मैले जुनसुकै किताब पढे पनि केही फरक पर्छ र?
अध्याय ३५
मैले जुनसुकै किताब पढे पनि केही फरक पर्छ र?
राजा सुलेमानले यस्तो चेताउनी दिए: “पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) सुलेमानले पढ्न निरुत्साहित गरिरहेका थिएनन्। तर पढ्ने कुरा छान्दा होशियार हुनुपर्छ भन्ने सल्लाह दिइरहेका थिए।
सत्रौं शताब्दीका फ्रान्सेली दार्शनिक रेने डेकार्टले यसो भने: “एउटा राम्रो किताब पढ्नु भनेको पुरातन समयका घरानियाँ मानिसहरूसित कुराकानी गर्नु जस्तै हो। यसलाई सोचीसम्झी गरेको कुराकानी पनि भन्न सकिन्छ किनभने त्यसमा लेखकले आफ्ना महान् विचारहरू मात्र व्यक्त गरेका हुन्छन्।” तर सबै लेखकहरू ‘कुराकानी’ गर्न लायकका हुँदैनन् नता सबैको विचार नै “महान्” हुन्छन्।
अतः धेरै चोटि उद्धरण गरिने बाइबलको सिद्धान्त यहाँ पनि लागू हुन्छ: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) हो, तपाईं जोसित घुलमिल गर्नुहुन्छ, तिनीहरूले तपाईंको व्यक्तित्वलाई मोड्नसक्छ। कुनै साथीसित अचाक्ली धेरै समय बिताउन थाल्दा तपाईंले पनि उसले जस्तै बोल्न, चालढाल गर्न तथा सोच्नसमेत थाल्नुभएको याद गर्नुभएको छ? भनौं भने, किताब पढ्नु भनेको त्यस किताबका लेखकसित घण्टौं कुराकानी गर्नु जस्तै हो।
यसकारण येशूले मत्ती २४:१५, NW मा उल्लेख गर्नुभएको सिद्धान्त सान्दर्भिक छ: “पढ्नेले विवेक चलाओस्।” आफूले पढिरहेको विषयवस्तु केलाउन र त्यो कत्तिको सार्थक छ भनी तौलन सिक्नुहोस्। सबै मानिसहरूसित धेरथोर पक्षपाती झुकाउ हुने हुँदा पूर्णतया इमानदार भएर तथ्यहरू प्रस्तुत गरेका हुँदैनन्। त्यसकारण, आफूले पढ्ने वा सुन्ने सबै कुरा सहजै नस्वीकार्नुहोस्: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यक्तालाई बुझ्छ।”—हितोपदेश १४:१५.
जीवनको दर्शनबारे वर्णन गरिएको कुनै पनि कुरा पढ्न तपाईं विशेषगरि होशियार हुनुपर्छ। उदाहरणका लागि, किशोरकिशोरीहरूका लागि प्रकाशित पत्रिकाहरूले प्रेमी-प्रेमिकाको घुमफिरदेखि विवाहपूर्व यौनसम्बन्धजस्ता कुराहरूमा सरसल्लाह दिएका हुन्छन्। तर यी सबै सल्लाहहरू मसीहीको निम्ति सधैं उपयोगी हुँदैनन्। अनि गहन दर्शनहरू बखान गर्ने पुस्तकहरू नि?
बाइबल यस्तो चेताउनी दिन्छ: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, . . . तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।” (कलस्सी २:८) बाइबल र यस पुस्तकजस्तो बाइबलआधारित प्रकाशनहरूले त्यस्ता पुस्तकहरूको दाँजोमा सर्वोत्तम सल्लाह दिन्छ।—२ तिमोथी ३:१६.
के प्रेमकथाहरू पढ्नु हानिकारक हो?
संयुक्त राज्यमा मात्रै लगभग दुइ करोड मानिसहरूलाई प्रेमकथाहरू पढ्ने लत लागिसकेको छ। निस्सन्देह, परमेश्वरले नै मानिसहरूमा मायाप्रीती लाउने र विवाह गर्ने इच्छा राखिदिनुभएको हो। (उत्पत्ति १:२७, २८; २:२३, २४) त्यसकारण प्रायजसो उपन्यासहरू प्रेममा आधारित हुनु कुनै अचम्मको कुरा होइन र यो आपत्तिजनक पनि छैन। केही प्रेमकथाहरू त उत्तम साहित्यको श्रेणीमा पनि राखिएको छ। तर यी पुराना उपन्यासहरू आधुनिक स्तरअनुसार निरस ठानिने हुँदा वर्तमान समयका लेखकहरूले नयाँ प्रकारका प्रेमकथाहरू लेखेर पैसा कमाउने तरिका पाएका छन्। केहीले भने आफ्नो कथावस्तुलाई रमाइलो अनि मोहक बनाउन अझै पनि ऐतिहासिक वा मध्यकालीन पृष्ठभूमिमा लेख्ने गर्छन्। अरू कतिपयको लेखनशैली तथा पृष्ठभूमि भने समकालीन हुन्छन्। तर जे होस्, आधुनिक प्रेमकथाहरूमा केही भिन्नता भए तापनि फर्मुला एउटैजसो हुन्छ: नायक नायिका हुन्छन् र तिनीहरूले आफ्नो लहलहाउँदो मायाप्रीतीलाई खतरामा पार्नसक्ने अवरोधहरू पार लगाउँछन्।
साधारणतया, नायकको भूमिका निर्वाह गर्ने व्यक्ति बलियो, अहंकारी हुन्छ र निकै आत्मविश्वासी पनि हुन्छ। तर नायिका भने कोमल अनि कमजोर हुन्छिन् र नायकभन्दा १०, १५ वर्ष कान्छी हुन्छिन्। अनि नायकले नायिकालाई आदरपूर्वक व्यवहार नगरे तापनि नायिका चाहिं नायक भनेपछि भुतुक्कै हुन्छिन्।
अनि प्रायजसो, केटीको पछि लाग्ने अर्को एक जना आशिकी पनि हुन्छ। तिनी दयालु तथा समझदार भए तापनि नायिकालाई रिझाउन सक्दैनन्। अब नायिकाले भावशून्य नायकको मन जित्न मोहनी लाउँछन्। अब भने नायकले आफ्नो प्रेम खुलेआम स्वीकार्छन्। पुराना भूलत्रुटिलाई क्षमा दिएर सुमधुर सम्बन्ध गाँस्छन्। त्यसपछि विवाह गरेर सदा सर्वदाको लागि आनन्दसित बस्छन् . . .
के वास्तविक मायाप्रीती प्रेमकथाहरूमा जस्तै हुन्छ?
त्यस्ता काल्पनिक कथाहरू पढेपछि के तपाईं कल्पनाकै संसारमा डुब्नुहुन्न र? सोह्र वर्षको उमेरदेखि प्रेमकथाहरू पढ्न थालेकी बोनी यसो भन्छिन्: “म सधैं अग्लो, गहुँगोरो, खाइलाग्दो केटो खोज्थें; चल्तापुर्जा तथा रवाफिलो व्यक्तित्व भएको।” उनी यसो भन्छिन्: “मेरो प्रेमीले छुन वा मलाई चुम्बन गर्न चाहेन भने ऊ समझदार तथा दयालु भए तापनि मलाई मन पर्दैनथियो। म प्रेमकथाहरूमा जस्तै उत्तेजना अनुभव गर्न चाहन्थें।”
विवाहपश्चात् पनि बोनीले प्रेमकथाहरू पढ्न छाडिनन्। उनी यसो भन्छिन्: “मेरो राम्रो परिवार थियो तर त्यति भएर मात्र मलाई चित्त बुझेको थिएन . . . प्रेमकथाहरूमा असाध्यै मोहक ढंगमा वर्णन गरेजस्तो रमाइलो, रोमान्स चाहन्थें। मलाई मेरो विवाहमा केही कुरा नमिलेको जस्तो लाग्थ्यो।” तर पतिको काम पत्नीलाई मोहित पार्नु वा “रोमान्स” दिनु मात्र होइन भनी बुझ्न बाइबलले बोनीलाई मदत गऱ्यो। बाइबल यसो भन्छ: “त्यसरीनै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।”—एफिसी ५:२८, २९.
अनि प्रेमकथाहरूको सामान्य विषयवस्तुबारे के भन्न सकिन्छ? जस्तै परमसुख र मतभिन्नताहरू सजिलै सुल्झिने परिस्थिति। भनौं भने, त्यो यथार्थ होइन। बोनी यसो भन्छिन्: “श्रीमान्सित झगडा हुँदा कुरा गरेर सुल्झाउनुको साटो नायिकाको नक्कल गर्थें। श्रीमान्ले नायकको जस्तो प्रतिक्रिया नदेखाउनुहुँदा म ठुस्स पर्थें।” के बाइबलले दिने निम्न सल्लाह अत्यन्तै यथार्थपूर्ण र व्यवहारिक छैन र: “ए पत्नी हो, . . . पतिका अधीनमा बस।”—कलस्सी ३:१८.
यौन सन्तुष्टि
चाखलाग्दो कुरा, यौनलाई नै विशेष महत्त्व दिइएका प्रेमकथाहरू, केही शहरका सार्वजनिक पुस्तकालयहरूमा किशोरकिशोरीहरूले सबैभन्दा बढी माग गर्ने पुस्तक भएका छन्। के ती पुस्तकहरूले तपाईंलाई हानि पुऱ्याउनसक्छन्? अठाह्र वर्षीया करेन यसो भन्छिन्: “पुस्तकहरूले मभित्र साँच्चै प्रबल यौन भावनाहरू तथा उत्सुकता जगायो। नायकसित भएका भावपूर्ण भेटघाटहरूमा नायिकाले अनुभव गरेको परमानन्द तथा हर्षोल्लासका भावनाहरू म पनि आफूमा जगाउन चाहन्थें। तिनी अझै यसो भन्छिन्, “अतः प्रेमीसित घुमफिर गर्न जाँदा म त्यस्तै भावनाहरू फेरि जगाउन चाहन्थें। त्यसको परिणामस्वरूप व्यभिचार गर्न पुगें।” तर के तिनले प्रेमकथाहरूमा पढेका र कल्पना गरेका नायिकाहरूले जस्तै अनुभव गरिन्? करेनले यो कुरा पत्ता लगाइन्: “त्यस्ता भावनाहरू लेखकहरूका दिमागी उपज मात्र हुन्। ती वास्तविक होइनन्।”
केही लेखकहरूको ध्येय नै यौन कल्पना सृजना गर्नु हो। एक प्रकाशकले प्रेमकथाका लेखकलाई कस्तो सल्लाह दिए, त्यसमा ध्यान दिनुहोस्: “यौनसित सम्बन्धित कुराहरूको वर्णनमा नायकले चुम्बन गर्दा तथा उसले सुमसुम्याउँदा उत्तेजित हुने वासनाबारे बताउनुपर्छ।” प्रेमकथाका लेखकहरूलाई यस्तो सल्लाह पनि दिइन्छ, “तिनीहरूका कथाहरूले पाठकमा उत्तेजना, उतारचढाउ र गहिरो भावना तथा कामवासना जगाउनुपर्छ।” स्पष्टतः त्यस्तो विषयवस्तु पढेपछि बाइबलको निम्न सल्लाह पालन गर्न कुनै मदत पुग्नेछैन: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा।”—कलस्सी ३:५.
पुस्तक छान्दा होशियार हुनुहोस्
त्यसकारण, अनैतिक भावना जगाउने वा अव्यवहारिक प्रत्याशाहरूलाई बढावा दिने उपन्यासहरू नपढ्नु बेस हुनेछ। प्रेमकथाहरू मात्रै नपढेर इतिहास वा विज्ञानका पुस्तकहरू पढ्न थाले कसो होला? उपन्यासहरू पढ्नै हुँदैन भनेको होइन किनभने कुनै कुनै कथाकिताबहरू रमाइलो मात्र होइन शिक्षाप्रद पनि हुन्छन्। तर उपन्यासले यौन, अनर्थको हिंसा, टुनामुना, छाडा, कठोर, लोभी “नायकहरूको” चित्रण गर्छ भने, त्यस्तो किताब पढेर किन समय खेर फाल्ने?
त्यसकारण होशियार हुनुहोस्। किताब पढ्नुअघि त्यसको आवरण हेर्नुहोस्। त्यस पुस्तकमा पढ्न नहुने त्यस्तो कुनै कुरा छ कि हेर्नुहोस्। अनि यस्ता सावधानीहरू अपनाउँदा अपनाउँदै पनि किताब राम्रो रहेनछ भनी थाह पाउनुभयो भने किताब त्यहीं बन्द गर्ने हिम्मत गर्नुहोस्।
त्यसको विपरीत, बाइबल तथा बाइबलमा आधारित प्रकाशनहरू पढ्दा तपाईंको हानि होइन भलाइ हुन्छ। यसबारे एउटी जापानी केटीले यसो भनिन्, बाइबल पढ्दा यौनलाई मनबाट हटाउन मदत मिल्छ, जुन कुरा युवाहरूका लागि एउटा ठूलो समस्या हो। उनी भन्छिन्, “म सधैं तकिया नजिकै बाइबल राख्छु र सुत्नुअघि जहिलेपनि बाइबल पढ्ने बानी बसालेकी छु। एक्लै हुँदा कुनै काम हुँदैन (जस्तै, सुत्ने बेलामा), हो त्यतिबेला म कहिलेकाहीं यौनबारे सोच्ने गर्छु। त्यसकारण बाइबल पढ्नु निकै मदतकारी साबित भएको छ!” हो, बाइबलमा उल्लिखित विश्वासिला मानिसहरूसित “कुराकानी गर्दा” साँचो नैतिक बल पाउन सक्नुहुन्छ र तपाईंको आनन्द पनि निकै बढ्नेछ।—रोमी १५:४.
छलफलका लागि प्रश्नहरू
◻ जे पायो त्यो नपढी किन होशियार हुनुपर्छ?
◻ थुप्रै जवानहरूलाई प्रेमकथाहरू किन असाध्यै मन पर्छ? तर त्यसका खतराहरू के हुन्?
◻ उपयुक्त पाठ्य सामग्री तपाईं कसरी छान्न सक्नुहुन्छ?
◻ बाइबल तथा बाइबलआधारित प्रकाशनहरू पढ्नुका केही फाइदाहरू के हुन्?
[पृष्ठ २८७-मा भएको ठूलो अक्षरको क्याप्सन]
“मेरो राम्रो परिवार थियो तर त्यति भएर मात्र मलाई चित्त बुझेको थिएन . . . प्रेमकथाहरूमा असाध्यै मोहक ढंगमा वर्णन गरेजस्तो रमाइलो, रोमान्स चाहन्थें। मलाई मेरो विवाहमा केही कुरा नमिलेको जस्तो लाग्थ्यो”
[पृष्ठ २८३-मा भएको चित्र]
लाखौं पुस्तकहरू बजारमा उपलब्ध छन्, त्यसकारण पुस्तक छान्दा होशियार हुनुपर्छ
[पृष्ठ २८५-मा भएका चित्रहरू]
प्रेमकथाहरू पढ्न थालेपछि अन्तसम्म नपढी किताब बन्द गर्न गाह्रो होला तर के त्यसले प्रेम र विवाहप्रति उचित दृष्टिकोण राख्न सिकाउँछ?