पाठ ५८
यरुसलेम विनाश हुन्छ
यहुदाका मानिसहरूले पटक-पटक यहोवा परमेश्वरलाई त्यागे र झूटा देवताहरूको उपासना गरे। उहाँले धेरै वर्षसम्म तिनीहरूलाई मदत गर्न खोज्नुभयो। उहाँले तिनीहरूलाई चेतावनी दिन धेरै भविष्यवक्ता पठाउनुभयो तर तिनीहरूले सुनेनन्। बरु तिनीहरूले भविष्यवक्ताहरूलाई हाँसोमा उडाए। परमेश्वरले कसरी तिनीहरूले गरिरहेको मूर्तिपूजा हटाइदिनुभयो?
बेबिलोनको राजा नबुकद्नेजरले एकपछि अर्को राज्यलाई जित्दै थिए। यरुसलेममाथि पहिलो चोटि जित हासिल गर्दा तिनले राजा यहोयाकिन, उनका भारदारहरू, योद्धाहरू र शिल्पकारहरूलाई बन्दी बनाएर बेबिलोन लगे। तिनले परमेश्वरको मन्दिरका बहुमूल्य कुराहरू पनि लगे। त्यसपछि नबुकद्नेजरले सिदकियाहलाई यहुदाको राजा बनाए।
सुरुसुरुमा सिदकियाहले नबुकद्नेजरको कुरा माने। तर छिमेकी राज्यहरू र झूटा भविष्यवक्ताहरूले सिदकियाहलाई बेबिलोनको विद्रोह गर्ने सल्लाह दिए। यर्मियाले तिनलाई यस्तो चेतावनी दिए: ‘तपाईँले विद्रोह गर्नुभयो भने यहुदामा हत्या, अनिकाल र रुढी हुनेछ।’
आठ वर्ष शासन गरेपछि सिदकियाहले बेबिलोनको विद्रोह गर्ने निर्णय गरे। तिनले मिश्री सेनासित मदत मागे। त्यसपछि नबुकद्नेजरले यरुसलेममाथि आक्रमण गर्न आफ्नो सेना पठाए र तिनीहरूले सहरलाई घेराबन्दी गरे। यर्मियाले सिदकियाहलाई भने: ‘यहोवा भन्नुहुन्छ, “बेबिलोनसामु तिमीले आत्मसमर्पण गऱ्यौ भने तिमी र यो सहर आगोले नाश हुनेछैन। तर त्यसो गरेनौ भने बेबिलोनीहरूले यरुसलेमलाई जलाइदिनेछन्। अनि तिमीलाई कैदी बनाएर लग्नेछन्।”’ सिदकियाहले भने: ‘म आत्मसमर्पण गर्दिनँ!’
साढे एक वर्षपछि बेबिलोनी सेना पर्खाल भत्काएर यरुसलेमभित्र छिरे र सहरमा आगो लगाइदिए। तिनीहरूले मन्दिर र थुप्रै मानिसलाई जलाइदिए अनि हजारौँलाई कैदी बनाएर लगे।
सिदकियाह यरुसलेमबाट भागे तर बेबिलोनीहरूले तिनलाई खेदे। तिनीहरूले सिदकियाहलाई यरिहोनजिकै पक्रेर नबुकद्नेजरकहाँ लगे। बेबिलोनका राजाले सिदकियाहकै आँखाअगाडि तिनका छोराहरूको हत्या गर्न लगाए। त्यसपछि नबुकद्नेजरले सिदकियाहलाई अन्धो बनाएर झ्यालखानामा हालिदिए। पछि त्यहीँ तिनको मृत्यु भयो। तर यहोवाले यहुदाका मानिसहरूसित यस्तो प्रतिज्ञा गर्नुभयो: ‘म तिमीहरूलाई ७० वर्षपछि फेरि यरुसलेम फर्काएर ल्याउनेछु।’
बेबिलोनमा कैदी बनाएर लगिएका जवान मानिसहरूलाई चाहिँ के हुने थियो? के तिनीहरू यहोवाप्रति वफादार रहने थिए?
“सर्वशक्तिमान् परमेश्वर यहोवा, तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्।”—प्रकाश १६:७