पाठ ३६
यिप्तहको भाकल
इस्राएलीहरूले फेरि यहोवा परमेश्वरलाई त्यागे र झूटा देवताहरूलाई पुज्न थाले। अम्मोनीहरूले इस्राएलीहरूमाथि आक्रमण गर्दा ती देवताहरूले तिनीहरूलाई मदत गर्न सकेनन्। धेरै वर्षसम्म इस्राएलीहरूले अत्याचार सहे। अन्तमा तिनीहरूले यहोवा परमेश्वरलाई भने: ‘हामीले पाप गरेका छौँ। बिन्ती छ, हामीलाई शत्रुहरूबाट बचाउनुहोस्।’ तिनीहरूले आफूसँग भएका मूर्तिहरू नष्ट गरे र फेरि यहोवा परमेश्वरको उपासना गर्न थाले। उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।
अम्मोनीहरूसितको लडाइँमा नेतृत्व लिन यिप्तह भन्ने योद्धालाई छानियो। उनले यहोवा परमेश्वरलाई भने: ‘यदि तपाईँले हामीलाई यो युद्ध जित्न मदत गर्नुभयो भने मलाई भेट्न मेरो घरको ढोकाबाट जो सुरुमा निस्कन्छ, ऊ तपाईँलाई अर्पण गर्ने भाकल गर्छु।’ परमेश्वरले यिप्तहको प्रार्थना सुन्नुभयो र तिनले युद्ध जिते।
यिप्तह घर फर्कँदा तिनलाई भेट्न घरबाट निस्कने पहिलो व्यक्ति तिनकी एक मात्र छोरी थिइन्। उनी नाच्दै र खैँजडी बजाउँदै आइन्। यिप्तहले के गरे? तिनले आफ्नो भाकल सम्झे र भने: ‘हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ। मैले यहोवालाई भाकल गरिसकेँ। यो भाकल पूरा गर्न मैले तिमीलाई वासस्थानमा सेवा गर्न सिलो पठाउनुपर्छ।’ तर तिनकी छोरीले भनिन्: ‘बुबा, तपाईँले यहोवालाई भाकल गरिसक्नुभएको छ भने त्यो पूरा गर्नुहोस्। तर कृपया मलाई दुई महिनाको लागि साथीहरूसित पहाडतिर जान दिनुहोस्। त्यसपछि म सिलो जानेछु।’ यिप्तहकी छोरीले बाँकी जीवन वफादार भएर वासस्थानमा सेवा गरिन्। वर्षेनी उनका साथीहरू उनलाई भेट्न सिलो जान्थे।
“जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।”—मत्ति १०:३७