युहन्‍नालाई प्रकाश १६:१-२१

  • परमेश्‍वरको क्रोधका सात कचौरा खन्याइन्छन्‌ (१-२१)

    • पृथ्वीमा (), समुद्रमा (), नदी अनि पानीका मुहानहरूमा (४-७), सूर्यमा (८, ९), जङ्‌गली जनावरको सिंहासनमा (१०, ११), युफ्रेटिसमा (१२-१६), हावामा (१७-२१)

    • आरमागेडोनमा परमेश्‍वरको युद्ध (१४, १६)

१६  अनि मैले पवित्र स्थानबाट आएको चर्को आवाजले+ ती सात स्वर्गदूतलाई यसो भनेको सुनेँ: “जाओ, परमेश्‍वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।”+ २  पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए।+ त्यसले गर्दा जङ्‌गली जनावरको चिन्ह हुने+ र त्यसको मूर्तिको उपासना गरिरहेका+ मानिसहरूलाई पीडादायी अनि डरलाग्दो खटिराले सतायो।+ ३  दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए।+ त्यसले गर्दा समुद्र मरेको मान्छेको रगतजस्तै भयो+ र त्यसमा भएका सबै जीवजीवात मरे।+ ४  तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी अनि पानीका मुहानहरूमा खन्याए+ र ती रगत भए।+ ५  पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनेँ: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो,+ तपाईँ वफादार+ अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ।+ ६  किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्‍ताहरूको रगत बगाए+ अनि तपाईँले तिनीहरूलाई रगत पिउन दिनुभएको छ।+ तिनीहरू यसकै लायक छन्‌।”+ ७  तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।”+ ८  चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए+ अनि सूर्यलाई आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो। ९  तब चर्को रापले गर्दा मानिसहरू डढे तर तिनीहरूले यी विपत्तिहरूमाथि अख्तियार हुने परमेश्‍वरको नामको निन्दा गरे। तिनीहरूले पश्‍चात्ताप गरेनन्‌ र उहाँलाई महिमा दिएनन्‌। १०  पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा जङ्‌गली जनावरको सिंहासनमाथि खन्याए। त्यसले गर्दा त्यसको राज्यलाई अन्धकारले छोप्यो+ र पीडाले गर्दा तिनीहरूले आफ्नो जिब्रो टोक्न थाले। ११  तर आफूले भोग्नुपरेको पीडा अनि खटिराको कारण तिनीहरूले स्वर्गका परमेश्‍वरको निन्दा गरे। तिनीहरूले आफ्नो कुकर्मको पश्‍चात्ताप गरेनन्‌। १२  छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+ १३  त्यसपछि मैले अजिङ्‌गरको+ मुखबाट, जङ्‌गली जनावरको मुखबाट अनि झूटो भविष्यवक्‍ताको मुखबाट तीन वटा अशुद्ध प्रेरित वचन निस्केको देखेँ र ती भ्यागुताजस्तै देखिन्थे। १४  ती वास्तवमा प्रेतहरूका* प्रेरित वचनहरू हुन्‌ र ती वचनहरूले चिन्हहरू देखाउँछन्‌+ अनि पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको+ निम्ति जम्मा गर्छन्‌।+ १५  “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्‌गै हिँड्‌नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्‌।”+ १६  अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन*+ भन्‍ने ठाउँमा जम्मा गरे। १७  सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब पवित्र स्थानमा+ भएको सिंहासनबाट एउटा चर्को आवाज आयो र त्यसले यसो भनिरहेको थियो: “अब सिद्धियो!” १८  तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, गर्जनहरू भए अनि यति ठूलो र शक्‍तिशाली भूकम्प गयो कि पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि अहिलेसम्म त्यस्तो भूकम्प गएकै छैन।+ १९  त्यसले गर्दा त्यो ठूलो सहर+ तीन टुक्रा भयो अनि राष्ट्रराष्ट्रका सहरहरू पनि नष्ट भए। तब महान्‌ बेबिलोनलाई+ आफ्नो भयानक क्रोधको मद्यको कचौराबाट पियाउन परमेश्‍वरले त्यसलाई सम्झनुभयो।+ २०  साथै सबै टापु भागे अनि डाँडाहरू भेटिएनन्‌।+ २१  अनि लगभग एक टालेन्ट* तौल भएका ठूलठूला असिनाहरू आकाशबाट मानिसहरूमाथि बर्सिए।+ असिनाको विपत्तिले गर्दा मानिसहरूले परमेश्‍वरको निन्दा गरे+ किनकि यो विपत्ति ज्यादै विनाशकारी थियो।

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “पूर्वबाट।”
वा “दुष्ट स्वर्गदूतहरूका।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
ग्रीक भाषामा हार-मागेडोन। यो एउटा हिब्रू शब्दबाट आएको हो, जसको अर्थ हो, “मगिद्दोको पर्वत।”
ग्रीक तौलअनुसार एक टालेन्ट भनेको २०.४ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।