इजकिएल ४:१-१७

  • यरुसलेमको घेराबन्दीको नमुना (१-१७)

    • ३९० दिन र ४० दिन दोष बोकिन्छ (४-७)

४  “हे मानिसको छोरा, एउटा इँटा लेऊ र त्यसलाई आफ्नो अगाडि राख। अनि त्यसमा एउटा सहर—यरुसलेम सहरको चित्र कोर। २  अनि त्यसको चारैतिर घेरा हाल,+ पर्खाल ठड्‌याऊ,+ त्यसमा घेरा-मचान* बनाऊ,+ वरिपरि छाउनी हाल र बख्तरबन्द गाडीहरूले* घेर।+ ३  एउटा फलामको तावा लेऊ र त्यसलाई तिमी र सहरको बीचमा फलामको पर्खालझैँ ठड्‌याऊ। अनि रिसाउँदै सहरलाई हेर र त्यसलाई घेराबन्दी गर। त्यसपछि सहरलाई कब्जा गर। इस्राएलको घरानाको लागि यो एउटा चिन्ह हुनेछ।+ ४  “त्यसपछि तिमी बायाँतिर कोल्टे परेर सुत र इस्राएलको घरानाको दोष आफूमाथि* लेऊ।+ यसरी जति दिन तिमी कोल्टे परेर सुत्छौ, त्यति दिन तिमीले तिनीहरूको दोष बोक्नेछौ। ५  इस्राएलको घरानाले जति वर्ष मेरो विरोध गरे, त्यति नै दिन अर्थात्‌ ३९० दिन मैले तिम्रो लागि तोकेको छु।+ तिमीले त्यति नै दिन तिनीहरूको दोष बोक्नुपर्नेछ। ६  तिम्रो लागि तोकिएका यी दिनहरूमा तिमीले यस्तै गर्नू। “अनि यी दिनहरू पूरा भएपछि तिमी फेरि दायाँतिर कोल्टे परेर सुत र तिमीले ४० दिन यहुदाको घरानाको दोष बोक्नेछौ।+ एक वर्षको निम्ति एक दिन, हो, एक वर्षको निम्ति एक दिनको हिसाबले मैले दिन तोकेको छु। ७  त्यसपछि तिमीले आफ्नो पाखुरा नाङ्‌गो राखेर घेरा हालिएको यरुसलेमतिर हेर+ र त्यसको विरुद्धमा भविष्यवाणी गर। ८  “हेर, घेरा हालेको दिन पूरा नभएसम्म म तिमीलाई अर्कोतिर कोल्टे पर्न नसक्नेगरि डोरीले बाँध्नेछु। ९  “त्यसपछि गहुँ, जौ, बकुला, मुसुरो, कोदो र कठिया गहुँ* लेऊ र एउटा भाँडामा राख। अनि आफ्नो लागि त्यसको रोटी बनाऊ। बायाँतिर कोल्टे परेर सुतुन्जेल ३९० दिनसम्म तिमीले त्यो रोटी खानू।+ १०  तिमीले एक दिनको लागि २० शेकेल* खाना जोख्नू र त्यसलाई तोकिएको समयमा खानू। ११  “अनि पानी पनि नापेर एक हिनको छैटौँ भाग* मात्र पिउनू। तिमीले पानी पनि तोकिएको समयमा पिउनू। १२  “तिमीले जसरी जौको गोलो रोटी खान्छौ, त्यसरी नै त्यो रोटी खानू। अनि तिमीले सबैले देख्नेगरि मानिसको सुकेको मल बालेर त्यो रोटी पकाउनू।” १३  यहोवाले अझै भन्‍नुभयो: “इस्राएलीहरूलाई तितरबितर पारेर जुन-जुन देशमा म पठाउनेछु, त्यहाँका मानिसहरूले देख्नेगरि तिनीहरूले त्यस्तो अशुद्ध रोटी खानेछन्‌।”+ १४  अनि मैले भनेँ: “हे ब्रह्‍माण्डका मालिक यहोवा, यो त म गर्नै सक्दिनँ! मरेको जनावरको अथवा लुछेर मारिएको जनावरको मासु खाएर मैले अहिलेसम्म आफूलाई अशुद्ध बनाएको छैनँ।+ मैले अशुद्ध मासु आफ्नो मुखमा समेत हालेको छैनँ।”+ १५  त्यसैले उहाँले मलाई यसो भन्‍नुभयो: “त्यसोभए मानिसको मलको सट्टा गुइँठा बालेर रोटी पकाऊ।” १६  त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्‌+ र नापी-नापीकन पिउनेछन्‌।+ १७  खानाको र पानीको हाहाकारले गर्दा तिनीहरू एकअर्कालाई देख्दा पनि झस्कनेछन्‌ र आफ्नो अपराधको कारण सुक्दै जानेछन्‌।

फुटनोटहरू

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
युद्धमा सहरको पर्खाल र ढोका भत्काउन प्रयोग गरिने साधन।
शा., “त्यसमाथि।” अर्थात्‌, इजकिएलको बायाँतिर।
प्रस्थ ९:३२ को फुटनोट हेर्नुहोस्‌।
लगभग २३० ग्राम। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
लगभग ०.६ लिटर। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “रोटी झुन्ड्‌याउने लट्ठी भाँचिदिनेछु।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।