इजकिएल ३०:१-२६

  • मिश्रविरुद्ध भविष्यवाणी (१-१९)

    • नबुकद्‌नेजरको आक्रमणबारे भविष्यवाणी (१०)

  • फारोको शक्‍ति तोडियो (२०-२६)

३०  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २  “हे मानिसको छोरा, भविष्यवाणी गर र भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “‘हाय! त्यो दिन आउँदै छ,’ भन्दै बिलौना गर।”  ३  किनकि त्यो दिन नजिकै छ। हो, यहोवाको दिन नजिकै छ।+ त्यो दिन आकाशलाई कालो बादलले ढाक्नेछ,+ त्यो जातिजातिको इन्साफको समय हुनेछ।+  ४  मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्‌क मच्चिनेछ; मिश्रका धनसम्पत्ति लगिनेछन्‌ र त्यसका जगहरू भत्काइनेछन्‌।+  ५  इथियोपिया,+ पत,+ लुद र अरू राष्ट्रका सबै मानिस अनि कुबका मानिसहरूका साथै करार गरेको राष्ट्रका* छोराहरू पनि त्यही तरबारले काटिनेछन्‌।  ६  यहोवा यसो भन्‍नुहुन्छ: ‘मिश्रका समर्थकहरू पनि काटिनेछन्‌ अनि त्यसको सेखी झारिनेछ।’+ “‘मिग्दोलदेखि+ सिनेसम्मै+ तिनीहरू तरबारले काटिनेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ७  ‘उजाड भएका देशहरूमध्ये त्यो सबैभन्दा उजाड पारिनेछ अनि त्यसका सहरहरूजत्तिको तहसनहस भएको सहर अरू कुनै पनि हुनेछैन।+ ८  मिश्रमा र त्यससित साठगाँठ गरेका सबै राष्ट्रमा म आगो लगाइदिनेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌। ९  आफूमाथि ज्यादै भरोसा गर्ने इथियोपियालाई तर्साउन म त्यो दिन सन्देशवाहकहरूलाई जहाजमा पठाउनेछु; मिश्रको इन्साफको दिनमा तिनीहरू डरले थरथर काँप्नेछन्‌ किनभने त्यो दिन निश्‍चय आउनेछ।’ १०  “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म मिश्रका मानिसहरूलाई बेबिलोनका राजा नबुकद्‌नेजरको* हातबाट नाश गर्नेछु।+ ११  तिनी र तिनका फौज, जो अत्यन्तै निष्ठुर र क्रूर छन्‌,+ तिनीहरूलाई मिश्र नाश गर्न पठाइनेछ। तिनीहरूले मिश्रलाई आफ्नो तरबारले प्रहार गर्नेछन्‌ र देशभरि लासको थुप्रो लगाउनेछन्‌।+ १२  म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्‌।+ म यहोवाले नै यसो भनेको हुँ।’ १३  “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्‌क फैलाइदिनेछु।+ १४  म पाथ्रोसलाई उजाड पारिदिनेछु,+ जोअनमा आगो लगाइदिनेछु अनि नोलाई* पनि सजाय दिनेछु।+ १५  मिश्रको बलियो गढ सिनमाथि म रिस पोख्नेछु र नोका बासिन्दाहरूलाई नाश गर्नेछु। १६  मिश्रमा म आगो लगाइदिनेछु, सिन डरले थरथर काँप्नेछ, नो तहसनहस हुनेछ र नोफमाथि* दिउँसै आक्रमण हुनेछ। १७  ओन* र पिबेसेथका युवकहरू तरबारले काटिनेछन्‌ र सहरवासीहरू कैदमा लगिनेछन्‌। १८  मैले तपनेसमा मिश्रको जुवा भाँच्दा त्यहाँ अन्धकार छाउनेछ।+ त्यसको सेखी झर्नेछ+ अनि कालो बादलले त्यसलाई ढाक्नेछ र त्यसका सहरवासीहरू कैदमा लगिनेछन्‌।+ १९  म मिश्रलाई सजाय दिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’” २०  अनि ११ औँ वर्षको पहिलो महिनाको सातौँ दिनमा यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २१  “हे मानिसको छोरा, मैले मिश्रका फारोको पाखुरा भाँचिदिएको छु। त्यसलाई निको पार्न मलहमपट्टी गरिनेछैन र पाखुरा कमजोर भएकोले त्यसले तरबार उठाउन सक्नेछैन।” २२  “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म मिश्रका फारोविरुद्ध खडा भएको छु।+ म त्यसको भाँचिएको र बलियो दुवै पाखुरा भाँचिदिनेछु।+ त्यसको हातबाट तरबार खसालिदिनेछु।+ २३  त्यसपछि म मिश्रीहरूलाई जातिजातिबीच र देशदेशमा तितरबितर पारिदिनेछु।+ २४  म बेबिलोनका राजाको पाखुरा बलियो पारिदिनेछु*+ र मेरो तरबार तिनको हातमा थमाइदिनेछु।+ अनि म फारोका पाखुरा भाँचिदिनेछु र त्यो मर्न लागेको मानिसजस्तै बेबिलोनका राजासामु छटपटाएर कराउनेछ। २५  म बेबिलोनको राजाका पाखुरा बलियो पारिदिनेछु तर फारोका पाखुरा भने लुलो बनाउनेछु। अनि जब म बेबिलोनका राजाको हातमा मेरो तरबार थमाइदिनेछु र तिनले मिश्रविरुद्ध तरबार चलाउनेछन्‌,+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌। २६  म मिश्रीहरूलाई जातिजातिबीच र देश-देशमा तितरबितर पारिदिनेछु।+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’”

फुटनोटहरू

यसले मिश्रीहरूसित गठबन्धन गरेका इस्राएलीहरूलाई जनाएको हुन सक्छ।
शा., “नबुकद्‌रेजरको।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।
वा “मेम्फिसका।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।
अर्थात्‌, थेबेसलाई।
वा “मेम्फिसमाथि।”
वा “हेलिओपोलिस।”
वा “राजाको शक्‍ति बढाउनेछु।”