न्यायकर्ता २:१-२३

  • यहोवाका स्वर्गदूतको चेतावनी (१-५)

  • यहोसुको मृत्यु (६-१०)

  • इस्राएललाई जोगाउन न्यायकर्ताहरूको प्रबन्ध (११-२३)

२  यहोवा परमेश्‍वरका स्वर्गदूत+ गिलगालबाट+ बोकिम गए र इस्राएलीहरूलाई भने: “मैले तिमीहरूलाई मिश्रबाट* छुटाएँ र तिमीहरूका पुर्खाहरूलाई जुन देश दिन्छु भनेर कसम खाएको थिएँ, त्यहाँ तिमीहरूलाई पुऱ्‍याएँ।+ अनि मैले यसो पनि भनेँ: ‘तिमीहरूसित गरेको करार म कहिल्यै तोड्‌नेछैनँ।+ २  तिमीहरूले पनि यस देशका मानिसहरूसित कुनै किसिमको करार नगर+ अनि तिनीहरूका वेदीहरू भत्काइदेओ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।+ तिमीहरूले किन यसो गऱ्‍यौ? ३  मैले तिमीहरूलाई पहिल्यै यसो भनेको थिएँ: ‘म तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछैनँ;+ तिनीहरूले तिमीहरूलाई पासोमा पार्नेछन्‌+ र तिमीहरू बहकिएर तिनीहरूका देवताहरूलाई पुज्न थाल्नेछौ।’”+ ४  यहोवा परमेश्‍वरको स्वर्गदूतले सबै इस्राएलीलाई यी कुरा बताएपछि तिनीहरूले रुवाबासी गर्न थाले। ५  त्यसैले तिनीहरूले त्यस ठाउँको नाम बोकिम* राखे अनि त्यहाँ यहोवा परमेश्‍वरको निम्ति बलि चढाए। ६  त्यसपछि यहोसुले मानिसहरूलाई बिदा गरे अनि तिनीहरू सबै आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा गए।+ ७  इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्‍वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्‍वरले इस्राएलीहरूको खातिर गर्नुभएका सबै महान्‌ कार्य देखेका थिए।+ ८  नुनका छोरा, यहोवा परमेश्‍वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ९  अनि तिनीहरूले यहोसुलाई तिम्नाथ-हेरेसमा+ गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको एप्रैमको पहाडी इलाकामा पर्थ्यो।+ १०  त्यस पुस्ताका सबै जना आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। त्यसपछि एउटा नयाँ पुस्ता आयो। तिनीहरूले यहोवा परमेश्‍वरलाई चिनेका थिएनन्‌ र उहाँले इस्राएलीहरूको खातिर के-के गर्नुभएको थियो भनेर पनि तिनीहरूलाई थाह थिएन। ११  इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+ १२  यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्‍वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्‍वरलाई रिस उठाए।+ १३  तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे अनि बाआल र अस्तोरेथका मूर्तिहरूलाई पुज्न थाले।+ १४  त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+ १५  यहोवा परमेश्‍वर तिनीहरूको विरुद्धमा उठ्‌नुभयो। यहोवाले भन्‍नुभएझैँ अनि यहोवाले तिनीहरूसित कसम खानुभएझैँ+ तिनीहरू जहाँ गए पनि उहाँले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो।+ तिनीहरूको जीवन दुःखैदुःखले भरियो।+ १६  त्यसैले तिनीहरूलाई लुटपाट गर्नेहरूबाट जोगाउन यहोवा परमेश्‍वरले तिनीहरूका निम्ति न्यायकर्ताहरूको प्रबन्ध गर्नुभयो।+ १७  तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्‍न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे* र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्‌। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्‌। १८  थिचोमिचोमा पर्दा+ र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्‍वरको मन दयाले भरिन्थ्यो।*+ त्यसैले जब-जब यहोवा परमेश्‍वर इस्राएलीहरूका निम्ति न्यायकर्ता नियुक्‍त गर्नुहुन्थ्यो,+ तब-तब यहोवा परमेश्‍वरले त्यस न्यायकर्तालाई साथ दिनुहुन्थ्यो अनि तिनी बाँचुन्जेल उहाँले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउनुहुन्थ्यो। १९  तर न्यायकर्ताको मृत्यु भएपछि तिनीहरू आफ्ना पुर्खाहरूभन्दा झनै भ्रष्ट भएर अरू देवताको पछि लाग्थे र ती देवताहरूलाई नै ढोग्थे।+ तिनीहरू अटेरी भइरहे र तिनीहरूले गलत काम गर्न छोडेनन्‌। २०  आखिरमा यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो।+ उहाँले यसो भन्‍नुभयो: “यस जातिले मैले तिनीहरूका पुर्खाहरूसित गरेको करार तोडेको छ+ र मेरो आज्ञा पालन गरेको छैन।+ २१  त्यसैले यहोसुको मृत्युपछि यहाँ जुन-जुन जातिहरू अझै बाँकी छन्‌, तिनीहरूमध्ये एउटालाई पनि म यहाँबाट खेद्‌नेछैनँ।+ २२  इस्राएलीहरूले आफ्ना पुर्खाहरूले जस्तै यहोवाको आज्ञा पालन गर्छन्‌ कि गर्दैनन्‌ भनेर जाँच्न म ती जातिहरूलाई तिनीहरूको माझबाट हटाउनेछैनँ।”+ २३  त्यसैले यहोवा परमेश्‍वरले ती जातिहरूलाई रहन दिनुभयो। उहाँले तिनीहरूलाई तुरुन्तै हटाउनुभएन अनि यहोसुको हातमा पनि सुम्पनुभएन।

फुटनोटहरू

वा “इजिप्टबाट।”
यसको अर्थ हो, “रुनेहरू।”
शा., “बेचिदिनुभयो।”
वा “अरू देवताहरूसित वेश्‍यावृत्ति गरे।”
वा “पछुतो मान्‍नुहुन्थ्यो।”