एस्तर ६:१-१४
-
राजाले मोर्दकैलाई सम्मान दिन्छन् (१-१४)
६ त्यो रात राजालाई निद्रै लागेन। त्यसैले तिनले बितेका घटनाहरूबारे लेखिएको पुस्तक ल्याउन हुकुम गरे+ र त्यो पढेर सुनाउन लगाए।
२ त्यसमा दरबारका अफिसरहरू बिग्थान र तेरेस, जो ढोकेहरू थिए, तिनीहरूको षड्यन्त्र मोर्दकैले पर्दाफास गरिदिएको कुरा पनि लेखिएको पाइयो। ती ढोकेहरूले राजा आहासुरसलाई मार्ने षड्यन्त्र रचेका थिए।+
३ राजाले सोधे: “के यसको लागि मोर्दकैलाई सम्मान अनि इनाम दिइयो?” राजाका खास सेवकहरूले भने: “अहँ, उनको लागि केही पनि गरिएको छैन।”
४ त्यति नै बेला हामान आफूले ठड्याएको खम्बामा मोर्दकैलाई झुन्ड्याइयोस् भनी राजासित बिन्ती गर्न+ महलको बाहिरी चोकमा आइपुगेका थिए।+ तब राजाले सोधे: “चोकमा को हो?”
५ राजाका सेवकहरूले भने: “चोकमा उभिरहेको व्यक्ति हामान+ रहेछन्।” त्यसैले राजाले भने: “उसलाई भित्र पठाइदेओ।”
६ हामान भित्र आएपछि राजाले तिनलाई सोधे: “राजा जसलाई सम्मान दिन चाहन्छन्, उसको लागि के गर्नुपर्ला?” हामानले मनमनै सोचे: “राजाले मलाई बाहेक अरू कसलाई पो सम्मान दिन खोज्नुभएको होला र?”+
७ त्यसैले तिनले राजालाई भने: “राजाले जसलाई सम्मान दिन चाहनुभएको हो,
८ तिनको निम्ति राजाको शाही पोसाक+ अनि राजा सवार हुने घोडा ल्याइयोस् र त्यस घोडाको शिर शाही शिरपोसले सिँगारिएको होस्।
९ त्यसपछि राजाका माननीय भारदारहरूमध्ये एक जनालाई त्यो पोसाक र घोडा जिम्मा लगाइयोस्। अनि राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई राजाका सेवकहरूले त्यो पोसाक पहिराऊन् र घोडामा सवार गराएर सहरको चोकमा घुमाऊन्। अनि उसको अघिअघि यस्तो घोषणा गर्दै हिँडून्: ‘राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई यसरी नै सम्मान गरिन्छ।’”+
१० हामानको कुरा सुन्नेबित्तिकै राजाले भने: “अब तुरुन्तै शाही पोसाक र घोडा लिएर जाऊ। अनि राजमहलको ढोकामा बसिरहेका यहुदी मोर्दकैको निम्ति ती सबै काम गर, जुन तिमीले भर्खरै भनेका थियौ। तिमीले भनेको एउटा कुरा पनि नछुटोस्।”
११ त्यसपछि हामानले शाही पोसाक र घोडा लिए। अनि तिनले मोर्दकैलाई+ त्यो पोसाक पहिराइदिए र घोडामा सवार गराएर सहरको चोकमा घुमाए। अनि उसको अघिअघि यस्तो घोषणा गर्दै हिँडे: “राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई यसरी नै सम्मान गरिन्छ।”
१२ त्यसपछि मोर्दकै राजमहलको ढोकामा फर्के तर हामान भने लाजले आफ्नो शिर ढाकेर हतार-हतार घरतिर लागे।
१३ हामानले आफ्नी पत्नी जेरेस+ र सबै साथीलाई त्यस दिनको सम्पूर्ण घटना बताए। त्यसपछि तिनकी पत्नी र तिनका सल्लाहकारहरूले यसो भने: “मोर्दकै, जो आज तपाईँभन्दा उच्च पारिएका छन्, यदि तिनी यहुदी वंशका रहेछन् भने तपाईँले उसलाई जित्न सक्नुहुनेछैन। तपाईँको हार निश्चित छ।”
१४ तिनीहरूले यसो भनिरहेकै बेला दरबारका अफिसरहरू आए र हामानलाई तुरुन्तै एस्तरले लगाएको भोजमा लिएर गए।+