सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ६४

क्षमा दिनुपर्ने महत्त्व

क्षमा दिनुपर्ने महत्त्व

मत्ति १८:२१-३५

  • के सात पटकसम्म क्षमा दिनुपर्छ?

  • कृपा नदेखाउने दासको उदाहरण

दुई जना भाइबीच मनमुटाव हुँदा उनीहरू मात्र बसेर सुल्झाउन प्रयास गर्नुपर्ने सन्दर्भमा येसुले भर्खरै मात्र सल्लाह दिनुभएको छ। तर पत्रुस त्यस्तो प्रयास कति पटकसम्म गर्नुपर्छ भनेर बुझ्न चाहन्छन्‌ जस्तो देखिन्छ।

पत्रुस सोध्छन्‌: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्‍यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” केही धर्मगुरुहरूले तीन पटकसम्म क्षमा दिनुपर्छ भनेर सिकाउँछन्‌। त्यसैले आफ्नो चित्त दुखाएको भाइलाई “सात पटकसम्म” क्षमा दिएमा आफू अत्यन्तै उदार भइरहेको हुन्छु जस्तो पत्रुसलाई लागेको हुनुपर्छ।—मत्ति १८:२१.

तर यसरी अरूको गल्तीको हिसाब राख्नु येसुको शिक्षासित फिटिक्कै मेल खाँदैन। त्यसैले येसु पत्रुसलाई यसरी सच्याउनुहुन्छ: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।” (मत्ति १८:२२) अर्को शब्दमा भन्‍नुपर्दा, अनगिन्ती पटक। पत्रुसले आफ्नो भाइलाई कति पटक क्षमा दिनुपर्छ भन्‍ने कुराको कुनै सीमा हुनु हुँदैन।

त्यसपछि क्षमाशील हुनु किन महत्त्वपूर्ण छ भन्‍ने सन्दर्भमा पाठ सिकाउन येसु पत्रुसलगायत अरू चेलाहरूलाई एउटा उदाहरण बताउनुहुन्छ। यस उदाहरणको दास कृपालु हुने सन्दर्भमा आफ्नो मालिकको अनुकरण गर्न चुक्छ। एक जना राजाले आफ्ना दासहरूलाई ऋण चुक्‍ता गर्न बोलाउँछन्‌। तिनले छ करोड दिनार ऋण लागेको एक जना दासलाई आफूसामु हाजिर हुन लगाउँछन्‌। ऊसँग त्यत्ति धेरै रकम तिर्न सक्ने कुनै स्रोत छैन। त्यसैले राजाले त्यो दास, त्यसकी पत्नी र छोराछोरीलाई बेचेर ऋण असुल्न हुकुम दिन्छन्‌। तब त्यो दास मालिकको पाउ पर्दै यसरी बिन्तीभाउ गर्न थाल्छ: “हजुर, मलाई समय दिनुहोस्‌, म हजुरको जम्मै ऋण चुक्‍ता गरिदिनेछु।”—मत्ति १८:२६.

यो सुनेर राजाको मन दयाले भरिन्छ र कृपालु हुँदै त्यस दासको ऋण माफ गरिदिन्छन्‌। त्यसपछि त्यो दास जान्छ अनि आफूसित १०० दिनार सापटी लिने सङ्‌गी दासलाई भेट्‌छ। उसले त्यसलाई समातेर घाँटी अँठ्याउँदै यसो भन्छ: “मेरो पैसा फिर्ता गरिहाल्‌।” तब त्यो सङ्‌गी दास आफूले पैसा सापटी लिएको त्यस दासको अगाडि घोप्टो परेर यसरी बिन्ती गर्छ: “मलाई समय देऊ, म तिम्रो पैसा फिर्ता गरिदिनेछु।” (मत्ति १८:२८, २९) तर राजाले ऋण माफ गरिदिएको त्यस दासले आफ्नो मालिकको अनुकरण गर्दैन। एकदमै थोरै ऋण लिएको आफ्नो सङ्‌गी दासलाई उसले पैसा फिर्ता नगरुन्जेल झ्यालखानामा थुन्‍न लगाउँछ।

त्यस दासले यस्तो निर्दयी व्यवहार गरेको देखेर अरू दासहरू राजाकहाँ जान्छन्‌ र तिनलाई सबै कुरा सुनाउँछन्‌। त्यसपछि राजा असाध्यै क्रोधित हुन्छन्‌ र त्यस दासलाई बोलाएर यसो भन्छन्‌: “ए दुष्ट दास, तैँले मसित बिन्ती गर्दा मैले तेरो सबै ऋण माफ गरिदिएको थिएँ। तब मैले तँलाई कृपा देखाएझैँ के तैँले पनि आफ्नो सङ्‌गी दासलाई कृपा देखाउनु पर्दैनथ्यो।” अनि राजाले आफ्नो सङ्‌गी दासलाई कृपा नदेखाउने त्यस दासलाई ऋण नतिरेसम्म थुनिराख्न जेलरहरूको हातमा सुम्पिदिन्छन्‌। अन्तमा येसु यसो भन्‍नुहुन्छ: “तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ति १८:३२-३५.

क्षमाशील हुने सन्दर्भमा कत्ति महत्त्वपूर्ण पाठ! परमेश्‍वरले पनि हाम्रो ठूलो ऋण, पाप क्षमा गरिदिनुभएको छ। कुनै ख्रिष्टियन भाइ वा बहिनीले हामीविरुद्ध गरेको कुनै पनि गल्ती यति ठूलो हुन सक्दैन। अनि यहोवा हामीलाई एक पटक मात्र होइन, हजारौँ पटक क्षमा दिन तयार हुनुहुन्छ। कुनै भाइविरुद्ध केही गुनासो छ भने पनि के हामी तिनलाई बारम्बार क्षमा दिन तयार हुनु पर्दैन र? येसुले डाँडाको उपदेशमा सिकाउनुभएजस्तै परमेश्‍वरले ‘हाम्रो ऋण क्षमा गर्नुहुनेछ, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ।’—मत्ति ६:१२.