कथा १०१
येशू मारिनुहुन्छ
हेर, मान्छेहरूले, येशूलाई के गरेछन्? उनीहरूले उहाँको हात र खुट्टामा कीलाहरू ठोकेर काठमा झुन्ड्याएछन्। उनीहरूले येशूलाई मार्न लागेका छन्। कत्ति नराम्रो! तर येशूलाई किन यसरी दुःख दिएको होला?
केही व्यक्ति येशूलाई घृणा गर्छन्। उनीहरू को हुन्, तिमीलाई थाह छ? तीमध्ये एक जना त त्यो दुष्ट स्वर्गदूत शैतान हो। त्यसैले आदम र हव्वालाई यहोवाको आज्ञा उल्लंघन गर्न लगाएको थियो। अहिले येशूलाई यसरी दुःख दिएर मार्न लगाउने पनि त्यही शैतान हो।
येशूलाई यसरी काठमा झुन्ड्याउनअघि पनि उहाँका शत्रुहरूले असाध्यै दुष्ट व्यवहार गरेका थिए। उनीहरूले गेतसमनीको बगैंचामा कसरी उहाँलाई पक्रेर लगे, तिमीले सम्झेका छौ? येशूलाई पक्रन खोज्ने उहाँका शत्रुहरू को थिए, तिमीलाई थाह छ? हो, उनीहरू धर्मगुरुहरू थिए।
धर्मगुरुहरूले येशूलाई समातेर लगेपछि उहाँका प्रेरितहरू भाग्छन्। उनीहरू उहाँलाई शत्रुहरूको हातमा एक्लै छोडेर भाग्छन्। किनभने उनीहरू असाध्यै डराएका छन्। तर प्रेरित पत्रुस र यूहन्नाचाहिं धेरै टाढा भाग्दैनन्। येशूलाई के हुँदोरहेछ भनेर हेर्न उनीहरू पछि-पछि जान्छन्।
धर्मगुरुहरूले येशूलाई बूढा हन्नासकहाँ लैजान्छन्। किनभने हन्नास पहिलेको प्रधान पूजाहारी थियो। तर मान्छेहरूको भीड त्यहाँ धेरै बेरसम्म बस्दैन। यसपछि उनीहरूले येशूलाई त्यतिखेरका प्रधान पूजाहारी कैयाफाको घरमा लैजान्छन्। यतिखेर उसको घरमा थुप्रै धर्मगुरुहरू भेला भएका छन्।
कैयाफाको घरमै उनीहरूले मुद्दा चलाउँछन्। येशूको विरुद्धमा झूटा कुरा गर्ने मान्छेहरूलाई पालैसित त्यहाँ बोलाइन्छ। अन्तमा सबै धर्मगुरुहरू एकै स्वरले यसो भन्छन्: ‘येशूलाई मार्नुपर्छ।’ उनीहरूले येशूको मुखमा थुक्छन् र मुक्का हान्छन्।
यी सबै भइरहेको बेलामा पत्रुसचाहिं बाहिर चोकमा बसिरहेको हुन्छ। बाहिर निकै चिसो छ। त्यसैले राती जाडो छल्न मान्छेहरू आगो बालेर बसेका छन्। वरिपरि बसेर आगो तापिरहेको बेला एउटी नोकर्नीले पत्रुसलाई हेरेर यसो भन्छे: ‘यो मान्छे पनि येशूसितै थियो।’
‘होइन, म थिइनँ!’ भन्दै पत्रुसले जवाफ दिन्छ।
आगो तापेर बसिरहेका मान्छेहरूले तीन पटक पत्रुसलाई ऊ येशूसितै थियो भन्छन्। तर तीनै पटक पत्रुसले होइन म छँदै थिइनँ भन्छ। पत्रुसले तेस्रो पटक म थिइनँ भन्दा येशूले उसलाई फर्केर हेर्नुहुन्छ। येशूलाई चिन्दै चिन्दिनँ भनेर झूट बोलेकोमा पत्रुस असाध्यै दुःखी हुन्छ। ऊ बाहिर गएर धुरु-धुरु रुन्छ।
भोलिपल्ट शुक्रबार बिहान घाम झुल्किन थालेपछि धर्मगुरुहरूले येशूलाई ठूलो सभाघरमा लैजान्छन्। येशूलाई अब के गर्ने भनेर उनीहरू त्यहाँ बसेर छलफल गर्छन्। त्यसपछि तिनीहरू येशूलाई यहूदिया जिल्लाको शासक, पिलातसकहाँ लैजान्छन्।
धर्मगुरुहरू पिलातसलाई यसो भन्छन्: ‘यो मान्छे खराब छ। त्यसैले यसलाई मार्नुपर्छ।’ येशूलाई केही प्रश्न सोधिसकेपछि पिलातस यसो भन्छ: ‘म यो मान्छेमा केही दोष भेट्टाउँदिनँ।’ पिलातसले येशूलाई हेरोदकहाँ पठाउँछ। हेरोद गालीलको राजा हो। तर ऊ यरूशलेममा बसिरहेको छ। हेरोदले पनि येशूमा केही दोष भेट्टाउँदैन। त्यसकारण उसले येशूलाई फेरि पिलातसकहाँ नै पठाउँछ।
पिलातस येशूलाई छोड्न खोज्छ। तर येशूका शत्रुहरू येशूको सट्टा बरब्बा नाउँ गरेको चोरलाई छोड् भनेर कराउन थाल्छन्। पिलातसले येशूलाई बाहिर ल्याउँदा दिउँसो भइसकेको हुन्छ। पिलातसले मान्छेहरूको भीडलाई यसो भन्छ: ‘हेर! तिमीहरूका राजा!’ तर प्रधान पूजाहारीहरू उफ्री-उफ्री यसो भन्दै कराउँछन्: ‘लैजानुहोस्, लैजानुहोस्! त्यसलाई झुन्ड्याएर मार्नुहोस्!’ भीडको कुरा सुनेर पिलातसले बरब्बालाई जेलबाट छोड्छ तर येशूलाई चाहिं मार्न पठाउँछ।
शुक्रबार दिउँसोतिर उनीहरूले येशूलाई काठमा झुन्ड्याउँछन्। त्यतिखेर येशूको दायाँ र बायाँ दुई जना अपराधीलाई पनि काठमा झुन्ड्याएर मार्न लागेको हुन्छ। तीमध्ये एक जनाले येशूलाई यसो भन्छ: ‘हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।’ येशूले यो जवाफ दिनुहुन्छ: ‘म तिमीलाई साँच्चै भन्दछु, तिमी मसित प्रमोदवनमा हुनेछौ।’
येशूले कत्ति राम्रो वचन दिनुभयो नि, हगि? तर येशूले त्यो अपराधीलाई ऊ कुन प्रमोदवनमा हुनेछ भन्नुभएको हो, तिमीलाई थाह छ? परमेश्वरले सुरुमा बनाउनुभएको प्रमोदवन कहाँ थियो, सम्झ त। हो, पृथ्वीमा। स्वर्गमा राजा हुनुभएपछि येशूले त्यो अपराधीलाई फेरि जिउँदो बनाउनुहुनेछ र उसलाई यही पृथ्वीमा नयाँ प्रमोदवनमा राख्नुहुनेछ। यो सुनेर तिमीलाई खुसी लागेन?