एज्रा ५:१-१७
५ त्यसपछि भविष्यवक्ता हाग्गै+ र इद्दोका+ नाति भविष्यवक्ता जकरियाले+ यहुदा र यरुसलेमका यहुदीहरूलाई परमेश्वरको सन्देश सुनाउन लागे। तिनीहरूले इस्राएलका परमेश्वरको नाममा सन्देश सुनाए, जो आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो।
२ त्यसबेलादेखि सालतिएलका छोरा यरुबाबेल+ र यहोजादाकका छोरा यसुआले+ यरुसलेममा परमेश्वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।+ परमेश्वरका भविष्यवक्ताहरू उनीहरूसँगै थिए र तिनीहरूले उनीहरूलाई यस काममा साथ दिए।+
३ त्यसबेला महानदीपारिको इलाकाका* राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ आए र यसरी सोधे: “यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?”
४ तिनीहरूले उनीहरूलाई यसो पनि भने: “यो भवन बनाउने काममा लागिरहेका मानिसहरूको नाम हामीलाई भन!”
५ तर परमेश्वरको नजर यहुदीहरूका नाइकेहरूमाथि थियो।+ त्यसैले तिनीहरूले यहुदीहरूलाई रोकेनन्। बरु तिनीहरूले राजा दारालाई यसबारे खबर गरे अनि राजाबाट केही जानकारी नआएसम्म पर्खिरहे।
६ महानदीपारिको इलाकाका राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू अर्थात् महानदीपारिको इलाकाका उप-राज्यपालहरूले राजा दारालाई पठाएको पत्रको नक्कल यस्तो थियो।
७ तिनीहरूले पत्रमा यस्तो लेखेका थिए:
“राजा दाराको नाममा:
“हजुरलाई शान्ति होस्!
८ हामी महाराजलाई यो जानकारी गराउन चाहन्छौँ कि हामी यहुदा प्रान्तमा गएका थियौँ। त्यहाँ महान् परमेश्वरको भवन बनाइँदै रहेछ। त्यो भवन ठूलठूला ढुङ्गाहरूले बनाइँदै छ र काठहरू हालेर पर्खालहरू पनि ठड्याइँदै छ। ती मानिसहरूले जोडतोडले भवन निर्माण गरिरहेका छन् र त्यो काम द्रुत गतिमा अघि बढिरहेको छ।
९ हामीले तिनीहरूका नाइकेहरूलाई यो प्रश्न गऱ्यौँ: ‘यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?’+
१० अनि यस काममा नेतृत्व लिइरहेकाहरूको नाम तपाईँलाई बताउन सकौँ भनेर हामीले तिनीहरूको नाम पनि सोध्यौँ।
११ “तिनीहरूले हामीलाई यस्तो जवाफ दिए: ‘हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौँ अनि हामी वर्षौँ पहिले बनाइएको यो भवन पुनर्निर्माण गर्दै छौँ। यो भवन इस्राएलका एक महान् राजाले बनाउनुभएको थियो।+
१२ तर हाम्रा पितापुर्खाले स्वर्गका परमेश्वरलाई रिस उठाए।+ त्यसैले उहाँले उनीहरूलाई बेबिलोनका राजा नबुकद्नेजरको हातमा सुम्पिदिनुभयो।+ ती कल्दियाली राजाले यस भवनलाई+ ध्वस्त पारिदिए र यहाँका मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+
१३ तर बेबिलोनका राजा कोरेसले आफ्नो शासनकालको पहिलो वर्षमा परमेश्वरको भवन पुनर्निर्माण गर्ने उर्दी निकाल्नुभयो।+
१४ साथै राजा कोरेसले बेबिलोनको मन्दिरबाट सुन र चाँदीका ती भाँडाकुँडाहरू पनि निकाल्नुभयो, जुन भाँडाकुँडाहरू नबुकद्नेजरले यरुसलेममा भएको परमेश्वरको भवनबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए।+ राजा कोरेसले ती भाँडाकुँडाहरू सेस्बजर*+ नामको मानिसको जिम्मामा दिनुभयो, जसलाई उहाँले राज्यपाल नियुक्त गर्नुभएको थियो।+
१५ उहाँले सेस्बजरलाई भन्नुभयो: “जाऊ, यी भाँडाकुँडाहरू लगेर यरुसलेमको मन्दिरमा राख। अनि परमेश्वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गरियोस्।”+
१६ त्यसपछि सेस्बजर यरुसलेम आए र परमेश्वरको भवनको जग हाले।+ त्यस समयदेखि यो भवन बनाउने काम चलिरहेको छ तर अहिलेसम्म सिद्धिएको छैन।’+
१७ “अब हे महाराज! हजुरको इच्छा भए राजा कोरेसले यरुसलेममा परमेश्वरको भवन बनाउने उर्दी निकालेका थिए कि थिएनन् भनेर पत्ता लगाउन बेबिलोनको शाही भण्डारमा* खोज-अनुसन्धान गर्न लगाउनुहोस्।+ त्यसपछि महाराजको निर्णयबारे हामीलाई जानकारी गराउनुहोस्।”