आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्न?
अध्याय २
आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्न?
अरूले आफ्नो कुरा बुझेको चाहनु मानव स्वभाव हो। आमाबाबुले दोष कोट्याइरहँदा, आफूलाई मनपर्ने वा महत्त्वपूर्ण लाग्ने कुराहरू उहाँहरूलाई मन नपर्दा वा त्यसप्रति कुनै चासो नै नदेखाउँदा तपाईंलाई दिक्क लाग्न सक्छ।
आफूलाई मनपर्ने खालको संगीत बुबालाई पटक्कै मन नपर्नुको कारण १६ वर्षीय रबर्टले बुझ्नसकेका छैनन्। रबर्टले यसो भने, “उहाँलाई ‘बन्द गरिहाल’ भनेर चिच्याउनबाहेक अरू कुरा त भन्न पनि आउँदैन जस्तो छ। त्यसपछि म बाजा बन्द गर्छु, अनि बाजा पनि चुप, बुबा पनि चुप।” त्यस्तैगरि आमाबाबुले राम्ररी कुरा नबुझेको जस्तो लाग्दा थुप्रै युवाहरू आफ्नै संसारमा भुल्न खोज्छन्। युवाहरूसित लिइएको एउटा व्यापक सर्वेक्षणअनुसार २६ प्रतिशतले “म सकेसम्म घरबाहिर बढी समय बिताउन खोज्छु” भने।
यसकारण धेरैजसो युवाहरू तथा आमाबाबुबीच ठूलो खाडल वा अन्तर हुन्छ। यसको कारण के हो?
“बल” र “फूलेको कपाल”
हितोपदेश २०:२९ यसो भन्छ: “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो।” तर यो शक्ति वा “बल” तपाईं र तपाईंका आमाबाबुबीच अमेलको बीउ हुनसक्छ। त्यो हितोपदेशमा अझै यसो भनिएको छ: “वृद्ध मानिसहरूको शोभा उनीहरूका फूलेको कपाल हो।” तपाईंका आमाबाबुको कपाल सेतै ‘फूलेको’ नहोला तर उहाँहरू पाको हुनुहुन्छ र जीवनप्रति बेग्लै दृष्टिकोण राख्नुहुन्छ। जीवनको हरेक घटना आफूले चाहेजस्तो रमाइलो हुँदैन भनेर उहाँहरूले बुझ्नुभएको छ। व्यक्तिगत जीवनमा भोगेको कटु अनुभवले गर्दा आफू जवान छँदाको दृष्टिकोणमा हेरफेर गर्नुभएको हुनसक्छ। “फूलेको कपाल” अर्थात् अनुभवले प्राप्त बुद्धिको कारण उहाँहरूलाई कुनै कुनै विषयहरूमा तपाईंलाई जत्तिको चासो नलाग्नसक्छ।
जिम नाउँका केटो यसो भन्छन्: “मेरो आमाबाबुको (महामन्दीको युगमा हुर्केका केटाकेटीहरू) विचारमा पैसा जम्मा गर्नुपर्छ र असाध्यै महत्त्वपूर्ण चीजबीजहरू किन्न मात्र खर्च गर्नुपर्छ। तर म त अहिलेको युगमा बाँचिरहेको छु, त्यतिबेला त होइन नि . . . म यताउता घुम्न चाहन्छु।” हो, जवानीको “बल” र आमाबाबुको “फूलेको कपाल[बीच]” आकाश जमीनको फरक हुनसक्छ। धेरैजसो परिवारहरू पहिरन तथा कोरीबाटी, विपरीत लिंगको व्यक्तिसितको आचरण, लागू पदार्थ तथा मद्यको प्रयोग, घर पुग्नुपर्ने समय, सरसंगति तथा घरधन्दाजस्ता कुराहरूमा पटक्कै सहमत हुन सक्दैनन्। पुस्ता अन्तरको समस्यालाई सुल्झाउन नसकिने होइन। तर तपाईंको आमाबाबुले कुरा बुझिदिएको आशा गर्नुअघि तपाईंले पनि उहाँहरूको कुरा बुझ्ने कोसिस गर्नुपर्छ।
आमाबाबु पनि त मानिसै हुन्
“अलि सानो छँदा मलाई कस्तो लाग्थ्यो भने, आमाले ‘कुनै गल्ती गर्नुहुन्न’ र उहाँसित मेरो जस्तो कमजोरी वा भावनाहरू छैनन् होला,” भनी जोन भन्छन्। पछि गएर जोनको आमाबाबुको पारपाचुके भयो र आमा एक्लैले सात जना छोराछोरी हुर्काउनुपऱ्यो। जोनकी बहिनी एप्रिल यसो भन्छिन्: “सबै कुरा एक्लैले हेर्नुपर्दा दिक्क भएर आमा रुनुभएको मलाई थाह छ। त्यसपछि मैले बुझें, हाम्रो सोचाइ ठीक रहेनछ। उहाँले सबै कुरा, सधैं सही ढंगमा गर्नु सम्भवै थिएन। उहाँका पनि आफ्नै भावनाहरू छन् र आखिर मानिस नै हुनुहुन्छ भनेर हामीले बुझ्यौं।”
आमाबाबुहरू पनि तपाईंका जस्तै भावनाहरू भएका मानिसै हुन् भनेर महसुस गर्नुभएपछि उहाँहरूलाई बुझ्न निकै सजिलो हुन्छ। उदाहरणका लागि, तपाईंलाई हुर्काउन आफू त्यति सक्षम जस्तो नलागेर उहाँहरू चिन्तित हुनुहुन्छ होला। वा तपाईंले सामना गर्नुपर्ने नैतिक खतरा तथा प्रलोभनले गर्दा के गरूँ कसो गरूँ भनेर अलमल्ल पर्नुभएको होला। त्यसैले कहिलेकाहीं सानोतिनो कुरामा पनि असाध्यै नाटीकुटी गर्नुहोला। आफ्नै शारीरिक, आर्थिक वा भावनात्मक कठिनाइहरूसित संघर्ष गरिरहनुभएको होला। जस्तै, बुबालाई आफ्नो जागिर पटक्कै चित्त नबुझेको होला तर कहिल्यै गुनासो नगर्नुभएको हुनसक्छ। त्यसकारण बच्चाले, “स्कूलको त नाउँसमेत लिन मन लाग्दैन” भन्दा बुबाले सहानुभूति देखाउनुको साटो यस्तो जवाफ दिनु कुनै अचम्मको कुरा होइन, “दिमाग त ठीक ठाउँमा छ? तिमीहरूजस्तो सोखिनदार बच्चाहरू त कोही छैन बा!”
“अरूहरूका कुरामा पनि ध्यान” दिनुहोस्
त्यसोभए, आमाबाबुको सोचाइ कसरी थाह पाउने त? “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) आमालाई उहाँ किशोरी हुनुहुँदाका कुराहरू सोध्नुहोस्। उहाँका भावना, लक्ष्यहरू कस्ता थिए? टीन पत्रिकाले यसो भन्यो, “तपाईंले आमाका भावनाहरूको ख्याल गर्नुहुन्छ र उहाँका भावनाहरू बुझ्नुहुन्छ भनेर उहाँले थाह पाउनुभएपछि तपाईंका भावनाहरू पनि अझ राम्ररी बुझ्न खोज्नुहुनेछ।” तपाईंको बुबाको सन्दर्भमा पनि कुरा एउटै हो।
कुनै विवाद भइहाल्यो भने पनि आमाबाबुलाई औंला नठड्याइहाल्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘उहाँ बिसन्चो हुनुहुन्थ्यो कि वा कुनै कुराले पिरोलिरहेको पो थियो कि? मेरो मूर्खतापूर्ण काम वा दुर्वचनले गर्दा उहाँको चित्त पो दुख्यो कि? वा मैले भन्न खोजेको कुरै नबुझ्नुभएको पो हो कि?’ (हितोपदेश १२:१८) त्यस्तो समानुभूति देखाउनु पुस्ता अन्तरलाई घटाउने राम्रो सुरुआत हो। अब भने आमाबाबुले तपाईंको कुरा बुझोस् भन्नाको लागि सुरसार कस्न सक्नुहुन्छ! तर धेरैजसो युवाहरू आफैले तगारो बनाउँछन्। कसरी?
दोहोरो जीवन बिताएर
सत्र वर्षीया भिक्कीले आमाबाबुको इच्छा विपरीत लुकीछिपी एउटा केटोसँग साँठगाँठ बढाएर दोहोरो जीवन बिताइन्। आफ्नो प्रेमीप्रतिका भावनाहरू आमाबाबुले बुझ्नुहुन्न भनेर तिनी यकिन थिइन्। फलस्वरूप तिनी र आमाबाबुबीचको दूरी झन् झन् बढ्नु त स्वाभाविकै थियो। भिक्की भन्छिन्, “हामी दुवैको जिन्दगी असाध्यै नमीठो भइरहेको थियो। मलाई घर आउनै मन लाग्दैनथ्यो।” तिनले घरबाट उम्कने उपाय भेटाउन विवाह गर्ने निर्णय गरिन्!
त्यसरी नै धेरै युवाहरू दोहोरो जीवन बिताउँछन्। आमाबाबुलाई थाह नदिई उहाँहरूको इच्छा विपरीत कामकुरा गर्छन् र पछि आमाबाबुले त ‘मेरो कुरै बुझ्नुहुन्न’ भनेर गुनासो गर्छन्! तर आनन्दको कुरा, भिक्कीलाई एउटी वृद्ध मसीही बहिनीले मदत गरिन्। उनले यसो भनिन्: “भिक्की, तिम्रो आमाबाबुको विचार गर त . . . तिनीहरूले तिमीलाई हुर्काए बढाए। तिनीहरूसित त राम्रो सम्बन्ध गाँस्न सक्दैनौ भने तिम्रो जत्तिकै उमेरको र तिमीलाई हुर्काउन बढाउन आमाबाबुले जस्तो १७ वर्ष नबिताएको व्यक्तिसित कसरी मिलेर बस्नसक्छौ?”
भिक्कीले आफैलाई इमानदारीपूर्वक केलाएर हेरिन्। आमाबाबुको कुरा सही रहेछ र तिनको हृदय बहकिएको रहेछ भनेर थाह पाइन्। तिनले आफ्नो प्रेमीसित हेलमेल गर्न बन्द गरिन् र आमाबाबुसित घनिष्ठ हुने प्रयास गरिन्। तपाईंले पनि आफ्नो जीवनको त्यस्तो कुनै महत्त्वपूर्ण कुरालाई गोप्य राख्नुभएको छ भने के त्यसबारे बताइहाल्नु बेस होइन र?—“आमाबाबुलाई कसरी भनुँ?” परिशिष्ट हेर्नुहोस्।
कुरा गर्न समय निकाल्नुहोस्
‘बुबासित बिताएको सबैभन्दा रमाइलो समय त्यही थियो!’ आफ्नो बुबासित गएको यात्राबारे जोनले टिप्पणी गरे। “मैले जिन्दगीमा बुबा र म मात्रै बसेर छ घण्टा कहिल्यै बिताएको थिइनँ। जान छ घण्टा अनि फर्कन
अर्को छ घण्टा। एक चोटि पनि रेडियो बजाएनौं। कुरा गरेको गऱ्यै। एकअर्कासित राम्ररी चिनापर्ची गरेजस्तै भयो। मलाई उहाँबारे सबै कुरा थाह रहेन रहेछ जस्तो लाग्यो। हामीहरू साथी भयौं।” तपाईंको आमा या बुबासित कहिलेकाहीं मात्र होइन तर नियमित रूपले कुरा गर्ने बानी बसाल्नुभए कसो होला?यसो गर्दा अरू वयस्कहरूलाई साथी बनाउन पनि सजिलो हुन्छ। भिक्की यसो भन्छिन्: “आफूभन्दा ठूलोहरूसित त पटक्कै ठ्याक मिल्दैन थियो। तर आमाबाबु उहाँहरूका वयस्क साथीहरूकहाँ जानुहुँदा म मन नलागी नलागी उहाँहरूको पुच्छर लाग्थें। समय बित्दै जाँदा मैले आफ्नो आमाबाबुको उमेरका मानिसहरूलाई पनि साथी बनाउन सकें र यसले गर्दा मेरो दृष्टिकोण एकोहोरो भएन। फलतः आमाबाबुसित कुरा गर्न सजिलो भयो। घरको वातावरणमा आकास जमीनको फरक हुन थाल्यो।”
उमेर खाएर अनुभवी भइसकेका व्यक्तिहरूसित संगत गर्दा जीवनप्रति तपाईंको दृष्टिकोण एकोहोरो हुँदैन। तर आफ्नै दौंतरीहरूसित मात्र संगत गर्दा भने त्यसो हुनसक्छ।—हितोपदेश १३:२०.
आफ्ना भावनाहरू बताउनुहोस्
जवान एलीहूले यसो भने, “म बुद्धिसित बोल्दैछु र मेरो मुखले इमान्दारीसित बोल्दैछु भनी मलाई विश्वास छ।” (अय्यूब ३३:३) लुगाफाटा, घर पुग्नुपर्ने समय वा संगीतजस्ता विषयहरूमा आमाबाबुसित कुरा नमिल्दा के तपाईं एलीहूले जस्तै कुरा गर्नुहुन्छ?
ग्रेगरीलाई आफ्नी आमा असाध्यै अव्यवहारिक लाग्थ्यो। आमासित चर्को भनाभन हुँदा ग्रेगरी सकेसम्म घरै फर्कंदैनथे। तर पछि तिनले केही मसीही प्राचीनहरूको सल्लाह पालन गरे। तिनी भन्छन्, “मैले आमालाई आफ्ना भावनाहरू पोखें। मैले कुनै कामकुरा गर्नुको कारण बताएँ र उहाँले त बुझ्नुपर्ने हो भन्ने दृष्टिकोण राखिनँ। प्रायजसो मैले मनमा कुनै कुरा नलुकाई सबै कुरा पोख्न थालें, कुनै खराब काम गर्न खोजेको हैन तर उहाँले मलाई सानो काखे बच्चाजस्तो व्यवहार गर्दा असाध्यै नराम्रो लाग्छ भनी बताएँ। त्यसपछि उहाँले मेरो कुरा बुझ्न थाल्नुभयो र बिस्तारै बिस्तारै परिस्थितिमा निकै सुधार आयो।”
ग्रेगरीले जस्तै इमानदारीसित कुरा गर्नुभयो भने चित्त नबुझेका थुप्रै कुराहरू सुल्झाउन सकिन्छ भनी तपाईंले पनि अनुभव गर्नुहोला।
मतभिन्नताहरू सुल्झाउने
तर यसको मतलब आमाबाबुले तुरुन्तै तपाईंको जस्तै सोचाइ राख्नुहुनेछ भनेको होइन। त्यसकारण आफ्ना भावनाहरूलाई बेलगाम घोडाजस्तो छाड्नु हुँदैन। “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।” (हितोपदेश २९:११) तपाईंको दृष्टिकोणका सकारात्मक पक्षहरू के के हुन्, शान्त भएर छलफल गर्नुहोस्। “मैले मात्र गरेको हो र, अरूले पनि त गर्छ नि!” भन्दै वादविवाद गर्नुको साटो यथार्थ के हो, त्यही भन्नुहोस्।
कहिलेकाहीं आमाबाबुले तपाईंको कुरा इन्कार पनि गर्नुहुनेछ। यसको मतलब तपाईंको कुरै नबुझ्नुभएको चाहिं होइन। उहाँहरू केवल तपाईंलाई खतराबाट बचाउन चाहनुहुन्छ। एउटी १६ वर्षीया केटी यसो भन्छिन्, “मेरी आमा असाध्यै कडिकडाउ गर्नुहुन्छ। यो गर्नू, त्यो नगर्नू वा ठीक यति बजे घर आइपुग इत्यादि कुराहरू सुन्दा वाक्क लाग्छ। तर मनभित्र भने मलाई थाह छ, उहाँले साँच्चै मेरो ख्याल गर्नुहुन्छ . . . मेरो परवाह गर्नुहुन्छ।”
पारस्परिक समझदारीले परिवारमा ल्याउने सुरक्षा तथा न्यानोपनलाई शब्दमा वर्णन गर्न सकिंदैन। यसले चिन्तै चिन्ताले भरिएको समयमा समेत घरलाई आश्रयस्थल बनाउँछ। तर सबै जनाले प्रयास चाहिं गर्नैपर्छ।
छलफलका लागि प्रश्नहरू
◻ छोराछोरी र आमाबाबुबीच अक्सर मतभिन्नता किन भइरहन्छ?
◻ आमाबाबुको दृष्टिकोणलाई राम्ररी बुझ्ने प्रयास गर्दा परिणाम कस्तो हुनसक्छ?
◻ तपाईं आफ्ना आमाबाबुलाई कसरी अझ राम्ररी बुझ्न सक्नुहुन्छ?
◻ दोहोरो जीवनशैलीले तपाईं र आमाबाबुबीच किन दूरी ल्याउनसक्छ?
◻ कुनै गम्भीर समस्या भोगिरहनुभएको छ भने आमाबाबुलाई बताउनु किन सबैभन्दा बेस हो? उहाँहरूलाई कसरी बताउन सक्नुहुन्छ?
◻ आमाबाबुलाई तपाईंको कुरा अझ राम्ररी कसरी बुझाउन सक्नुहुन्छ?
[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]
“तपाईंले [आमाका] भावनाहरूको ख्याल गर्नुहुन्छ र उहाँका भावनाहरूको कारण बुझ्नुहुन्छ भनेर उहाँले थाह पाउनुभएपछि तपाईंका भावनाहरू पनि अझ राम्ररी बुझ्न खोज्नुहुनेछ।”—टिन पत्रिका
[पृष्ठ २० र २१-मा भएको पेटी/चित्र]
आमाबाबुलाई कसरी भनुँ?
आमाबाबुलाई आफ्नो पोल खोल्नु कुनै रमाइलो कुरा होइन। भिन्स नाउँको केटो यसो भन्छन्: “आमाबाबुले ममाथि निकै भरोसा राख्नुहुन्छ भनेर मलाई थाह थियो। त्यसो हुँदा उहाँहरूलाई आफ्नो गल्तीबारे बताउन झनै गाह्रो भयो किनभने म उहाँहरूको चित्त दुखाउन चाहन्नथें।”
आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्ने युवाहरूलाई अन्तस्करणले सधैं घोचिरहन्छ। (रोमी २:१५) गल्तीहरू सहनै नसक्ने “गह्रौं भारीझैं” हुनसक्छन्। (भजन ३८:४) सधैंजसो झूट बोलेर आमाबाबुलाई झुक्याउन खोज्छन् र फलस्वरूप एकपछि अर्को गल्तीहरू गर्छन्। यसो हुँदा परमेश्वरसित तिनीहरूको सम्बन्ध पनि बिग्रन्छ।
बाइबल यसो भन्छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्नति हुँदैन, तर स्वीकार गरेर ती छोड़यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितोपदेश २८:१३) उन्नाइस वर्षीया बेट्टीले भनेझैं, “जति लुकाएपनि आखिरमा यहोवाले सबै देखिहाल्नुहुन्छ।”
गम्भीर गल्ती नै हुन गयो भने आफ्नो भूल स्वीकार्दै यहोवासित प्रार्थना गरेर क्षमा माग्नुहोस्। (भजन ६२:८) त्यसपछि, आमाबाबुलाई बताउनुहोस्। (हितोपदेश २३:२६) उहाँहरूले जीवनमा थुप्रै कुराहरू भोगिसक्नुभएको छ। त्यसकारण ती गल्तीहरू सच्याएर त्यो फेरि नदोऱ्याउन तपाईंलाई मदत दिन सक्नुहुन्छ। अठाह्र वर्षीय क्रिस यसो भन्छन्, “आफ्नो गल्ती नलुकाई सबै कुरा बताउँदा मन निकै हल्का हुन्छ। मनमा कुरा खेलि नरहँदा उकुसमुकुस पनि हुँदैन।” तर कुरा आउँछ, आमाबाबुलाई भन्ने पो कसरी?
बाइबलले “ठीक बेलामा भनेको ठीक कुरा[बारे]” बताउँछ। (हितोपदेश २५:११; तुलना गर्नुहोस् उपदेशक ३:१, ७) त्यो कुन समय होला? क्रिस अझै यसो भन्छन्: “बेलुका खाना खान नसिद्धिउञ्जेल पर्खन्छु र एउटा कुरा गर्नुपर्ने थियो भनी बुबालाई भन्छु।” आमा मात्रै भएको छोराले भने अर्कै समयमा बताउने कोसिस गरेका छन्: “राति सुत्नुअघि म आमासित प्रायजसो कुरा गर्ने गर्छु। त्यतिबेला उहाँ अलि शान्त मुद्रामा हुनुहुन्छ। कामबाट भर्खर घर फर्कनुभएको समयमा त उहाँको मनमा तीन थुप्रो कुराहरू घुमिरहेका हुन्छन्।”
शायद तपाईंले यसरी कुरा थाल्न सक्नुहुन्छ, “एउटा कुरा भन्नुपर्नेथियो।” अनि तपाईंको कुरा सुन्न आमाबाबु असाध्यै बेफुर्सतीजस्तो देखिनुहुन्छ भने के गर्ने? तपाईं यसो भन्न सक्नुहुन्छ, “मलाई थाह छ, तपाईंहरू व्यस्त हुनुहुन्छ तर यो कुरा नभनी भएको छैन। एक छिन कुरा गरौं न, हुन्न?” त्यसपछि फेरि सोध्नुभए
हुन्छ: “के तपाईंले जिन्दगीमा त्यस्तो कुनै काम गर्नुभएको थियो जसबारे कुरा गर्नै लाज लाग्यो?”सबैभन्दा गाह्रो काम त अब पो हो: गल्तीबारे आमाबाबुलाई भन्ने। नम्र हुनुहोस् र ‘सत्य बोल्नुहोस्’ तर गल्तीलाई हल्काजस्तो देखाउन नखोज्नुहोस् वा कुरा चपाई चपाई नभन्नुहोस्। (एफिसी ४:२५; तुलना गर्नुहोस् लूका १५:२१) तपाईंको आमाबाबुले बुझ्नुहुने शब्दहरू चलाउनुहोस् र युवापिंढीले मात्र बुझ्ने शब्दहरू प्रयोग नगर्नुहोस्।
कुरा सुन्नेबित्तिकै तपाईंको आमाबाबुको चित्त दुख्नु वा उहाँहरूले खिन्न महसुस गर्नु त स्वाभाविकै हो। त्यसकारण गाली खानुपरे छक्क नपर्नुहोस् वा रीसारिस नगर्नुहोस्! पहिल्यै उहाँहरूको चेताउनी सुन्नुभएको भए आज यस्तो हुने नै थिएन होला। त्यसकारण शान्त हुनुहोस्। (हितोपदेश १७:२७) आमाबाबुको कुरा सुन्नुहोस् र उहाँहरूले जसरी सोध्नु भए तापनि प्रश्नको जवाफ दिनुहोस्।
निस्सन्देह, कामकुरा सुल्झाउने तपाईंको साँचो मनसाय देखेर उहाँहरू प्रभावित हुनुहुनेछ। (२ कोरिन्थी ७:११ तुलना गर्नुहोस्।) तैपनि, केही अनुशासन स्वीकार्न तयार हुनुहोस् र यो तपाईंलाई चाहिएकै हुन्छ पनि। “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:११) यो पनि नबिर्सनुहोस्, आमाबाबुको मदत तथा पाको सल्लाह तपाईंलाई यही एक चोटि मात्र चाहिने होइन। स-साना समस्याहरू हुँदा आमाबाबुलाई बताउने बानी बसाल्नुहोस्। त्यसो गर्नुभयो भने ठूलठूला समस्याहरू आइपर्दा उहाँहरूलाई बताउन हिचकिचाउनु पर्नेछैन।
[चित्र]
तपाईंको कुरा सुन्नुहुन्छ जस्तो देखिने समयमा आमाबाबुलाई बताउनुहोस्