लेवी २६:१-४६

  • मूर्तिपूजाबाट अलग रहनू (१, २)

  • आज्ञा पालन गरेमा आशिष्‌ (३-१३)

  • आज्ञा उल्लङ्‌घन गरेमा दण्ड (१४-४६)

२६  “‘तिमीहरू बस्ने देशमा व्यर्थका देवताहरू नबनाउनू+ र आफ्नो लागि मूर्ति वा पवित्र थाम* नठड्‌याउनू।+ अनि तिमीहरूले त्यहाँ ढुङ्‌गामा कुनै आकृति खोपेर+ त्यसलाई दण्डवत्‌ नगर्नू+ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। २  तिमीहरूले मैले तोकेको विश्रामदिन* मान्‍नू र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ। ३  “‘यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्‍यौ र मेरा आज्ञाहरू पालन गरिरह्‍यौ भने+ ४  म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। ५  त्यसैले अङ्‌गुर बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र बिउ छर्ने समयसम्मै अङ्‌गुर बटुल्नेछौ। तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू आफ्नो देशमा निश्‍चिन्त भई बस्नेछौ।+ ६  मेरो आशिष्‌ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ;+ कसैले तिमीहरूलाई डर देखाउनेछैन+ र तिमीहरू मस्त निदाउन सक्नेछौ। म तिमीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरू धपाइदिनेछु अनि तिमीहरूविरुद्ध कसैले तरबार उठाउनेछैन। ७  तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्‌नेछौ र तरबारले सखाप पार्नेछौ। ८  तिमीहरूमध्ये ५ जनाले १०० जनालाई र १०० जनाले १०,००० जनालाई खेद्‌नेछौ अनि तिमीहरूका शत्रुहरू तरबारले सोत्तर हुनेछन्‌।+ ९  “‘म तिमीहरूमाथि निगाह देखाउनेछु, जसले गर्दा तिमीहरूको धेरै सन्तान हुनेछ र तिमीहरूको सङ्‌ख्या बढ्‌नेछ।+ तिमीहरूसित गरेको करार म पूरा गर्नेछु।+ १०  तिमीहरूले पहिलो वर्षकै उब्जनी खाएर नसिद्धिँदै नयाँ अन्‍न राख्न पुरानो अन्‍न फ्याँक्नुपर्नेछ। ११  म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२  म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्‍वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ १३  तिमीहरूलाई मिश्रको दासत्वबाट छुटाएर ल्याउने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। मैले तिमीहरूको दासत्वको जुवा भाँचिदिएकोले तिमीहरू शिर ठाडो पारेर हिँड्‌न सक्छौ। १४  “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+ १५  अनि मेरा विधिविधान मान्‍न इन्कार गऱ्‍यौ+ र मेरा फैसलाअनुसार नचलेर मेरा आज्ञाहरू मानेनौ र मेरो करार भङ्‌ग गऱ्‍यौ भने+ १६  म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्‌।+ १७  म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्‌।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्‌+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+ १८  “‘तर तिमीहरूले अझै पनि मेरो कुरा सुनेनौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। १९  म तिमीहरूको अहङ्‌कारलाई चकनाचुर पार्नेछु र तिमीहरूको आकाशलाई फलामजस्तो*+ र पृथ्वीलाई तामाजस्तो* बनाउनेछु। २०  तिमीहरूले व्यर्थैमा परिश्रम गर्नेछौ किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन+ र बोटबिरुवामा फल लाग्नेछैन। २१  “‘तर तिमीहरू मविरुद्ध चलिरह्‍यौ र मेरो कुरा सुन्‍न इन्कार गरिरह्‍यौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २२  म तिमीहरूको बीचमा जङ्‌गली जनावरहरू पठाउनेछु+ र तिनीहरूले तिमीहरूका छोराछोरीलाई खानेछन्‌+ र तिमीहरूका गाईवस्तुलाई सखाप पार्नेछन्‌। तिमीहरूको सङ्‌ख्या थोरै हुनेछ र तिमीहरूको बाटोघाटो सुनसान हुनेछ।+ २३  “‘यति धेरै सजाय पाएपछि पनि तिमीहरू सुध्रिएनौ+ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्‍यौ भने २४  म पनि तिमीहरूविरुद्ध कदम चाल्नेछु र तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २५  मेरो करार भङ्‌ग गरेकोले तिमीहरूका शत्रुहरूलाई तिमीहरूमाथि तरबारले आक्रमण गर्न लगाउनेछु।+ तिमीहरू ज्यान जोगाउन सहरमा एकसाथ भेला भएर बस्यौ भने पनि म तिमीहरूमाझ महामारी पठाउनेछु+ र तिमीहरू आफ्नो शत्रुको हातमा पर्नेछौ।+ २६  मैले तिमीहरूको अन्‍नको भण्डार* नष्ट गरेपछि+ दस जना स्त्रीको लागि एउटै चुलो पर्याप्त हुनेछ र तिनीहरूले जोखी-जोखीकन खाना बाँड्‌नेछन्‌।+ तिमीहरूले खान त खानेछौ तर अघाउनेगरि होइन।+ २७  “‘यति हुँदाहुँदै पनि मेरो कुरा सुनेनौ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्‍यौ भने २८  म तिमीहरूविरुद्ध झनै ठूलो कदम चाल्नेछु+ र तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २९  तिमीहरूले आफ्नै छोराछोरीको मासु खानुपर्नेछ।+ ३०  म तिमीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनेछु,+ धूपदानीहरू ढाल्नेछु र तिमीहरूको लासलाई घिनलाग्दा मूर्तिहरूमाथि* थुप्रो लगाइदिनेछु।+ म तिमीहरूलाई एकदमै घृणा गर्नेछु र त्याग्नेछु।+ ३१  म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ। ३२  म तिमीहरूको देशलाई उजाड पार्नेछु+ र जब यस देशमा तिमीहरूका शत्रुहरू बसोबास गर्छन्‌, तब तिनीहरू देशको हालत देखेर छक्क पर्नेछन्‌।+ ३३  म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्‌नेछन्‌;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌। ३४  “‘तिमीहरू शत्रुहरूको देशमा रहुन्जेल र तिमीहरूको देश उजाड रहुन्जेल तिमीहरूको भूमिले विश्रामवर्षहरू मनाउनेछ। त्यसबेला भूमिले आराम पाउनेछ किनकि भूमिले पहिला मनाउन नपाएको विश्रामवर्षहरू त्यसबेला मनाउनेछ।+ ३५  तिमीहरूको देश उजाड रहुन्जेल भूमिले आराम पाउनेछ किनकि तिमीहरू बसोबास गरुन्जेल तिमीहरूले विश्रामवर्षबारे मैले दिएको नियम पालन गरेनौ र भूमिलाई आराम दिएनौ। ३६  “‘तिमीहरूमध्ये जो-जो बच्नेछौ+ र शत्रुहरूको देशमा लगिनेछौ, तिनीहरूको मन म डरैडरले भरिदिनेछु; पात हल्लेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्‌। शत्रुले तरबार लिएर खेदेको मानिस भागेझैँ तिनीहरू भाग्नेछन्‌। कसैले नखेदे पनि तिनीहरू भाग्नेछन्‌ र लड्‌नेछन्‌।+ ३७  कसैले नखेदे पनि तिनीहरू शत्रुको तरबारदेखि डराएर भागेका मानिसहरूजस्तै आपसमा ठेस खाएर लड्‌नेछन्‌। तिमीहरूले शत्रुहरूको सामना गर्न सक्नेछैनौ।+ ३८  तिमीहरू तितरबितर भएर जहाँ-जहाँ पुग्छौ, त्यहीँ नष्ट हुनेछौ+ र शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। ३९  बाँकी रहेकाहरूलाई चाहिँ म शत्रुहरूको देशमै छोडिदिनेछु+ अनि तिनीहरू आफ्नो र आफ्नो पुर्खाको पापले गर्दा त्यहीँ कुहिँदै जानेछन्‌।+ ४०  तब तिनीहरूले यो कुरा स्विकार्नेछन्‌+ कि तिनीहरू र तिनीहरूका पुर्खाले मेरो विरोध गरेर मलाई विश्‍वासघात गरेका थिए र मविरुद्ध पाप गरेका थिए।+ ४१  यही कारणले गर्दा मैले तिनीहरूविरुद्ध कदम चालेर+ तिनीहरूलाई शत्रुहरूको देशमा पठाएको थिएँ।+ “‘तिनीहरूको हठी मन* आज्ञाकारी होस्‌+ अनि तिनीहरूले आफ्नो पापको सजाय भोगून्‌ भनेर मैले त्यसो गरेको थिएँ। ४२  तब म याकुब,+ इसहाक+ र अब्राहामसित+ गरेको करार सम्झनेछु र तिमीहरूको देशलाई पनि सम्झनेछु। ४३  जहिलेसम्म तिनीहरू त्यस देशमा हुँदैनन्‌ र जहिलेसम्म त्यो देश उजाड रहन्छ, त्यतिन्जेल त्यस देशले पहिला मनाउन नपाएको विश्रामवर्षहरू मनाउनेछ।+ अनि तिनीहरूले चाहिँ पापको सजाय भोग्नेछन्‌ किनकि तिनीहरूले मेरा फैसलाहरूलाई तिरस्कार गरे र मेरा विधिविधानलाई घृणा गरे।+ ४४  यी सबै कुराको बाबजुद जब तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुनेछन्‌, म तिनीहरूलाई कहिल्यै पूर्णतया इन्कार गर्नेछैनँ+ र तिनीहरूको नामोनिसान मेटाउने हदसम्म तिनीहरूलाई त्याग्नेछैनँ। त्यसो गरेँ भने मैले तिनीहरूसित गरेको करार भङ्‌ग गरेसरह हुनेछ+ किनकि म तिनीहरूका परमेश्‍वर यहोवा हुँ। ४५  तिनीहरूको खातिर म तिनीहरूका पुर्खासित गरेको करार सम्झनेछु,+ जसलाई मैले मिश्र देशबाट छुटाएर ल्याएँ। मैले तिनीहरूका पुर्खाहरूलाई जातिजातिको आँखाकै सामने छुटाएर ल्याएँ+ र म नै तिनीहरूका परमेश्‍वर हुँ भनी देखाएँ। म यहोवा हुँ।’” ४६  यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका नीतिनियम, ऐनकानुन र उहाँले सुनाउनुभएका फैसलाहरू यी नै हुन्‌।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “डर मान्‍नू।”
शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, पानी नपरेकोले जमिन सुक्खा हुनेछ।
अर्थात्‌, आकाशबाट पानी पर्नेछैन।
शा., “लट्ठी।” यसले रोटी झुन्ड्‌याएर राख्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।
शा., “शान्त पार्ने।”
शा., “खतना नगरेको हृदय।”