सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३०

येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ

येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ

मत्ति २७:३१, ३२ मर्कुस १५:२०, २१ लुका २३:२४-३१ युहन्‍ना १९:६-१७

  • पिलातस येसुलाई मुक्‍त गर्ने प्रयास गर्छन्‌

  • येसुलाई दोषी ठहराइन्छ र मृत्युदण्ड दिन लगिन्छ

येसुलाई घोर दुर्व्यवहार गरिँदा र उहाँको खिल्ली उडाइँदा पिलातस उहाँलाई मुक्‍त गर्न निकै प्रयास गर्छन्‌। तैपनि मुख्य पुजारीहरू र तिनीहरूका समर्थकहरू आफ्नो मागमा अडिग रहन्छन्‌। उनीहरू हरहालतमा येसुलाई मार्न चाहन्छन्‌। उनीहरू यसो भन्दै चिच्याइरहन्छन्‌: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!” पिलातस यसो भन्छन्‌: “तिमीहरू आफै लगेर उसलाई मार किनकि म उसमा कुनै दोष भेट्टाउँदिनँ।”—युहन्‍ना १९:६.

यहुदीहरू येसुले रोमी सरकारको विरुद्धमा अपराध गरेको कुरा पिलातससामु प्रमाणित गर्न असफल हुन्छन्‌। तर ईश्‍वरनिन्दाको आरोप नि? यहुदी न्यायपरिषद्‌सामु येसुको पुर्पक्ष गरिँदा उहाँमाथि लगाइएको ईश्‍वरनिन्दाको आरोपलाई उनीहरू फेरि अगाडि सार्छन्‌। उनीहरू यसो भन्छन्‌: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ किनकि यसले आफू परमेश्‍वरको छोरा हुँ भन्‍ने दाबी गऱ्‍यो।” (युहन्‍ना १९:७) पिलातस यो आरोप पहिलो चोटि सुन्दै छन्‌।

तिनी फेरि महलभित्र जान्छन्‌ अनि यहुदीहरूको हातबाट असाध्यै पीडा खपिसक्नुभएको येसुलाई मुक्‍त गर्ने अर्को कुनै तरिकाबारे सोच्न थाल्छन्‌। पिलातसको पत्नीले समेत उहाँबारे सपना देखेकी थिइन्‌। (मत्ति २७:१९) यो कैदीले आफू “परमेश्‍वरको छोरा” हुँ भनेर दाबी गर्दै छ भनी यहुदीहरूले लगाएको यो नयाँ आरोप सुनेर पिलातस अलमल्लमा पर्छन्‌। तिनलाई येसु गालिलका हुन्‌ भनेर थाह छ। (लुका २३:५-७) तैपनि तिनी उहाँलाई सोध्छन्‌: “तिमी कहाँका हौ?” (युहन्‍ना १९:९) येसु कतै ईश्‍वर पो थिए कि र तिनी स्वर्गबाट आएका हुन्‌ कि जस्तो लागेकोले पिलातसले यस्तो प्रश्‍न सोधेका हुन सक्छन्‌।

पिलातसले येसु राजा हुनुहुन्छ र उहाँको राज्य यस संसारको होइन भनेर उहाँबाटै सुनेका थिए। त्यसैले आफूले पहिला पनि भनिसकेको कुरालाई फेरि व्याख्या गर्नु जरुरी नभएकोले येसु कुनै जवाफ दिनुहुन्‍न। येसुले आफ्नो अपमान गरेजस्तो लागेकोले पिलातस जङ्‌गिँदै यसो भन्छन्‌: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्‍त गर्ने अख्तियार अनि तिमीलाई मार्ने अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”—युहन्‍ना १९:१०.

येसु केवल यति भन्‍नुहुन्छ: “यदि परमेश्‍वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन। त्यसैले जसले मलाई तपाईँकहाँ सुम्प्यो, त्यसले झन्‌ ठूलो पाप गरेको छ।” (युहन्‍ना १९:११) “जसले मलाई तपाईँकहाँ सुम्प्यो” भन्‍नुहुँदा येसुले यहुदा इस्करियोतबारे मात्र कुरा गरिरहनुभएको होइन जस्तो देखिन्छ। किनकि कैयाफा र उनका समर्थकहरू पनि उत्तिकै दोषी छन्‌। त्यसैले येसु पिलातसले भन्दा यिनीहरूले झन्‌ ठूलो पाप गरेका छन्‌ भन्‍न खोज्दै हुनुहुन्छ।

येसुको शान्त व्यवहार र बोलीले गर्दा पिलातस प्रभावित हुन्छन्‌। साथै उहाँ कतै ईश्‍वर त हुनुहुन्‍न भनेर तिनलाई झनै डर लाग्न थाल्छ। त्यसैले तिनी येसुलाई मुक्‍त गर्न फेरि प्रयास गर्छन्‌। तर ती यहुदीहरू पिलातसलाई पनि डर भइरहेको अर्को कुरा उठाउँदै तिनलाई यस्तो धम्की दिन्छन्‌: “यदि तपाईँले यस मानिसलाई मुक्‍त गर्नुभयो भने तपाईँ सिजरको मित्र होइन। आफूलाई राजा तुल्याउने जुनसुकै व्यक्‍तिले सिजरको विरुद्धमा बोलिरहेको हुन्छ।”—युहन्‍ना १९:१२.

यी राज्यपाल येसुलाई फेरि बाहिर ल्याउँछन्‌ अनि न्यायआसनमा बसेर मानिसहरूलाई यसो भन्छन्‌: “हेर, तिमीहरूको राजा!” तर यहुदीहरूको मनमा येसुप्रति कुनै दया जाग्दैन। बरु तिनीहरू यसो भन्दै चिच्याउँछन्‌: “त्यसलाई लैजानुहोस्‌! त्यसलाई लैजानुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!” पिलातस तिनीहरूलाई सोध्छन्‌: “के म तिमीहरूको राजालाई मारूँ?” यहुदीहरूले लामो समयदेखि रोमी शासनको दमन सहिरहेका छन्‌। तैपनि मुख्य पुजारीहरू यसरी कड्‌कन्छन्‌: “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”—युहन्‍ना १९:१४, १५.

पिलातस यहुदीहरूको यस्तो एकोहोरो मागको सामने घुँडा टेक्छन्‌। तिनी येसुलाई मृत्युदण्ड दिन यहुदीहरूको हातमा सुम्पिन्छन्‌। सिपाहीहरूले येसुले लगाउनुभएको बैजनी रङ्‌गको लुगा फुकालेर उहाँकै लुगा लगाइदिन्छन्‌। मृत्युदण्ड दिन लगिँदा येसुको यातनाको खम्बा उहाँलाई नै बोक्न लगाइन्छ।

यो नीसान १४, शुक्रबारको दिन हो र मध्याह्न हुनै लागेको छ। येसु बिहीबार बिहानदेखि जागै हुनुहुन्छ र उहाँले एकपछि अर्को गर्दै विभिन्‍न कष्ट सहनुभएको छ। त्यसैकारण उहाँमा यातनाको खम्बा बोक्ने तागतै बाँकी रहँदैन। त्यसैले सिपाहीहरूले त्यही बाटो भएर गइरहेको अफ्रिकी साइरेनीवासी सिमोनलाई त्यो खम्बा मृत्युदण्ड दिइने ठाउँसम्म बोकेर लैजान जबरजस्ती गर्छन्‌। थुप्रै मानिस येसुको पछिपछि लागिरहेका छन्‌; कोही-कोही त छाती पिटीपिटी उहाँको निम्ति विलाप गरिरहेका छन्‌।

विलाप गरिरहेका स्त्रीहरूलाई येसु भन्‍नुहुन्छ: “हे यरुसलेमका छोरीहरू हो, मेरो निम्ति रुन छोड। बरु तिमीहरू आफू र आफ्ना छोराछोरीका निम्ति रोओ। किनकि हेर यस्तो बेला आउँदै छ, जब मानिसहरूले यसो भन्‍नेछन्‌: ‘आनन्दित हुन्‌ ती स्त्रीहरू, जो बाँझी छन्‌ र जसले सन्तान जन्माएनन्‌ अनि दूध चुसाएनन्‌!’ त्यतिखेर मानिसहरूले पहाडहरूलाई ‘हामीमाथि खस्‌!’ अनि डाँडाहरूलाई ‘हामीलाई छोप्‌!’ भन्‍न थाल्नेछन्‌। रूख हरियो भएको बेला त यस्तो हालत छ भने सुकेपछि झन्‌ के होला?”—लुका २३:२८-३१.

येसु यहुदी राष्ट्रको विषयमा कुरा गर्दै हुनुहुन्छ। यो राष्ट्र मर्नै लागेको रूखजस्तै छ, जुन अझै पनि केही हदसम्म हरियो छ। किनकि येसु अझै जीवितै हुनुहुन्छ र अझै पनि केही यहुदीहरू उहाँमाथि विश्‍वास गर्छन्‌। तर येसुको मृत्यु भएपछि र ती यहुदीहरूले यहुदी धर्म त्यागेपछि यो राष्ट्र आध्यात्मिक रूपमा सुक्नेछ र मृत रूखसरह हुनेछ। रोमी सेनाले यस राष्ट्रमाथि परमेश्‍वरको न्याय कार्यान्वयन गर्दा त्यहाँ रुवाबासी हुनेछ!