के म विवाह गर्नसक्ने भइसकें?
अध्याय ३०
के म विवाह गर्नसक्ने भइसकें?
विवाह, खेल होइन। अरू कसैसित नभएको घनिष्ठता पतिपत्नीबीच होस् र तिनीहरूबीचको सम्बन्ध स्थायी होस् भन्ने चाहना परमेश्वरले राख्नुभएको थियो। (उत्पत्ति २:२४) अतः विवाहपछि तपाईंको जीवन साथी त्यस्तो व्यक्ति हुनेछ, जससित तपाईंले सारा जीवन बिताउनुहुन्छ वा बिताउनैपर्छ।
थोरै होस् वा धेरै, विवाह गर्ने जति सबैले “कष्ट र शोक” भोग्छन्। (१ कोरिन्थी ७:२८, द न्यु इंगलिस बाइबल) तर आचरण विज्ञानका प्राध्यापक मार्सिया लासवेल यस्तो चेताउनी दिन्छन्: “वैवाहिक जीवन सफल हुने-नहुने सन्दर्भमा, एउटा कुरामा भने हामी शतप्रतिशत निश्चित छौं। कलिलै उमेरमा विवाह गर्नेहरूको वैवाहिक जीवन सफल नहुने सम्भावना तीन गुना बढी हुन्छ।”
कलिलै उमेरमा विवाह गर्नेहरूमध्ये प्रायजसोको वैवाहिक जीवन किन सफल हुँदैनन्? तपाईं विवाह गर्न योग्य हुनुभयो वा भएन सो निर्धारण गर्न यस प्रश्नको जवाफले ठूलो मदत गर्नसक्छ।
ठूल-ठूला सपना
“विवाह भनेको के हो भनेरै हामीलाई राम्ररी थाह थिएन,” एउटी किशोरी यसरी आफ्नो भूल स्वीकार्छिन्। “हामीले त विवाह गरेपछि पनि आफूले मनलागेअनुसार गर्ने, मनलाएको समयमा घर बाहिर जाने आउने अनि मनलाए भाँडा माझ्ने, मन नलाए त्यतिकै छाड्ने गर्नसक्छौं भन्ठानेका थियौं, तर त्यसो हुँदैन रहेछ।” विवाहबारे थुप्रै किशोरकिशोरीहरूको त्यस्तै अपरिपक्व दृष्टिकोण हुन्छ। तिनीहरूले रोमान्टिक संसारको कल्पना गरिराखेका हुन्छन्। अथवा वयस्क व्यक्तिको दर्जा हासिल गर्न मात्र विवाह गर्न खोजेका हुन्छन्। अरू चाहिं घर, स्कूल वा छरछिमेकीदेखि वाक्क भएर उम्कन खोजिरहेका हुन्छन्। एउटी केटीले आफ्नो मँगेतरलाई यसो भने: “विवाह गरे
पछि मलाई असाध्यै सञ्चो हुनेछ। किनभने त्यसपछि मैले कुनै निर्णय नै गर्नुपर्ने छैन।”तर विवाह भनेको न कल्पनामा बुनिएको संसार हो नता सबै समस्याहरूको समाधान नै हो। बरु, भन्ने हो भने विवाह गरेपछि उल्टो नयाँ समस्याहरूसित सामना गर्नुपर्नेछ। बीस वर्षको कलिलो उमेरमै गर्भवती भएकी भिकी भन्छिन्: “प्रायजसो किशोरकिशोरीहरू विवाहलाई पुतलीको बिहे सम्झन्छन्। तिनीहरू हर कुरा रमाइलो देख्छन्! छोराछोरीलाई लुटुपुटु गरेर खेल्न मिल्ने चिटिक्क परेको पुतली सम्झन्छन्, तर वास्तवमा त्यस्तो हुँदैन।”
यौनसम्बन्धको कुरामा पनि थुप्रै युवक युवतीहरूले अव्यवहारिक आशा गरिरहेका हुन्छन्। अठाह्र वर्षको उमेरमा विवाह गर्ने त्यस्तै एक युवकले यसो भने: “विवाह गर्नुअघि यौनसम्बन्धबारे जुन रोमाञ्चको कल्पना गरिएको हुन्छ, विवाहपश्चात् तुरुन्तै सेलाउँदोरहेछ। बरु उल्टो समस्याहरू पो उत्पन्न हुनथाल्छन्।” कैशारावस्थामै विवाह गर्ने केटाकेटीहरूको अध्ययन गर्दा के पाइयो भने, पैसापछि तिनीहरूको ठाकठुक पर्ने दोस्रो ठूलो विषय नै यौनसम्बन्ध रहेछ। निस्सन्देह, त्यसो त हुने नै भयो। किनभने जहाँ निःस्वार्थ र आत्मसंयम नै हुँदैन, त्यो वैवाहिक जीवन सन्तोषप्रद हुने कुरै उठ्दैन। र जवानहरूले प्रायः यस्ता गुनहरूको खेती गर्न सिकेका हुँदैनन्।—१ कोरिन्थी ७:३, ४.
१ कोरिन्थी ७:३६) यौनइच्छाको वशमा परेर विवाह गर्ने व्यक्तिले ठीकसँग सोचिरहेको हुँदैन र उसले सम्भाव्य पति वा पत्नीका गल्तीहरू पनि देखिरहेको हुँदैन।
त्यसैकारण, बाइबलले मसीहीहरूलाई “बैंस” नाघेपछि मात्र विवाह गर्ने सल्लाह दिन्छ। (आ-आफ्ना भूमिका निभाउन तयार हुँदैनन्
किशोरावस्थामा विवाह गर्ने केटी आफ्नो पतिको विषयमा यसो भन्छन्: “अहिले यौनइच्छा नलागेसम्म उहाँलाई म भए नभएको केही मतलबै हुँदैन। मेरो लोग्नेले म र उहाँका साथीहरूमा केही भिन्नता देख्नुहुन्न। . . . मैले त विवाहपछि उहाँको जीवनमा म मात्रै हुनेछु भन्ठानेकी थिएँ। तर कति उल्टो सोचेकी रहेछु।” यस किशोरीको अनुभवले प्रायः युवकहरूले राख्ने गलत धारणामाथि प्रकाश पार्छ। युवकहरू विवाहपछि पनि पहिलेजस्तै चल्नसक्छु भनेर सोच्छन्।
किशोरावस्थामै विवाह गर्ने पत्नीहरूबीच प्रायः देखिने समस्यालाई चाहिं १९ वर्षीया पत्नी आफ्नो अनुभवद्वारा यसरी प्रष्ट्याउँछिन्: “मलाई घर सफा गर्नु, भात पकाउनुभन्दा टिभी हेर्न र सुत्न मन पर्छ। मेरा सासूससुराहरू आउनुहुँदा मलाई असाध्यै लाज लाग्छ। किनभने उहाँहरू घर सफा राख्नुहुन्छ तर मेरो भने सुंगुरको खोरभन्दा कम छैन। अनि मैले पकाएको खानेकुरा शायद कमैले मीठो मानेर खाला।” घर गृहस्थी चलाउन नसक्ने केटीसित विवाह गर्दा त्यसले साँच्चै वैवाहिक जीवनमा कति ठूलो असर पार्छ। (माथि उल्लिखित) भिकीले यसो भनिन्: “विवाह गरेपछि साँच्चै समर्पित हुनुपर्ने रहेछ। यो कुनै खेल होइन। विवाहको रमझम सकेपछि, दिन दिनको समस्यासित जुझ्नुपर्छ, जुन खेलाँचीको कुरा होइन।”
अनि परिवार पाल्ने दिन दिनको जिम्मेवारी नि? भिकीको पति मार्क यसो भन्छन्: “पहिलो पल्ट जागिर खाँदा बिहान ६ बजे उठेर काममा जानुपर्थ्यो। ‘दिन दिनको यो टन्टादेखि कहिले मुक्ति पाउने होला?’ भनेर म सोच्ने गर्थें। अनि घर फर्कंदा भिकीले समेत मेरो दुःख बुझ्न नसकेकी महसुस गर्थें।”
पैसाको समस्या
यसै सन्दर्भमा, कलिलै उमेरमा बिहे गर्ने पतिपत्नीबीच अक्सर झगडा उठाउने कुरा पनि आउँछ। त्यो हो, पैसा। किशोरावस्थामै विवाह गर्ने ४८ जना दम्पतीहरूले विवाह भएको तीन महिनाभित्र सामना गर्नुपरेको सबैभन्दा ठूलो समस्या “घर खर्च” भएको स्वीकारेका छन्। झन्डै तीन वर्षपछि सोही दम्पतीहरूमध्ये ३७ दम्पतीलाई पुनः त्यही प्रश्न दोहोऱ्याउँदा अझै पनि पैसा नै सबैभन्दा ठूलो समस्या भएको पाइयो। र तिनीहरूको दुःख पहिलेभन्दा झन् बढेको देखियो। बील प्रश्न गर्छन्: “आफूले भनेजस्तो सामान किन्ने पैसा नभएपछि जीवनमा रमाइलो भन्ने कुरा नै के रह्यो र? . . . तलबको भरमा महिना दिन पनि काट्न नसकेपछि झगडा र दुःखबाहेक अरू केही हुँदो रहेनछ।”
किशोरकिशोरीहरूले जागिर नपाउने र पाइ हाले तापनि कम तलब पाउने हुँदा प्रायःजसो किशोरकिशोरीहरूलाई पैसाको समस्या परेको हुन्छ। आफ्नो विवशता स्वीकार्दै रोइले यसो भने: “परिवार पाल्न नसकेकोले हामी मेरो आमाबाबुसित बस्नुपऱ्यो। हाम्रो बच्चासमेत भएकोले निकै तनाउग्रस्त हुनुपऱ्यो।” हितोपदेश २४:२७ यस्तो सल्लाह दिन्छन्: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सह्माल्। खेतमा सबै तयार गर्, त्यसपछि मात्र घरको प्रबन्ध [पनि] मिला।” बाइबलकालीन पुरुषहरू विवाहपश्चात् परिवार पाल्न सकूँ भनेर निकै मेहनत गर्थे। तर आजभोलि त्यस्तो पूर्वतयारी गर्न नपाएकोले थुप्रै जवान पतिहरूलाई परिवार पाल्नु असाध्यै बोझ लाग्छ।
यद्यपि, भौतिक कुराहरूबारे अपरिपक्व विचारधारा छ भने प्रशस्त पैसा भए पनि पैसाको समस्या अन्त हुँदैन। एक अध्ययनअनुसार “आमाबाबुले वर्षौं लगाएर किनेको कुरा किशोरकिशोरीहरू विवाह गर्ने बित्तिकै किन्न सक्छु भन्ने आशा गर्छन्।” तुरुन्तै सबै भौतिक कुराहरूको आनन्द उठाउने इच्छाले गर्दा थुप्रै दम्पतीहरू ऋणमा चुर्लुम्म डुब्छन्। “खान र लाउन भएपछि” सन्तुष्ट हुन सक्नेगरि परिपक्व नभएकोले तिनीहरू आफ्नो वैवाहिक जीवनलाई झनै तनाउग्रस्त बनाउँछन्।—१ तिमोथी ६:८-१०.
“आकाश जमीनको फरक”
बितेका कुराको सम्झना गर्दै मौरिन यसो भन्छिन्: “म डनलाई प्रेम गर्थें। र डन भनेजस्तो सुन्दर, बलियो अनि लोकप्रिय भएको हुनाले . . . हाम्रो विवाह सफल हुनुपर्ने थियो।” तर दुःखको कुरा, त्यसो भएन। तिनीहरू दुइबीच कुन हदसम्म द्वेष बढ्यो भने, मौरिन यसो भन्छिन्: “डनको हर कुरादेखि म चिढिन्थें। यहाँसम्म कि तिनले आवाज निकालेर चपाएको देखेरसमेत म चिढिन्थें। अन्ततः हामी दुवैलाई असह्य भयो।” दुइ वर्ष बित्दा नबित्दै तिनीहरूको विवाह टुक्रियो।
कारण? मौरिन बताउँछिन्, “हामी दुइबीच आकाश जमीनको भिन्नता थियो। मलाई कुरा सुन्न सक्ने बुझकी मान्छे चाहिएको थियो, जुन कुरा म अहिले महसुस गर्दैछु। तर डनको दिमागमा सधैं खेलको भूत सवार हुन्थ्यो। अठाह्र वर्षको उमेरमा मैले गर्व गरेका कुराहरू एक्कासि मेरा लागि कुनै मूल्यको भएन।” केटा वा केटी रोज्ने कुरामा किशोरकिशोरीहरूको प्रायः कच्चा दृष्टिकोण हुन्छ। तिनीहरूले रूपरंगलाई सबैभन्दा धेरै ध्यान दिइरहेका हुन्छन्। तर हितोपदेश ३१:३० यस्तो चेताउनी दिन्छ: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीनै आदरणीय हुन्छिन्।”
आफैलाई राम्ररी केलाएर हेर्ने
परमेश्वरको नाउँमा भाकल खाएर “पछि मात्र विचार” गर्ने व्यक्तिलाई बाइबलले लापरवाह भन्छ। (हितोपदेश २०:२५) अतः विवाहजस्तो गम्भीर भाकल गर्नुअघि धर्मशास्त्रमा भनेका कुराहरूलाई विचार गरेर आफूलाई राम्ररी केलाउनु के बुद्धिमानी कुरा होइन र? तपाईंका कस्ता लक्ष्यहरू छन्? विवाह गरेपछि ती लक्ष्यहरूमा कस्तो असर पर्ला? के तपाईं यौनसम्बन्धको अनुभव गर्न वा समस्याहरूदेखि उम्कन विवाह गर्न खोज्दै हुनुहुन्छ?
अनि पति वा पत्नीको भूमिका निर्वाह गर्न तपाईं कत्तिको तयार हुनुहुन्छ? के तपाईं घर चलाउन वा परिवार पाल्न सक्नुहुन्छ? तपाईं आफ्नै आमाबाबुसित त राम्ररी मिल्न सक्नुहुन्न भने भरेभोलि पत्नी वा पतिसित मिलेर बस्न सक्नुहोला र? विवाह गर्नेजति सबैले भोग्ने परीक्षा अनि संकटहरूसित के तपाईं जुझ्न सक्नुहुन्छ? पैसाको मामिलामा के तपाईंले ‘बालककै जस्तो व्यवहार’ गर्न छाडिसक्नुभयो त? (१ कोरिन्थी १३:११) यी सबै कुराहरूमा तपाईं योग्य हुनुहुन्छ वा हुनुहुन्न, तपाईंका आमाबाबुले अवश्य तपाईंलाई बताउन सक्नुहुनेछ।
विवाह अत्यन्त सुख वा दुःखको स्रोत हुनसक्छ। तपाईंको भागमा के पर्ने हो, त्यो तपाईं वैवाहिक जीवनको लागि कत्तिको तयार हुनुहुन्छ, त्यसमा धेरै भर पर्छ। अहिलेसम्म किशोरावस्थामै हुनुहुन्छ भने कुनै केटा वा केटीसित संगत नगरेर अलिक समय पर्खे कसो होला? पर्खेर केही बिग्रँदैन। बरु उल्टो विवाहजस्तो स्थायी अनि गम्भीर कदम चाल्नुअघि आफैलाई पूरापूर तयार पार्ने समय पाउनुहुनेछ।
छलफलका लागि प्रश्नहरू
◻ केही किशोरकिशोरीहरूले विवाहबारे कस्तो अपरिपक्व विचारधारा राखेका हुन्छन्?
◻ यौनसम्बन्धका लागि मात्र विवाह गर्नु किन व्यवहारिक कुरा होइन जस्तो तपाईंलाई लाग्छ?
◻ केही किशोरकिशोरीहरू पतिपत्नीको भूमिका निर्वाह गर्न तयार भएका रहेनछन् भनेर पछि कसरी प्रष्ट भयो?
◻ कलिलै उमेरमा विवाह गर्ने दम्पतीहरूलाई किन पैसाको असाध्यै समस्या परेको हुन्छ?
◻ विवाह गर्ने जीवनसाथी छान्ने बेला केही किशोरकिशोरीहरू कस्तो गल्ती गर्छन्?
◻ विवाहका लागि आफू तयार छु वा छैन भनेर जाँच्न आफैसित कस्ता प्रश्नहरू गर्न सक्नुहुन्छ? यस अध्यायमा भएका कुराहरू पढेपछि तपाईंलाई आफू विवाहका लागि कत्तिको तयार छु जस्तो लाग्यो?
[पृष्ठ २४०-मा भएको ठूलो अक्षरको क्याप्सन]
“वैवाहिक जीवन सफल हुने वा नहुने सन्दर्भमा, एउटा कुरामा भने हामी शतप्रतिशत निश्चित छौं। कलिलै उमेरमा विवाह गर्नेहरूको वैवाहिक जीवन सफल नहुने सम्भावना तीन गुना बढी हुन्छ।”—आचरण विज्ञानका प्राध्यापक, मार्सिया लासवेल
[पृष्ठ २३७-मा भएको चित्र]
कलिलै उमेरमा विवाह गर्ने थुप्रै केटाकेटीहरू यिनीहरू जत्तिकै अपरिपक्व हुन्छन्