखी हुनसक्छन्‌?

तपाईं जन्म दिने आमाबुबा वा सौतिनी आमाबुबा जे नै भए तापनि बाइबलको निर्देशनमा भर गर्नुहोस्‌

२१. आफ्नो परिवारको अति नै बेग्लै परिस्थितिको बावजूद सौतिनी आमाबाबुले बाइबलकै सिद्धान्तहरूबाट मदत लिनु किन उचित हो?

२१ हो, आमपरिवारहरूभन्दा सौतिनी परिवार बेग्लै हुन्छ। तर अरू परिवारहरूमा लागू हुने बाइबल-सिद्धान्तहरू सौतिनी परिवारमा पनि लागू हुन्छ भनेर मानि लिनुहोस्‌। ती सिद्धान्तहरूको उपेक्षा गर्दा समस्या समाधान भएको जस्तो लागे तापनि नतिजा दुःखदायी हुनसक्छ। (भजन १२७:१; हितोपदेश २९:१५) बरु बुद्धि र समझशक्‍ति अर्थात्‌ दीर्घकालीन लाभलाई ध्यानमा राखेर ईश्‍वरीय सिद्धान्त प्रयोग गर्ने बुद्धि र परिवारका सदस्यहरूले भन्‍ने तथा गर्ने कुरा पछाडि लुकेको कारण बुझ्ने समझशक्‍ति बढाउने प्रयास गर्नुहोस्‌। साथै, समानुभूति पनि आवश्‍यक हुन्छ।—हितोपदेश १६:२१; २४:३; १ पत्रुस ३:८.

२२. छोराछोरीलाई सौतिनी आमा वा बुबा स्वीकार्न किन गाह्रो हुनसक्छ?

२२ तपाईं सौतिनी आमा वा बुबा हुनुहुन्छ भने शायद केही समयअघि यस परिवारको मित्र मात्र हुनुहुँदा छोराछोरीले मित्रैलो व्यवहार गरेका हुनसक्छन्‌। तर तिनीहरूको सौतिनी आमा वा बुबा हुने बित्तिकै तिनीहरूको मनोवृत्ति बदलिएको हुनसक्छ। तिनीहरू आफ्नो जन्मदाताको सम्झनाले पीडित होलान्‌। तिनीहरू भावनात्मक दोधारमा अल्झेका हुनसक्छन्‌। आफ्नो जन्मदातालाई दिने माया तपाईंले खोस्नुहुँदैछ भनी तिनीहरू ठान्‍नसक्छन्‌। कुनै बेला त तिनीहरूले सोझै तपाईं तिनीहरूको आमा वा बुबा होइन पनि भन्‍नसक्छन्‌। यस्तो कुराले चित्त दुखाउँछ। तापनि “रीस देखाउन छिटो” नगर्नुहोस्‌। (उपदेशक ७:९) केटाकेटीका भावनाहरूसित सामना गर्नुपर्दा समझ तथा समानुभूति चाहिन्छ।

२३. सौतिनी छोराछोरी भएको परिवारमा अनुशासन कसरी दिन सकिन्छ?

२३ यी गुनहरू तिनीहरूको सुधार गर्दा अत्यावश्‍यक हुन्छ। तर सुधार नियमित रीतिले गर्नुपर्छ। (हितोपदेश ६:२०; १३:१) सबै छोराछोरी एकनास हुँदैनन्‌। अतः सबैलाई एकै प्रकारको सुधार वा अनुशासन दिनु मिल्दैन। केही सौतिनी आमाबाबुको अनुभवअनुसार सुरुसुरुमा यस्तो सुधार वा अनुशासन दिने काम जन्मदाताले गर्नु बेस हुन्छ। तथापि, त्यो अनुशासन दुवै आमाबाबुद्वारा स्वीकृत हुनुपर्छ र दुवैले त्यसको सराहना गर्नुपर्छ। साथै सौतिनी छोराछोरीलाई भन्दा आफूले जन्माएको छोराछोरीलाई काखी च्याप्नु हुँदैन। (हितोपदेश २४:२३) आज्ञाकारिता महत्त्वपूर्ण हो। तर असिद्धतालाई पनि ठाउँ दिनुपर्छ। आवश्‍यकताभन्दा बढी नजंगिनुहोस्‌। प्रेमसाथ सुधार्नुहोस्‌।—कलस्सी ३:२१.

२४. सौतिनी परिवारमा नैतिक समस्याको रोकथाम कसरी गर्न सकिन्छ?

२४ सपरिवार बसेर छलफल गर्दा धेरै समस्याहरूलाई रोक्न सकिन्छ। यस्तो छलफलले परिवारलाई जीवनका महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न मदत पुऱ्‍याउनसक्छ। (तुलना गर्नुहोस्‌ फिलिप्पी १:९-११) पारिवारिक लक्ष्य पूर्तिका लागि हरेक सदस्यले खास योगदान दिने विचार गर्नसक्छ। साथै सबै जना बसेर खुला मनसाथ छलफल गर्दा सम्भाव्य नैतिक समस्याहरूलाई पनि रोक्न सकिन्छ। छोरीहरूले सौतिनी बुबा वा सौतिनी दाजुभाइसित हुँदा आफ्नो पहिरन र आचरणलाई ध्यान दिन सिक्नसक्छन्‌। साथै, छोराहरूलाई पनि सौतिनी आमा तथा सौतिनी दिदीबहिनीसित गर्ने उचित व्यवहारबारे सल्लाह चाहिन्छ।—१ थिस्सलोनिकी ४:३-८.

२५. सौतिनी परिवारमा के कस्ता गुनहरूले शान्ति कायम राख्ने मदत दिन्छ?

२५ सौतिनी आमाबाबु हुने विशेष चुनौती हल गर्न धैर्य धारण गर्नुहोस्‌। नयाँ साइनो जोड्‌न समय लाग्छ। आफूले नजन्माएका छोराछोरीको प्रेम तथा आदर जित्न गाह्रो हुनसक्छ। तर त्यो सम्भव छ। बुद्धि र समझशक्‍ति भएको हृदय तथा यहोवालाई प्रसन्‍न तुल्याउने जोडदार इच्छा नै सौतिनी परिवारमा शान्तिको कुञ्जी हो। (हितोपदेश १६:२०) यी गुनहरूले तपाईंलाई अन्य समस्याहरूको पनि सामना गर्ने मदत दिनसक्छ।

के तपाईंको परिवार भौतिकवादको कारण विभाजित छ?

२६. भौतिक चीजसम्बन्धी समस्या तथा प्रवृत्तिले गर्दा परिवार कसरी विभाजित हुनसक्छ?

२६ भौतिक मालमत्तासम्बन्धी समस्या तथा मनोवृत्तिले गर्दा परिवारहरू विभिन्‍न ढंगमा विभाजित हुनसक्छन्‌। दुःखको कुरा के हो भने, पैसा तथा धनी हुने वा अझ धन कमाउने इच्छाले गर्दा धेरै परिवारहरूमा बहस चर्किन्छ, फूट उत्पन्‍न हुन्छ। पतिपत्नी दुवै बाहिर काम गर्छन्‌ भने “तेरो पैसा, मेरो पैसा” भन्‍ने विचार सुरु हुनसक्छ। तर यस्तो नहुँदा पनि बाहिर काम गर्ने पतिपत्नीले एकअर्कासित धेरै समय बिताउन पाउँदैनन्‌। घर बसेर कहिल्यै आर्जन नहुने धन कमाउन आजभोलि थुप्रै बुबाहरू महिनौं अथवा वर्षौं आफ्नो परिवारदेखि टाढा बस्न थालेका छन्‌। यसको परिणाम अत्यन्त गम्भीर हुनसक्छ।

२७. आर्थिक समस्याको चेपटामा परेको परिवारका लागि कुन कुन सिद्धान्त मदतकारी हुनसक्छ?

२७ यस्तो परिस्थितिमा कुनै खास नियम तोक्न सकिंदैन। किनकि बेग्लाबेग्लै परिवारको बेग्लाबेग्लै दबाब तथा आवश्‍यकताहरू हुन्छन्‌। तापनि बाइबलको सल्लाह मदतकारी हुन्छ। उदाहरणका लागि, “सर-सल्लाह[द्वारा]” अक्सर अनावश्‍यक झैंझगडा मेटाउन सकिन्छ भनी हितोपदेश १३:१० मा संकेत गरिएको छ। यसको अर्थ आफ्नो विचार मात्र व्यक्‍त गर्नुको साटो अर्को व्यक्‍तिको दृष्टिकोणबारे पनि सोधपूछ तथा बुझ्ने कोसिस गर्नु हो। साथै, व्यवहारिक बजेट छ भने परिवारमा सबैले संयुक्‍त प्रयास गर्नसक्छन्‌। कहिलेकाहीं छोराछोरी अथवा यस्ता अरू पराधीन व्यक्‍तिहरूको पालनपोषणका लागि थप खर्च जरुरी हुनसक्छ। विशेषगरि, यस्तो हुँदा केही समयका लागि पतिपत्नी दुवैलाई घरबाहिर काम गर्नु आवश्‍यक हुनसक्छ। तापनि पतिले पत्नीका लागि समय निकाल्नैपर्छ। उनी र छोराछोरी मिलेर अक्सर पत्नी एक्लैले गर्ने काममा प्रेमपूर्वक मदत दिनसक्छन्‌।—फिलिप्पी २:१-४.

२८. कुन कुन कुरालाई ध्यानमा राखेमा परिवार एकतातर्फ अघि बढ्‌नसक्नेछ?

२८ तथापि, वर्तमान रीतिरिवाजमा बसुञ्जेल पैसा चाहिने भए तापनि यसले आनन्द भने दिनसक्दैन भन्‍ने कुरा नबिर्सनुहोस्‌। पैसाले अवश्‍य जीवन दिनसक्दैन। (उपदेशक ७:१२) निस्सन्देह, भौतिक चीजहरूलाई आवश्‍यकताभन्दा बढी जोड दिंदा आध्यात्मिक तथा नैतिक पतन हुनसक्छ। (१ तिमोथी ६:९-१२) योभन्दा त परमेश्‍वरको राज्य र उहाँको धार्मिकतालाई प्रथम स्थान दिनु धेरै असल हो! यसो गर्दा जीविका चलाउने हाम्रा प्रयासहरूमा परमेश्‍वरको आशिष्‌ निश्‍चय हुनेछ! (मत्ती ६:२५-३३; हिब्रू १३:५) तपाईंको परिवार केही कारणले गर्दा विभाजित छ भने पनि तपाईंले आध्यात्मिक विषयवस्तुलाई प्रथम स्थान दिंदै परमेश्‍वरसित शान्ति कायम राख्नु भएमा तपाईंको परिवार सबैभन्दा महत्त्वपूर्ण कुराहरूमा साँच्चै एकताबद्ध हुनेछ।