इजकिएल २२:१-३१

  • यरुसलेम, रक्‍तदोषी सहर (१-१६)

  • इस्राएल, कसरजस्तै बेकार (१७-२२)

  • अगुवा र मानिसहरूलाई सजाय सुनाइन्छ (२३-३१)

२२  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २  “हे मानिसको छोरा, के तिमी त्यो हत्यारा सहरमाथि न्यायदण्ड सुनाउन तयार छौ?*+ त्यसका घिनलाग्दा कामहरूबारे बताउन के तिमी तयार छौ?+ ३  तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “ए सहर! तिमी आफ्नै मानिसहरूको हत्या गर्छ्यौ,+ घिनलाग्दा मूर्तिहरू* बनाएर आफैलाई बिटुलो पार्छ्यौ,+ अब तिम्रो इन्साफको समय आएको छ।+ ४  तिमीले गरेको हत्याले गर्दा तिमी दोषी ठहरिएकी छ्यौ+ र तिम्रा घिनलाग्दा मूर्तिहरूले तिमीलाई अशुद्ध बनाएको छ।+ तिमीले आफ्नै विनाश निम्त्याएकी छ्यौ। तिम्रो अधर्मले गर्दा तिम्रो नाश नजिकै आएको छ। त्यसैले म तिमीलाई सबै जातिमाझ घृणाको पात्र बनाउनेछु र देशहरूले तिम्रो खिसी गर्नेछन्‌।+ ५  ए बदनामी र उपद्रवले भरिएकी सहर! तिम्रो वरपरका र टाढा-टाढाका देशहरूले तिम्रो खिसी गर्नेछन्‌।+ ६  तिमीमाझ भएका इस्राएलका हरेक कुलनायकले आफ्नो अख्तियारको दुरुपयोग गर्दै अरूको हत्या गर्छन्‌।+ ७  तिनीहरू आफ्नो बुबा र आफ्नी आमाको अपमान गर्छन्‌,+ विदेशीहरूलाई ठग्छन्‌ अनि विधवा र अनाथमाथि* अत्याचार गर्छन्‌।”’”+ ८  “‘मेरा पवित्र ठाउँहरूलाई तिमी तुच्छ ठान्छ्यौ र मेरो विश्रामदिनलाई* बिटुलो पार्छ्यौ।+ ९  अरूलाई दोषी ठहराएर हत्या गर्न खोज्ने मानिसहरू तिमीमाझ छन्‌।+ तिनीहरू डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खान्छन्‌ र छाडा काम गर्न छोड्‌दैनन्‌।+ १०  तिनीहरू आफ्नै बुबाकी पत्नीसित सुत्छन्‌*+ र महिनावारीले अशुद्ध भएकी स्त्रीसित सम्बन्ध राख्छन्‌।+ ११  एउटाले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो व्यवहार गर्छ+ भने अर्कोले आफ्नै बुहारीसित छाडा काम गरेर उसलाई बिटुलो पार्छ+ अनि अर्कोचाहिँ आफ्नै बुबाबाट जन्मिएकी बहिनीको इज्जत लुट्‌छ।+ १२  अरूको हत्या गर्न तिम्रा मानिसहरू घुस लिन्छन्‌।+ तिमी ब्याज लिन वा नाफा कमाउन सापटी दिन्छ्यौ+ र आफ्ना छिमेकीहरूको पैसा धुत्छ्यौ।+ हो, तिमीले मलाई चटक्कै बिर्सेकी छ्यौ,’ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ। १३  “‘हेर, तिमीहरूको बेइमानीको कमाइ र तिमीहरूले गरेको रक्‍तपात देखेर म घिनाउँदै थपडी मार्छु। १४  मैले सजाय दिँदा के तिमी आफ्नो मुटु र पाखुरा दह्रो बनाइरहन सक्छ्यौ?+ म यहोवाले नै यसो भनेको हुँ र म तिमीलाई सजाय दिन्छु। १५  म तिमीलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारिदिनेछु+ र तिम्रो घिनलाग्दो कामको अन्त्य गरिदिनेछु।+ १६  अनि जातिजातिमाझ तिमीले बेइज्जती भोग्नुपर्नेछ। तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछ्यौ।’”+ १७  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १८  “हे मानिसको छोरा, इस्राएलको घराना मेरो लागि कसरजस्तै बेकार भएको छ। तिनीहरू सबै आरनमा हालिएको तामा, टिन, फलाम र सिसाजस्तै छन्‌। तिनीहरू चाँदीको कसरझैँ भएका छन्‌।+ १९  “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरू कसरजस्तै बेकार+ भएकाले म तिमीहरूलाई यरुसलेममा जम्मा गर्नेछु। २०  जसरी चाँदी, तामा, फलाम, सिसा र टिनलाई जम्मा गरेर आरनमा हालिन्छ र आगो दन्काएर गलाइन्छ, म पनि मेरो रिस र मेरो क्रोध खन्याउँदै तिमीहरूलाई जम्मा गर्नेछु र आगो दन्काएर गाल्नेछु।+ २१  तिमीहरूलाई यरुसलेममा जम्मा गरेर म आफ्नो क्रोधको आगो तिमीहरूमाथि दन्काउनेछु+ र त्यहाँ तिमीहरू गल्नेछौ।+ २२  जसरी आरनमा चाँदी गल्छ, त्यसरी नै तिमीहरू पनि यरुसलेममा गल्नेछौ। तब म यहोवाले नै तिमीहरूमाथि क्रोध खन्याएको हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’” २३  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २४  “हे मानिसको छोरा, यरुसलेमलाई यसो भन, ‘मेरो क्रोधको दिनमा तिमी पखालिनेछैनौ र तिमीमाथि झरी बर्सनेछैन। २५  तिम्रा भविष्यवक्‍ताहरू षड्‌यन्त्र रच्छन्‌।+ तिनीहरू गर्जँदै आफ्नो सिकारलाई लुछलाछ पार्ने सिंहजस्ता छन्‌।+ ती भविष्यवक्‍ताहरू मानिसहरूलाई निल्न तिनीहरूमाथि जाइलाग्छन्‌। खरखजाना र बहुमूल्य कुराहरू तिनीहरू खोसेर लिन्छन्‌। तिनीहरूले गर्दा धेरै जना विधवा भएका छन्‌। २६  तिम्रा पुजारीहरूले मेरा आज्ञाहरू तोडेका छन्‌+ र तिनीहरू मेरा पवित्र ठाउँहरूलाई बिटुलो पार्छन्‌।+ कुन कुरालाई पवित्र मान्‍नुपर्छ अनि कुनलाई पर्दैन, त्यसको तिनीहरूलाई वास्तै छैन।+ शुद्ध के हो र अशुद्ध के हो, त्यो तिनीहरूले अरूलाई सिकाएकै छैनन्‌।+ तिनीहरू मेरो विश्रामदिन पालन गर्दैनन्‌। तिनीहरूले मेरो अपमान गरेका छन्‌। २७  तिम्रा शासकहरू आफ्नो सिकारलाई च्यातचुत पार्ने ब्वाँसाजस्ता छन्‌। तिनीहरू नाफा कमाउनलाई अरूको रगत बगाउँछन्‌ र ज्यान लिन्छन्‌।+ २८  तर तिम्रा भविष्यवक्‍ताहरू भने ती शासकहरूका कुकर्मलाई चुनले पोतेर ढाकछोप गर्छन्‌। तिनीहरू झूटा दर्शन* देख्छन्‌ र झूटा जोखना हेर्छन्‌+ अनि यहोवाले केही भन्दै नभन्‍नुभए पनि “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ” भन्छन्‌। २९  तिम्रा मानिसहरूले जालसाजी गरेका छन्‌ र अरूलाई लुटेका छन्‌।+ गरिब र खाँचोमा परेकाहरूसित तिनीहरूले निर्दयी व्यवहार गरेका छन्‌। तिनीहरूले परदेशीहरूमाथि अन्याय गरेका छन्‌ र तिनीहरूलाई ठगेका छन्‌।’ ३०  “‘सहरको पर्खाल मर्मत गरेर वा पर्खाल चर्केको ठाउँमा पहरा दिएर रक्षा गर्ने मानिस कोही छ कि भनेर मैले खोजेँ+ तर कोही पनि पाइनँ। ३१  त्यसैले म तिनीहरूमाथि आफ्नो रिस पोख्नेछु र मेरो क्रोधको आगोले तिनीहरूलाई भस्म गर्नेछु। तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याउनेछु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

फुटनोटहरू

शा., “सहरको न्याय गर्छौ, त्यसको न्याय गर्छौ?”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।
वा “बुबा गुमाएको बच्चामाथि।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
शा., “आफ्नो बुबाको लाज उदाङ्‌ग पार्छन्‌।”
शब्दावली हेर्नुहोस्‌।