लेवी १८:१-३०
१८ यहोवा परमेश्वरले मोसालाई यसो पनि भन्नुभयो:
२ “इस्राएलीहरूलाई यसो भन्नू, ‘म तिमीहरूका परमेश्वर यहोवा हुँ।+
३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू।
४ तिमीहरू मैले गरेको फैसलाअनुसार चल्नू अनि मेरा विधिविधान पालन गर्नू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
५ तिमीहरूले मेरो विधिविधान र फैसला अवश्य पालन गर्नू। जसले यसो गर्छ, ऊ जिउनेछ।+ म यहोवा हुँ।
६ “‘तिमीहरूमध्ये कोही पनि यौनसम्बन्ध राख्न आफ्नो नजिकको नातेदारकहाँ नजानू।+ म यहोवा हुँ।
७ तिमीले आफ्नो बुबासित यौनसम्बन्ध नराख्नू; तिमीले आफ्नी आमासित पनि यौनसम्बन्ध नराख्नू। उनी तिम्री आमा हुन्; तिमीले उनीसित यौनसम्बन्ध राख्नु हुँदैन।
८ “‘तिमीले आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध नराख्नू;+ त्यसो गर्नु भनेको आफ्नो बुबालाई लाजमा पार्नु हो।
९ “‘तिमीले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्केली दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू, चाहे उनी तिम्रो आफ्नै घरानामा जन्मिएकी होऊन् वा अर्को घरानामा।+
१० “‘तिमीले आफ्नो छोरापट्टिकी वा छोरीपट्टिकी नातिनीसित यौनसम्बन्ध नराख्नू किनभने यसो गर्दा तिमी लाजमा पर्नेछौ।
११ “‘तिमीले आफ्नो बुबाकी पत्नीको छोरीसित यौनसम्बन्ध नराख्नू किनभने उनी तिम्रो बुबाको सन्तान—तिम्री दिदी वा बहिनी हुन्।
१२ “‘तिमीले आफ्नो बुबाकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनभने उनीसित तिम्रो बुबाको रगतको नाता छ।+
१३ “‘तिमीले आफ्नी आमाको दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनभने उनीसित तिम्री आमाको रगतको नाता छ।
१४ “‘तिमीले आफ्नो बुबाको दाइ वा भाइकी पत्नीसित यौनसम्बन्ध नराख्नू किनभने उनी तिम्री ठूलीआमा वा काकी हुन्। उनीसित यौनसम्बन्ध राखेर आफ्नो ठूलोबुबा वा काकालाई लाजमा नपार्नू।+
१५ “‘तिमीले आफ्नी बुहारीसित यौनसम्बन्ध नराख्नू।+ ऊ तिम्रो छोराकी पत्नी हो; तिमीले ऊसित यौनसम्बन्ध राख्नु हुँदैन।
१६ “‘तिमीले आफ्नो दाइ वा भाइकी पत्नीसित यौनसम्बन्ध नराख्नू;+ त्यसो गर्नु भनेको आफ्नो दाइ वा भाइलाई लाजमा पार्नु हो।
१७ “‘तिमीले कुनै स्त्रीसित विवाह गरेपछि उसकी छोरीसित यौनसम्बन्ध नराख्नू।+ तिमीले उसको छोरापट्टिकी वा छोरीपट्टिकी नातिनीसित यौनसम्बन्ध नराख्नू। यो अश्लील काम* हो। उनीहरू त्यस स्त्रीको नजिकका नातेदार हुन्।
१८ “‘तिमीले आफ्नी पत्नी जीवित छँदै उसकी दिदी वा बहिनीसित विवाह गरेर ऊमाथि सौता नहाल्नू+ र उसकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू।
१९ “‘महिनावारीले गर्दा अशुद्ध भएकी स्त्रीसित यौनसम्बन्ध राख्न उसकहाँ नजानू।+
२० “‘तिमीले अर्काकी* पत्नीसित यौनसम्पर्क राखेर आफूलाई अशुद्ध नपार्नू।+
२१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।
२२ “‘तिमीले कुनै स्त्रीसित यौनसम्बन्ध राखेजस्तै पुरुषसित यौनसम्बन्ध नराख्नू;+ यो घृणित काम हो।
२३ “‘कुनै पुरुषले पशुसित यौनसम्पर्क राखेर आफूलाई अशुद्ध नपारोस् अनि कुनै स्त्री पशुसित यौनसम्पर्क राख्न त्यसकहाँ नजाओस्।+ यो अप्राकृतिक सम्बन्ध हो।
२४ “‘तिमीहरूले यीमध्ये कुनै काम गरेर आफूलाई अशुद्ध नबनाओ किनभने यस्तै कामहरू गरेर आफूलाई अशुद्ध बनाएका जातिहरूलाई म तिमीहरूको सामनेबाट धपाउँदै छु।+
२५ यस्ता कामहरू गरेकोले तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु र तिनीहरू त्यहाँबाट धपाइनेछन्।+
२६ तर चाहे स्वदेशी होस् वा तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैले मेरो विधिविधान र फैसला अवश्य पालन गर्नू+ र यस्तो घिनलाग्दो काम कुनै पनि नगर्नू।+
२७ त्यस देशमा तिमीहरूभन्दा पहिला बसोबास गर्ने मानिसहरूले यस्ता घिनलाग्दा काम गरेकोले+ त्यो देश अशुद्ध भएको छ।
२८ तिमीहरूले यस्ता कामहरू गरेर त्यस देशलाई अशुद्ध पारेनौ भने तिमीहरूभन्दा पहिला बसोबास गरेका मानिसहरूजस्तो तिमीहरू त्यहाँबाट धपाइनेछैनौ।
२९ यदि कसैले यीमध्ये कुनै घिनलाग्दो काम गरेमा उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*
३० त्यस देशमा तिमीहरूभन्दा पहिला बसोबास गर्ने मानिसहरूले जस्तो घिनलाग्दो काम गरेर आफूलाई अशुद्ध नबनाओ। यसरी तिमीहरूले मप्रतिको आफ्नो दायित्व पूरा गर।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
फुटनोटहरू
^ वा “लाजमर्दो आचरण; छाडापन।”
^ वा “छिमेकीकी; साथीकी।”
^ वा “बलि नदिनू।”
^ वा “मारियोस्।”