पाठ ७७
इनारको छेउमा एउटी स्त्री
निस्तार चाड सकिएपछि येसु र चेलाहरू गालिल फर्कनुहुँदा सामरियाको बाटो भएर जानुभयो। उहाँ सुखार सहरनजिकै याकुबको इनार भनिने ठाउँमा रोकिनुभयो। उहाँ त्यहाँ आराम गर्न बस्नुभयो र चेलाहरू खानेकुरा किन्न सहर गए।
त्यहाँ इनारमा एउटी स्त्री पानी भर्न आईन्। येसुले तिनलाई भन्नुभयो: “मलाई पानी पिउन देऊ।” तिनले भनिन्: ‘तपाईँ किन मसँग कुरा गर्दै हुनुहुन्छ? म सामरियाली हुँ। यहुदीहरू सामरियालीहरूसित कुरा गर्दैनन्।’ येसुले तिनलाई भन्नुभयो: ‘तिमीले मलाई चिनेकी भए मसित पानी माग्ने थियौ र मैले तिमीलाई जीवन दिने पानी दिने थिएँ।’ तिनले सोधिन्: ‘तपाईँ कसरी मलाई पानी दिन सक्नुहुन्छ? तपाईँसित बाल्टीसमेत छैन।’ येसुले भन्नुभयो: “जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।” तिनले भनिन्: “हजुर, मलाई त्यो पानी दिनुहोस्।”
येसुले तिनलाई भन्नुभयो: ‘तिम्रो पतिलाई बोलाएर ल्याऊ।’ तिनले भनिन्: “मेरो पति छैन।” उहाँले भन्नुभयो: ‘तिमीले ठीक भन्यौ। तिम्रो पाँच चोटि बिहे भइसकेको छ र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊसित तिम्रो बिहे भएको छैन।’ तिनले भनिन्: ‘तपाईँ पक्कै भविष्यवक्ता हुनुहुन्छ। मेरा मानिसहरू यस डाँडामा परमेश्वरको उपासना गर्न सकिन्छ भन्छन् तर यहुदीहरू यरुसलेममा मात्र उपासना गर्नुपर्छ भन्छन्। मसीह आउनुभएपछि उहाँले हामीलाई उपासना गर्ने तरिका सिकाउनुहुनेछ भनेर म पक्का छु।’ त्यसपछि येसुले ‘म नै मसीह हुँ’ भन्नुभयो। यो कुरा उहाँले पहिला कसैलाई भन्नुभएको थिएन।
ती स्त्री हतारिँदै आफ्नो सहर गइन् र सामरियालीहरूलाई भनिन्: ‘मैले मसीहलाई भेट्टाएँ जस्तो छ। उहाँलाई मबारे सबै कुरा थाह छ। आएर हेर्नुहोस्!’ मानिसहरू तिनीसँगै इनारमा आए र येसुको कुरा सुने।
सामरियालीहरूले येसुलाई तिनीहरूको सहरमा बस्न निम्तो दिए। दुई दिन उहाँले त्यहाँ सिकाउनुभयो र धेरै मानिसले उहाँमाथि विश्वास गरे। तिनीहरूले ती सामरियाली स्त्रीलाई भने: ‘उहाँको कुरा सुनेपछि उहाँ साँच्चै संसारको उद्धारक हुनुहुन्छ भनेर हामीलाई थाह भयो।’
“‘आऊ!’ जो तिर्खाउँछ, ऊ आओस् अनि जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैँमा लेओस्।”—प्रकाश २२:१७