उत्पत्ति ३:१-२४

  • मानिसको पापको सुरुवात (१-१३)

  • विद्रोहीहरूलाई यहोवाको सजाय (१४-२४)

    • स्त्रीको सन्तानबारे भविष्यवाणी गरिन्छ (१५)

    • अदनबाट निकालिन्छ (२३, २४)

३  यहोवा परमेश्‍वरले बनाउनुभएका सबै जङ्‌गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?”+ २  तब स्त्रीले सर्पलाई भनिन्‌: “हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ।+ ३  तर बगैँचाको बीचमा भएको रूखबारे+ भने परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।’” ४  यो सुनेपछि सर्पले स्त्रीलाई भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!+ ५  किनकि परमेश्‍वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”*+ ६  त्यसपछि स्त्रीले त्यस रूखलाई हेरिन्‌ र उनलाई त्यसको फल खाऊँ-खाऊँ लाग्न थाल्यो। त्यस रूखलाई हेरेर उनको आँखा लोभियो। हो, त्यो रूख असाध्यै रहरलाग्दो थियो। त्यसैले उनले त्यसको फल टिपेर खाइन्‌।+ पछि जब उनका पति उनको साथमा थिए, तब उनले तिनलाई पनि त्यो फल दिइन्‌ र तिनले पनि खाए।+ ७  त्यसपछि दुवैका आँखा खुले र तिनीहरूले आफू नाङ्‌गै रहेछौँ भनेर थाह पाए। त्यसैले तिनीहरूले अन्जिरका पातहरू गाँसेर आफ्नो लाज ढाके।+ ८  साँझपख मन्द-मन्द हावा चलिरहेको बेला यहोवा परमेश्‍वर बगैँचामा टहलिरहनुभएको थियो। त्यतिखेर आदम र तिनकी पत्नीले यहोवा परमेश्‍वरको स्वर सुने र रूखहरूका बीचमा गएर उहाँको नजरबाट लुके। ९  यहोवा परमेश्‍वरले आदमलाई पटक-पटक “तिमी कहाँ छौ” भनेर बोलाउनुभयो। १०  अन्तमा तिनले यसो भने: “मैले बगैँचामा तपाईँको स्वर सुनेको थिएँ तर म तपाईँसामु आउन डराएँ किनकि म नाङ्‌गै थिएँ। त्यसैले म लुकेँ।” ११  परमेश्‍वरले सोध्नुभयो: “तिमी नाङ्‌गै छौ भनेर कसले भन्यो?+ मैले खाँदै नखानू भनेको रूखको फल के तिमीले खायौ?”+ १२  आदमले भने: “तपाईँले दिनुभएको स्त्रीले मलाई त्यस रूखको फल दिई अनि मैले खाएँ।” १३  त्यसपछि यहोवा परमेश्‍वरले स्त्रीलाई सोध्नुभयो: “तिमीले यो के गऱ्‍यौ?” स्त्रीले जवाफ दिइन्‌: “सर्पले मलाई झुक्क्यायो अनि मैले खाएँ।”+ १४  त्यसपछि यहोवा परमेश्‍वरले सर्पलाई+ यसो भन्‍नुभयो: “तैँले यसो गरेको हुनाले सबै घरपालुवा जनावर र जङ्‌गली जनावरमध्ये तँ श्रापित हुनेछस्‌। तँ पेटको बलले घस्रनेछस्‌ र तैँले जीवनभर माटो खानेछस्‌। १५  तँ+ र स्त्रीबीच+ अनि तेरो सन्तान+ र स्त्रीको सन्तानबीच+ म दुस्मनी हालिदिनेछु।+ उसले तेरो शिर कुच्याउनेछ+ र तैँले उसको कुर्कुच्चो डस्नेछस्‌।”+ १६  उहाँले स्त्रीलाई भन्‍नुभयो: “तिमी दुई जीउकी हुँदा म तिम्रो पीडा असाध्यै बढाइदिनेछु। बच्चा जन्माउने बेला तिमीलाई निकै कष्ट हुनेछ। तिमीले आफ्नो पतिकै तिर्सना गर्नेछ्यौ र उसले तिमीमाथि हैकम जमाउनेछ।” १७  अनि उहाँले आदमलाई* भन्‍नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+ १८  भूमिले काँडा र जङ्‌गली झार उमार्नेछ। अनि तिमीले खेतको उब्जनी खानेछौ। १९  तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+ २०  त्यसपछि आदमले आफ्नी पत्नीको नाम हव्वा* राखे किनकि उनी नै पृथ्वीमा जिउने सबै मानिसकी आमा हुने थिइन्‌।+ २१  यहोवा परमेश्‍वरले आदम र तिनकी पत्नीको जीउ ढाक्न छालाको लामा-लामा लुगा बनाइदिनुभयो।+ २२  त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “अब मानिस पनि हामीजस्तै असल र खराब छुट्ट्याउन सक्ने भएका छन्‌।+ तिनले जीवनको रूखको+ फल पनि टिपेर खालान्‌ र सधैँभरि बाँचिरहलान्‌, . . .।” २३  त्यसकारण जुन भूमिबाट मानिस बनाइएका थिए,+ तिनले त्यसैको खनजोत गरून्‌ भनेर यहोवा परमेश्‍वरले तिनलाई अदनको बगैँचाबाट+ निकालिदिनुभयो। २४  उहाँले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। अनि जीवनको रूख भएतिर कोही पनि जान नपाओस्‌ भनेर परमेश्‍वरले अदनको बगैँचाको पूर्वतिर करूबहरू*+ र फनफनी घुमिरहने ज्वालामय तरबार राख्नुभयो।

फुटनोटहरू

वा “धूर्त।”
वा “के असल, के खराब आफैले निर्णय गर्नेछौ।”
यसको अर्थ हो, “मानिस, मानिसजाति।”
वा “खानेकुराको।”
यसको अर्थ हो, “जीवित व्यक्‍ति।”
शब्दावली हेर्नुहोस्‌।