सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय चार

तपाईं कसरी घरजम गर्न सक्नुहुन्छ?

तपाईं कसरी घरजम गर्न सक्नुहुन्छ?

१. घरजम गर्न आज किन यति गाह्रो हुनसक्छ?

 यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) ती शब्दहरू करीब १,९०० वर्षअघि लेखिएका भए तापनि आज कति सत्य साबित हुँदैछन्‌! संसारको रूप साँच्चै बदलिंदैछ। विशेषगरि पारिवारिक क्षेत्रमा। जुन कुराहरू ४० वा ५० वर्षअघि स्वीकार्य थिए अथवा सामान्य मानिन्थे ती आज स्वीकार्य छैनन्‌। फलतः सफलतापूर्वक घरजम गर्न ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। तथापि, धर्मशास्त्रीय सिद्धान्तहरूलाई ध्यान दिएमा ती चुनौतीहरूसित डट्‌न सकिन्छ।

साधनअनुसार जीविका चलाउनुहोस्‌

२. के कस्तो आर्थिक स्थितिले परिवारमा तनाउ उत्पन्‍न गर्छ?

आज धेरै मानिसहरू साधारण पारिवारिक जीवनसित सन्तुष्ट छैनन्‌। व्यापारिक संसारले अनेकौं किसिमका सामानहरू उत्पादन गर्दैछ। विज्ञापनले चतुऱ्‍याइँपूर्वक जनतालाई उक्‍त सामानहरू किन्‍न लोभ्याउँछ। अनि सोही सामानहरू किन्‍ने पैसा कमाउन लाखौं आमाबाबु घण्टौं काम गर्छन्‌। अझ पनि लाखौंलाई चाहिं एक छाक खान मात्र पनि धौधौ छ। तिनीहरूले पहिलेभन्दा बढी काम गर्नु परेको छ। कतिले दुइ दुइटा जागिर खाएर पनि दैनिक आवश्‍यकताहरू मात्र धान्‍नसक्छन्‌। कतिको चाहिं जागिरै छैन। बेरोजगारी विश्‍वव्यापी समस्या भइसक्यो। हो, आधुनिक परिवारलाई जीवन निर्वाह गर्नु सधैं सजिलो हुँदैन। तापनि, बाइबल सिद्धान्तहरूद्वारा परिवारहरूले परिस्थितिअनुसार सक्दो गर्ने मदत अवश्‍य पाउनसक्छन्‌।

३. प्रेरित पावलले कुन चाहिं सिद्धान्तको व्याख्या गरे र त्यसलाई प्रयोगमा ल्याउँदा कसरी सफलतापूर्वक घरजम गर्न सकिन्छ?

प्रेरित पावलले पनि आर्थिक समस्याहरू झेल्नु परेको थियो। तिनको सामना गर्दा उनले एउटा ठूलो पाठ सिके। त्यस पाठबारे उनले आफ्नो मित्र तिमोथीलाई पत्रमा यसरी चर्चा गरे: “किनकि हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं। तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:७, ८) हो, परिवारलाई खान र लाउन भएर मात्र पुग्दैन। बस्ने ठाउँ पनि चाहिन्छ। केटाकेटीलाई शिक्षा दिनुपर्छ। यसबाहेक, औषधोपचार तथा अन्य खर्चहरू पनि हुन्छन्‌। तापनि पावलका शब्दहरू सैद्धान्तिक रूपमा लागू हुन्छ। अर्थात्‌ हामी आफ्ना चाहनाहरू भन्दा आवश्‍यकताहरू पूरा गरेर सन्तोष मान्‍नसक्छौं भने, जीवन धेरै सरल हुन्छ।

४, ५. घरजम गर्दा पूर्वविचार तथा अग्रिम तयारी कसरी मदतकारी हुनसक्छन्‌?

अर्को मदतकारी सिद्धान्त येशूले दिनुभएको उदाहरणमा पाइन्छ। उहाँले भन्‍नुभयो: “किनकि तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) येशू यहाँ पूर्वविचार तथा अग्रिम तयारीबारे कुरा गर्नुहुँदैछ। विवाह गर्ने विचार गरेका जवान पुरुष तथा स्त्रीका लागि यो सिद्धान्त कति उपयोगी हुन्छ, त्यो हामीले अघिल्लो अध्यायमा देखिसक्यौं। अनि विवाहपश्‍चात्‌ घरजम गर्दा पनि त्यो सिद्धान्त उतिकै उपयोगी छ। किनकि वैवाहिक जीवनको यस क्षेत्रमा पूर्वविचार गर्न, बजेट मिलाउन तथा बुद्धि पुऱ्‍याएर उपलब्ध साधन प्रयोग गर्नु जरुरी हुन्छ। यी सबै गर्दा पारिवारिक खर्च नियन्त्रित हुन्छ। अर्थात्‌ दैनिक वा साप्ताहिक आवश्‍यकताहरूका लागि पैसा अलग गरेपछि सोही बजेटअनुसार खर्च गर्नुपर्छ।

तथापि, अनावश्‍यक सरसामान किन्‍न कुनै कुनै देशमा चर्को व्याजमा ऋण लिने चलन छ। तर बजेट मिलाएपछि यसरी ऋण लिने झुकाउलाई लगाम कस्नुपर्छ। अझ केहीले चाहिं क्रेडिट कार्ड छ भन्दैमा जथाभावी किन्‍ने बानी छाड्‌नुपर्छ। (हितोपदेश २२:७) अथवा आवश्‍यकता तथा परिणाम विचार नगरिकन जे देख्यो त्यही किन्‍ने प्रवृत्तिलाई तहमा राख्नु जरुरी हुनसक्छ। साथै, स्वार्थी भएर जुवा खेल्नु, धूम्रपान गर्नु अथवा अचाक्ली जाँडरक्सी पिउनु बाइबल सिद्धान्त विपरीत हुन्‌ र परिवारको आर्थिक स्थितिका लागि अति हानिकारक हुन्छ, त्यो बजेट मिलाउँदा स्पष्ट देख्न सकिन्छ।—हितोपदेश २३:२०, २१, २९-३५; रोमी ६:१९; एफिसी ५:३-५.

६. परिस्थितिवश जो गरिब छन्‌, तिनीहरूले कुन धर्मशास्त्रीय सिद्धान्तहरूबाट मदत पाउनसक्छन्‌?

तर परिस्थितिवश गरिबीको शिकार हुनेहरूबारे के भन्‍न सकिन्छ? कम्तीमा पनि, यो विश्‍वव्यापी समस्या बितेर जानेछ भनी तिनीहरू आश्‍वासित हुनसक्छन्‌। किनकि चाँडै आउने नयाँ संसारमा यहोवाले गरिबी तथा मानिसजातिलाई पीडित पार्ने सबै दुःख हटाउनुहुनेछ। (भजन ७२:१, १२-१६) तर त्यो समय नआऊञ्जेल साँचो मसीहीहरू अति गरिब भए तापनि पूर्णतया निराश चाहिं हुँदैनन्‌। किनभने तिनीहरू यहोवाको यो प्रतिज्ञामा विश्‍वास गर्छन्‌: “म तिमीलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” अतः विश्‍वासमा भएको मानिसले विश्‍वस्त भएर यसो भन्‍नसक्छ: “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?” (हिब्रू १३:५, ६) यहोवाले उहाँको सिद्धान्तअनुसार जीवन बिताउने तथा उहाँको राज्यलाई प्राथमिकता दिने आफ्ना उपासकहरूलाई यी कठिन समयहरूमा अनेकौं तरिकाहरूले मदत दिनुभएको छ। (मत्ती ६:३३) असंख्य मानिसहरूले प्रेरित पावलका यी शब्दहरूलाई पुष्टि दिनसक्छन्‌: “म घट्‌न पनि जान्दछु, बढ्‌न पनि जान्दछु। हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु। जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१२, १३.

बोझ आपसमा बाँड्‌ने

७. येशूका कुन शब्दहरू प्रयोगमा ल्याए सफलतापूर्वक घरजम गर्न मदतकारी हुनेछ?

आफ्नो पार्थिव सेवकाईको अन्ततिर येशूले भन्‍नुभयो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) यो सल्लाह घरजम गर्दा धेरै मदतकारी हुनसक्छ। किनकि हामीसित एउटै घरमा बस्ने हाम्रा पति, पत्नी, आमाबाबु तथा छोराछोरीभन्दा प्रिय र नजीकको छिमेकी अरू को हुनसक्छ? अतः परिवारका सदस्यहरूले एकअर्काप्रति कसरी प्रेम देखाउनसक्छन्‌?

८. परिवारमा प्रेम कसरी व्यक्‍त गर्न सकिन्छ?

एक त, परिवारको प्रत्येक सदस्यले घरमा आफूलाई खटाइएको कामकाज गरेर। उदाहरणका लागि, छोराछोरीलाई खेलौना होस्‌ वा लुगा, ती चलाएपछि राम्ररी थन्काउन सिकाउनुपर्छ। सधैं बिहान उठेर ओछ्यान मिलाउँदा तिनीहरूलाई निकै समय लाग्ला अथवा बढी मेहनत गर्नुपर्ला। तर यति गर्नु पनि घरको कामकाजमा ठूलो मदत हुनसक्छ। हो, कहिलेकाहीं घर अस्तव्यस्त हुनसक्छ। तर सबैले मिलेर सफा गरे घरलाई प्रायः सधैं सफासुग्धर राख्न सम्भव हुन्छ। खाना खाएपछि पनि सफा गर्ने काममा सबैले सहयोग गर्नसक्छन्‌। आलस्य, स्वार्थ र गनगन गर्ने मनोवृत्तिले गर्दा सबैमाथि नकारात्मक प्रभाव पर्नसक्छ तथा काम आलेटाले गर्ने बानी बस्नसक्छ। (हितोपदेश २६:१४-१६) तर अर्कोतिर, हँसिलो र राजीखुशी प्रवृत्ति सुखी परिवारका लागि पोषण सरह हुन्छ। “खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

९, १०. (क) घरकी स्वास्नीमान्छेले अक्सर कुन कामको बोझ बोक्नुपर्छ र यसलाई कसरी हल्का पार्न सकिन्छ? (ख) घरको कामकाजबारे के सन्तुलित सुझाउ दिइएको छ?

विवेक र प्रेम छ भने, त्यो स्थिति खडा हुँदैन जसले केही घरहरूमा गम्भीर रूप लिएको छ। घरको कामकाजलाई परम्परादेखि आमाहरूले नै सँभाल्दै आएका हुन्छन्‌। तिनीहरूले छोराछोरीको रेखदेख गर्ने, घरलाई सफा गर्ने, परिवारको कपडा धुने, खानेकुरा किन्‍ने तथा पकाउने सबै काम गर्दै आएका हुन्छन्‌। केही मुलुकहरूमा स्वास्नीमानिसहरूले खेतमा काम गरेर, त्यसको उत्पादन बजारमा बेचेर तथा अन्य ढंगमा पनि परिवारको आर्थिक स्थितिमा मदत पुऱ्‍याउने चलन छ। तर यस्तो चलन नभएको ठाउँमा पनि लाखौं स्वास्नीमानिसहरू जागिर खोज्न बाध्य भएका छन्‌। यी विभिन्‍न क्षेत्रमा मेहनत गर्ने पत्नी र आमा वास्तवमा प्रशंसाको योग्य छिन्‌। बाइबलमा वर्णन गरिएकी “सुयोग्य पत्नी” जस्तै तिनी अत्यन्त मेहनती छिन्‌। “तिनी परिश्रमबिनाको कमाइ खाँदिनन्‌।” (हितोपदेश ३१:१०, २७) तर यसको अर्थ घरधन्दा स्वास्नीमान्छेको मात्र जिम्मेवारी हो भन्‍नु मिल्दैन। दिनभरि पतिपत्नी दुवैले घरबाहिर काम गरेका हुनसक्छन्‌। तर घर आएपछि चाहिं पति तथा घरका अन्य सदस्यहरू आराम गर्ने अनि पत्नी एक्लैले घरको कामकाज सँभाल्नु उचित हो? अवश्‍य होइन। (तुलना गर्नुहोस्‌ २ कोरिन्थी ८:१३, १४) यसकारण, तिनले खाना पकाउँदा परिवारका अन्य सदस्यहरूले चाहिं टेबल मिलाउन, किनमेल तथा घरको सरसफाइ गर्न मदत गर्नसक्छन्‌। हो, कामको बोझ सबैले मिलेर उठाउनसक्छन्‌।—तुलना गर्नुहोस्‌ गलाती ६:२.

१० तर कसैले भन्लान्‌: “म बसेको समाजमा लोग्नेमान्छेले यस्तो किसिमको काम गर्ने चलन छैन।” हुनसक्छ। तापनि यसबारे अलिकता विचार गर्नु उचित छैन र? परिवार आरम्भ गर्नुहुँदा यहोवा परमेश्‍वरले कुनै कुनै काम स्वास्नीमान्छेले मात्र गर्नुपर्छ भनेर तोक्नुभएन। एक पटक विश्‍वासी पुरुष अब्राहामकहाँ यहोवाका केही दूतहरू आउँदा यी पाहुनाहरूका लागि खाना तयार गर्ने तथा खुवाउने काममा स्वयं अब्राहामले पनि भाग लिए। (उत्पत्ति १८:१-८) बाइबल भन्छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ।” (एफिसी ५:२८) तसर्थ, साँझ पर्दा पतिलाई थकाइ लाग्छ र तिनी आराम खोज्छन्‌ भने यस्तै थकान अझ बढी मात्रामा पत्नीलाई पनि लागेको हुनुपर्छ, होइन र? (१ पत्रुस ३:७) यसकारण घरको कामकाजमा पतिले पनि सहयोग गर्नु के उपयुक्‍त तथा मायाको अभिव्यक्‍ति होइन र?—फिलिप्पी २:३, ४.

११. येशूले परिवारको हरेक सदस्यका लागि कसरी राम्रो उदाहरण कायम गर्नुभयो?

११ परमेश्‍वरलाई प्रसन्‍न पार्ने र आफ्ना सहकर्मीहरूलाई पनि आनन्द दिने मानिसको सबैभन्दा महान्‌ उदाहरण येशू हुनुहुन्छ। उहाँले कहिल्यै विवाह गर्नुभएन। तापनि उहाँ पति, पत्नी तथा छोराछोरीका लागि असल उदाहरण हुनुहुन्छ। उहाँले आफूबारे यसो भन्‍नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) परिवारमा सबैले यस्तो मनोवृत्ति अपनाए परिवार कति सुखी हुनेछ!

सफाइ—किन यति महत्त्वपूर्ण

१२. यहोवाले उहाँका सेवकहरूबाट के माग गर्नुहुन्छ?

१२ घरजम गर्न मदत पुऱ्‍याउने एउटा अर्को सिद्धान्त २ कोरिन्थी ७:१ मा पाइन्छ: “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।” यहोवाले “पवित्र र शुद्ध धर्म” रुचाउनुहुन्छ। अतः उपरोक्‍त प्रेरित शब्दहरू स्वीकार्ने जति उहाँको नजरमा ग्रहणयोग्य हुन्छन्‌। (याकूब १:२७) तिनीहरूले त्यसबाट प्राप्त हुने लाभ उठाउँछन्‌।

१३. घरजम गर्न सरसफाइ किन अत्यावश्‍यक छ?

१३ उदाहरणका लागि, बाइबल भन्छ कोही पनि रोगी नहुने दिन चाँडै तथा निश्‍चय आउनेछ। त्यतिखेर कसैले पनि “म बिरामी परें” भन्‍नेछैन। (यशैया ३३:२४; प्रकाश २१:४, ५) तर त्यो दिन नआऊञ्जेल हर परिवारले समयसमयमा रोगको सामना गर्नुपर्छ। पावल र तिमोथी पनि बिरामी पर्थे। (गलाती ४:१३; १ तिमोथी ५:२३) तथापि, थुप्रै चिकित्सकहरूको विचारमा धेरै प्रकारको रोगको रोकथाम हामी स्वयं गर्नसक्छौं। शारीरिक तथा आध्यात्मिक सफाइ कायम राखेमा रोकथाम गर्न सकिने रोगहरूबाट बुद्धिमान परिवारहरू उम्कनसक्छन्‌। कसरी, अब हामी विचार गरौं।—तुलना गर्नुहोस्‌ हितोपदेश २२:३.

१४. नैतिक शुद्धताद्वारा परिवार रोगबाट कसरी बच्नसक्छ?

१४ आध्यात्मिक शुद्धतामा नैतिक शुद्धता पनि सम्मिलित हुन्छ। बाइबलमा उच्च नैतिक स्तरलाई प्रोत्साहित गरिएको छ तथा आफ्नो पति वा पत्नीबाहेक अरू नै व्यक्‍तिसित यौन सम्बन्ध राख्नु निन्दनीय छ। “व्यभिचारीहरू, . . . जारी गर्नेहरू, . . . पुरुषगामीहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) आजको पतित संसारमा बस्ने मसीहीहरूले यी उच्चस्तरहरू पालन गर्नु अत्यन्त महत्त्वपूर्ण छ। यसो गर्दा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ र परिवार पनि एड्‌स, भिरंगी, सुजाक र क्लेमिड्याजस्ता यौनजन्य रोगहरूबाट बच्नसक्छ।—हितोपदेश ७:१०-२३.

१५. शारीरिक अशुद्धता कसरी अनावश्‍यक रोगको कारण बन्‍नसक्छ, यसको एउटा उदाहरण दिनुहोस्‌।

१५ शरीरको हरेक अशुद्धताबाट अलग बस्दा परिवार अझ अन्य रोगहरूबाट पनि बच्नसक्छ। थुप्रै रोगहरूको कारण शारीरिक अशुद्धता हो। यसको एउटा ज्वलन्त उदाहरण हो, धूम्रपान गर्ने बानी। धूम्रपान गर्दा फोक्सो, लाउने लुगा तथा हावासमेत दूषित हुनुका साथै मानिसहरू बिरामी हुन्छन्‌। हरेक वर्ष तमाखुको धुवाँ तानेर लाखौं मानिसहरू मर्छन्‌। यसो सोच्नुहोस्‌ त, हरेक साल लाखौं मानिसले आफूलाई ‘शरीरको अशुद्धपनाबाट’ अलग राखेको भए तिनीहरू न बिरामी पर्ने थिए न अकाल मृत्युमा नै पर्नेथिए।

१६, १७. (क) यहोवाको कुन चाहिं व्यवस्थाले गर्दा इस्राएलीहरू केही रोगहरूबाट बच्नसके? (ख) व्यवस्था २३:१२, १३ मा उल्लिखित सिद्धान्त कसरी सबै परिवारहरूमा लागू गर्न सकिन्छ?

१६ अझ अर्को उदाहरण विचार गर्नुहोस्‌: करीब ३,५०० वर्षअघि परमेश्‍वरले इस्राएल राष्ट्रको उपासना र केही मात्रामा तिनीहरूको दैनिक जीवनलाई पनि सुव्यवस्थित पार्न आफ्नो व्यवस्था दिनुभयो। त्यस व्यवस्थामा उल्लिखित दैनिक सरसफाइसम्बन्धी केही आधारभूत नियमहरू त्यो राष्ट्रलाई रोगबाट बचाउन मदतकारी साबित भयो। यस्तो एउटा नियम मानव दिसासम्बन्धी थियो। त्यस नियमअनुसार मानव दिसालाई छाउनीबाहिर राम्ररी पुर्नु आवश्‍यक थियो। यसले गर्दा मान्छे बस्ने ठाउँ दूषित हुने थिएन। (व्यवस्था २३:१२, १३) त्यो पुरानो नियम आज पनि उपयोगी छ। यसै नियमलाई नमान्दा आज पनि मानिसहरू बिरामी हुन्छन्‌ र मर्छन्‌। a

१७ त्यो इस्राएली नियमको सिद्धान्तअनुरूप परिवारको चर्पी तथा नुहाउने ठाउँ, घरबाहिर होस्‌ वा भित्र, त्यसलाई सफासुग्घर राख्नु आवश्‍यक छ। दिसा बस्ने ठाउँ सफा र ढाकेर नराख्दा, त्यहाँ झिंगाहरू थुप्रनेछन्‌ र यसले घरको अन्य भाग अथवा हाम्रो खानेकुरामा समेत कीटाणु फैलाउनेछन्‌! यसबाहेक, चर्पीबाट निस्केपछि केटाकेटी तथा वयस्क दुवैले हात धुनुपर्छ। नत्र भने तिनीहरूले हातको छालामा कीटाणु लिएर आउनेछन्‌। एउटी फ्रान्सेली चिकित्सकअनुसार “हात धुनु आज पनि पाचन तथा श्‍वासप्रणाली अथवा छालासम्बन्धी रोगहरूबाट बच्ने एउटा सर्वोत्तम उपाय हो।”

पछि गएर औषधी किन्‍नुभन्दा सफासुग्घर बस्नु सस्तो हो

१८, १९. गरिब टोलछिमेकमा पनि घरलाई सफा राख्न के सुझाउहरू दिइएका छन्‌?

१८ हुन त गरिब टोलछिमेकमा सफा बस्नु सजिलो हुँदैन। यस्तो ठाउँसित परिचित एक जनाले यसो भने: “भतभत पोल्ने गर्मीमा सरसफाइको काम दोब्बर गाह्रो हुन्छ। छारो उडेर घरको कुनाकाप्चामा मसिनो खैरो धूलोले टम्म ढाकिन्छ। . . . शहर तथा केही दुर्गम गाउँहरूको बढ्‌दो जनसंख्या पनि स्वास्थ्यको निम्ति खतराको कारण बन्छ। खुला ढल, धेरै दिनदेखि नउठाएको फोहरको थुप्रो, घिनलाग्दा सार्वजनिक चर्पीहरू, रोग सार्ने मुसा, साङ्‌लो र झिंगाहरू जताततै देखिन्छ।”

१९ यस्तो परिस्थितिबीच सरसफाइ कायम राख्नु गाह्रो हुन्छ। तर कोसिस गरेमा फाइदा नै छ। साबुन, पानी र अलिकता बढी मेहनत, औषधी र अस्पतालको खर्चभन्दा धेरै कम हुन्छ। तपाईंको टोलछिमेक फोहर छ भने पनि आफ्नो घर-आँगनलाई सकेसम्म सफा राख्नुहोस्‌। त्यहाँ गोबर वा जनावरको दिसा रहन नदिनुहोस्‌। बर्खामा तपाईंको घर जाने बाटो हिलाम्मे हुन्छ भने त्यसमा रोडा अथवा मसिना ढुंगाहरू बिछाउन सक्नुहुन्छ। यसरी तपाईंको घरभित्र हिलो सजिलैसित हुल्न पाउनेछैन। तपाईं जुत्ता वा चप्पल लाउनुहुन्छ भने, घरभित्र पस्नअघि ती खोल्न सक्नुहुन्छ। धाराबाट आउने पानीलाई पनि तपाईंले प्रदूषणबाट बचाउने कोसिस गर्नुपर्छ। वर्षेनी कमभन्दा कम २० लाख मानिसहरू फोहर पानी र ढलनिकासको अपर्याप्त प्रबन्धले गर्दा मर्छन्‌ भन्‍ने अनुमान लगाइएको छ।

२०. घर सफा राख्न क-कसले जिम्मेवारी लिनैपर्छ?

२० घरको सरसफाइ आमा, बाबु, छोराछोरी तथा पाहुनाहरू सबैको जिम्मेवारी हो। केन्यामा आठ छोराछोरीकी आमा भन्छे: “सबैले आ-आफ्नो दायित्व पूरा गर्न सिकेका छन्‌।” सफा र सुव्यवस्थित घरले गर्दा पूरै परिवारको नाउँ राम्रो हुन्छ। एउटा स्पेनी उखान भन्छ: “गरिब छ भन्दैमा फोहर हुनुपर्दैन।” मानिस ठूलो भवन, फ्लैट, सानोभन्दा सानो डेरा वा झोपडीमा बसे तापनि सरसफाइ पारिवारिक सुस्वास्थ्यको कुञ्जी हो।

हामी प्रोत्साहन पाउँदा फस्टाउँछौं

२१. हितोपदेश ३१:२८ अनुसार कुन कुराले घरबारमा आनन्द ल्याउनसक्छ?

२१ सुयोग्य पत्नीबारे छलफल गर्दा हितोपदेशको पुस्तकले भन्छ, “तिनका छोराहरूले एकै मतका भएर तिनलाई सुखी भन्छन्‌, तिनका पतिले पनि तिनको प्रशंसा गरेर भन्छन्‌।” (हितोपदेश ३१:२८) यसै सिद्धान्तअनुरूप, हालसालै के तपाईंले आफ्नो परिवारको कुनै सदस्यको प्रशंसा गर्नुभएको छ? वास्तवमा, हामी सबै बिरुवाजस्तै छौं जो अलिकता न्यानो र पानी पाउनासाथै बसन्तमा फक्रिहाल्छ। हामीलाई प्रशंसाको न्यानोपना चाहिन्छ। पतिले पत्नीको मेहनत र मायालु रेखदेखको कदर गर्छ, त्यसलाई हल्का ठान्दैन भनी पत्नीलाई थाह हुनु अत्यावश्‍यक छ। (हितोपदेश १५:२३; २५:११) साथै, पत्नीले पनि घरबाहिर तथा भित्र गरेको परिश्रमको लागि पतिलाई प्रशंसा गर्नु राम्रो हो। बच्चाहरूलाई घरमा, स्कूलमा वा मसीही मण्डलीमा गरेका प्रयासहरूको लागि आमाबाबुले प्रशंसा गर्दा तिनीहरू प्रफुल्लित हुन्छन्‌। र अलिकता कृतज्ञता धेरै काम आउँछ! “धन्यवाद” भन्दा कति पैसा लाग्छ र? कति पनि लाग्दैन। तापनि परिवारमा त्यसको ठूलो भूमिका हुन्छ। त्यसले सबैको हौसला बढाउनसक्छ।

२२. घरबार “सुरक्षित” राख्न के चाहिन्छ र यसलाई कसरी हासिल गर्न सकिन्छ?

२२ हो, थुप्रै कारणहरूले गर्दा घरजम गर्नु सजिलो छैन। तापनि, सफलतापूर्वक घरजम गर्न नसकिने होइन। बाइबलको एउटा हितोपदेशअनुसार: “बुद्धिले घर बनाउँछ। असल समझशक्‍तिले त्यसलाई सुरक्षित राख्छ।” (हितोपदेश २४:३) परिवारका सबै सदस्यले परमेश्‍वरको इच्छा सिकेर त्यसलाई प्रयोगमा ल्याउन खोज्दा बुद्धि र समझशक्‍ति प्राप्त हुन्छ। परिवारलाई सुखी बनाउन तपाईंले गर्नुभएको परिश्रम व्यर्थै जाँदैन।

a बाल मृत्युको एउटा मुख्य कारण झाडाबान्ताजस्तो सामान्य रोगबाट बाँच्ने उपाय सिकाउने पुस्तकमा विश्‍व स्वास्थ्य संगठन यसो भन्छ: “चर्पी छैन भने घर तथा केटाकेटी खेल्ने ठाउँदेखि टाढा र खाने पानीको स्रोतबाट कम्तीमा पनि १० मिटर पर दिसा बस्नुहोस्‌; दिसालाई माटोले पुर्नुहोस्‌।”