अध्याय ७
राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्नेछन्’
मुख्य कुरा: यहोवा परमेश्वरको नाममा कलङ्क लगाउने राष्ट्रहरूसित इस्राएलको सम्बन्धबाट हामी के सिक्छौँ?
१, २. (क) इस्राएल कसरी ब्वाँसाहरूले चारैतिरबाट घेरेको एक्लो भेडाजस्तै भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) इस्राएलीहरू र तिनीहरूका राजाहरूले के गरे?
सयौँ वर्षसम्म इस्राएल ब्वाँसाहरूले चारैतिरबाट घेरेको एक्लो भेडाजस्तै भएको थियो। इस्राएलको पूर्वी सिमानामा अम्मोनी, मोआबी र एदोमीहरू बसोबास गर्थे अनि तिनीहरूले इस्राएललाई डरधम्की दिइरहन्थे। इस्राएलको पहिल्यैदेखिको शत्रु पलिस्तियालीहरूको चाहिँ पश्चिमतर्फ बलियो पकड थियो। इस्राएलको उत्तरमा टायर सहर थियो, जुन सहर त्यतिबेलाको विशाल व्यापारजगत्को सम्पन्न र शक्तिशाली केन्द्र थियो। अनि दक्षिणमा चाहिँ पुरातन सहर मिश्र थियो, जसमाथि देवता-राजा फारोले शासन गर्थे।
२ इस्राएलीहरूले यहोवा परमेश्वरमाथि भरोसा राख्दा उहाँले तिनीहरूलाई शत्रुहरूबाट जोगाउनुभयो। तर दुःखको कुरा, तिनीहरू र तिनीहरूका राजाहरू बारम्बार वरपरका राष्ट्रहरूको लहलहैमा लागे। त्यस्तै एक जना राजा आहाब हुन्, जो अरूको प्रभावमा परेर यहोवा परमेश्वरप्रति अवफादार भए। तिनी यहुदाका राजा यहोसापातका समकालीन थिए र तिनले इस्राएलको दस-गोत्रे राज्यमाथि शासन गरे। तिनले सम्पन्न सहर टायरमाथि कब्जा जमाएका सिदोनी राजाकी छोरीसित विवाह गरे। ती स्त्रीको नाम ईजेबेल थियो र उनी इस्राएलमा बाआलको उपासना फैलाउन लागिपरिन्। उनले आफ्नो पतिलाई पनि शुद्ध उपासनालाई दूषित बनाउन उक्साइन्; शुद्ध उपासना त्यो हदसम्म दूषित पहिला कहिल्यै भएको थिएन।—१ राजा १६:३०-३३; १८:४, १९.
३, ४. (क) इजकिएलले आफ्नो ध्यान कोतर्फ लगाए? (ख) हामी कस्ता प्रश्नहरू छलफल गर्नेछौँ?
३ यहोवा परमेश्वरप्रति वफादार नरहेमा नतिजा कस्तो हुन सक्छ भनेर उहाँले आफ्ना मानिसहरूलाई पहिल्यै चेतावनी दिनुभएको थियो। तर अब भने उहाँको धैर्यको बाँध टुट्यो। (यर्मि. २१:७, १०; इज. ५:७-९) ईसापूर्व ६०९ मा बेबिलोनी सेना प्रतिज्ञा गरिएको देशमा तेस्रो चोटि आयो। उनीहरूले त्यस देशलाई पछिल्लो चोटि आक्रमण गरेको दस वर्ष बितिसकेको थियो। तर यसपटक भने उनीहरूले यरुसलेमको पर्खाललाई ध्वस्त पार्ने थिए र नबुकद्नेजरको विद्रोह गरेकाहरूलाई नाश गर्ने थिए। घेराबन्दी सुरु भएपछि र इजकिएलले भविष्यवाणी गरेअनुसारै दुःखदायी घटनाहरू हुन थालेपछि यी भविष्यवक्ताले आफ्नो ध्यान प्रतिज्ञा गरिएको देशवरपरका राष्ट्रहरूतर्फ लगाए।
यहोवा परमेश्वरको नामको निन्दा गर्ने राष्ट्रहरू सजायबाट उम्कने थिएनन्
४ यरुसलेम विनाश हुँदा यहुदाका शत्रुहरू रमाउनेछन् र विनाशबाट जोगिएकाहरूलाई दुःख दिनेछन् भनेर यहोवा परमेश्वरले इजकिएललाई बताउनुभयो। तर यहोवा परमेश्वरको नामको निन्दा गर्ने अनि उहाँका मानिसहरूलाई दुःख दिने र भ्रष्ट बनाउने ती राष्ट्रहरू सजायबाट उम्कने थिएनन्। ती राष्ट्रहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्ता व्यावहारिक पाठहरू सिक्न सिक्छौँ? अनि ती राष्ट्रहरूबारे इजकिएलले गरेको भविष्यवाणीले आज हामीलाई कस्तो आशा दिन्छ?
इस्राएललाई ‘गिज्याउने’ नातेदारहरू
५, ६. अम्मोनी र इस्राएलीहरूबीच कस्तो नाता थियो?
५ अम्मोनी, मोआबी अनि एदोमीहरूको इस्राएलसित रगतको नाता थियो। तर उनीहरूले परमेश्वरका मानिसहरूसित लामो समयसम्म वैरभाव राखे र तिनीहरूलाई ‘गिज्याए।’—इज. २५:६.
६ सबैभन्दा पहिला अम्मोनीहरूलाई विचार गरौँ। उनीहरू अब्राहामको भतिजा लुतकी कान्छी छोरीका सन्तान थिए। (उत्प. १९:३८) उनीहरूको भाषा हिब्रू भाषासित मिल्ने भएकोले सम्भवतः उनीहरूको भाषा परमेश्वरका मानिसहरूले बुझ्न सक्थे। अम्मोनीहरू इस्राएलीहरूको नातेदार भएकोले यहोवा परमेश्वरले इस्राएलीहरूलाई उनीहरूसित युद्ध गर्न नतम्सिनू भन्नुभएको थियो। (व्यव. २:१९) तर न्यायकर्ताहरूको समयमा इस्राएललाई दमन गर्न अम्मोनीहरूले मोआबी राजा एग्लोनसित हात मिलाए। (न्याय. ३:१२-१५, २७-३०) पछि साउल राजा भएपछि अम्मोनीहरूले इस्राएललाई आक्रमण गरे। (१ समु. ११:१-४) अनि राजा यहोसापातको शासनको बेला उनीहरूले प्रतिज्ञा गरिएको देशलाई आक्रमण गर्न फेरि मोआबको सैन्य दललाई साथ दिए।—२ इति. २०:१, २.
७. मोआबीहरूले आफ्ना नातेदार इस्राएलीहरूसित कस्तो व्यवहार गरे?
७ मोआबीहरू पनि लुतकै सन्तान थिए तर तिनीहरूचाहिँ लुतकी जेठी छोरीबाट आएका थिए। (उत्प. १९:३६, ३७) यहोवा परमेश्वरले इस्राएलीहरूलाई “मोआबीहरूसित . . . लडाइँ नगर्नू” भन्नुभयो। (व्यव. २:९) तर तिनीहरूले भने इस्राएलीहरूलाई दया देखाएनन्। मोआबीहरूले मिश्रको दासत्वबाट भर्खरै छुटेर आएका आफ्ना नातेदारहरूलाई मदत गर्नुको सट्टा उल्टै उनीहरूलाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नदेखि रोक्न खोजे। इस्राएलीहरूलाई सराप्न मोआबी राजा बालाकले बालामलाई चलाए अनि इस्राएली पुरुषहरूलाई अवैध यौनसम्बन्ध र मूर्तिपूजामा कसरी फसाउने भनेर बालामले बालाकलाई सिकाए। (गन्ती २२:१-८; २५:१-९; प्रका. २:१४) सयौँ वर्षसम्म, अझ भन्नुपर्दा इजकिएलको समयसम्मै मोआबीहरूले आफ्ना नातेदारहरूलाई दमन गरिरहे।—२ राजा २४:१, २.
८. यहोवा परमेश्वरले किन एदोम र इस्राएल दाजुभाइ हुन् भन्नुभयो तर एदोमीहरूले इस्राएलीहरूसित कस्तो व्यवहार गरे?
८ एदोमीहरू चाहिँ याकुबका जुम्ल्याहा दाइ एसावका सन्तान थिए। एदोमीहरू र इस्राएलीहरूबीच एकदमै नजिकको सम्बन्ध भएकोले यहोवा परमेश्वरले तिनीहरूलाई दाजुभाइ भन्नुभयो। (व्यव. २:१-५; २३:७, ८) तर एदोमीहरूले इस्राएलीहरू मिश्रबाट छुटेर आएको समयदेखि ईसापूर्व ६०७ मा यरुसलेम विनाश भएको समयसम्मै तिनीहरूको विरोध गरिरहे। (गन्ती २०:१४, १८; इज. २५:१२) इस्राएललाई तहसनहस पार्न एदोमीहरूले बेबिलोनीहरूलाई उक्साए र उनीहरू इस्राएलीहरूको दुःखमा रमाए। तर त्यति मात्र होइन, उनीहरूले बेबिलोनीहरूको हातबाट उम्केका इस्राएलीहरूलाई भाग्न नदिई शत्रुहरूको हातमा सुम्पिदिए।—भज. १३७:७; ओब. ११, १४.
९, १०. (क) अम्मोन, मोआब र एदोमले कस्तो नतिजा भोगे? (ख) ती राष्ट्रहरूका सबै मानिसले इस्राएलीहरूसित शत्रुता राखेनन् भनेर किन भन्न सक्छौँ?
९ इस्राएलीहरूसित नराम्रो व्यवहार गरेकोले इस्राएलका ती नातेदारहरूलाई यहोवा परमेश्वरले दोषी ठहराउनुभयो। उहाँले भन्नुभयो: ‘म अम्मोनीहरूलाई पूर्वका मानिसहरूको हातमा सुम्पिदिनेछु। यसरी अम्मोनीहरूको नामोनिसान मेटिनेछ।’ उहाँले यसो पनि भन्नुभयो: “म मोआबमा तिनीहरूलाई दण्ड दिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।” (इज. २५:१०, ११) यरुसलेमको विनाश भएको लगभग पाँच वर्षपछि बेबिलोनीहरू अम्मोन र मोआबमाथि विजयी हुँदा यी भविष्यवाणीहरू पूरा हुन थाल्यो। एदोमको विषयमा चाहिँ यहोवा परमेश्वरले यसो भन्नुभयो: “त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।” (इज. २५:१३) उहाँले भन्नुभएअनुसारै अन्ततः अम्मोनी, मोआबी र एदोमीहरूको नामोनिसान मेटियो।—यर्मि. ९:२५, २६; ४८:४२; ४९:१७, १८.
१० तर ती राष्ट्रहरूका सबै मानिसले परमेश्वरका मानिसहरूसित शत्रुता राखेनन्। जस्तै: राजा दाउदका वीर योद्धाहरूमध्ये अम्मोनी जिलेक र मोआबी इथ्माह पनि थिए। (१ इति. ११:२६, ३९, ४६; १२:१) अनि मोआबी रुथ यहोवा परमेश्वरको वफादार उपासक भइन्।—रुथ १:४, १६, १७.
सम्झौता गर्नतर्फ एक कदम पनि अघि नबढ्नुहोस्
११. अम्मोन, मोआब र एदोम राष्ट्रसित इस्राएलको सम्बन्धबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
११ ती राष्ट्रहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? पहिलो, इस्राएलीहरू सतर्क नरहेकोले तिनीहरूले आफ्ना नातेदारहरूले मान्ने झूटा धार्मिक रीतिथिति मान्न थाले। जस्तै: तिनीहरूले मोआबीहरूले मान्ने पोअरको बाआल देवता र अम्मोनी देवता मोलेकको उपासना गर्न थाले। (गन्ती २५:१-३; १ राजा ११:७) आज हामी पनि त्यस्तै हुन सक्छौँ। बेग्लै विश्वास भएका हाम्रा नातेदारहरूले हामीलाई पनि सम्झौता गर्ने दबाब दिन सक्छन्। जस्तै: हामी किन इस्टर मनाउँदैनौँ, क्रिसमसमा किन उपहारहरू आदानप्रदान गर्दैनौँ वा झूटो धर्मसित सम्बन्धित अन्य चाडपर्वमा किन भाग लिँदैनौँ भनेर उनीहरूले नबुझ्न सक्छन्। राम्रै मनसाय राखेर उनीहरूले हामीलाई हाम्रा स्तरहरूसित सम्झौता गर्न लगाउन सक्छन्, चाहे एकछिनको लागि नै किन नहोस्। तर हामी त्यस्ता दबाबहरूको अगाडि कहिल्यै झुक्नु हुँदैन। इस्राएलको इतिहासले देखाएझैँ सम्झौता गर्नतर्फ एक कदम मात्र अघि बढ्यौँ भने पनि नतिजा भयावह हुन सक्छ।
१२, १३. हामीले कस्तो विरोधको सामना गर्नुपर्ने हुन सक्छ तर हामी वफादार रहिरह्यौँ भने के हुन सक्छ?
१२ अम्मोन, मोआब र एदोम राष्ट्रसित इस्राएलको सम्बन्धबाट हामी अर्को पाठ पनि सिक्न सक्छौँ। बेग्लै विश्वास भएका परिवारका सदस्यहरूले हामीलाई असाध्यै विरोध गर्न सक्छन्। हामीले सुनाउने सन्देशले गर्दा कुनै-कुनै अवस्थामा ‘छोरा बुबाविरुद्ध, छोरी आमाविरुद्ध उठ्नेछन्’ भनेर येसुले चेतावनी दिनुभएको थियो। (मत्ति १०:३५, ३६) यहोवा परमेश्वरले इस्राएलीहरूलाई आफ्ना नातेदारहरूसित झगडा सुरु नगर्न निर्देशन दिनुभएको थियो। हामी पनि बेग्लै विश्वास भएका परिवारका सदस्यहरूसित वादविवाद गर्न खोज्दैनौँ। तर विरोध आउँदा हामीले अचम्म मान्नु पर्दैन।—२ तिमो. ३:१२.
१३ नातेदारहरूले हामीले यहोवा परमेश्वरको उपासना गरेकोमा विरोध गरेनन् भने पनि हामीले यहोवा परमेश्वरलाई भन्दा उनीहरूलाई महत्त्व दिनु हुँदैन। किन? किनकि यहोवा परमेश्वर मात्र हाम्रो जीवनमा पहिलो स्थान पाउन लायक हुनुहुन्छ। (मत्ति १०:३७ पढ्नुहोस्) साथै हामी उहाँप्रति वफादार रहिरह्यौँ भने हाम्रा केही नातेदार पनि जिलेक, इथ्माह र रुथजस्तै हुन सक्छन् र उनीहरूले हामीसँगै मिलेर शुद्ध उपासनामा भाग लिन सक्छन्। (१ तिमो. ४:१६) उनीहरूले पनि हामीले जस्तै साँचो परमेश्वरको सेवा गर्दा पाइने आनन्द अनुभव गर्न सक्छन् अनि उहाँको माया र सुरक्षा पाउन सक्छन्।
यहोवा परमेश्वरका शत्रुहरूले “कडाभन्दा कडा सजाय” पाए
१४, १५. पलिस्तियालीहरूले इस्राएलीहरूसित कस्तो व्यवहार गरे?
१४ पलिस्तियालीहरू पहिला क्रेट टापुमा बसोबास गर्थे। तर पछि तिनीहरू यहोवा परमेश्वरले अब्राहाम र तिनका सन्तानलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको भूमिमा बसाइँ सरे। अब्राहाम र इसहाक दुवैले ती मानिसहरूसित व्यवहार गरेका थिए। (उत्प. २१:२९-३२; २६:१) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेको समयसम्ममा ती पलिस्तियालीहरू एउटा शक्तिशाली राष्ट्रको रूपमा खडा भइसकेका थिए र तिनीहरूसित ठूलो सैन्य दल पनि थियो। तिनीहरू बाआल-जिबुब र दागोनजस्ता झूटा देवताहरूलाई पुज्थे। (१ समु. ५:१-४; २ राजा १:२, ३) इस्राएलीहरूले पनि कहिलेकाहीँ तिनीहरूसँगै लागेर ती देवताहरूलाई पुजे।—न्याय. १०:६.
१५ इस्राएलीहरू वफादार नरहेकोले यहोवा परमेश्वरले धेरै वर्षसम्म पलिस्तियालीहरूलाई आफ्ना मानिसहरूमाथि दमन गर्न दिनुभयो। (न्याय. १०:७, ८; इज. २५:१५) तिनीहरूले इस्राएलीहरूमाथि थुप्रै अव्यावहारिक नियमहरू लादे * र धेरै इस्राएलीको हत्या पनि गरे। (१ समु. ४:१०) तर जब इस्राएलले पश्चात्ताप गऱ्यो र यहोवा परमेश्वरतर्फ फर्कियो, तब उहाँले उनीहरूलाई जोगाउनुभयो। उहाँले सिमसोन, साउल र दाउदजस्ता पुरुषहरूलाई चलाएर आफ्ना मानिसहरूलाई छुटकारा दिनुभयो। (न्याय. १३:५, २४; १ समु. ९:१५-१७; १८:६, ७) इजकिएलले भविष्यवाणी गरेअनुसारै पहिला बेबिलोनीहरूले र पछि ग्रीकहरूले पलिस्तियालीहरूको देशमाथि आक्रमण गर्दा तिनीहरूले “कडाभन्दा कडा सजाय” पाए।—इज. २५:१५-१७.
१६, १७. पलिस्तियालीहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?
१६ पलिस्तियालीहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? यहोवा परमेश्वरका आधुनिक समयका सेवकहरूले शक्तिशाली राष्ट्रहरूबाट विरोधको सामना गरेका छन्। तर हामी इस्राएलजस्तो नभई यहोवा परमेश्वरप्रति वफादार रहिरहेका छौँ। तैपनि कहिलेकाहीँ शुद्ध उपासनाका शत्रुहरू सफल भएको जस्तो देखिन सक्छ। जस्तै: २० औँ शताब्दीको सुरुतिर संयुक्त राज्य अमेरिकाको सरकारले परमेश्वरको सङ्गठनमा नेतृत्व लिइरहेका भाइहरूलाई वर्षौँसम्म झ्यालखानामा हाल्ने सजाय सुनाएर उनीहरूको काम रोक्न खोज्यो। दोस्रो विश्वयुद्धको दौडान जर्मनीको नाजी पार्टीले हजारौँ साक्षीहरूलाई झ्यालखानामा हालेर अनि सयौँ साक्षीहरूलाई मारेर परमेश्वरका मानिसहरूको नामोनिसान मेटाउने दुष्प्रयास गऱ्यो। त्यस युद्धपछि सोभियत सङ्घले यहोवाका साक्षीहरूको अस्तित्व मेटाउने अभियान नै चलायो र त्यो अभियान धेरै वर्षसम्म चल्यो। तिनीहरूले हाम्रा दाजुभाइ दिदीबहिनीलाई श्रम शिविरहरूमा पठाइदिए र कतिपयलाई चाहिँ देशका विकट ठाउँहरूमा बन्दी बनाएर राखे।
१७ सरकारहरूले प्रचारकार्यमा प्रतिबन्ध लगाउन र परमेश्वरका मानिसहरूलाई झ्यालखानामा हाल्न छोड्नेछैनन्; कतिपयलाई त मृत्युदण्डसमेत दिन सक्छन्। तर के यस्ता कुराहरूले गर्दा हामी डराउनुपर्छ वा आफ्नो विश्वास गुमाउनुपर्छ? अहँ, पर्दैन। यहोवा परमेश्वरले आफ्ना वफादार मानिसहरूको रक्षा गर्नुहुनेछ। (मत्ति १०:२८-३१ पढ्नुहोस्) मानिसहरूको स्वतन्त्रता हनन गर्ने थुप्रै शक्तिशाली सरकारको नामोनिसान मेटिएको तर यहोवा परमेश्वरका मानिसहरू भने झन्झन् फस्टाउँदै गइरहेको हामीले देखेका छौँ। अब चाँडै सबै मानव सरकार पलिस्तियालीहरू जस्तै यहोवा नै सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर जान्न बाध्य हुनेछन्। अनि पलिस्तियालीहरूको जस्तै तिनीहरूको पनि अस्तित्व मेटिनेछ!
“प्रशस्त धनसम्पत्ति”-ले स्थायी सुरक्षा दिन सकेन
१८. टायरले व्यापारजगत्मा कस्तो पकड जमाएको थियो?
१८ पुरातन सहर टायर * त्यतिबेलाको प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एउटा थियो। टायरको पश्चिममा व्यापारिक प्रयोजनका लागि थुप्रै जलमार्ग थिए, जसबाट जहाजहरू आउजाउ गर्थे र ती मार्गहरू भूमध्यसागरभरि फैलिएका थिए। पूर्वमा चाहिँ टायर सहरलाई टाढा-टाढाका व्यापारिक केन्द्रहरूसित जोड्ने सडकहरू निर्माण गरिएका थिए। यसरी टायरले सयौँ वर्षसम्म ती टाढा-टाढाका व्यापारिक केन्द्रहरूबाट प्रशस्त धनसम्पत्ति थुपाऱ्यो। टायरका व्यापारीहरू यत्ति सम्पन्न भए कि तिनीहरू आफैलाई शासक सम्झन्थे।—यसै. २३:८.
१९, २०. टायर र गिबोनका बासिन्दाहरूबीच कस्तो भिन्नता थियो?
१९ राजा दाउद र राजा सुलेमानको समयमा इस्राएल र टायरका बासिन्दाहरूबीच व्यापारिक सम्बन्ध राम्रो थियो; दाउदको महल बनाउन र पछि सुलेमानको मन्दिर बनाउन टायरका बासिन्दाहरूले थुप्रै काठपात र शिल्पकारहरू पठाएका थिए। (२ इति. २:१, ३, ७-१६) परमेश्वरप्रति वफादार रहँदा इस्राएल राष्ट्रको फलिफाप भएको टायरले देखेको थियो। (१ राजा ३:१०-१२; १०:४-९) कल्पना गर्नुहोस् त, त्यतिबेला टायरका हजारौँ मानिसले शुद्ध उपासनाबारे सिक्ने, यहोवा परमेश्वरलाई चिन्ने अनि साँचो परमेश्वरको सेवा गर्दा पाइने लाभहरू आफैले अनुभव गर्ने कत्ति धेरै मौका पाएका थिए!
२० तर त्यस्तो मौका पाउँदा-पाउँदै पनि टायरका बासिन्दाहरू भौतिकवादी जीवनशैलीमै डुबेर बसे। तिनीहरूले कनानीहरूको शक्तिशाली सहर गिबोनको उदाहरण पछ्याएनन्; गिबोनका बासिन्दाहरू यहोवा परमेश्वरका महान् कामहरूबारे सुनेको भरमै उहाँको सेवक बने। (यहो. ९:२, ३, २२–१०:२) तर टायरका बासिन्दाहरूले भने अन्तसम्मै परमेश्वरका मानिसहरूको विरोध गरिरहे र उनीहरूमध्ये कसै-कसैलाई दासत्वमा समेत बेचिदिए।—भज. ८३:२, ७; योए. ३:४, ६; आमो. १:९.
हामीले भौतिक चिजबिजलाई सुरक्षित पर्खाल सम्झनु हुँदैन
२१, २२. टायरलाई के भयो र किन?
२१ इजकिएलमार्फत यहोवा परमेश्वरले ती विरोधीहरूलाई यसो भन्नुभयो: “ए टायर! म तँविरुद्ध उठेको छु। तँलाई नाश गर्न म जाति-जातिका मानिसहरूलाई सुऱ्याउनेछु। समुद्रमा छाल उर्लेझैँ तिनीहरू तँमाथि आइलाग्नेछन्। तिनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा किल्लाहरू भत्काउनेछन्। म तेरो माटो सबै खोस्रनेछु र तँ नाङ्गो, चिल्लो चट्टान हुनेछेस्।” (इज. २६:१-५) टायरका बासिन्दाहरूले ४६ मिटर अग्ला पर्खालहरूले टापुमा रहेको आफ्नो सहरलाई सुरक्षा दिएझैँ आफ्नो धनसम्पत्तिले पनि सुरक्षा दिन्छ भन्ठानेका थिए। तिनीहरूले सुलेमानको यो चेतावनी मनमा राखेको भए बेस हुने थियो: “धनी मानिसले आफ्नो सम्पत्तिलाई सुरक्षित सहर अनि आफ्नो रखवाली गर्ने पर्खाल ठान्छ।”—हितो. १८:११.
२२ पहिला बेबिलोनीहरू र त्यसपछि ग्रीकहरूले इजकिएलको भविष्यवाणी पूरा गर्दा टायरका बासिन्दाहरूले आफूसित भएको धनसम्पत्ति र सहरका अग्ला-अग्ला पर्खालहरूले आफूलाई सुरक्षा दिन सक्दैन भन्ने कुरा बुझे। यरुसलेम विनाश गरेपछि बेबिलोनीहरूले टायरलाई १३ वर्षसम्म घेराबन्दी गरे। (इज. २९:१७, १८) पछि ईसापूर्व ३३२ मा महान् सिकन्दरले इजकिएलको भविष्यवाणीको उल्लेखनीय पक्ष पूरा गरे। * तिनको सेनाले टायरको मुख्य सहरको भग्नावशेष जम्मा गरे अनि त्यसका ढुङ्गा, काठका सरसामान र माटो समुद्रमा फालेर टायर टापुसम्म पुग्ने पुल बनाए। (इज. २६:४, १२) त्यसपछि सिकन्दरले सहरका पर्खालहरू भत्काइदिए, सहरलाई लुटे, त्यहाँका हजारौँ सिपाही र बासिन्दाहरूलाई मारे अनि हजारौँलाई चाहिँ दासत्वमा बेचिदिए। तब मात्र टायरका बासिन्दाहरूले आफूसित भएको “प्रशस्त धनसम्पत्ति”-ले स्थायी सुरक्षा दिन सक्दैन भनेर बुझे अनि यहोवा नै सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर जान्न बाध्य भए।—इज. २७:३३, ३४.
२३. टायरका बासिन्दाहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
२३ टायरका बासिन्दाहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? “धनसम्पत्तिको भ्रामक शक्ति”-को प्रभावमा परेर भौतिक चिजबिजमा भरोसा राख्नदेखि र त्यसलाई नै सुरक्षित पर्खाल सम्झनदेखि हामी सधैँ होसियार हुनुपर्छ। (मत्ति १३:२२) हामी “परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न” सक्दैनौँ। (मत्ति ६:२४ पढ्नुहोस्) जसले सारा हृदयले यहोवा परमेश्वरको सेवा गर्छ, उसले मात्र साँचो सुरक्षा पाउँछ। (मत्ति ६:३१-३३; युह. १०:२७-२९) टायरविरुद्ध गरिएका भविष्यवाणीहरू पूरा भएझैँ यस वर्तमान युगको अन्तबारे गरिएका भविष्यवाणीहरू पनि एक-एक पूरा हुनेछन्। यहोवा परमेश्वरले यस संसारको लोभी र स्वार्थी व्यापारजगत्लाई नाश गर्नुहुँदा धनसम्पत्तिमा भरोसा राख्ने मानिसहरू यहोवा नै सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर जान्न बाध्य हुनेछन्।
राजनैतिक शक्ति “नर्कट”-जस्तै थियो
२४-२६. (क) यहोवा परमेश्वरले मिश्रलाई किन “नर्कट” भन्नुभयो? (ख) राजा सिदकियाहले कसरी यहोवाको निर्देशनलाई बेवास्ता गरे र त्यसको नतिजा के भयो?
२४ युसुफको समयभन्दा अघिदेखि बेबिलोनीहरू यरुसलेमलाई आक्रमण गर्न आएको समयसम्मै मिश्रले प्रतिज्ञा गरिएको देशको इलाकामाथि राजनैतिक प्रभाव जमाएको थियो। मिश्रको इतिहास पुरानो भएकोले त्यो धेरै लामो समयसम्म टिकेको रूखजस्तै देखिन्थ्यो। तर यहोवा परमेश्वरको अगाडि त्यो “नर्कट”-भन्दा पनि कमजोर थियो।—इज. २९:६.
२५ तर धर्मत्यागी राजा सिदकियाहले मिश्रबारे त्यो कुरा यादै गरेनन्। यहोवा परमेश्वरले भविष्यवक्ता यर्मियामार्फत सिदकियाहलाई बेबिलोनी राजाको अधीनमा बस्न निर्देशन दिनुभएको थियो। (यर्मि. २७:१२) सिदकियाहले यहोवा परमेश्वरको नाममा नबुकद्नेजर राजाको विद्रोह नगर्ने कसमसमेत खाएका थिए। तर पछि तिनले परमेश्वरको निर्देशनलाई बेवास्ता गरे, नबुकद्नेजरसित खाएको कसम तोडे र बेबिलोनीहरूसित लडाइँ गर्न मिश्रसित मदत मागे। (२ इति. ३६:१३; इज. १७:१२-२०) तर मिश्रको राजनैतिक शक्तिमा भरोसा गरेका इस्राएलीहरूले आफ्नै खुट्टामा बन्चरो हाने। (इज. २९:७) मिश्रचाहिँ कसैले हराउन नसक्ने “बडेमाको जलजन्तु”-जस्तै देखिएको हुनुपर्छ। (इज. २९:३, ४) तर सिकारीहरूले नाइल नदीका गोहीहरूलाई बङ्गारामा बल्छी लगाएर पक्रेझैँ यहोवा परमेश्वरले पनि मिश्रलाई त्यसको बङ्गारामा बल्छी लगाएर विनाशतर्फ खिच्ने कुरा बताउनुभयो। बेबिलोनीहरूलाई त्यो पुरातन देशमाथि विजयी हुन पठाएर उहाँले त्यसो गर्नुभयो।—इज. २९:९-१२, १९.
२६ विश्वासघाती सिदकियाहलाई चाहिँ के हुने थियो? यहोवा परमेश्वरको विद्रोह गरेकोले ती “दुष्ट कुलनायक”-ले आफ्नो मुकुट गुमाउनेछन् र तिनको शासनको अन्त हुनेछ भनेर इजकिएलले भविष्यवाणी गरे। तर इजकिएलले आशाको कुरा पनि बताए। (इज. २१:२५-२७) यहोवा परमेश्वरले इजकिएललाई “त्यस मुकुटमाथि अधिकार” भएको एक जना राजा शाही कुलबाट आउनेछन् भनेर भविष्यवाणी गर्न लगाउनुभयो, जो त्यस सिंहासनमा बस्ने थिए। अर्को अध्यायमा ती व्यक्ति को हुन् भनेर बुझ्नेछौँ।
२७. मिश्रसित इस्राएलको सम्बन्धबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
२७ मिश्रसित इस्राएलको सम्बन्धबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आज यहोवा परमेश्वरका सेवकहरूले राजनैतिक शक्तिले नै स्थायी सुरक्षा दिन्छ भन्ने सोच्दै त्यसमाथि भरोसा राख्नु हुँदैन। हामी आफ्नो सोचाइमा समेत ‘यस संसारको हुनु हुँदैन।’ (युह. १५:१९; याकु. ४:४) राजनैतिक शक्तिहरू बलिया देखिएलान् तर पुरातन मिश्रजस्तै ती शक्तिहरू पनि नर्कटभन्दा कमजोर छन्। यस ब्रह्माण्डका सर्वोच्च मालिक यहोवामा आशा राख्नुको सट्टा मानिसमा आशा राख्नु बेकार हुनेछ!—भजन १४६:३-६ पढ्नुहोस्।
राष्ट्रहरूले ‘जान्नेछन्’
२८-३०. राष्ट्रहरूले यहोवा नै सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर ‘जान्ने’ तरिका र हामीले त्यो कुरा जान्ने तरिकाबीच कस्तो भिन्नता छ?
२८ यहोवा परमेश्वरले इजकिएलको किताबमा राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्नेछन्’ भन्ने अभिव्यक्ति र यसकै अन्य रूप थुप्रै पटक उल्लेख गर्नुभएको छ। (इज. २५:१७) यहोवा परमेश्वरले आफ्ना मानिसहरूका शत्रुहरूलाई सजाय दिनुहुँदा पुरातन समयमा यी शब्दहरू सत्य साबित भए। तर यी शब्दहरू हाम्रो समयमा अझ व्यापक रूपमा पूरा हुनेछन्। कसरी?
२९ आज हामी पनि पुरातन समयका परमेश्वरका मानिसहरू जस्तै हामीलाई एक्लो भेडाजस्तै निस्सहाय ठान्ने राष्ट्रहरूले घेरिएका छौँ। (इज. ३८:१०-१३) अब चाँडै ती राष्ट्रहरूले परमेश्वरका मानिसहरूमाथि भीषण आक्रमण गर्नेछन्। यसबारे हामी यस प्रकाशनको अध्याय १७ र १८ मा छलफल गर्नेछौँ। तर त्यसरी आक्रमण गर्दा तिनीहरूले साँचो शक्तिको अर्थ बुझ्नेछन्। यहोवा परमेश्वरले तिनीहरूलाई आरमागेडोनको युद्धमा नाश गर्नुहुँदा तिनीहरू उहाँको सार्वभौमिकता स्विकार्न अर्थात् उहाँ नै सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर जान्न बाध्य हुनेछन्।—प्रका. १६:१६; १९:१७-२१.
३० हामीलाई भने यहोवा परमेश्वरले सुरक्षित राख्नुहुनेछ र आशिष् दिनुहुनेछ। किन? किनकि अहिले हामीले उहाँमाथि भरोसा गरेर, उहाँको आज्ञा पालन गरेर अनि उहाँलाई शुद्ध उपासना चढाएर उहाँ नै सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर स्विकारेको देखाइरहेका छौँ।—इजकिएल २८:२६ पढ्नुहोस्।
^ उदाहरणको लागि, पलिस्तियालीहरूले इस्राएलमा कसैलाई पनि धातुको काम गर्न दिँदैनथे। खनजोत गर्ने औजारहरूमा धार लगाउन इस्राएलीहरू पलिस्तियालीहरूकहाँ नै जानुपर्थ्यो र त्यसबापत इस्राएलीहरूले केही दिनको ज्यालाबराबरको रकम तिर्नुपर्थ्यो। —१ समु. १३:१९-२२.
^ सुरुको टायर सहर कर्मेल डाँडादेखि झन्डै ५० किलोमिटर उत्तरतिर समुद्री तटको चट्टाने भूमिमा बसालिएको थियो जस्तो देखिन्छ। पछि त्यो सहर समुद्री तटबाट अझ भित्रतिर फैलँदै गयो। त्यस सहरको हिब्रू नाम “सुर”-को अर्थ “चट्टान” हो।
^ यसैया, यर्मिया, योएल, आमोस र जकरियाले पनि टायरविरुद्ध भविष्यवाणी गरे र ती भविष्यवाणीहरू एक-एक पूरा भए।—यसै. २३:१-८; यर्मि. २५:१५, २२, २७; योए. ३:४; आमो. १:१०; जक. ९:३, ४.