मत्तिका अनुसार ९:१-३८
९ त्यसपछि उहाँ डुङ्गा चढेर पारि आफ्नो सहर* जानुभयो।+
२ अनि हेर! मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई खाटमा राखेर उहाँकहाँ ल्याउँदै थिए। तिनीहरूको विश्वास देखेर येसुले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “हरेस नखाऊ बाबु! तिम्रो पाप क्षमा भयो।”+
३ अनि कोही-कोही शास्त्रीहरूले मनमनै यसो भने: “यसले त परमेश्वरको निन्दा गर्दै छ।”
४ तिनीहरू के सोच्दै छन् भन्ने थाह पाएर येसुले यसो भन्नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो दुष्ट कुरा सोच्दै छौ?+
५ वास्तवमा के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठेर जाऊ’ भन्न?+
६ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+
७ अनि ऊ उठ्यो र आफ्नो घरतिर लाग्यो।
८ यो देखेर भीडमा डर छायो र मानिसलाई यस्तो अख्तियार दिनुहुने परमेश्वरको तिनीहरूले महिमा गरे।
९ त्यसपछि त्यहाँबाट जाँदै गर्दा येसुले मत्ति नाम गरेको एक जना मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+
१० केही समयपछि उहाँ मत्तिको घरमा खान बस्नुहुँदा हेर! कर उठाउने थुप्रै मानिस र थुप्रै पापी आए अनि येसु र उहाँका चेलाहरूसँगै बसेर खान थाले।+
११ यो देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई यसो भन्न थाले: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्?”+
१२ तिनीहरूको कुरा सुनेर उहाँले भन्नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+
१३ त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’+ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”
१४ त्यसपछि युहन्नाका चेलाहरू उहाँकहाँ आएर सोधे: “हामी र फरिसीहरू उपवास बस्ने गर्छौँ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्?”+
१५ तब येसुले तिनीहरूलाई भन्नुभयो: “दुलहा+ आफूसँग होउन्जेल के तिनका साथीहरूले शोक मनाउँछन् र? तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्।
१६ कसैले पनि पुरानो लुगा फाट्दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन नत्र त नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+
१७ त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैनन्। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन् र ती दुवै जोगिन्छ।”
१८ उहाँले तिनीहरूलाई यी कुरा भनिरहनुभएको बेला हेर! एक जना शासक* उहाँलाई भेट्न आए र उहाँलाई दण्डवत् गर्दै यसो भने: “यतिन्जेलसम्म त मेरी छोरी मरिसकी होली तर तपाईँ आएर ऊमाथि आफ्नो हात राखिदिनुहोस् र ऊ जिउँदो हुनेछे।”+
१९ त्यसपछि येसु उठेर तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि सँगसँगै गए।
२० अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+
२१ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”
२२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्नुभयो: “नडराऊ नानी! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+
२३ जब उहाँ ती शासकको घरमा पुग्नुभयो, तब उहाँले शोकधुन बजाइरहेका बाँसुरीवादकहरू र खैलाबैला मच्चाइरहेको भीडलाई देख्नुभयो।+
२४ येसुले तिनीहरूलाई भन्नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले।
२५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+
२६ तब त्यस इलाकाको चारैतिर यो कुरा फैलियो।
२७ येसु त्यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा+ यसो भनेर पुकार्दै उहाँको पछिपछि लागे: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्।”
२८ उहाँ घरभित्र पस्नुभएपछि ती अन्धाहरू उहाँकहाँ आए अनि येसुले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूको आँखा खोलिदिन सक्छु भनेर के तिमीहरू विश्वास गर्छौ?”+ तिनीहरूले उहाँलाई जवाफ दिए: “गर्छौँ प्रभु।”
२९ त्यसपछि उहाँले तिनीहरूको आँखा छुँदै+ भन्नुभयो: “तिमीहरूले विश्वास गरेअनुसारै तिमीहरूलाई होस्।”
३० तब तिनीहरूको आँखा खुल्यो। साथै येसुले तिनीहरूलाई यस्तो कडा चेतावनी दिनुभयो: “यो कुरा कसैले थाह नपाओस्।”+
३१ तर त्यहाँबाट बाहिर निस्केपछि तिनीहरूले त्यस इलाकाभरि उहाँको विषयमा बताए।
३२ ती मानिसहरू जाँदै गर्दा हेर! प्रेत* बास गरेको एक जना गुँगोलाई मानिसहरूले उहाँकहाँ ल्याए।+
३३ अनि उहाँले प्रेतलाई धपाउनुभएपछि त्यो गुँगो बोल्न थाल्यो।+ यो देखेर तीनछक पर्दै भीडले भन्यो: “इस्राएलमा कहिल्यै यस्तो देखिएको थिएन।”+
३४ तर फरिसीहरू यसो भन्दै थिए: “प्रेतहरूको शासकबाट शक्ति पाएको भएर नै त्यसले प्रेतहरूलाई धपाउँछ।”+
३५ अनि सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+
३६ भीडलाई देखेर उहाँ टिठाउनुभयो+ किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।+
३७ त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्।+
३८ त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।”+
फुटनोटहरू
^ अर्थात्, कफर्नहुम।
^ वा “चिकित्सकको।”
^ अङ्गुरबाट बनेको रक्सी।
^ जनावरको छालाबाट बनेको थैलो।
^ अर्थात्, यहुदी सभाघरका अध्यक्ष।
^ वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।