अय्युब ३:१-२६
३ त्यसपछि अय्युबले मुख खोले र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।+
२ तिनले भने:
३ “धिक्कार! म जन्मेको त्यस दिनलाई।+‘छोरो जन्मियो’ भनिएको त्यस रातलाई।
४ त्यो दिन अन्धकारले भरियोस्।
परमेश्वरले त्यस दिनको वास्तै नगरून्।त्यसले ज्योति देख्नै नपाओस्।
५ त्यस दिनलाई निस्पट्ट अन्धकारले निलोस्,
कालो बादलले छोपोस्।
घोर अन्धकारले त्यसलाई भयभीत पारोस्।
६ त्योजस्तो अन्धकार अरू कुनै रात नहोस्।+वर्षमा त्यसको गन्ती नै नहोस्।महिनाहरूमा त्यसको हिसाबै नरहोस्।
७ त्यो रात कोही नजन्मेको भए हुन्थ्यो।खुसीको स्वर त्यसले सुन्न नपाएको भए हुन्थ्यो।
८ ए लेवियातानलाई*+ जगाउन सक्नेहरू हो!दिनलाई सराप्नेहरू हो!
त्यस दिनलाई सराप।
९ त्यसले ताराहरूको चमक देख्न नपाओस्।ज्योति देख्ने त्यसको पर्खाइ व्यर्थ होस्।त्यसले बिहानीको उषा देख्न नपाओस्।
१० किन त्यसले मेरी आमाको कोख थुनेन?+किन त्यसले मलाई संसारको दुःख देखायो?
११ म किन जन्मँदै मरिनँ?
आमाको कोखबाट निस्कँदै किन नाश भइनँ?+
१२ किन मैले आमाको न्यानो काख पाएँ?किन मलाई मेरी आमाको दूध चुसाइयो?
१३ नत्र त म अहिले चैनसित बसिरहेको हुन्थेँ,+गहिरो निद्रामा मस्त निदाइरहेको हुन्थेँ।+
१४ पृथ्वीका शासक र तिनका सल्लाहकारहरूसँगै,जसले बनाएका भवनहरू अहिले भत्किसकेका छन्।*
१५ ती भारदारहरूसँगै, जससित प्रशस्त सुन थियो,जसका घरहरू चाँदीले भरिभराउ थिए।
१६ म किन गर्भमै खेर गइनँ?ज्योति देख्न नपाउँदै बितेका शिशुहरूझैँ म किन मरिनँ?
१७ त्यहाँ* दुष्टहरू पनि छटपटाउन छोड्छन्।थकितहरूले विश्राम पाउँछन्।+
१८ कैदीहरू पनि मुक्त हुन्छन्।तिनीहरूले काममा जोताउनेहरूको स्वर सुन्दैनन्।
१९ त्यहाँ साना र ठूला बराबर हुन्छन्।+त्यहाँ दास आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ।
२० दुःख भोगिरहेकाहरूलाई परमेश्वर किन ज्योति* दिनुहुन्छ?जीवनदेखि विरक्त भएकाहरूलाई उहाँ किन जीवित राख्नुहुन्छ?+
२१ तिनीहरू मृत्युको तिर्सना गर्छन् तर मृत्यु आउँदैन।+
गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्।
२२ मृत्युले निल्ने भयो भनेर थाह पाउँदा तिनीहरू खुसीले उफ्रन्छन्।मृत्युले निल्दा तिनीहरू गद्गद हुन्छन्।
२३ जसले बाटो बिराएको छ र जसलाई परमेश्वर आफैले छेक्नुभएको छ,+त्यसलाई उहाँ किन ज्योति दिनुहुन्छ?
२४ मेरो सुस्केरा नै मेरो भोजन भएको छ।+मेरो रोदन+ पानीको भेलजस्तै छ।
२५ जुन कुराको मलाई डर थियो,जुन कुराले मेरो आङ जिरिङ्ग पार्थ्यो,
त्यही नै ममाथि आइपरेको छ।
२६ सुख, चैन, शान्ति के हो; मैले भुलिसकेँ।विपत्तिले मलाई छोड्दै छोड्दैन।”
फुटनोटहरू
^ यसले गोही वा अरू कुनै विशाल जलजन्तुलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्।
^ वा सम्भवतः “जसले आफ्नो निम्ति उजाड ठाउँहरू बनाए।”
^ अर्थात्, मृत्युमा।
^ अर्थात्, जीवनको ज्योति।