अध्याय ९४
प्रार्थना र नम्रता—दुई महत्त्वपूर्ण आवश्यकता
-
हार नमान्ने विधवाको उदाहरण
-
फरिसी र कर उठाउने मानिस
येसुले प्रार्थनामा लागिरहनुपर्ने महत्त्व बुझाउन आफ्ना चेलाहरूलाई पहिला पनि एउटा उदाहरण सुनाइसक्नुभएको छ। (लुका ११:५-१३) अहिले उहाँ सायद सामरिया वा गालिलमध्ये एउटा ठाउँमा हुनुहुन्छ र उहाँ प्रार्थना गर्न छोड्नु हुँदैन भन्ने कुरालाई फेरि पनि जोड दिनुहुन्छ। यो कुरा बुझाउन उहाँ अर्को उदाहरण बताउनुहुन्छ:
“एउटा सहरमा एक जना न्यायाधीश थियो, जसलाई परमेश्वरको डर थिएन र ऊ मानिसको आदर पनि गर्दैनथ्यो। त्यही सहरमा एक जना विधवा पनि थिई र ऊ त्यस न्यायाधीशकहाँ घरीघरी गएर यसो भन्थी: ‘मलाई मुद्दा हाल्ने व्यक्ति र मबीच सही न्याय गरिदिनुहोस्।’ निकै समयसम्म त उसले वास्तै गरेन तर पछि उसले मनमनै यसो भन्यो: ‘हुनत मलाई परमेश्वरको डर छैन र म कुनै मानिसको आदर पनि गर्दिनँ। तैपनि यस विधवाले मलाई घरीघरी दुःख दिइरहेकीले म त्यसको न्याय गरिदिनेछु, नत्र त मकहाँ धाएको धायै गरेर त्यसले मलाई बसीखान दिनेछैन।’”—लुका १८:२-५.
यो उदाहरणको अर्थ खोल्दै येसु भन्नुहुन्छ: “बेइमान भएर पनि त्यो न्यायाधीशले के भन्यो, सुन्यौ? त्यसोभए के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्न र? उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्य न्याय गर्नुहुनेछ।” (लुका १८:६, ७) येसु आफ्नो बुबाबारे के सङ्केत गर्दै हुनुहुन्छ?
येसुले यहोवा परमेश्वर त्यो बेइमान न्यायाधीशजस्तो हुनुहुन्छ भन्न खोज्नुभएको पक्कै होइन। बरु उहाँ यस कुरालाई जोड दिनुहुन्छ: बेइमान मानव न्यायाधीशले त हार नमानी बिन्ती गर्नेको कुरा सुन्छ भने परमेश्वरले त झनै सुन्नुहुन्छ। उहाँ सही र असल हुनुहुन्छ अनि आफ्ना मानिसहरू प्रार्थनामा लागिरहे भने उहाँ त्यसको जवाफ दिनुहुन्छ। त्यसपछि येसुले भन्नुभएको कुराबाट हामी यो थाह पाउन सक्छौँ। उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, [परमेश्वरले] तिनीहरूको न्याय तुरुन्तै गरिदिनुहुनेछ।”—लुका १८:८.
अवहेलित र गरिबहरूले अक्सर न्याय पाउँदैनन्; मानिसहरू प्रायजसो शक्तिशाली र धनीहरूकै पक्ष लिन्छन्। तर परमेश्वर त्यस्तो हुनुहुन्न। उचित समय आएपछि उहाँले दुष्टहरूलाई सजाय दिनुहुनेछ र आफ्ना सेवकहरूलाई अनन्त जीवन दिनुहुनेछ। यसरी उहाँले सही न्याय गर्नुहुनेछ।
कोसित त्यस विधवाको जस्तो विश्वास छ? परमेश्वरले “तिनीहरूको न्याय तुरुन्तै गरिदिनुहुनेछ” भन्ने कुरामा कति जना साँच्चै विश्वस्त छन्? येसुले भर्खरै मात्र प्रार्थनामा लागिरहनुपर्ने आवश्यकतालाई उदाहरणसहित बुझाउनुभएको छ। अब उहाँ प्रार्थनाको शक्तिमा विश्वास गर्नेबारे यस्तो प्रश्न सोध्नुहुन्छ: “मानिसको छोरा आउँदा के उसले यस्तो विश्वास हुने मानिस पृथ्वीमा साँच्चै पाउनेछ?” (लुका १८:८) ख्रिष्ट आउनुहुँदा यस्तो विश्वास देखाउनेहरू थोरै मात्र हुनेछन् भनेर येसु सङ्केत गर्दै हुनुहुन्छ।
आफूसित विश्वास छ भन्ने कुरामा येसुका श्रोताहरूमध्ये कोही-कोही ढुक्क छन्। तिनीहरू आफूलाई धर्मी ठान्छन् जबकि तिनीहरू अरूलाई हेय दृष्टिले हेर्छन्। त्यस्ता मानिसहरूलाई लक्षित गर्दै येसु यस्तो उदाहरण बताउनुहुन्छ:
“दुई जना मानिस प्रार्थना गर्न मन्दिर गए, एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने मानिस। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसजस्तो लुटाहा, बेइमान अनि व्यभिचारी होइनँ र म यो कर उठाउने मानिसजस्तो पनि छैनँ। म हप्ताको दुई चोटि उपवास बस्छु अनि आफ्नो सबै आम्दानीको दशांश दिन्छु।’”—लुका १८:१०-१२.
लुका ११:४२) केही महिनाअघि तिनीहरूले सर्वसाधारणको अवहेलना गर्दै यसो भनेका थिए: “[फरिसीहरूको दृष्टिकोणमा] मोसाको व्यवस्था नजान्ने यो भीड श्रापित हो।”—युहन्ना ७:४९.
फरिसीहरू धर्मकर्म गरेको देखाउन रुचाउने मानिसहरू भनेर चिनिन्छन्। तिनीहरू अरूलाई प्रभावित पार्न त्यसो गर्छन्। तिनीहरूले सोमबार र बिहीबारको दिन उपवास बस्ने नियम बनाएका छन् किनकि ती दिनहरूमा ठूलठूला बजारहरू व्यस्त हुन्छ र तिनीहरूले धर्मकर्म गरेको थुप्रैले देख्छन्। साथै तिनीहरू सानोभन्दा सानो जडीबुटीको समेत दशांश चढाउने गर्छन्। (येसु यस उदाहरणलाई यसरी अघि बढाउनुहुन्छ: “तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजर स्वर्गतिर उचाल्ने आँटसमेत गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्वर, म पापीमाथि कृपा गर्नुहोस्।’” हो, त्यो कर उठाउने मानिसले नम्र हुँदै आफ्ना गल्तीहरू स्वीकार गऱ्यो। अन्तमा येसु यसो भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो। किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—लुका १८:१३, १४.
यसरी येसु नम्र हुनुपर्ने महत्त्वलाई स्पष्ट पार्नुहुन्छ। यो सल्लाह उहाँका चेलाहरूको लागि पनि फाइदाजनक छ किनकि उनीहरू हुर्केको समाजमा आत्मधर्मी फरिसीहरू पद र ओहदालाई औधी महत्त्व दिन्छन्। वास्तवमा यो सल्लाह येसुका सबै अनुयायीको लागि लाभदायी छ।