लुकाका अनुसार २३:१-५६
२३ तब तिनीहरू सबका सब उठे अनि उहाँलाई पिलातसकहाँ लगे।+
२ त्यसपछि तिनीहरूले उहाँलाई यस्तो आरोप लगाउन थाले:+ “यस मानिसले हाम्रो जातिलाई भड्काइरहेको, सिजरलाई* कर तिर्न रोकिरहेको+ अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको+ हामीले फेला पाऱ्यौँ।”
३ तब पिलातसले उहाँलाई सोधे: “के तिमी यहुदीहरूको राजा हौ?” उहाँले जवाफ दिनुभयो: “तपाईँ आफै भन्दै हुनुहुन्छ।”+
४ त्यसपछि पिलातसले मुख्य पुजारीहरू अनि भीडलाई भने: “मैले यस मानिसमा केही अपराध फेला पारिनँ।”+
५ तर तिनीहरूले यसो भन्दै जिद्दी गरे: “यसले आफ्नो शिक्षाद्वारा यहुदियाभरि नै, गालिलदेखि यहाँसम्मका सबै मानिसलाई उक्साइरहेको छ।”
६ यो सुनेर पिलातसले उहाँ गालिलका हुन् कि भनेर सोधे।
७ उहाँ हेरोदको अधिकारमा पर्ने क्षेत्रको हुनुहुँदो रहेछ+ भनेर पक्का गरेपछि तिनले उहाँलाई हेरोदकहाँ पठाए, जो त्यतिखेर यरुसलेममै थिए।
८ येसुलाई देखेपछि हेरोद असाध्यै खुसी भए किनकि उहाँको विषयमा थुप्रै कुरा सुनेको हुनाले तिनले निकै समयदेखि उहाँलाई हेर्ने इच्छा गरिरहेका थिए।+ साथै उहाँले केही चमत्कार गर्नुभएको हेर्ने आशा पनि तिनले गरिरहेका थिए।
९ त्यसैले तिनले थुप्रै प्रश्न सोधे तर उहाँले केही जवाफ दिनुभएन।+
१० तर मुख्य पुजारीहरू अनि शास्त्रीहरूले घरीघरी तात्तिएर उठ्दै उहाँलाई आरोप लगाइरहे।
११ तब हेरोदले आफ्ना सैनिकहरूसित मिलेर उहाँको बेइज्जत गरे।+ तिनले उहाँलाई दामी लुगा लगाइदिए अनि उहाँको खिल्ली उडाए।+ त्यसपछि तिनले उहाँलाई पिलातसकहाँ फिर्ता पठाइदिए।
१२ त्यही दिन हेरोद र पिलातसबीच मित्रता गाँसियो किनकि त्यसअघि तिनीहरूबीच दुस्मनी थियो।
१३ त्यसपछि पिलातसले मुख्य पुजारीहरू, यहुदी न्यायपरिषद्का सदस्यहरू अनि अरू मानिसलाई एकसाथ बोलाए
१४ र तिनीहरूलाई यसो भने: “यस मानिसले जनतालाई विद्रोह गर्न उक्सायो भनेर तिमीहरूले उसलाई मकहाँ ल्यायौ। हेर, मैले तिमीहरूकै सामुन्ने उसको छानबिन गरेँ तर तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ।+
१५ वास्तवमा हेरोदले पनि फेला पारेनन्। त्यसैले त तिनले उसलाई हामीकहाँ फिर्ता पठाए। हेर, उसले मृत्युदण्ड पाउनुपर्ने केही काम गरेको छैन।
१६ त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”+
१७ *—
१८ तर तिनीहरू सबै जना एकसाथ यसो भन्दै चिच्याए: “यसलाई मार्नुहोस्* बरु हाम्रो निम्ति बरब्बालाई मुक्त गरिदिनुहोस्!”+
१९ (त्यस मानिसलाई सहरमा भएको राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा हालिएको थियो।)
२० पिलातसले तिनीहरूलाई फेरि सम्झाए किनकि तिनी येसुलाई मुक्त गर्न चाहन्थे।+
२१ तर तिनीहरू यसो भन्दै कराउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!”+
२२ पिलातसले तिनीहरूलाई तेस्रो पटक यसो भन्दै सम्झाए: “किन? यस मानिसले के खराब काम गऱ्यो र? उसले मृत्युदण्ड पाउनुपर्ने कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”
२३ पिलातसको कुरा सुनेर तिनीहरू झन् जोसिएर चर्को स्वरले कराउँदै उहाँलाई खम्बामा टाँग्ने माग गर्न थाले। तिनीहरू यतिबिघ्न कराए कि तिनीहरूसामु पिलातसको केही लागेन।+
२४ त्यसैले पिलातसले तिनीहरूको माग पूरा गरिदिने निर्णय गरे।
२५ तिनले राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा परेको मानिसलाई तिनीहरूको मागअनुसार मुक्त गरिदिए तर येसुलाई भने तिनीहरूकै इच्छाबमोजिम मृत्युदण्ड दिनलाई तिनीहरूको हातमा सुम्पे।
२६ तब उहाँलाई लैजाँदै गर्दा तिनीहरूले गाउँबाट आउँदै गरेको साइरेनीवासी सिमोनलाई पक्रे अनि तिनलाई यातनाको खम्बा* बोकाएर येसुको पछिपछि हिँड्न लगाए।+
२७ मानिसहरूको एउटा ठूलो दल उहाँको पछिपछि लागिरहेको थियो, जसमा स्त्रीहरू पनि थिए। ती स्त्रीहरू आफ्नो छाती पिटीपिटी उहाँको निम्ति विलाप गरिरहेका थिए।
२८ तब ती स्त्रीहरूतिर फर्केर येसुले भन्नुभयो: “हे यरुसलेमका छोरीहरू हो, मेरो निम्ति रुन छोड। बरु तिमीहरू आफू र आफ्ना छोराछोरीका निम्ति रोओ।+
२९ किनकि हेर यस्तो बेला आउँदै छ, जब मानिसहरूले यसो भन्नेछन्: ‘आनन्दित हुन् ती स्त्रीहरू, जो बाँझी छन् र जसले सन्तान जन्माएनन् अनि दूध चुसाएनन्!’+
३० त्यतिखेर मानिसहरूले पहाडहरूलाई ‘हामीमाथि खस्!’ अनि डाँडाहरूलाई ‘हामीलाई छोप्!’ भन्न थाल्नेछन्।+
३१ रूख हरियो भएको बेला त यस्तो हालत छ भने सुकेपछि झन् के होला?”
३२ त्यसबेला दुई जना अपराधीलाई पनि उहाँसँगै मृत्युदण्ड दिन लगिँदै थियो।+
३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+
३४ तब येसु यसो भन्दै हुनुहुन्थ्यो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्। किनकि तिनीहरू जे गर्दै छन्, त्यो तिनीहरू जान्दैनन्।” साथै उहाँको लुगा आपसमा बाँड्न तिनीहरूले गोला हाले।+
३५ मानिसहरूको भीड उभिएर हेरिरहेको थियो। तर यहुदी न्यायपरिषद्का सदस्यहरू भने यसो भन्दै उहाँको खिसी गरिरहेका थिए: “यसले अरूलाई त बचायो! यदि यो परमेश्वरले पठाउनुभएको ख्रिष्ट अनि उहाँले चुन्नुभएको जन हो भने आफूलाई पनि बचाओस्।”+
३६ सिपाहीहरूले समेत उहाँको खिल्ली उडाए। तिनीहरूले उहाँको नजिक गएर अमिलो दाखमद्य* दिँदै+
३७ यसो भने: “यदि तँ यहुदीहरूको राजा होस् भने आफैलाई बचा।”
३८ साथै एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखिएको थियो: “यो यहुदीहरूको राजा हो।”+
३९ तब उहाँसँगै टाँगिएका अपराधीहरूमध्ये एक जनाले खिसी गर्दै उहाँलाई यसो भन्न थाल्यो:+ “तिमी त ख्रिष्ट हौ नि, होइन र? लौ, आफूलाई बचाऊ अनि हामीलाई पनि बचाऊ।”
४० तर अर्कोचाहिँले उसलाई हप्काउँदै यसो भन्यो: “तैँले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस् तैपनि के तँलाई परमेश्वरको अलिकता पनि डर लाग्दैन?
४१ हामीले यस्तो सजाय पाउनु न्यायोचित छ। किनकि हामीले जे गऱ्यौँ, त्यसकै फल भोगिरहेका छौँ। तर यस मानिसले त यस्तो सजाय पाउनुपर्ने केही गरेको छैन।”
४२ अनि उसले भन्यो: “हे येसु, तपाईँ राजा बन्नुभएपछि*+ मलाई सम्झनुहोस्।”
४३ तब उहाँले उसलाई भन्नुभयो: “म आज तिमीलाई साँच्चै भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”+
४४ त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो तैपनि सारा देशभरि अन्धकार छायो। अनि नवौँ घडीसम्मै* त्यस्तै भइरह्यो।+
४५ किनकि घामले उज्यालो दिएन अनि मन्दिरको पर्दा+ बीचबाट च्यातिएर दुई फ्याक भयो।+
४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+
४७ आफ्नो अगाडि भएका यी सब घटना देखेर सैनिक अफिसरले यसो भन्दै परमेश्वरको महिमा गर्न थाले: “यी मानिस साँच्चै धर्मी मानिस रहेछन्।”+
४८ तब तमासा हेर्न जम्मा भएको भीडका सबै जना यी घटनाहरू देखेपछि आफ्नो छाती पिट्दै घर फर्कन थाले।
४९ उहाँसित चिनजान भएकाहरू सबै जना टाढै उभिरहेका थिए। गालिलदेखि उहाँसँगै आएका स्त्रीहरू पनि त्यहीँ थिए र तिनीहरूले यी सब देखे।+
५० अनि हेर! त्यहाँ युसुफ नाम गरेका एक जना मानिस थिए, जो न्यायपरिषद्का सदस्य थिए। तिनी भलादमी अनि धर्मी मानिस थिए।+
५१ (यी मानिसले न्यायपरिषद्का अरू सदस्यहरूको षड्यन्त्र र कामको पक्षमा आफ्नो मत खसालेका थिएनन्।) तिनी यहुदियावासीहरूको अरिमथिया भन्ने सहरका मानिस थिए। तिनले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए।
५२ तिनले पिलातसकहाँ गएर येसुको शव मागे।
५३ त्यसपछि तिनले उहाँको शव तल झारेर+ उच्च कोटिको मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे,+ जहाँ त्यसअघि कसैको शव राखिएको थिएन।
५४ त्यो दिन तयारीको दिन* थियो+ र विश्रामदिन*+ सुरु हुनै लागेको थियो।
५५ तब गालिलदेखि उहाँसँगै आएका स्त्रीहरू पछिपछि लागे अनि उहाँलाई राखिएको चिहानलाई नियाल्नुका साथै उहाँको शवलाई कसरी राखिएको छ, त्यो पनि तिनीहरूले हेरे।+
५६ अनि तिनीहरू सुगन्धित मसला र तेल तयार पार्न फर्के। तर व्यवस्थामा दिइएको आज्ञाअनुसार तिनीहरूले विश्रामदिनमा आराम भने पक्कै गरे।+
फुटनोटहरू
^ अतिरिक्त लेख क३ हेर्नुहोस्।
^ शा., “लैजानुहोस्।”
^ अङ्गुरबाट बनेको रक्सी।
^ शा., “आफ्नो राज्यमा आउनुभएपछि।”
^ मध्यान्ह १२ बजेतिर।
^ दिउँसो ३ बजेतिरसम्म।
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।